अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल


Dr. Govinda Upadhyaya——-

18664206_1921873054759851_6583001634928371620_n

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो | दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर “साम्यवादीले धर्म मान्दैनन्” भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् | तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको “ब्लेक मेलिंग” गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |

पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र “चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा” कमाउनु हो | दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि “समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि” प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् | तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |

अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् | अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो |

नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने “हिन्दूहरू विरुद्ध घृणा” फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ | यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् | यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ |

आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो | सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो | जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ |

हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ | प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो – आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु | अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई “आधुनिक”भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |

नेपाल हाम्रो हो र हामी नेपाली हौँ – यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ |

वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ | वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् |

हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन | अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |


Write A Suggestion

%d bloggers like this: