मेरो खाएर मेरै जात काढ़्ने तिमी?


कनकधारा स्वामी स्वदेशानन्द…

18766034_1778532802162020_380622744366613969_n…………………………………….
दीपकको जात गयो रे!
हर्कलाल अछूत भयो रे!
रामलाल जैसी भयो रे!
श्यामलालका सन्तान छेत्री भए रे!01..

हरे शिव! यो कस्ले यस्तो गर्यो?
दीपकको जात कस्तो थियो र कहाँ गयो?
हर्कलालको पानी अड़किन्छ र ऊ अछूत भयो?02….

भन, जात काढ़्नेहरू हो मलाई जबाफ चाहिन्छ।
भन, पानीहटक गर्नेहरू हो मलाई जबाफ चाहिन्छ।
भन, जातका स्रष्टाहरू हो मलाई जबाफ चाहिन्छ।
भन, अरूलाई होच्याउनेहरू हो मलाई जबाफ चाहिन्छ।03….

पैसा तिमीलाई सबै जातको चल्छ।
लुगा तिमीलाई सबै जातको चल्छ।
मान तिमीलाई सबै जातको चल्छ।
सम्मान तिमीलाई सबै जातको चल्छ।04….

दूधमा पकाएको खान्छौ, तिम्रो जात जाँदैन।
घ्यूमा पकाएको खान्छौ, तिम्रो जात जाँदैन।
अर्कोले नदेखी खान्छौ, तिम्रो जात जाँदैन।
लुकी-लुकी सबैथोक खान्छौ, तिम्रो जात जाँदैन।05…
होटेलमा गएर खायौ, तिम्रो जात गएन।
रेलमा मासुभात बजायौ, तिम्रो जात गएन।
एयर बसको लञ्च पेकैज उड़ायौ, तिम्रो जात गएन।
हर्कलालले दिएको रक्सी खाँदा सम्म तिम्रो जात गएन।06…

बिर्खे कामी बिधायक भयो रे!
साइँलो दमाई सांसद भयो रे!
हर्के सार्की त मन्त्री भयो रे!07..

सबैले सबैलाई निम्तो गरे।
सबैले गएर परिपूर्ण पेट भरे।
सबैले सोमरसको रसास्वाद गरे।
कसैले कसैको कहाँ जात काढ्ने आँट गरे?08..

काइँलो कामीले मासु पस्किएर दिए,
कसैको जात गएन।
हर्के सार्कीले रक्सी सारेर दिए,
कसैको जात गएन।
साइँलो दमाईले सुकुटी सेकेर दिए,
कसैको जात गएन।
त्यस बेला तिमी मात्र मानव थियौ,
तिम्रो जात थिएन।09…

कर्णे कामी हलो जोतेर खान्छन्,
उनको तिमीलाई पानी चलेन।
सुराखे दर्जी बनिबुतो गर्छन्,
उनको तिमीलाई पानी चलेन।
बिर्खे सार्की त जुत्तै सिउँछन्,
उनको तिमीलाई पानी चलेन।
बिरालाले छोएको भात खान्छौ,
मान्छेको तिमीलाई पानी चलेन?10….

यस्तो प्रथा कल्ले चलायो?
यस्तो चलन कल्ले चलायो?
ठूलो र सानोको भेद कल्ले फैलायो?
समाजमा यो किन र कसरी मौलायो?11…

हेर्दा त तिमी राम्रो देखिन्छौ।
हेर्दा तिमी गोरो देखिन्छौ।
समाजमा तिमी पण्ड़ित कहिएका छौ।
फेरि किन यस्तो घृणित काम गर्छौ?12…

हामीले तिम्रो गोड़ामा ढोग्यौं।
हामीले तिम्रो पूजा गर्यौं।
हामीले तिम्रो सम्मान गर्यौं।
हामीले तिम्रो खातिर गर्यौं।13…

तिमी कसरी ठूलो र उनी कसरी सानो भए?
तिमी कसरी बाहुन र उनी कसरी कामी भए?
तिम्रो रगत रातो, उनको कालो छ र उनी कामी भए?
तिमी अजम्बरी, उनी मात्र मर्छन् र उनी कामी भए?14…

यदि तिमीले जात बनाएका हौ भने तिमी राक्षस हौ।
यदि तिमीले जात बिगारेका हौ भने तिमी भूत हौ।
यदि तिमीले जात झारेका हौ भने तिमी प्रेत हौ।
यदि तिमीले पानी काढ़ेका हौ भने तिमी चाण्डाल हौ।15…

मलाई तिमीले गरेको पूजा चल्दैन।
मलाई तिमीले उच्चारण गरेको मन्त्र चल्दैन।
मलाई तिम्रो अनुहार हेर्न मन पर्दैन।
मेरो घरमा नआउनू, मलाई तिम्रो पानी चल्दैन।16…

मेरो राहु बिग्रिएन भने तिम्रो भात पाक्दैन।
मेरो केतु बिग्रिएन भने तिम्रो दाल पाक्दैन।
मेरो नानीको न्वारन भएन भने तिम्रो नानीको न्वारन हुँदैन।
मेरो बाउको श्राद्ध भएन भने तिम्रो बाउको श्राद्ध हुँदैन।17…

मेरो वर्तमान र भविष्यमा पालिएका तिमी!
मेरो दान र अन्नमा पालिएका तिमी!
मेरो आरोह र अवरोहमा पालिएका तिमी!
मेरो खाएर मेरै जात काढ्ने तिमी!18…

10 फरवरी 2005 गान्तोक।


Write A Suggestion

%d bloggers like this: