जरो र किलो नेपालमै भयका ऋषि – महर्षि कश्यप र नेपाल


प्रवीण अधिकारी——–

18953008_646418248898014_577708870054107216_n

महर्षि कश्यप र नेपाल
==============
कश्यप ऋषि अग्निका शिष्य हुन | हाम्रा वैदिक ग्रन्थहरुले , विशेषगरी शुक्ल यजुर्वेद माध्यन्दिनिय शाखाका अनुयायीहरुले यज्ञ यज्ञादि कार्य गरिसकेपछि –

” त्र्यायुषं जामदग्ने: कश्यपस्य त्र्यायुषम् ।
यद्देवेषु त्र्यायुषं तन्नो अस्तु त्र्यायुषम् ।। “-वा.सं.३/६२

ब्राह्मणद्वारा मंत्र उच्चारण गराएर याज्ञिक कर्मको विभूति /तिलक /भष्म धारण गर्दैगर्दा हाम्रो त्रिगुणित आयुवृद्धिकोलागि कामना गर्दै आशीर्वचन लिंदा कश्यप ऋषिलाई सम्झिने गर्दछौं (जै. उ. ब्रा.४.३.१०) | कश्यपका प्रथम शिष्य विभांडक ऋषि मानिन्छन [वं.ब्रा.२] | कश्यप ऋषिको र वसिष्ठ ऋषिको दाजु भाईको नातो थियो [बृ. उ. २.२.४] | कश्यपलाई मानव शरीरको ज्ञानेंद्रिय र कर्मेन्द्रियहरुको पालनकर्तापनि भनिएको पाइन्छ [म. अनु.१४२] | कुनै कुनै ग्रन्थले इनलाई ब्रह्माजीको मानसपुत्र भनेर चिह्नाएकोपनि देखिन्छ | तर , अधिकांश ग्रन्थहरुले मरीचिपत्नी अर्थात कर्दम ऋषिकी छोरी कलाबाट कश्यप ऋषि तथा पूर्णिमा नाउँ गरेकी छोरी जन्मिएको बताएको पाइन्छ | ती दुई मध्ये कश्यप ऋषि जेठो हुन [म.भा.४.१] | यी दुईटालाई तार्क्ष्य र अरिष्टनेमि भनेरपनि चिह्निएका छन | कश्यप ऋषि सप्तऋषिहरु मध्ये एक र प्रजापतिहरु मध्येकापनि एक ऋषि मानिन्छन [म. अनु.१४१] | तर , विभिन्न मन्वन्तरहरुको कारणले गर्दा सप्तऋषिहरुको नाउँमा कश्यप ऋषिको साटो भृगु तथा मरीचि नाउँपनि रखिएको कुनै कुनै ग्रन्थहरुमा देखिन्छ | स्वायंभुव तथा वैवस्वत मन्वन्तरका ब्रह्मपुत्र मरीचि एउटै हुनभनि देखाइएकोपनि छ | यस्तो भएको कारणलेगर्दा ती दुईटै समयमा उल्लेख हुन पुगेका कश्यप नाउँ गरेका ऋषिपनि एउटै मानिएका छन् | वायु पुराण अनुसार कश्यप ऋषिका पूर्णिमा सहित छओटा दाजुभाईहरु थिए | इनकी आमाको नाउँ ऊर्णा ,र अग्निष्वात्त नाउँ गरेका पितृ इनका भाई भएको जनाएको छ | इनको सुरुपा नाउँ गरेकी एउटी बहिनी ( भाषान्तरमा पूर्णिमा ) थिइन् , जो वैवस्वत मन्वन्तरमा ब्रह्माको मानस पुत्री भनिइन र तिनलाई अंगिरा ऋषिले बिहे गर्न पुगेका थिए [वायु. ६५.९८] | चारै वेद ,पुराण ,ब्राह्मण ग्रन्थहरुमा श्रद्धा साथ नाम उल्लेख गरिएका कश्यप निकै धार्मिक तर रहष्यात्मक चरित्र भएका ऋषि हुन पुगेकाछन | शृष्टि विकास प्रक्रियामा इनी त्यस्ता ऋषि हुन जसले सम्पूर्ण स्थाबर जंगम ,जीव जन्तु ,किरा फट्यांग्रा ,आदि इत्यादि सबैकुराहरुको शृष्टिको श्रेय पाएका छन् | ऋग्वेदकालमा मानिएका ब्रह्माका नौवटा मानस पुत्र ( कुनै कुनै प्रकरणमा ६ बटा ) ऋषिहरु मध्ये मारीचि र कलाका सुपुत्रको रुपमा इनलाई चिह्नाइएको छ | यिनका जेठान बिष्णु अवतार कपिल मुनि मानिन्छन | इनि सातौं बैबश्वत मन्वन्तरका सप्तऋषिहरु वसिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गोतम , विश्वामित्र र भरद्वाजमा गणना गरिएका छन् | इनले ऋग्वेदका १००० ऋचा प्राप्त गरेका थिए ,जुन अहिलेको ऋग्वेद संहितामा भेटिन्न | महर्षि कश्यपको जन्म तिथि चैत्र शुक्ल नवमी अर्थात रामनवमीको दिन नै विश्वभरीको सनातनी हिन्दू समाजले मान्ने गरेको छ |

क्षत्रियहरुको रक्षा
===========
एक्काइस पल्ट पृथ्वी निःक्षत्रिय बनाएपछि परशुरामले सरस्वती नदी तटमा अश्वमेध यज्ञगर्दा कश्यप ऋषि अध्वर्यु पदमा रहन पुगेका थिए | त्यतिखेर दक्षिणा स्वरुपमा परशुरामले यो पृथ्वी कश्यप ऋषिलाई दान दिएपछि यस पृथ्वीमा बाँकी रहेका क्षत्रियहरुको अव विनाश नहोस भनेर कश्यप ऋषिले परशुरामलाई तिमी यस पृथ्वीको सिमाना भन्दा बाहिरै गएर बस्ने गर भनेर आदेश दिंदा परशुराम समुद्रद्वारा उत्पन्न गरिएको शूर्पारक देशमा गएर बस्नु परेको थियो | महाभारतले यो ठाउँलाई कोंकण भनेर चिह्नाएको छ | जो हालको बम्बई नजिकको सोपारा नाउँको गाउँ हो भनेर चिह्नाउने प्रयाश भारतीय विद्वानहरुले गरेको देखिन्छ | [म.शां. ४९.५६-५९] | यसपछि कश्यप ऋषिले यो दान पाएको पृथ्वी ब्राह्मणहरुलाई सुम्पिई आफुचाहीं उत्तरतिर लागे भनेर उल्लेखित भेटिन्छ | त्यो उत्तरतिर भनिएको ठाउँ नेपाल हो कि होइन ? विद्वान अनुसन्धाताहरुले नै पत्ता लाउँन तर मैले खोजी गर्दा भेटेको कुरो यसरी उल्लेख गरेको छु –

नेपालमा कश्यप ऋषि
===============
नेपालको वर्तमान कास्की जिल्ला महर्षि कश्यपको तपोभूमी मान्ने आधारहरु प्रसस्त छ | यही ठाउँ महर्षि कश्यपले “काश्यपकुट्ट” भन्ने गरेको र यहीं बसेर “काश्यप संहिता ” नामक अमूल्य आर्युवैदिक ग्रन्थ रचना गरेका हुँदा त्यो शब्द कालान्तरमा खिईदै अपभ्रंस भई काश्यपकुट्टबाट कास्की भनिन थालियो भन्ने लोककथा भेटिन्छ | उनले सर्बप्रथम ऋग्वेदको कठिन मन्त्रहरुको संग्रहगरी व्याख्या गरेका थिए जसलाई ” निघंटू ” भनिएको थियो | त्यो निघंटू अहिले प्राप्य छैन |(हेर्नोस वेदमा के छ ? -स्वामी प्रपन्नाचार्य ) काल गतिले त्यो लोप हुन पुग्यो | कश्यप ऋषिले लेखेको निघंटूमाथि महर्षि याष्कले भाष्य लेखे जसलाई ” निरुक्त ” भनियो | अहिले सम्म निघंटू माथिको निरुक्त लख्ने महर्षि याष्क वेदार्थ सम्बन्धी सबै निर्णयहरुमा सबै भन्दा उपल्लोस्तरमा रहेकाछन | अर्कोकुरा , महर्षि कश्यपले रचानागरेको दूर्लभ ग्रन्थ “कश्यप संहिता ” तत्कालिन नेपालका राजगुरु श्री हेमराज शर्मा पाण्डेले नेपालमै प्राप्त गरी ( कास्की जिल्लाबाटै ?) बि.स. १९९५ अर्थात् ई.स.१९३८मा प्रथम पटक प्रकाशित गराएका थिए | यो विलुप्त ग्रन्थ खण्डित र धेरै कुरा हराएको अवस्थामा रहेपनि बिशुद्ध नेपाली सर्जक ऋषिमुनिको कृति रहेको हुँदा हामी सबै नेपालीहरुले यसमा गर्व गर्न सक्नु पर्दछ | यस संहितामा सबै देशको साँध सिमाना तथा बाल रोग चिकित्सा समाबेस गरिएको छ | यो ग्रन्थ नेपालका सबै प्राचिन पुस्तकालयहरुमा प्राप्य रहेको छ र यसको पाण्डुलिपि नेपालको एक मात्र अभिलेखालय “रष्ट्रिय अभिलेखालय” मा सुरक्षित रहेको छ | यसबाहेक कश्यपकै नाउबाट अरु दुईटा संहितापनि भारतको मद्रासबाट प्रकाशित भएको छ जसमा गारुड़ी बिद्द्या ,बिषधर प्रयोग , उमा महेश्वर प्रश्नोत्तरी र चिकित्सा सम्बन्धी कुरो समावेस छ |

महर्षि कश्यप जाज्वल्यमान थिए | इनको जटा अग्नि-ज्वाला समान थियो | कश्यप ऋषिकी पत्नी अदितिको गर्भबाट बाह्र आदित्यहरुको जन्म भयो | विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इंद्र र त्रिविक्रम (भगवान वामन) | ऋषि कश्यपकै छोरा बिवस्वान भए | ति बिवस्वानबाट मनु जन्मे | इनै मनुको सन्तान भएकाले हामी मानव हुन पुग्यौं | कश्यप गोत्र प्रवर्तक ऋषि हुन् | तसर्थ हाम्रो नेपाली समाजमा कश्यप गोत्रको रुपमा शाह ,शाही ,माझी ,घिमिरे ,गोदार थापा ,गर्तौला ,अधिकारी -भण्डारे ,खिर्सिने ,कवाली ,थानसिंगे , बोगटी ,कठायत , बुढाथोकी ,पाण्डे , छत्कुली,बडाल , श्रेष्ठ , लिम्बु ,राई ,शेर्पा र गोत्र हराएका विश्वभरी छरिएका सबै सनातनी हिंदू समाजले कश्यप गोत्रनै धारण गर्नु पर्ने शास्त्रीय विधान रहेको छ | यस कश्यप गोत्र भित्र ५ ओटा गणहरु रहेको पाइन्छ -तिनलाई नैध्रुव ,कश्यप ,शण्डिल ,रैभ र लौगाक्षी भनिएको छ | यसमध्ये नैध्रुवको काश्यप ,अवत्सार ,नैध्रुव प्रवर हो भने कश्यपको काश्यप ,अवत्सार ,असित हो |त्यस्तै रैभको काश्यप ,अवत्सार ,रैभ्य हो भने शण्डिलको काश्यप ,अवात्सर ,शाण्डिल्य हो अथवा शाण्डिल्यको स्थानमा असित वा देवल हो अथवा शण्डिल्य ,असित , देवल हो अथवा काश्यप असित देवल हो अथवा असित वा देवलको व्यत्यय हो | लौगाक्षीहरुको काश्यप ,अवत्सार वशिष्ठ हो ,अथवा काश्यप ,अवत्सार , असित हो अथवा दिउँसो वशिष्ठ र रातमा काश्यप हो |{नि.सि,४९९ पाना } यिनै कश्यप गोत्रीय प्रवरहरु ग्रन्थहरु कोट्याउँदा भेटिएकोछ |

वैदिक ग्रन्थमा कश्यपको सम्झना
=======================
कश्यप ऋषिले छोरा पाउन यज्ञ गर्दा देव ऋषि तथा गंधर्वहरुले सहयोग गरे | त्यतिखेर वालखिल्य ऋषिहरुलेपनि उनलाई सहायता गरिरहेका थिए | त्यतिखेर ईन्द्र आएर वालखिल्य ऋषिहरुको निन्दा र अपमान गरे | त्यो अपमानबाट क्रोधित हुन पुगेका बालखिल्य ऋषिहरुबाट जोगिन इन्द्र कश्यप ऋषिनिर पुगे अनि बडो चातुर्यता देखाउँ दै कश्यपले वालखिल्यहरुलाई मनाए र ईन्द्रलाई निर्भय बनाए | त्यस्तै , इन्द्रादि देउताहरुलाई दैत्यहरुले हराएपछि ती कश्यपकोमा पुग्दा उनले शिवजीलाई खुशी पारी दैत्यहरुको बल नष्ट गराएका थिए | त्यसपछि कश्यपकी पत्नी सुरभीको कोखबाट ११ पटक जन्म लिई दैत्यहरुको नासगरी आकाशमा ईशान कोणमा गई शिवजी रहन थाले भनिएको छ [शिव. शत.१८] | कश्यप ऋषिले अर्बुद पर्वतमा गई तपस्या गरेका वखत अरु अरु ऋषिहरुले गंगा ल्याउन इनलाई अनुरोध गर्दा उनले शिवजीको तपस्या गरी शिवजीलाई गंगा ल्याउन बाध्य पारे | जुन ठाउँमा गङ्गा झरिन त्यसलाई अहिलेपनि काश्यप तीर्थ भन्ने गरिन्छ [पद्म.पु. उ १६४] | पछि इनी गङ्गाजी लिएरै आफ्ना स्थानमा फर्किए त्यो ठाउँलाई केशरंध्रतीर्थ भनिएको छ | कश्यप ऋषिले गङ्गाजीलाई प्रथम पटक ल्याएका थिए त्यसकारण गंगाजीको नाउँ काश्यपीपनि रहन गएको छ | त्यस्तै यस पृथ्वीलाईपनि काश्यपी नै भन्ने गरिएको छ | त्यै काश्यपी गङ्गा युग भेदले कृतवती, गिरिकर्णिका, चंदना तथा साभ्रमती भनेर आजसम्म चिह्निदै आएकी हुन [पद्म.पु . उ.१३५] |

ग्रंथहरु
=====
कश्यप ऋषिका देन हेर्नु पर्दा चरकसंहिता हेर्दा त्यसमा धेरै पाठहरु कश्यप रचित भेटिन्छन | त्यसबाहेक १. कश्यपसंहिता (वैद्यकीय) २. कश्यपोत्तरसंहिता, ३. कश्यपस्मृति, भन्ने ग्रन्थहरुको उल्लेख विज्ञानेश्वर तथा माधवाचार्य जस्ता तिकाकारहरुले गरेको देखिन्छ भने ४. कश्यपसिद्धांत (नारदसंहिता भन्ने गर्ण्ठमा उल्लेखित छ ) | यसबाहेक नेपाली विद्वान हेमराज पाण्डेले पत्ता लाएको कश्यप संहितापनि भेटिन्छ |

परिवार
=====
दक्ष प्रजपतिकी ६६ वटी छोरीहरु मध्ये १७ वटी संग ( अदिति, दिति, दनु, काष्ठा, अरिष्टा, सुरसा, इला, मुनि, क्रोधवशा, ताम्रा, सुरभि, सुरसा, तिमि, विनता, कद्रू, पतांगी र यामिनी ) इनले बिहे गरेका थिए | कश्यप ऋषिका आवत्सर ( कुनै कुनै ग्रन्थहरुमा वत्सार )तथा आसित नाउँ गरेका दुईटा छोराहरु थिए | आवत्सरले निध्रुव वा नैध्रुव तथा रेभ नाउँ गरेका दुईटा छोराहरु जन्माए | नैध्रुवकि सुमेधाबाट थुप्रै , रेभबाट रैभ्य उत्पन्न हुन पुगे [ब्रह्मांड पु . ३.८.२९-३३];[ वायु पु ७०.२४-२५];[ लिंग.पु १.६३];[ कूर्म पु .१.१९] |

कश्यपगोत्रीय चर्चित वैदिक व्यक्तित्वहरु
==========================
असित, कश्यप, देवल, निध्रव (नैधुव), रैभ्य, तथा आवत्सर | वायु पुराणमा ‘विक्षम’ तथा मत्स्य पुराणमा ‘नित्य’ नाउँ पनि भएको देखिन्छ [ब्रह्मांड पु.. २.३२.११२-११३];[ मत्स्य.पु. १४५.१०६-१०७];[ वायु पु. ५९.१०२-१०३] | यी सबै ऋषिहरू ब्रह्मवेत्ता थिए | ऋग्वेदमा वत्सारको ठाउँमा आवत्सर, नैध्रुवको ठाउँमा निध्रुवि, तथा भूतांश, रेभ तथा वित्रि आदि लेखिएको देखिन्छ , जे भनि यी सबै कश्यप सन्तानहरु हुन ( ईक्षाहुनेले हरित, शिल्प, नैध्रुव हेर्नोस ) |

बुढामहारज पृथ्वी र गोत्र प्रवर्तक ऋषि कश्यप
=============================
बुढा महाराज श्री ५ पृथ्वी नारायण शाह पहिला भारद्वाज गोत्रका थिए | उनी दुरदर्शी भएकै कारण उनले नुवाकोटको दोश्रो आक्रमणपनि विफल भएपछि सगोत्र हत्याको पाप नलागोस भन्ने हेतुले २० बर्षे उमेरमा काशी पुगि तत्कालिन शाह वंशको प्रचलित गोत्र भरद्वाज त्यागगरी कश्यप गोत्र धारण गरेको कुरो नेपालमा निकै चर्चित छ | उनले यो काम एकीकरण अभियानमा लमजुंगे दाजुभाईको हुनसक्ने हात्या र त्यो हत्या पापबाट मूक्त रहन सो गोत्र त्यागेका थिए | -प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: