युवालाई हृदयाघात


Dr. Rajendra Koju॒॒॒॒______

 

11891542_402805029930573_6619406163559024561_o

जेष्ठ २०, २०७४- ३३ वर्षे चालक दिनभरको कार्यपछि थकान मार्न आफ्नो वासस्थान फर्किन्छन् । छातीमा केही भारी भएको महसुस गर्छ । र पनि थकाइले होला भनेर खाना खाएर सुत्छ । राति खासै सुत्न सक्दैन— छाती हल्का भारी भएकोले राति पानी तताएर खाने, उठेर बस्ने, टहलिने र यताउति गरेर रात बिताउँछ । भोलि जाउँला भन्ने मनस्थितिमा हुन्छ । बिहान हुनासाथ नजिकैको मेडिकलमा जान्छ । मेडिकलले केही झोल, ट्याबलेट दिनुको सँगसँगै नजिकको अस्पताल जान सल्लाह दिन्छ । अस्पताल पुगेपछि जाँच–पडतालबाट थाहा हुन्छ, हार्ट एट्याक भएको । चिकित्सकबाट छिटो आउनुपर्ने हल्का गाली पनि पाउँछ— छिटै रोग निदान र उपचारले मुटुको नराम्रो असर कम हुनेबारे ।

२८ वर्षको व्यापारी, पसलमा बस्दा–बस्दै छातीमा गहु्रँगो भारी भएर आउँछ । चिटचिट पसिना छुट्छ । ए यो के भयो भन्दै यसरी बसांै, उसरी बसौं गर्छ । छाती भारी घट्दैन । सँगैको मेडिकलमा सोध्छ । मेडिकलले अस्पताल जाने सल्लाह दिन्छ । आफन्त बोलाएर तुरुन्त नजिकको अस्पताल जान्छ । इमरजेन्सीमै गरेको ईसीजीले देखाउँछ, हार्ट एट्याक भएको । तुरुन्त उपचार सुरु गर्दा विस्तारै राम्रो भएर आउँछ ।

३० वर्षको कर्मचारी अफिसमा काम गर्दागर्दै छाती भारी भएको अनुभव गर्छ । यदाकदा साथीभाइहरू माझ छाती भारी भयो भने हृदयाघात भएको हुनसक्छ भन्ने थाहा पाएर तुरुन्त सहकर्मीको मद्दतमा अस्पताल पुग्छ । इमर्जेन्सीको चिकित्सकले जाँच–पडतालसँगै ईसीजी गर्दा हृदयाघात भएको जनाउ दिँदै उपचार सुरु गर्छ । र आवश्यक उपचारपछि दैनिक जीवनयापनमा फर्किन्छ ।

धेरैलाई अझै पनि विश्वास हुनसक्छ—हृदयाघात पाको उमेरकालाई हुन्छ । हृदयाघात पुरुषमा मात्र हुन्छ । हृदयाघात धनीलाई मात्र हुन्छ । महिलामा पनि उत्तिकै जोखिम छ । अनि मध्यम वर्ग एवं गरिबमा पनि । तर वास्तविकता अर्कैतिर मोडिइराख्या पनि छ । पाको उमेरकालाई पक्कै पनि सम्भावना एवं खतरा धेरै छ । तर वयस्क युवाहरूमा पनि हृदयाघात हुनसक्ने सम्भावना बढ्दैछ । यी यस्ता घटना हालसालै नियमित रूपमा देखिइराखेका छन् ।

मुटु रोगको छलफल, जनचेतनामूलक सन्देश, चिकित्सकको अन्तर्वार्ता, लेख आदि–इत्यादिले सहरी वासिन्दा सचेत भएका छन् । सो अनुसार आवश्यक अस्पतालमा पुगी उपचार गराइरहेका छन् । तर अझ पनि कति जनता थाहा नपाएरै वा बेवास्ता गरेर समस्या झेलिरहेका छन् । मुटुको रोग युवा अवस्थादेखि किन बढिरहेका छन् त ?

कारण— जीवन शैलीमा आएका परिवर्तन प्रमुख वैज्ञानिक आधार भएको पाइन्छ । हाल जीवन शैली अलि भिन्न नै भइराखेका छन् ।

– अद्यिक चिल्लो, नुन, चिनीयुक्त (फास्ट फुड, जंक फुड, हल्का पेयपदार्थको सेवन) । म:म:, पिज्जा, चिजयुक्त मकै, कोक, चिप्स, फ्राइड चिकेन आदि–इत्यादि ।

– बस, मोटरसाइकल, कार अन्य यातायातका सुविधाका कारण हिँडडुल कम । वा शारीरिक व्यायाममा कम ।
– चुरोट, खैनी खाने बानी
– रक्सी सेवन
– वतावरणीय प्रदूषण
– मोटोपन
– अधिक तनाव

यी कारणहरू अति महत्त्वपूर्ण छन् । यद्यपि भन्दासुन्दा साधारण देखिन्छ । यी कारणहरूलाई नियन्त्रण गर्न सकिन्छ । तपाई हृदयाघातबाट डराउनु हुन्छ भने यो सबै चिजबाट बच्न सक्नुहुन्छ । तर कुनै कारण यस्तो हुन्छ, जुन तपाईले परिवर्तन गर्न सक्नुहुन्न । जस्तै– वंशाणु, उमेर, लिङ्ग ।
यी नियन्त्रण गर्न नसकिने कारणसँगै अरु कारण पनि छन्, जहाँ स्वस्थ जीवनयापन संँगसँंगै उपचारको पनि आवश्यकता पर्छ । जस्तै पनि नियान्त्रण गर्न मिल्ने । जस्तै–
– उच्च रक्तचाप
– रगतमा चिल्लोपना अधिक (डिसलाइपेडिमिया)
– मधुमेह

यी माथिका कारणहरू उचित तरिकाले नियन्त्रण गर्न सक्यो भने धेरै हदसम्म हृदयाघातलाई कम गर्न सकिन्छ । हामीले यो पनि जान्न जरुरी छ कि, हृदयाघात हुँदा हुन्छ के ?
– छाती भारी हुन्छ, छाती फुलेर आएको भान हुन्छ
– छाती दुख्छ
– छाती गह्रुँगो हुन्छ
– छातीमा अप्ठ्यारो महसुस हुन्छ
– श्वास फुल्छ
– सास फेर्न गाह्रो हुन्छ, अप्ठ्यारो महसुस हुन्छ
– एक्कासी गाह्रो भएर आउँछ
– पसिना आउँछ
– मुटुको ढुकढुकी बढ्छ ।

यस्तो भयो भने समयलाई खेर नफाली सकेसम्म चाँडो अस्पताल पुगेर आवश्यक जाँच गरिहाल्नुपर्छ । कहिलेकाहीं केही नभएर पनि हृदयाघात हुनसक्छ ।
अस्पतालमा शारीरिक जाँचसँगै तुरुन्तै गरिने प्रक्रिया यस प्रकार छन् ।
–     ईसीजी— हृदयाघात हो–होइन भनेर हेर्ने यो पहिलो जाँच हो ।
–     रगतको जाँच— ट्रोपोनिन, सीकेएमबी— हृदयाघात भनेको मुटुको मांसपेशीमै असर पर्ने हो, तसर्थ मुटुको मांसपेशीमा असर परेको छ–छैन भनेर पत्ता लगाउन ।
–     इको काडियोग्राफी— भिडियो एक्सरेबाट मुटुको अवस्था हेर्न ।
यसरी हार्ट एट्याक भएको हो–होइन भनेर  निश्चित रूपमा निदान गर्न सकिन्छ । आवश्यतका अनुसारको विभिन्न औषधी सुईहरू दिनुपर्छ ।
हो भने तुरुन्तै उपचार सुरु गर्नुपर्छ । आईसीयु वा सीसीयुमा राख्नुपर्छ । सम्भव भएको अस्पतालहरूमा एन्जियो ग्राफी (मुटुको रक्तनलीको अवस्था हेर्ने प्रविधि) गरी आवश्यकता अनुसार एन्जियो प्रलास्टी गर्ने ।
हालसालै मुटुको उपचारमा केही सहज भएको छ । यद्यपि यो सबै सेवा सबै असपतालमा उपलब्ध नहुनाले गाह्रो पनि छ ।
उपचारपछि पनि आफ्नो जीवन शैलीमा परिवर्तन गरेर नियमित औषधीहरू खाइराख्यौं भने रोग नलागेको व्यक्तिजस्तै जीवनयापन गर्न पनि सम्भव छ ।

हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ध्यान दिँदा साधारण तर महत्त्वपूर्ण कुराचाहिँ रोग लागेपछिको उपचारभन्दा रोग लाग्ने सम्भावना नै कम गर्ने हो । जुन आफ्नो जीवनयापनमा स्वस्थकर बानी–व्यहोरा अवलम्बन गरेर । यो वर्षको सुरुवातमा स्वास्थ्यमन्त्रीले पनि अभिव्यक्ति दिनुभएको छ, + ५ वटा कुरा । त्यसैलाई व्यवहारमा ल्याए पनि निकै राम्रो गर्न सकिन्छ । साथसाथै चिकित्सकको सल्लाह अनुसार नियमित नछुटाई औषधी सेवन गर्नुपर्छ ।

कोजु मुटुरोग विशेषज्ञ हुन् ।

 

स्रोत- कान्तिपुर राष्ट्रिय दैनिक।


Write A Suggestion

%d bloggers like this: