महर्षि भारद्वाज र नेपाली समाज


प्रवीण अधिकारी 

============================
( हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृगु -भार्गव: सम्बन्धमा प्रसस्त वादविवाद छ , कसैको एकमत देखिन्न | जुनवेला वैदिक मन्त्रहरु ऋषिहरुद्वारा प्राप्त गर्न थालिएको थियो त्यतिखेर यो काश्यपी श्रिष्टिको शुरुवातकाल थियो | हाम्रा गोत्र प्रवर्तक ऋषिहरु जसरी चिह्निएका थिए त्यसरीनै वेदमा उल्लेखित हुनपुगे | अव यी ऋषिहरुको नाउँ परवर्तीकालमा केही ईकार ,आकार फरकपारी प्रयोग हुँदै आयो | तिनको नाउँ त्यो होइन ,मिलेन ,ती छुट्टै गोत्र प्रवर्तक हुन भनेर प्रष्ट्याउने प्रयाश गर्यौं तिनलाई चिह्नाउने छुट्टै प्रवरहरु दिन सक्दैनम | त्यस्ता कुराहरु हाम्रा कुनैपनि वैदिक / पौराणिक / ब्राह्मण ग्रन्थहरुमा पृथक रुपमा उल्लेखित भएको देखिन्न | अब ती दुई विच विहेवारी चलाउन हुन्छ हुँदैन सम्बन्धित व्यक्तिहरुको स्वविवेकमा छोडौं | यो समयमा , को को ऋषिहरू ? कुन कुन ऋषि कुलका हुन भनेर पुष्ट्याइं गर्ने एकमात्र आधार र हतियार भनेको तिनको प्रवर मात्र हो | अब हामीले आजको समाजको सोच कस्तो छ ? कतातिर लम्किंदै छ ? यस्ता कुरा हेरेर , त्यस्ता कुराहरुको निर्णय गर्न नमिल्ला | हामी जब पौराणिक र वैदिक कुरो गर्न चाहान्छौं भने हाम्रा तर्क र प्रमाणले तिनै ग्रन्थहरुको पुष्ट्याई र प्रतिनिधित्व गर्न सक्नु पर्दछ | अर्कोकुरा , वैदिक व्याकरणका सूत्रहरुलेपनि त्यो कुरा पुष्टि गर्न सक्नु पर्दछ | उदाहरणार्थ – ” पणनं पण: स विद्यते यस्य स: पणी पणिन: अपत्यं पुमान पाणिन: तस्य युवापत्यं पाणिनी: र ” कश्यपस्य अपत्यम पुमान काश्यप: ” अर्थात पाणिनको छोरो पाणिनी र कश्यपका छोराहरु काश्यप हुन भनेर वैयाकरणिय ब्याख्या गरी सकेको हुँदा यस्ता कुरामा विवाद झिकी तर्क गरिनु उचित हुन जाँदैन | यसबाहेक कश्यप एक वचनको प्रतिनिधि हो भने काश्यप वहुवचनको प्रतिनिधि वोधक शब्दपनि हो | तसर्थ यी र त्यस्ता नाउँहरुले बेग्लाबेग्लै ऋषिहरुको प्रतिनिधित्व गर्न पुगेको ठहरिंदैन भने कश्यप शब्दले मूल ऋषि र काश्यप शब्दले तिनका सन्तान अर्थात् प्रवर जनाएको हो भन्नेकुरा बुझ्नु पर्ने हुन्छ | माथिको उदाहरणमा परेको गोतम ,कश्यप ,भारद्वाज ,अत्रि ,शण्डिल ,भृगु ,आदि गोत्र हुन भने गौतम , काश्यप ,-भारद्वाज , आत्रेय , शाण्डिल्य , भार्गव: आदि तिनका सन्तान अर्थात प्रवर हुन | यिनै कुराहरुको मर्म बुझ्दै वैदिक भाषाहरुको सरलीकृत गरी पौराणिक ग्रन्थहरुले तत्कालिन ऋषिहरुलाई ” वशिष्ठकाश्यपो यात्रिर्ज्जमद्ग्निस्सगौत | विश्वामित्र भारद्वजौ सप्तसप्तर्षयोभवन ” वा ” विश्वामित्रो जमदग्निर्भारद्धाजाऽथ गौतमः , अत्रिर्वशिष्ठः कस्यप इत्येते सप्तर्षयाः ।, सप्तानामृषिणामगत्याष्टमानां यदपत्यं तदगोत्रम् ” उल्लेख गरिदिएको हो |)

नेपाली समाजमा कठायत,कंडेल,चौंरेल, चौलागाई, सुवेदी ,थपलिया, पन्थी, वाग्ले, लोहनी, पन्त, थामी अधिकारी, दूधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, पाँडे ,लुवागुन ,काराखेती , राजोपाध्याय (भक्तपुर), जोशी, राजभण्डारी (काठमाडौं), पालिखे, लाखे, श्रेष्ठहरु र ढोर राज्यका शाह राजा , भिरकोटका राज्य खानदान , नुवाकोट राज्य(स्यांग्जा)का शाही , कास्की राज्यका शाही , लम्जुंग राज्यका शाही , सतहु राज्यका शाही ,गरहुँ राज्यका शाही ,मुस्तांग राज्यका बिष्ट राजा (सेंगसुंग) , दुकुर देव बंश आदि भारद्वाज गोत्रीय हुन | भारद्वाज गोत्रका तीन प्रवरहरु छन – आंगिरस ,बार्हस्पत्य ,भारद्वाज |कसै कसैको मतमा भारद्वाज गोत्रमा ४ प्रवर – भारद्वाज ,गर्ग ,रौक्षायण ,कपि र कसैले फेरी अंगीरस ,गार्ग्य र शैन्य रहेको भन्ने लेखिएको भेटिन्छ |

भारद्वाजको वैदिक परिचय
=================
यी शुरुमा भरद्वाज नाउँले प्रख्यात हुन पुग्ने सुविख्यात वैदिक सूक्तद्रष्टा ऋषि हुन जसलाई ऋग्वेदको छैठौं मण्डलको सूक्तहरुको मन्त्र द्रष्टा ऋषि भनिएको छ | उनले भेटेका मन्त्रहरुमा यी यसरी उल्लेखित हुन पुगेकाछन – ” स तवं दक्षस्याव्र्को वर्धो भूरर्यः परस्यान्तरस्य तरुषः | रायः सूनो सहसो मर्त्येष्वा छर्दिर्यछ वीतहव्याय सप्रथो भरद्वाजाय सप्रथः ||” [ऋग्वेद -६.१५.३.] , ” तवमिमा वार्या पुरु दिवोदासाय सुन्वते | भरद्वाजाय दाशुषे ||” [ऋग्वेद – ६.१६.५ ] | भरद्वाज तथा भारद्वाज शब्दहरु यस मण्डलमा धेरै उल्लेख गरिएको छ | अथर्ववेद एवं ब्राह्मण ग्रन्थहरुमापनि यिनलाई वैदिक सूक्तद्र्ष्टा ऋषि भनिएको छ [अ.वे.२.१२.२,४.२९.५];[ क.स.१६.९];[ मै.सं.२.७.१९];[ वा.सं.१३.५५];[ ऐ. ब्रा.,६.१८.८.३];[ तै. ब्रा.३.१०.११.१३];[कौ. ब्रा.१५.१,२९.३] | सांख्यायन श्रौतसूत्र अनुसार, भरद्वाजले प्रस्तोक सार्ञ्जय राजासंग पारितोषिक लिने गरेका थिए भनेर उल्लेख गरिएको छ [सां.श्रौ.१६.११] |

भारद्वाजलाई चिह्नाउने वैदिक कथा
=======================
तैत्तरीय ब्राह्मणमा भरद्वाजको वेदाध्ययन सम्बन्धमा एउटा कथा उल्लेख गरिएको छ जसले भरद्वाज ऋषिलाई वेद अध्ययन गर्ने त्रिष्णा जागेको कारण उनले वेद अध्ययन गर्न थालेका तर समय नपुग्ने भएर उनी देवराज ईन्द्रकोमा पुगेका हुँदा ईन्द्रले खुशी भएर १०० बर्षको तीन जन्म पाउने वर् दिएका थिए तर त्यसलेपनि तिनको वेदको साङ्गोपाङ्ग अध्ययनको धोको पुग्न नसकेकोले उनी चिन्तामग्न भएको बेला ईन्द्र आएर पुनः एक जन्म थपि उनलाई सम्झाउन वेदलाई तिन भागमा बाँडी त्यसै मध्येको एक मुट्ठी वेदज्ञान लिएर त्यसको एक कण देखाउंदै ईन्द्रले भनेका थिए – हे भारद्वाज ‘तीन जन्ममा तिमीले यति मात्र ज्ञान पाउन सकेका छौ भने यो पर्वताकार वेदाध्ययन मैले अझै तिमीलाई सय जन्म थपिदिंदा तिमीले पूर्ण रुपमा गर्न सक्तैनौं तसर्थ यो असम्भव कुरो तिमी नगर | तिमी अब आफ्ना हठ छोडी मेरो शरणमा आउ र सम्पूर्ण वेदज्ञान प्राप्त गर्न ‘सावित्रीग्निचयन’ यज्ञ गर , यसले तिम्रो जिज्ञासा पूर्ण गर्ने छ र तिमी स्वर्ग प्राप्त गर्न सक्ने छौ |यसरी इन्द्रको आदेश अनुसार उनले यज्ञगरी वेद्ज्ञान पाएर स्वर्गको अधिकारी बन्न सकेका थिए भन्नेकुरा उल्लेखित भेटिन्छ [तै.ब्रा.३.१०.९-११] | यै ‘सावित्रीग्निचयन’ विद्या पछिल्लो समयमा देउताहरुले विदेहराज जनकलाई दिएका थिए भनिएको छ |

भारद्वाज अंगिरा वंशका प्रख्यात ऋषि हुन ,जो बृहस्पतिका छोरा मानिन्छन | यी र इनका बाबु बृहस्पति वैशालीमा रहने गर्दथे | त्यो वैशालीमा त्यतिखेर मरुतहरुको राज्य थियो | त्रेतायुगमा , तिनै बृहस्पतिको छोरा भएका कारण इनलाई ‘भरद्वाज बार्हस्पत्य’ र उशिजको वंशज भएको कारण उनलाई ‘भरद्वाज औशिज’पनि भन्ने गरिएको थियो | बृहस्पतिले ममताबाट जन्माएको छोरा भरद्वाज नाउँले चिह्निएका थिए | यिनको नाउँ भरद्वाज राखिएको सम्बन्धमा धेरै कथाहरु पाइन्छन [वायु.९९.१४०-१५०];[ मत्स्य ४९.१७-२५];[ विष्णु.४.१९.५-७] | त्यस मध्ये महाभारतको कथा अनुसार, भारद्वाजको जन्मोपरांत बृहस्पति तथा ममता विच इनको संरक्षण कसले गर्ने भन्ने विवाद हुँदा ती मध्ये एउटाले भन्यो ” तिमी यसको हेरविचार गर “( भरद्वाजमिमगों )” भन्दाभन्दै यिनको नाउँ भरद्वाज रहन पुग्यो [म.अनु.१४२.३२ कुं.] | ती दुईटै ममता र बृहस्पति कलह गर्दै गरेको देखेर वैशाली नरेश मरुत्तले भरद्वाजको पालनपोषण गर्न लिएर गए | तर , बृहद्देवतामा इनको पालन पोषण मरुत् देउताले गरे भनिएको छ ५.१०२-१०३] | वृहस्पति वैशाली नरेश मरुत्तको राजगुरु भएको कारण उनैले भारद्वाजलाई पाले होलान भन्न सकिन्छ |पुराण ग्रन्थहरुलेपनि ममता र वृहस्पतिले इनको त्याग गरेपछि मरुत् देवताले इनको पालन पोषण गरे भनेर लेखिएको छ [म. भा.९,२०, विष्णु पु. ४.१९];[ मस्त्य.पु . ४९];[ वायु.पु. ९९.१४०-१५७];[ ब्रह्मांड.पु २.३८] | वैशालीदेखि पश्चिमतिर पर्ने काशीमा त्यतिखेर राजा सुदेवपुत्र दिवोदासको राज्य थियो | भरद्वाज पछि उनकै पुरोहित बन्न पुगेका थिए | यी तिनै दिवोदास राजा हुन जसले वाराणसी नगरी स्थापना गरेका थिए | भरद्वाजले दिवोदास राजालाई पुत्रप्राप्तिकालागि एउटा यज्ञ गराए जसबाट प्रतर्दन नाउँ गरेको छोरो जन्म्यो [म.अनु.३०.३०.] | पुराण ग्रन्थहरु अनुसार, मरुत्त राजाले भरद्वाज ऋषिलाई पूरुवंशीय राजा भरतलाई पुत्र रुपमा सुम्पिए [वायु.९९.१५१];[ मत्स्य.४९.२६] |

भारद्वाजको रुप र जिउडाल
==================

ऐतरेय ब्राह्मण अनुसार भरद्वाज एकदम दुब्ला पातला र गहुँगोरा थिए [ऐ.ब्रा.३४९] | यिनी अत्यंत दीर्घायु र तपस्वी विद्वानपनि थिए [ऐ.आ.१.२.६] | इनको याज्ञवल्क्य ऋषिसंग तत्त्वज्ञान विषयमा छलफल हुने गर्दथ्यो | ‘जगत्सृष्टिप्रकार’ विषयमा इनको र भृगु ऋषिको कुराकानी सनातन हिन्दू समाजमा निकै प्रसिद्ध छ [म.शां.१७५] | इनले धन्वन्तरिलाई आयुर्वेदको ज्ञान दिएका थिए [ ब्रह्मांड.पु ३.६७] | यिनी ब्रह्माजीले पुष्करक्षेत्रमा गरेको यज्ञमापनि उपस्थित थिए [पद्म.सृ.३४] | सर्पविषले मृत्यु भएका प्रमद्वरालाई देखेर रुने स्थूलकेश ऋषिको परिवारमा यिनीपनि सामेल भएका थिए [म.आ.८.२१] |

भारद्वाज ऋषि एक ,रुप अनेक
====================
(१) यिनी त्यस्ता ऋषि हुन् जसलाई पूरुसम्राट भरतलाई पुत्र रुपमा दिइएको थियो | अब तत्कालिन समयको अन्तरहरु बिचार्ने हो भने यी बृहस्पति ऋषिकाछोरा भारद्वाज बार्हस्पत्यका छोरा वा नातिपनि हुन सक्छन | इनको नाउँ विदथिन् थियो जसका कारण यिनी भरद्वाज विदथिन भनेरपनि चिह्निएका थिए | पूरुवंशीय सम्राट भरत निपुत्र थिए यसैकारण मरुत्त राजाले भरतलाई पुत्र रुपमा दिएका थिए | भरद्वाज स्वयं ब्राह्मण थिए तर भरतको छोरो हुन पुगेका कारण उनी क्षत्रिय कहलाए | दुई वंशको पिताहरुको पुत्र भएका कारण यिनलाई ‘द्वयाबुष्यायण’ तथा उनका कुलमा जन्मिएन पुगेका कारण तिनलाई ‘द्वयामृष्यायणकौलीन’ भन्ने गरिएको थियो |राजा भरतको मृत्यु पश्चात भरद्वाजले आफ्ना छोरा वितथलाई राज्यधिकारी बनाएर आफु वन तिर हिंडेका थिए [ मत्स्य.४९.२७-३४];[ वायु.९९.१५२-१५८] |इनको नाउँ विदाथिन् भएकोले इनका छोरा र वंशजहरु ‘वैदथिन’ भनेर आजको दिनमा चिह्निंन पुगेका छन |

(२) भारद्वाज अंगिराकुलोत्पन्न एक ऋषि हुन जो विश्वामित्रको छोरा रैभ्य ऋषिको मित्र थिए |इनको छोरोको नाउँ यवक्रीत राखिएको थियो | भरद्वाज अघिल्लो मन्वंतरका एक ब्रह्मर्षिपनि हुन् | कुनै बेला गंगाद्वारमा बसी कठोर व्रत पालन गर्दा विशेष प्रकारको यज्ञ अनुष्ठान गर्ने उद्द्येश्यले अन्य महर्षिहरु संग गंगा नुहाउन जाँदा लुगा फेर्दै गरेकी घृताची अप्सरालाई देख्दा मोहित भएर यी बाट श्रुतावती नाउँकी छोरी जन्मिन [म.श.४७] | अंगिराकुलोत्पन्न यी ऋषि, जसको आश्रम गंगाद्वार मै थियो [म.आ.१२१] | उत्तर पांचालको राजा पृषत इनको मित्र थिए | गंगाद्वारदेखि हविर्धान हुँदै गंगास्नान गर्न जाँदा त्यसरीनै नुहाउन हिंडेकी घृताची अप्सरालाईदेखि तिनको वीर्य अमोर पर्वतको कंदरामा झर्न पुग्दा त्यो वीर्य द्रोण कलशमा राख्दा द्रोण नाउँ गरेको छोरो जन्मिए [म.आ.५७.८९, १५४.६] |यीनै द्रोण र पृषत राजाको छोरा द्रुपद बीच बाल्यावस्थामा निकै मेलजोल हुन पुग्यो | तर , पछि कटुता मात्र बढेपछि धेरै दिनसम्म त्यो कटुता हराउन सकेन | बृहस्पति ऋषिले भारद्वाजलाई आग्नेय अस्त्र दिएका थिए जसलाई यिनले अग्निको छोरा अग्निवेशलाई दिए [म.भा .१२१.६, १५८.२७] |

(३) वाल्मीकि ऋषिको शिष्य, जो प्रयागतिर बस्दथे तीपनि भारद्वाजनै थिए | क्रौंच पक्षीको जोडा देखेर वाल्मिकिबाट करुण वाणी काव्यको रुपमा प्रस्फुटित भएको थियो त्यतिखेर यिनी उपस्थित थिए [वा.रा.बा..२.७-२१] | ब्रह्मपुराण अनुसार भरद्वाजकी पत्नीको नाउँ ‘पैठिनसी’ रहेको थियो | वाल्मिकी ऋषिले सर्वप्रथम इनलाई नै रामायण सुनाएका थिए [यो.वा.१.२] | दंडकारण्य जाँदा दाशरथि रामले यिनीसंग भेटघाट गरी उनको आतिथ्य स्वीकार गरेका थिए | रामले मलाई बस्न अलिकति ठाउँ देउन भन्दा यिनले आफ्नो आश्रमै लिन आग्रह गरेका थिए तर रामले यहाँबाट अयोध्या ज्यादै नजिक छ ,म यहाँ रहे उनीहरु संधै आई रहनेछन भनेको सुन्दा रामलाई बस्न भारद्वाजले त्याहाँबाट १० माइल टाढा रहेको चित्रकूटमा रहनबस्न व्यवस्था गराई त्यहाँ पुग्नेबाटो समेत बताइदिएर बिदा गरेका थिए [वा.रा.अयो.५४-५५] । रामलाई फर्काउन भरत भारद्वाज आश्रम पुग्दा ऋषिले शंकागरी भरतलाई थुप्रै प्रश्न सोधेका थिए जुनकुरो सुनेर भारत रोएका थिए | भरतले दिलाएको विश्वास अनुसार ससैन्य आदरसत्कार गरी राम बस्ने ठाउँ बताई दिएका थिए [वा.रा.अयो९०.९२] | रावण वध गरी राम पुनः यहाँ आएका थिए त्यतिखेर नले रामको स्वागत गरी तिमी हिंडेको बाटोमा भएका वृक्षहरू वसंत ऋतु समान भएर फलफूलमय हुनेछन भनेर वर् दिएका थिए [वा.रा.यु.१२४] | अश्वमेध यज्ञ गरेपछि राम आफ्ना ऋषिहरूका साथ् पुनः भरद्वाज ऋषिलाई भेट्न गौतमा नदीको किनारा स्थित आश्रममा भेट्न आउँदा ती सबै स्वागत गर्दै भगवान रामले सोधेको शिव पूजा विधि इनले बताई दिएका थिए [पद्म.पु .१०५] |

(४) भरद्वाज एक अग्निपनि मानिन्छन जो शंयु नाउँ गरेको अग्निको जेठो छोरा थिए | धर्मकी छोरी सत्या इनकि आमा मानिन्छिन |यिनकी पत्नीको नाउँ वीरा हो | जसबाट वीर नाउँ गरेको छोरो जन्मिएको थियो [म.व.२०९.९] | त्यसैले हरेक यज्ञमा प्रथम आज्यभागद्वारा यी भारद्वाज अग्निको पूजा गर्ने चलन हाम्रो समाजमा चलेर गयो | तसर्थ भारद्वाज वर्तमान मन्वंतरका सप्तर्षिमध्ये एक हुन पुगेका हुन जो प्रत्येक वर्ष फाल्गुन महिनामा सूर्यका साथ रहन पुग्दछन |

(५) भरद्वाज एउटा त्यस्ता ऋषि हुन जो वाण शैय्यामा सुतेर मृत्यु कुरी रहेका भीष्मलाई भेट्न पुगेका थिए [म .भा.१.९.६] | यिनी बाह्रौं र उन्नाइसौं युगका व्यासपनि थिए |

(६) भरद्वाज अर्थशास्त्रका विख्यात ज्ञातापनि थिए | तसर्थ भरद्वाजको उल्लेख कौटिल्यले आफ्नो अर्थशास्त्रमा धेरैपल्ट गरेका छन |कौटिल्यले आफ्नो अर्थशास्त्रमा कर्णिक भारद्वाज नाउँ गरेका आचार्य भन्न भ्याएका छन [कौटिल्य.५.५] | राज्यमा शंकट पर्दा मंत्री वा राज्यसभासाद सबैले राजालाईनै सहयोग गर्नु पर्दछ भन्ने अभिमत भारद्वाजको हो र त्यै कुरो महाभारत ग्रन्थमा जस्ताको त्यस्तै रुपमा वर्णन गरिएको छ [म.शां.६७.११] | महाभारतमा भारद्वाज र राजा शत्रुंजय बीचको कुराकानीपनि उल्लेख गरिएको छ जसमा साम, दाn , दण्ड, भेद आदि नीतिहरुमा दण्डनीतिलाई बढी प्रधानता दिइएको छ [म.शां.१४०] |

कृति
====
यिनको ग्रन्थ भरद्वाजसंहिता, पंचरात्र सांप्रदायको मूख्य ग्रन्थ मानिन्छ , यसमा ४ अध्याय छन , भरद्वाजस्मृति, ग्रन्थ पनि छ जसको उल्लेख हेमाद्रि, विज्ञानेश्वर, बालंभट्ट आदि ग्रंथकारहरुले गरेका छन | वास्त्तत्त्व; वेदपादसोत्रपनि इनकै ग्रन्थ हो | उनी धर्मशास्त्रकारपनि हुन जसले श्रौतसूत्र ,धर्मसूत्र आदि रचना गरेका छन | इनको हस्त लिखित श्रौतसूत्रको पाण्डुलिपि बम्बई विश्वविद्यालयको ग्रंथालयमा उपलब्ध छ , जसमा १० अध्याय छ | यसमा ‘आलेखन’ र ‘आश्मरथ्य’ धर्मशास्त्रकारहरुको उल्लेख गरिएको छ | यस ग्रन्थमा ‘भरद्वाज’ ‘भारद्वाज’ हुन पुगेका छन |विश्वरुप तथा अन्य अन्य भाष्यकारहरुको भाष्यमा भारद्वाजको धर्मशास्त्र विषयक सूत्रग्रन्थ उल्लेख गरिएको छ | याज्ञवल्क्य स्मृतिमा विश्वरुपद्वारा लिखित भाष्यमा भरद्वाजको मतहरु उल्लेख गरिएको छ |


Write A Suggestion

%d bloggers like this: