श्रीशिव-स्वदेश संवाद… चिन्नेगरून् भन्छु म… (शार्दूलविक्रीडित छन्द)


रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
००००००००००००००००००००००००००००००००

श्रीशिवोवाच-
के भो प्रज्वलता बिना छ मुख यो देखिन्न आभा पनि,
छैनन् जाँगर जोश रे वदनमा निस्कन्न बोली पनि।
आँटी छैन मुहारमा शिथिलता आँखा रसायौ कति?
प्यारा भक्त स्वदेश! के विषयमा चिन्ता गरेका अति?

के चाहिन्छ खुलेर माग मनमा धोको छ केही भने,
रक्सी,मासु,जुवा र तास,धनको इच्छा भएको भने।
माती टुन्न बजार,गाउँ-घरमा मारेर आफ्नाहरू,
हिँड्ने चाह भए म पूर्ण गरुँला सम्पूर्ण वाचाहरू।

दामी वाहन हुन् विशाल घर होस् छोरा र छोरी पनि,
शिक्षा आर्जनमा विदेशतिर हुन् साला र साली पनि।
सारा भोग,विलास पूर्ण जगमा बाँच्ने छ आशा भने,
जम्मै कार्य अमोघ छन् मुलुकको संहार गर्ने पनि।

स्वदेशोवाच..
सत्ता सम्पति सुन्दरी र सुविधा चाहन्न केही पनि,
नेपाली हितभित्र छैन मदिरा भन्ने बुझेको छु नि।
चाहे त्यो दरबार काण्ड अथवा जे जे भएता पनि,
रक्सी-मासु विलासबाट घटना घट्दैछ जैले पनि।

श्रीशिवोवाच—
नेपाली जनता पिएर मदिरा फुर्की म हूँ भन्दछ,
रक्सीपान त सभ्यता मुलुकको होला जसो गर्दछ।
तिम्रा मानिसको रुचीकर कुरा अर्पन्छु भन्दा पनि,
केही लिन्न भनेर वर्जित गर्‍यौ केले खुशी पार्नु नि?

स्वदेशोवाच..
रक्सी-मासु त लैनचौरतिर नै पाइन्छ सित्तै पनि,
नेपाली जनता लडाइरहने सौदा हुनेगर्छ नि।
त्यस्ता तुच्छ पदार्थमाथि कसरी हाँसी-खुशी बन्नु म?
केही भिन्न कृपा प्रसाद दिनुहोस् सोचेर माग्नेछु म।

श्रीशिवोवाच..
के चाहिन्छ नयाँ प्रसाद कसरी मिल्ला नमिल्ला पनि,
तिम्रो माग छ के दिँदा खुशी हुने तत्काल राखे तिमी।
तिम्रो देश विभागका विषयको हेरेर भन्नेछु म.
प्यारा भक्त स्वदेश! माग मनमा चिन्ता लिएको किन?

स्वदेशोवाच…
मेरा मानिसमा विभेद नरहोस् एकात्मता देखियोस्,
जागोस् राष्ट्रिय स्वाभिमान सबमा आशेपना मेटियोस्।
रक्सी-मासु भनी हुरुक्क नगरून् माया गरून् देशको,
यस्तै आसिकको प्रसाद दिनुहोस् मेरो यही माग हो।

नेपाली पनि विश्वको नजरमा हुन् स्वाबलम्बी भनी,
जानून् देश विदेशका मुलुकले सुन्दा खुशी हुन्छु नि।
नेपालीपन, धर्म,संस्कृतिहरू नेपालकै देखिऊन्,
नेपाली घर फर्किएर घरको माया अँगाली बसून्।

श्रीशिवोवाच…
तिम्रो मानिसले हिमालतिरको राख्तैन आस्था पनि,
तिम्रा ती जनले विभिन्न गुरुको दीक्षा लिएको छ नि।
ती थुप्रै गुरु देवलोकतिरको गर्छन् बढ़ी दुःश्मनी,
नेपाली रिपुको सधैं हित हुने गुप्ती छ चाला पनि।

त्यस्ता ती गुरुका परी शरणमा नेपाल सप्रन्छ र!
मेरो आसिक चाहिँदैन अहिले विश्वास को गर्छ र!
नेपाली जनता छिमेकतिरको पाखण्ड पत्त्याउँछन्,
तिम्रो जाति र देशको हित हुने सिद्धान्त लत्त्याउँछन्।

तिम्रो देश जगाउने मन भए फर्केर आऊ घर,
आफ्नै राष्ट्रिय धर्मको मुलुकमा संचार गर्नेगर।
छन् अन्योल, अनेकता छ घरमा फाटो भयो जीवन
सोझा मानिसले छिमेक चतुरे चिन्नेगरून् भन्छु म।

रचनाकालः ३१ मई २०१७
समयः बिहान ०३ बजेर १५ मिनेट जाँदा
स्थानः सिलगड़ी, हाल बंगाल।

Image may contain: one or more people
Image may contain: 1 person, closeup

Write A Suggestion

%d bloggers like this: