याज्ञवल्क्यलाई चिन्नोस र आफु नेपालीहुनुमा खेद मान्नोस , यस्तो महान ऋषिलाई नेपालले अपनत्व देखाउन सकेन | ऋषि याज्ञवल्क्य र नेपाल


प्रवीण अधिकारी —

ऋषि याज्ञवल्क्य

================
एक सर्वश्रेष्ठ विद्वान, वादविवाद गर्न रुचाउने ,आत्मज्ञ ऋषि हुन जसलाई ‘शुल्कयजुर्वेद संहिता’ को मन्त्र प्रणेता भनेर नेपाली समाजले चिन्ने गरेको छ | यिनको परिचय दिलाउने क्रममा बृ.उ.६.४.३. माध्यं.ले इनलाई उद्दालक आरुणि नामक ऋषिको शिष्य थिए भनेको पाइन्छ | याज्ञवल्क्य सांस्कारिक एवं दार्शनिक समस्याहरु केलाउने सर्वश्रेष्ठ विद्वान मानिएका छन | इनले बताएको सम्पूर्ण कुराहरु शतपथ ब्राह्मण, बृहदारण्यक उपनिषदमा उल्लेख गरिएको छ [श.ब्रा.१.१.१.९.२.३.१.२१,४.२.१.७];[ बृ.उ.३.१.२ माध्यं.] | पश्चिमा विद्वान ओल्डेनबर्गले टिप्पणी गर्दा याज्ञवल्क्यलाई विदेह देश अर्थात जनकपुरमा बस्तथे भनेर चिह्नाएका छन | ती पश्चिमाको कुरो होइन जनक राजाले इनलाई संरक्षण दिएका कुरा उनको ग्रन्थ बृहदारण्यक उपनिषदमै लेखिएकोले त्यो कुरालाई हामी सबैले स्विकार्न सक्नु पर्दछ | तर , इनका गुरु उद्दालक आरुणि कुरुपंचाल प्रदेशका वासिन्दा भएका हुँदा यिनलाई भारतीय विद्वानहरुले यिनीपनि कुरुपंचाल मै जन्मिएका थिए भनेको भेटिन्छ | धेरै विद्वानहरु इनलाई याज्ञवल्क्य ऋषिका वंशज भएकोकारण इनको नाउँ ‘याज्ञवल्क्य’ पैतृक नाम भएको हुन् सक्ने औंल्याउँछन भने स्वयम् बृहदारण्यक उपनिषदले इनलाई ‘वाजसनेयी भनेको कारण [बृ.उ.६.३.७-८, ६.५.३];[ श.ब्रा.१४.९.४.३३] भाष्यकार महीधरले यिनी वाजसनि ऋषिको छोरा भएकोले वाजसनेय भनिएको किटानी गरिदिएका छन् | कसैकसैको भनाईमा इनको ‘मध्यंदिन’ नाउँ गरेको शिष्यले उनको शुल्कयजुर्वेद संहिताको प्रचार प्रसार गरिदिएकोले उनलाई ‘माध्यंदिन’ भनिएको हो पनि भन्छन भने विष्णु पुराणले इनलाई ब्रह्मरातको छोरो एवं वैशपांयन ऋषिको शिष्य भनेर औंल्याएको छ [विष्णु. पु .३.५.२] | वायु पुराण , भागवत पुराण र ब्रह्मांड पुराणले इनको बाबुको नाउँ क्रमशः ‘ब्रह्मवाह’, ‘देवरात’ एवं ‘ब्रह्मराति’ भनेको पाइन्छ [वायु.पु ६०.४१];[ म भा.१२.६.६४];[ ब्रह्मांड.पु ३.३५.२४] | इनि ब्रह्माको शरीरबाट उत्पन्न भएकोले इनलाई ‘ब्रह्मवाह’ भनिएको [वायु.पु ६०.४२] हो भन्दछ | महाभारतमा इनैलाई वैशंपायन ऋषिको भतिजा र शिष्य भनिएको देखिन्छ [म.शां.३०६.७७६] | याज्ञवल्क्यले ऋषि उद्दालक तथा एवं वैशंपायनका शिष्य भै ज्ञानार्जन गरेका तथा ऋषि उद्दालकले इनलाई दर्शन शास्त्रको ज्ञान दिएका र वैशंपायन ऋषिले वैदिक सांस्कारिक शास्त्रहरुको ज्ञान दिएका थिए भनिएको पाइन्छ | यी बाहेक इनको हिरण्यनाभ कौशल्य नाउँ गरेका अर्को गुरुपनि थिए जसबाट उनले योगशास्त्रको शिक्षा प्राप्त गरेका थिए [ब्रह्मांड पु.३.६३.२०८];[ वायु पुराण ८८.२०७];[ विष्णु पु. ४. ४.४७];[ म . भा.९.१२.४] | जे जे भनिएपनि यिनी निकै ठूला विद्वान थिए भन्ने कुरामा शंका छैन |

याज्ञवल्क्यको दुईटा रुप रहेको थियो – पहिलो इनि वैदिक संस्कारका प्रख्यात ऋषिको रुप अर्को इनले ‘शुक्ल यजुर्वेदको अंश कृष्णयजुर्वेदबाट झिक्ने एवं ‘शतपथ ब्राह्मणको रचना गरेका थिए | यसबाहेक उनी दार्शनिक समस्याहरुका प्रकाण्ड विद्वानपनि थिए | यो कुरो बृहदारण्यक उपनिषदमा विस्तारमा बताइएको छ | त्यस ग्रन्थमा उनले अत्यंत प्रगतिशील दार्शनिक विचार सरल भाषामा पोखेका कारण यो ग्रन्थ वर्तमान विश्वको दार्शनिक साहित्यको अद्वितीय ग्रन्थ मानिन पुगेको छ |

यजुः शिष्यपरंपरा
===========
याज्ञवल्क्यको यजुःशिष्यपरंपरा नियाल्दा इनी वैशंपायन ऋषिको चेला देखिन्छन | वैशंपायन ऋषिको कुल ८६ शिष्यहरु मध्ये श्यामायनि, आसुरि, आलंबि, एवं याज्ञवल्क्य प्रमुख मानिएका थिए | ऋषि वैशंपायनले ‘कृष्णयजुर्वेद’ को कुल ८६ संहिताहरु बनाएर याज्ञवल्क्य सहित अरु शिष्यलाईपनि त्यो ज्ञान दिएका थिए | ऋषि वैशंपायनका शिष्यहरु मध्ये याज्ञवल्क्यलाई मात्र ‘कृष्णयजुर्वेद संहिता’ को ज्ञान दिइएन त्यसै कारणलेगर्दा उनमा जागेको ज्ञान पिपाषुको कारण उनले ‘शुल्कयजुर्वेद’ नाउँ गरेको स्वतंत्र संहिता ग्रंथनै प्राप्त गरेर वैशंपायन ऋषिलाई देखाए |

कृष्णयजुर्वेदको शुद्धीकरण
=================
‘कृष्णयजुर्वेद’ को शुद्धीकरण गर्ने महर्षि याज्ञवल्क्य नै थिए | त्यै वेद संहिताको चालीस अध्यायको सूक्तहरु मध्ये उनले नयाँ सूक्त निर्माण गरी शुल्कयजुर्वेद संहिता निर्माण गरे [श.ब्रा.१४.९.४.३३] | याज्ञवल्क्यले त्यो काम गर्नु अघिको कृष्णयजुर्वेद संहितामा यज्ञविषयक मंत्र, एवं यज्ञप्रकियाहरुको जानकारी गुजुल्टिएर रहेको थियो | उदाहरणार्थ, तैत्तिरीय संहितामा ‘इषेत्वेति छिनत्ति’ मंत्र पाइन्छ | यहॉं ‘इषेत्वेति’ (इषे त्वा) वैदिक मंत्र हो , त्यसको अर्थ ‘छिनत्ति’ (काठ काट्नु ) भन्ने अर्थिन्छ | याज्ञवल्क्यले त्यै ‘इषे त्वा’ जसरी त्यस वेदबाट वैदिक मंत्रभाग अलग्ग पारी त्यसलाई ‘शुक्ल युजुर्वेद’ संहिता भन्ने नामाकरण गरे | ‘इति छिनत्ति’ जस्तो याज्ञिक प्रक्रियात्मक भागलाई छुट्ट्याई , ब्राह्मण ग्रन्थहरुमा लगेर राखे | यसरी उनले कृष्णयजुर्वेद र शुल्क यजुर्वेद छुट्ट्याउदा आफ्ना समकालीन ऋषिहरू र आफ्ना गुरु वैशंपायन संगपनि झगडिनु पर्यो र त्यो झगडा देश व्यापी हुन पुग्यो | पछि यो विवाद हस्तिनापुर सम्राट जनमेजय (तृतीय) कोमा पुग्दा उनले याज्ञवल्क्यलाई सहीमानि त्यसलाई अनुमोदन गरे | यो देखि वैशंपायन चिढिन पुग्दा राजा जनमेजयले त्यतिखेर हस्तिनापुर दरवारको राजपुरोहित रहेका वैशंपायन ऋषिलाई हटाई आफुले गर्ने याज्ञिक कृत्यको अध्वर्यु कर्म गर्न महर्षि याज्ञवल्क्यलाई नियुक्त गरे |यसैको कारण त्यहाँका जनताले अशंतोष जाहेर गरेपछि राजा जनमेजय राजसिंहासन परित्याग गरी वनवास लागेका थिए | यति हुँदापनि जनमेजयले आफ्नो जिद्धि छोडेनन र याज्ञवल्क्य द्वारानै अश्वमेधादि यज्ञ गराउन थाले | त्यसैले गर्दा याज्ञबल्क्यले ‘महावाजसनेय’ उपाधि प्राप्त गर्न पुगेका थिए |यसैको परिणाम स्वरुप वैशंपायन ऋषि तथा तिनका अनुयायीहरु मध्यदेश छोडी कोही पश्चिमी समुद्रतटमा कोही उत्तरतिर हिमालयमा शरण लिन पुगे | यसरी धार्मिक आधारमा याज्ञवल्क्य र वैशंपायन ऋषि विचको किचलोले त्यतिखेरको राजनैतिक जीवनको आदर्शलाई परिवर्तन गरिदियो |यसरी ती दुई ऋषिहरुको किचलोले सर्वसाधारणदेखि राजा सम्मलाई प्रभाव पारेको थियो भने त्यै बेलादेखि महर्षि याज्ञवल्क्य एक युगप्रवर्तक ऋषि कहलिन पुगेका थिए |

शुक्ल यजुर्वेदको उदय
===============
अन्य वैदिक ऋषिहरु जस्तै याज्ञवल्क्यपनि कर्म एवं ज्ञानको सम्मिलनलाई निकै महत्व दिन्थे | त्यसकारण उनले ‘शुक्लयजुर्वेद’ निकाल्ने समयमै त्यस ग्रंथको अन्तमा ईशोपनिषदपनि राखिदिए | शुक्लयजुर्वेद वैदिक कर्मकाण्डको ग्रंथ भएपनि त्यसमा मात्र ज्ञानविषयक ‘ईशोपनिषद’ को अठाह्र मंत्र राखिदिएको कारण शुल्क यजुर्वेदको महत्व बढ्न पुग्यो |वैदिक कर्मकाण्डको अंतिम साध्य आत्मज्ञानको प्राप्ति हो भन्नेकुरा देखाउने ऋषि उनी नै हुन् पुगे | ईशोपनिषदको १८ मन्त्रले यै कुरो बताएको छ |यस घटनालाई वैदिक साहित्यको इतिहाँसमा महत्त्वपूर्ण स्थान दिन थालियो | वैदिक परंपरामा रहेका संगठित मन्त्रहरुलाई खण्ड खण्ड छुट्ट्याउदा र त्यसको मूलस्वरुपमा जस्ताको त्यस्तै रांखिदा बन्न पुगेको ग्रन्थको प्रथम श्रेय याज्ञवल्क्यले पाएका कारण उनी वैदिक सूक्तकार मध्ये श्रेष्ठ ऋषि कहलिए |

ईशोपनिषद
=========

शुक्लयजुर्वेद संहिताको अंतिम चालीसौं अध्याय ‘ईशोपनिषद ’ अथवा ‘ईशावास्योपनिषद’ हो | यस उपनिषदमा रहेको अठाह्र मन्त्रहरु रहेको कारण यसलाई उपनिषद्को संसारमा रहेका प्रमुख दश उपनिषद मध्ये एक मानिन पुगेको हो |यस उपनिषदले ” सारा संसार ईश्वरले भरिएको छ ” भनेको छ (ईशावास्यमिदं सर्वम्), बडो राम्ररी प्रस्तुत गरिएको छ |यसै उपनिषदको अर्को एउटा मन्त्रले मान्छेले धनको लोभ नगर्नु भनेर बताएको छ |

शतपथ ब्राह्मण
=========

शुक्लयजुर्वेदको ब्राह्मण ग्रंथ ‘शतपथ ब्राह्मण हो | यस ग्रंथमा १४ ओटा काण्ड र सयओटा अध्याय छन् | त्यस मध्ये १-४ र १०-१४ काण्डहरुमा याज्ञवल्क्य ऋषिले प्रयोग गरेको ‘यज्ञप्रक्रिया’ ‘देवताविज्ञान’ आदि विषयहरु शैद्धान्तिक रुपमा उल्लेख गरिएका छनभने ५-९ काण्डहरुमा कावषेय -शांडिल्य सिद्धान्तहरुको संग्रह गरिएको छ | यस ग्रंथको विस्तार गर्नु पर्ने कारण त्यसमा प्रकट गरिएको प्रगतिशील विचारहरुनै हो | त्यसैले शतपथब्राह्मण वैदिक सांस्करिक सिद्धान्तहरु वर्णन गरिएको एक अद्वितीय ग्रंथ मानिन पुगेको हो |यसै ग्रन्थको अंतिम भागमा ‘बृहदारण्यक उषनिषद’ राखिएको हुनाले ब्रह्मज्ञान एवं आत्मज्ञानको विषयमा याज्ञवल्क्यको तत्वज्ञान यस उपनिषदमा समावेस हुन् पुगेको छ |कात्यायन ऋषिको वार्तिक ग्रन्थमा ‘शतपथ ब्राह्मण’को पुराणकल्पमा लेखिए अनुसार यस ग्रन्थलाई अन्य ब्राह्मण ग्रंथहरु भन्दा उत्तरकालीन भनिएको छ (पुराणप्रोक्तेपु ब्राह्मणकल्पेषु) [पा.सू.३.३.१०५] |

वैशंपायन ऋषिसंग विरोध
=================
आफ्ना गुरु वैशंपायन ऋषिसंग याज्ञवल्क्यको विरोध हुन पुग्यो एउटा मामुली कारणले गर्दा | एकपल्ट तत्कालिन ऋषिहरू मेरु पर्वतमा भेलाभई केही कुराको शास्त्रार्थ गर्ने निर्णय गर्ने र उपस्थित हुन नसक्ने ऋषिले ब्रह्महत्याको पापबोक्नु पर्ने निर्णयगरी उर्दी जारी गर्दा दैवसंयोगले वैशंपायन ऋषि त्यहाँ समयमा उपस्थित हुन नसक्दा उनले ब्रह्महत्याको पाप सहनु पर्ने भयो |त्यसपछि वैशंपायन ऋषिले सो ब्रह्महत्याको पाप सक्न आफ्ना सबै शिष्यहरुलाई प्रायश्चित्त गर्न भने |त्यतिखेर याज्ञवल्क्य आत्मप्रशंसाको वशीभूत हुन पुग्दा त्यो पाप सबै शिष्यले होइन म एक्लै गर्छु भनिदिंदा याग्यबल्क्यको तेस्तो गर्वोक्ति सुनेर वैशंपायन ऋषि निकै क्रोधित भई ” तिमीले म बाट जुन वेद ज्ञान पाएका छौ मलाई नै फर्काउ भन्न पुगे |आफ्ना गुरुको त्यस्तो श्रापको कारण उनले त्यतिखेर सम्म सिकेका सवै वेद वान्ता गरिदिनु पर्यो जसलाई वैशंपायन ऋषिका अन्य शिष्यहरुले तित्रा पंक्षी बनि टिप्दा उनी वेद विहिन हुन मात्र पुगेनन् बरु वेदविहीन भएका कारण विद्याहीन, स्मृतिहीन एवं कुष्ठरोगी समेत बन्न पुगे |पछि सरस्वतीको कृपाले उनले नयाँ वेद पाई पहिलाझैं पुनः तेजस्वी हुन पुगे [म.शां.३०६];[ वायु पु ६१.१८-२२] |

सूर्यबाट वेदप्राप्ति
============

सूर्यबाट वेद स्वीकार गर्दाको समयमा याज्ञवल्क्यले अश्व ( घोडा )को रुप धारण गरेको कारणले गर्दा इनको वेद तथा शिष्यहरुको नाउँ ‘वाजिन्’ हुन पुग्यो [वायु पु.६१.२२] | तर, केही पुराणहरुले वेद ग्रहण गर्ने समयमा याज्ञवल्क्यले नभई सूर्यले आफ्नो प्रचण्ड तापको कारण अश्वरुप धारण गर्न पुगेका बताएको छ [म.भा.१२.६.७३];[ ब्रहांड.पु २.३५.२६-७४] | स्कंद पुराणले इनको गुरुको नाउँ वैशंपायन नभनी शाकल्य ऋषि भनेको छ र आफ्नो आथर्वण मंत्रको प्रतापले शाकल्य ऋषिले इनको समस्त वेदविद्या फिर्ता लिएको बताइएको छ [स्कंद.पु. ६.१२९] |

कालनिर्णय
========

सूर्यसंग वेदविद्या ग्रहण गरेपछि उनले त्यो वेद विद्या जनक, कात्यायन, शतानीक, जनमेजय (तृतीय) आदि राजाहरुलाई सिकाएका थिए | [विष्णु पु. .४.२१.२] | यसो हेर्दा याज्ञवल्क्य ऋषि शतानीक एवं जनमेजय (तृतीय) राजाहरुका समकालीन देखिन्छन | तर महाभारतले याज्ञवल्क्यले देवराति जनकको सभामा वाद-विवाद गरेको कुरो उल्लेख गरेको छ | त्यतिखेर देवराति जनक कसरी हुन पुगे अनुसन्धानकै विषय हो |त्यतिखेरको जनकको कुरो अरु ग्रन्थमा भेटिन्न | तर , शतानीक, जनमेजय इत्यादि याज्ञवल्क्यका समकालीन राजाहरु हुन भन्न सकिन्छ | महाभारतमा जनक एवं विश्वावसु गंधर्व संग याज्ञवल्क्यले तत्त्वज्ञान विषयको कुराकानी गरेका छन [म.शां.२९८-३०६] | त्यहाँ उनले विश्वावसूको चौबीस ओटा प्रश्नहरुको उत्तर दिएका छन [म.शां.३०६.२६-८०] |

दार्शनिक समस्याका एकमात्र ऋषि
=======================
‘बृहदारण्यक उपनिषद’ को दोश्रो ,तेश्रो ,चौथो अध्यायमा याज्ञवल्क्यको दार्शनिक महत्व र सिद्धान्तहरुको परिचय दिइएको छ |तेस्को दोश्रो अध्यायमा याज्ञवल्क्यले आफ्नी ब्रह्मवादिनी पत्नी मैत्रेयी संग तत्वज्ञान विषयमा कुराकानी गरेका छन | तेश्रो अध्यायमा विदेह देशका जनकको दरबारमा थुप्रै तत्वज्ञानीहरु संग वाद-विवाद गरेका छन | एवं चौथौ अध्यायमा जनक राजासंगै तत्त्वज्ञान विषयमा कुराकानी गरेका छन यी सबै कुराकानी हेर्दा याज्ञवल्क्य प्रगतिशील व्यक्तित्त्व, दार्शनिक , तत्वज्ञान वेत्ता देखिन्छन |

जनक राजाको दरबारमा
================

राजा जनकको यज्ञ मंडपमा कुरुपंचाल देशका थुप्रै तत्वज्ञ उपस्थित भएका वेला याज्ञवल्क्यले सबैलाई हराएका थिए | बृहदारण्यक उपनिषद अनुसार, याज्ञवल्क्यले जुन जुन आचार्यहरु संग वाद-विवाद गरेका थिए तिनको नाउँ यस प्रकार रहेको थियो –

१. अश्वल—‘ मृत्युबाट मुक्ति कसरी पाउन सकिन्छ [बृ.उ.३.१] |
२. जारत्कारव आर्तभाग—‘आठ ग्रह र आठ उपग्रह कुन कुन हुन ? [बृ.उ.३.२] |
३. भृज्यु लाह्यायनि—‘मृत्यु पछि परलोकमा के हुन्छ ? यज्ञ गर्ने परिक्षित् राजाले कस्तो गति पाए ? [बृ.उ.३.३] |
४. उषस्त चाक्रायण—‘सर्वान्तर्यामी आत्मा’ [बृ.उ.३.५] |
५. कहोल कौषीतकेय—‘सर्वअन्तर्यामी आत्मा’ [बृ.उ.३.५] |
६. गागी वाचक्रवी—यस जगतको मूल कारण के हो ? [बृ.उ.३.६] |
७. वाचक्रवी—‘ब्रह्म’ [बृ.उ.३.८] |
८. उद्दालक आरुणि—‘अत्नर्यामी आत्मा’; ‘परलोक’ [बृ.उ.३.७] |
९. विदग्ध शाकल्य—‘देउता कतिओटा छन [बृ.उ.३.९] |

माथि उल्लेख गरिएको बाहेक याज्ञवल्क्यले अरु संगपनि वादविवाद गरेका थिए भन्नेकुरा बृहदारण्यक उपनिषदको चौथो अध्यायमा उल्लेख छ –
१. उदंक शोल्बायर—‘प्राणब्रह्म’ [बृ.उ.४.१.२.३] |
२. बर्कु वार्ष्ण—‘चक्षुब्रह्म’ [बृ.उ.४.१.४] |
३. गर्दभीविपीठ भारद्वाज—‘श्रौत्रब्रह्म’ [बृ.उ.४.५] |
४. सत्यकाम जाबाल—‘मनोब्रह्म’ [बृ.उ.४.१.६] |
५. विदग्ध शाकल्य—‘हृदयब्रह्म’ [बृ.उ.४.१.७] |

याज्ञवल्क्य-मैत्रेयी-संवाद

================

याज्ञवल्क्य ऋषिले सन्यास लिएपछि उनले आफ्नो संपत्ति कात्यायनी र मैत्रेयी दुबैलाई बाँडीदिने इक्षा गरे | त्यतिखेर उनकी ब्रह्मवादिनी पत्नी मैत्रेयीले मलाई यस्तो सम्पति होइन तिमीले कमाएको अध्यात्मिक ज्ञान भाग लाउ र मलाई देउ भन्न पुगिन | मैले कसरी यो संसारमा अमरत्व पाउन सक्छु ? त्यो चाहीं बताउ भनिन | त्यतिखेर उनले मैत्रेयीलाई भने , ‘पति, पत्नी, संतान, संपत्ति यी सबै कुरा सम्पूर्ण आत्माको भिन्न रुप हो | त्यो आत्मालाई निरीक्षण, अध्ययन एवं मनन गर्नेगर्दा ती समस्त वस्तुहरुको ज्ञान प्राप्त गर्न सकिन्छ (वृ .उ.२.४.२-५; |आत्माको स्वरुप प्र्ष्ट्याउदै याज्ञवल्क्यले मैत्रेयीलाई भने – जसरी समस्त स्पर्श हाम्रो छालामा केन्द्रित हुन्छ , अथवा सारा विचार हाम्रो मनमा आउँछ त्यसरी नै यस संसारका सारा चिजविजहरु हाम्रो आत्मामा केन्द्रित भएको हुन्छ [बृ.उ.२.८.११] । यसैकारण, आत्मप्राप्ति नै मानवीय प्रयत्नहरुको सबभन्दा ठूलो साध्य हो अरु बाँकी कुरा त हाम्रा मन भुलाउने साधन (आर्तम्) मात्र हुन |

अमरत्व प्राप्ति
=========
अमरत्व कसरी प्राप्त गर्ने ? यो कुरो बताउँदै याज्ञवल्क्य भन्छन , ‘आत्मा लाई सुन्ने , मनन गर्ने र चिंतन गरी आत्मतत्त्वको व्यापकता अनुभव गर्नु हाम्रो काम हो (आत्मा वा अरे द्रष्टव्यः) | आत्मतत्त्वलाई यसरी बुझ्न सक्दा अमरत्त्व प्राप्त गर्न सकिन्छ (एतावद्‍ खलु अमृतत्वम्)| अनि आत्मतत्वको यस्तो साक्षात्कार मात्र यो मनले गर्न सक्ने हुन्छ (मनसैवानद्रष्टव्यम्)’|

जनक-याज्ञवल्क्य संवाद
===============
बृहदारण्यक उपनिषद्को चौथो अध्यायमा आत्मज्ञानसम्बधी ‘जनक याज्ञवल्क्य संवाद’ उल्लेख गरिएको छ | त्यस संवादको शुरुमा याज्ञवल्क्यले राजा जनक लाई सोधेका छन – अन्तिम सत्य बारे आजसम्म तिमीले कुन कुन ऋषिहरुको उपदेश सुनेका छौ ? त्यसमा जनकले भने ‘वाणीलाई परमसत्य भन्ने जित्वन् शैलिनिको , प्राणलाई ब्रह्म मान्ने उदंक शोल्बायनको , चक्षुलाई परमसत्य ठान्ने बर्कु वार्ष्ण को , कानलाई ब्रह्म भन्ने गर्दभीविपीत भारद्वाजको , मनलाई ब्रह्म भन्ने सत्यकाम जाबालको , एवं हृदयलाई अन्तिम सत्य भन्ने विदग्ध शाकल्यको उपदेश मैले सुनेको छु | त्यो सुनेर याज्ञवल्क्यले भने -तिमीले सुनेको उपदेश अंशतः सत्य हो तर, पूर्णरुपले होइन [बृ.उ.४.१.२-७] | याज्ञवल्क्यको कथन थियो – इन्द्रियहरु अथवा मनले परमसत्य प्राप्त गर्न सक्दैन | त्यो त आत्मज्ञानबाट मात्र सम्भव हुन सक्तछ |किनभने आत्मा नै सत्य हो , मन र इन्द्रिहरु मात्र साधन हुन |

मृत्यु वर्णन
=======
मृत्युको समयमा मानव देहात्माको स्थिति कस्तो हुन्छ ? भनेर राजा जनकले याज्ञवल्क्यलाई सोद्धा उनले भने – ‘मृत्यु हुने समयमा मान्छेको प्रजात्मा उसको देहात्मामा उक्लिन्छ | त्यसै कारणले गर्दा निकै ठूलो भारी बोकेको गाडी सरह मृत्यु हुनेको चित्कार मृत्यु हुने समयमा मानव देहात्माबाट निस्किन्छ [बृ.उ.४.३.३५] | मृत्यु हुनु पहिले आँखोबाट प्राणरुप पुरुष पहिले निस्किन्छ | त्यसपछि उसको हृदय प्रकाशित हुन्छ जसलेगर्दा आँखो , तालू अथवा अन्य कुनैपनि कर्मेंद्रियबाट उसको आत्मा निस्किएर जान्छ | त्यतिखेर उसले गरेको कर्म मात्र यहाँ रहन्छ | जुन त्यो आत्माले पाउने अघिल्लो जन्मको मार्गदर्शक बन्न पुग्दछ [बृ.उ.४.४.१-५] |

आत्मज्ञान
=======

मानव जीवनमा आत्मज्ञान प्राप्त गर्न सकिन्छ र त्यहिनै अन्तिम सत्य हो – यस्तो याज्ञबल्क्यको भनाइ थियो |राजा जनकले उनलाई मान्छेको ज्योति के हो ? के ले मान्छेलाई प्रकाश दिन्छ ? भनेर सोद्धा याज्ञवल्क्यले सूर्य, चन्द्र तथा अग्निलाई मान्छेको ज्योति बताउंदै भने आत्मज्ञान मान्छेको अन्तिम ज्योति हो जो सूर्य, चन्द्र तथा अग्नि नहुँदापनि मान्छेलाई प्रकाशित गर्न सक्तछ [बृ.उ.४.३.२-६] | त्यतिखेर आत्मा नै ज्ञेय र ज्ञाता रहने हुन्छ | अरस्तू (ऐरिस्टोटल ) ले यसैलाई ‘थिओरिया’ को अवस्था भनेका छन |

चरित्रचित्रण
========
याज्ञवल्क्य त्यस युगको एक अद्वितीय विद्वान्, वादविवादपटु, एवं आत्मज्ञानी मानिन्थे | उनी निकै उग्र स्वभावका थिए | जनकको विद्वत्सभामा विवाद गर्दाको समयमा उनले शाकल्य ऋषिलाई आक्रोशपूर्ण शब्द प्रयोग गर्दै भने ” यस पछिपनि तिमीले यस्तो प्रश्न गर्यौ भने तिम्रो टाउको काटेर यो पृथ्वीमा हुत्याइ दिन्छु (मूर्धा ते निपतिष्यति) | उनी निकै क्रोधी थिए त्यसकारण त्यस्तो भन्न सके | तर ,उनी परमदयालु तथा कोमल प्रकृतिका पनि थिए जुनकुरो तिनकी पत्नी मैत्रेयी संगको कुराकानीमा झल्किन्छ |तर , के कुरा सत्य हो भने वादविवाद हुँदा कसैको कसैप्रति दयालुपन रहन सक्तैन | गार्गीसंग वादविवाद गर्दा उनले तिमी निकै नै प्रश्न गर्दै छ्यौ (अतिप्रश्नं पृच्छसि) भनेर हप्काउन पुगेका थिए | तर , निकै होशियारपनि थिए | जनकको राज सभामा जरात्कारुले ज्ञान एवं कर्म विषयमा प्रश्न सोद्ध्दा यस्तो कुरो आधिकारिक व्यक्तिले मात्र थाहा पाउन सक्दछ भनेर त्यो सभादेखि उनलाई बाहिर लगि एकान्तमा गएर बताई दिएका थिए |अश्वलले उनलाई सम्प्रदाय’ संबन्धी गाह्रो प्रश्न सोद्धा उनले तुरुन्तै जवाफ दिएर निरुत्तर तुल्याएका थिए |

परिवार
=====
याज्ञवल्क्यका मैत्रेयी र कात्यायनी दुइटी पत्निहरु थिए |त्यसमध्ये मैत्रेयी आध्यात्मिक ज्ञानकी पिपासु थिइन् | तसर्थ उनलाई उनले आत्मज्ञान दिए | संन्यास लिईसकेपछि पनि मैत्रयीलाई जंगलमा लिएर गए | स्कंद पुराणमा मैत्रेयीलाई ‘कल्याणी’ भनिएको छ [स्कंद. पु ६.१३०-१३१]| वैदिक ग्रंथहरु मध्ये ‘जाबालोपनिषद’ एवं ‘शतपथ ब्राह्मण’ मा पनि त्यो कुरो उल्लेख गरिएको छ [श. ब्रा. १.४.१०-१४] | इनकी अर्की पत्नी कात्यायनी एउटी सामान्य गृहिणी थिइन् | जसबाट इनका कात्यायन र पिप्पलाद नाउँ गरेका छोराहरु जन्मिएका थिए [स्कंद. ५.३,४२.१] |

ग्रंथहरु
=====
याज्ञवल्क्य को नाउँमा लेखिएको निम्नलिखित ग्रंथहरु अहिले पाइन्छ —१. शुक्लयजुर्वेद संहिता [श. ब्रा. १४.९.४.३३]; २. ईशावास्योपनिषद; ३. सांग शतपथ ब्राह्मण [म. शां. ३०६.१-२५]; ४. बृहदारण्यक उपनिषद [याज्ञ, ३. ११०]; ५. याज्ञवल्क्यशिक्षा, जसमा २३२ श्लोकहरु छन ६. मन:स्वारशिक्षा, जसमा हस्तस्वर बाहेक विभिन्न प्रकारका विचारहरु समावेस गरिएका छन ७. वृहदयाज्ञवल्क्य; ८. बृहद्योगीयाज्ञवक्ल्य; ९. योगशास्त्र र ‘याज्ञवल्क्यस्मृति’ |


Write A Suggestion

%d bloggers like this: