हिंदू शब्दको उत्पत्ति कहिलेदेखि भयो ?


प्रवीण अधिकारी

कपिल

=========================
वर्तमान विश्वमा ” हिन्दू ” शब्द प्राचिन वैदिक धर्म र त्यसप्रति आस्थावान रहेका मान्छेहरुको समूहलाई चिह्नाउन प्रयोग गरिने भएपनि यस शब्दले समग्रमा मानव जातिको मर्म , मूल्य , मान्यताहरुलाई समर्थन गर्दा त्यसभित्र उदार र शहिष्णुता प्रतिविम्वित हुन पुग्यो | हिंदू शब्द भित्रको मर्म ‘आर्य’ शब्दबाट भित्रिएको हो | आर्य शब्द श्रेष्ठ गुणहरु युक्त प्राचिन मानव सभ्यताले स्थापित गरेको मापदण्ड हो | यस क्षेत्रमा हुर्किएका विभिन्न मानव संस्कृतिहरुले आआफ्नो वैशिष्ठ्यता हिंदू शब्दभित्र समाहित गर्दैजाँदा उच्चकोटीका श्रेष्ठ मानवहरुले वसोवास गरेको यो भूमि विगतमा विभिन्न समयमा विभिन्न नाउँले चिह्निंन पुग्यो | त्यस मध्ये हिमबर्ष , अजनाभवर्ष , जम्बूद्वीप, भारतखण्ड, आर्यावर्त, भारतवर्ष प्रमूख रुपमा रहन पुगेका छन भने हाम्रा समस्त पूर्वजहरु हिन्दू भनेर चिह्निन पुगे | आजको दिनमा ” हिंदू ” शब्दको प्रयोग यो विश्वमा व्यापक रुपमा बढेर गएको छ र मानवीय श्रेष्ठताको पर्याय हुनपुगेको देखिन्छ | यसशब्द भित्र उदारता ,शहिष्णुता जस्ता गुण भित्रिंदा ” वसुधैव कुटुम्वकम ” अर्थात समस्त विश्वलाई आफन्त ठान्ने भावना समेटिन पुगेपछि हाम्रा कनिष्ठ ऋषि , महर्षिहरुले हिंदू शब्दको अर्थ लाउँदै मेरुतन्त्र’ को ३३ औं अध्यायमा शक एवं हूण जातिको बर्बर आंतक फैलिँदा जुन मान्छेले त्यो वर्वरताबाट समस्त मानव जातिको रक्षा गर्न सक्नेछ त्यसलाई हिंदू भनिनेछ , भनेर लेखे | त्यसपछि मेदिनी कोष, हेमन्त कोष , वृहस्पति आगम , रामकोष, कालिकापुराण , शब्द कल्पद्रुम , अदभूत रुपकोष, पारिजात हरण ,शंखधर पद्धति ,माधव दिग्विजय, बृद्ध स्मृति , भविष्य पुराण,आदि ग्रन्थहरुले हिंदू शब्दको प्रयोग व्यापक रुपमा प्रयोग गरेको देखिएपछि हाम्रो मुलुक नेपालमापनि यो शब्द सर्वाधिक प्रयोग भएर गयो | आजको दिनमापनि यस देशका अधिकांश मान्छे यस शब्दप्रति श्रद्धावान देखिन्छन | हिंदूहरुका समस्त प्राचीन वांगमयहरु संस्कृत भाषामा लेखिएका छन | यो शब्द किन र कसरी नेपालमा यतिविघ्न व्यापक भयो भनेर खोज तलास गर्नु अघि हिंदू शब्द विदेशी भूमिमा कसरी प्रयोग हुन्थ्यो भन्नेकुरामा समस्त बुद्धिजीवीहरुको ध्यान जानु जरुरी छ |

वैदिक साहित्यमा लुकेको शांकेतिक अर्थ
==========================
हिंदू शब्दको अर्थ र प्रयोग खोज्नु भन्दा पहिले वैदिक साहित्यमा प्रयोग भएका प्रत्येक शब्दहरुको शाङ्केतिक अर्थ रहन्छ भन्नेकुरा बुझ्न सक्नु पर्दछ | उदाहरणको रुपमा हाम्रो समाजमा वहुप्रचलनमा रहेको ब्रह्मा ,विष्णु र महेशलाई हाम्रै ग्रन्थहरुको आधारमा विश्लेषण गरि हेर्ने प्रयाश गरौँ | कैवल्य उपनिषदले भनेको छ :- ” यो अखिलं जगन्निर्माणे बर्हती वर्द्धयति स ब्रह्मा ” अर्थात जसले सम्पूर्ण जगतको रचना गर्यो त्यो परमेश्वरको नाउँ ब्रह्मा हो | त्यस्तै ” वेवेष्टि व्यप्रोती चराचरम जगत स विष्णु: ” अर्थात सम्पूर्ण जगतमा चर र अचररूपमा ब्याप्त हुने परमात्माको स्वरुपलाई विष्णु भनिएको हो ,त्यस्तै ” यः शं कल्याणं सुखं करोति स शंकरः” अर्थात जसले सम्पूर्ण प्राणी जगतको कल्याण गर्दछ अर्थात तिनलाई सुखी तुल्याउने काम गर्दछ उनी शंकर हुन | त्यस्तै ” यो महतां देवः स महादेव: ” जो देउताकापनि देउता अर्थात विद्वानकापनि विद्वान, सूर्यादि पदार्थका प्रकाशक हुन तिनै परमात्माको नाउँ महादेव हो वा ” शिवु कल्याणे ” जसले हाम्रो कल्याण गर्दछ वा जसको स्वरुप कल्याण गर्ने छ त्यो परमात्माको नाउँ शिव हो | हाम्रा देवी देउताहरुको स्वरुप शंकेतात्मक भएका कारणले गर्दानै हामी त्यस्ता स्वरुपहरुका उपासक हुन पुगेका हौँ | त्यसकारण ब्रह्मा ,विष्णु र महेश्वर वेदमा उल्लेखित छैनन् भनेर कसैले भन्न सक्तैन किनभने हाम्रो मान्यतामा अक्षर अमर छुन्छ , स्वर अमर हुन्छ , त्यस्तै व्यंजनपनि अमर हुने गर्दछन | हरेक शब्दका आफ्ना चित्रहरु रहेका हुन्छन जो हामीले बोल्दा चित्रित हुन पुग्दछन | त्यसको प्रतिबिम्ब मात्र हाम्रा सम्मुख रहन आईपुग्छ | ती प्रत्येक शब्दको आफ्ना अर्थ रहेका हुन्छन | त्यस्ता अर्थका आ आफ्ना भावना रहेका हुन्छन | त्यै भावनाबाट हाम्रो शब्द प्रतिको दृष्टि बन्दछ र त्यै दृष्टिबाट मानसिक सृष्टि हुने गरेको हुन्छ | ती शब्दहरुको अर्थ जहिलेपनि काल, गति र ठाउँको कारणले बदलिन पुग्दछ | अर्थको अनर्थपनि लाग्न सक्दछ | एकदमै विपरीत अर्थपनि देखिन सक्दछ | परिस्थितिवस शब्दहरुको सैद्धान्तिक अर्थ समय समयमा बदलि रहने गर्दछ | व्यवहार र व्याख्यामा एकरूपता रहन सक्दैन | यहि सिद्धान्त लागु भएको कारण यस क्षेत्रको लगभग तीन सय वर्षको साम्राज्यवादी तथा औपनिवेशिक कालमा अंग्रेजहरुले ( १६०० -१९४७ http://www.flowofhistory.com/units/eme/18/FC123# )आफ्ना स्वार्थ अनुकुल ब्याख्या गर्दा थुप्रै शब्दहरुले नयाँ अर्थ बोकेर चल्तीमा आउन सकेका हुन |

हिंदू शब्दको वहु प्रचारित गलत धारणा
==========================
हिंदू शब्दको प्राचिनतालाई सिंधू नदीमा पुर्याएर अडकाएर राख्ने गरिन्छ | अधिकांश विद्वानहरुको बुझाइमा सिंधू उपत्यका र सिंधू नदी सिंचित क्षेत्रको पूर्वी एवं पश्चिमी भूभागमा बस्ने मान्छेलाई फारस /ईरानी शासक र वाशिन्दाहरुले उहिले हिंदू भन्ने गरेका थिए भन्ने गरिएको छ | त्यसैलाई आधारमानि नेपाल र भारतका इतिहासकारहरुले समेत हिन्दू शब्दलाई फारसी भाषाबाट नेपालीमा भित्रिएको हो भनेर औंल्याए | हिन्दूवी , हिन्दनिया, हिन्दूआना , हिन्दुकुश, हिन्द आदि शब्दहरु फारसी संग मिल्दा जुल्दापनि देखिए | त्यसैले आधार मानेर नेपाल र भारतका विद्वानहरुले त्यै सिन्धु शब्दबाट हिन्दू, हिन्दुस्थान , हिन्दुस्तान शब्दहरु बनेको हो भन्ने गरे | उतिखेर फारसको पूर्वतिर रहेको भारतबर्षलाई हिंदू भनिंदा कसैलाई अमिल्दोपनि लागेन किनभने वर्तमान भारत, पाकिस्तान ,वंगलादेश एवं अफगानिस्तान आदि देशहरु प्राचिन भारतबर्ष भित्रै रहेको सत्यपनि हुँदै हो | तर ,नेपाल र भारतका विद्वानहरुले फारसी व्याकरणको नियमानुसार संस्कृतको अक्षर ‘स’ फारसी भाषाको अक्षर ‘ह’ मा परिवर्तन हुन पुग्दा सिन्धू शब्द परिवर्तित भई हिन्दू हुन् पुगेको हो भन्दछन , जुन एकदमै गलत अवधारणा हो |

हिंदू शब्द प्रयोग भएका विदेशी ग्रन्थ र साक्ष्य प्रमाणहरु
===================================
(अ)
प्रत्येक क्रिश्चियनहरुको भनाइमा बाइबलको पुरानो भाग क्राइष्ट भन्दा अंदाजी २००० बर्ष पहिलेको हो | https://www.gty.org/…/QA1…/when-were-the-bible-books-written) | तर पारसीहरु भन्छन – ”Our Zendavesta is as ancient as the creation; it is old as the Sun or the Moon ” अर्थात् धर्मग्रंथ ‘जेंदावस्ता’ यति पुरानो छ जति यो सृष्टि; त्यो यति प्राचीन छ जति सूर्य या चन्द्रमा” | पारसीहरुको यो भनाई साँचो हो या झूठो उनीहरु जानुन तर हाम्रो हेराइले : —

(१ ) यहूदीहरुको धर्मशास्त्र ‘ओल्ड टेस्टामेंट’ ‘हिंब्रू अर्थात् इब्रीय भाषामा लेखिएको छ र पारासीहरुको जेंदावस्ता अवस्ता भाषामा | हिंब्रू भाषा भन्दा अवस्ता भाषा निकै पुरानो हो | (२ ) ‘ओल्ड टेस्टामेंटमा भएको अनेकौं नयाँ नयाँ ठाउँ र जंगलको नाउँ जेंदावस्ताको समयमा थिएनन | (३ ) पारसी जातिमा आर्ष विवाह जस्तै सबै विवाह पद्धति प्रचलित थिएन | तर , ‘ओल्ड टेस्टामेंट’ मा यस किसिमको बिहेको वर्णन छ | ‘ओल्ड टेस्टामेंट’ को प्रचार हुनु अघि समाजमा जुन किसिमको विवाह पद्धति प्रचलित थियो त्यसको वर्णन जेंदावस्ता’ मा छ | (४ ) ‘जेंदावस्ता’ मा यहूदी शब्द या यहूदी जातिको उल्लेख छैन तर ‘ओल्ड टेस्टामेंट’ मा कम से कम ९ पल्ट पारसी जातिहरुको उल्लेख गरिएको छ | (५ ) ‘बाइबलमा धेरै ठाउँमा पारासीहरुले यहूदिहरुलाई जितेर धेरै समय सम्म तिनको देशमा राज्य गरेको लेखेका छन , तर यहूदिहरुले परासीसंग विजय गरेको लेखेनन | (६ ) अग्निपूजा यस पृथ्वीको प्राचीन जातिहरुको सबैभन्दा प्राचीन प्रथा हो | अग्नि पूजा ‘ओल्ड टेस्टामेंट’ को समयमा गर्न छोडि सकिएको थियो | तर जेंदावस्ता’ को समयमा अग्नि पूजाको प्रचार प्रसार तिब्र थियो | यसरी भन्न सकिन्छ ‘ओल्ड टेस्टामेंट’ भन्दा ‘जेंदावस्ता’ धेरै पुरानो ग्रन्थ हो |

(आ)

अरबी भाषाको शब्द्कोष (, जामा – ए – लुगात, लुगाते किश्वरी, करीम – उल – लुगात, फिरोज – उल – लुगात आदि) मा ‘ हिन्दू ‘ शब्दको अर्थ चोर, लुटेरा, लम्पट आदि बताइएको छ | त्यस्तै अर्काथरी विद्वानहरु हिन्दू शब्दलाई फारसी भाषाको शब्द मान्दछन् र त्यसको अर्थ चोर, डाकू, गुलाम, काले , काफ़िर आदि हो भन्ने गर्दछन | तर , हिन्दू शब्द फारसी मुसलमानहरुले दिएको दाइजो होइन न अरबी मुसलमानहरुले दिएको हो | ईशा जन्मेको लगभग ६०० बर्ष पछि मोहम्मद जन्मे | ती जन्मेको ७५० बर्षपछि मुसलमानहरु उताबाट यता छिरे | अब यदि हिन्दू शब्द मुसलमानहरुले उत्पादन गरेको हो भने त्यो समय १२०० बर्ष भन्दा धेरै पहिलेको मान्न सकिन्न किनभने ‘हिन्दू’ शब्द ईशा जन्मिनु भन्दा हजारौं बर्ष अघिको हो | त्यो शब्द अग्निपूजक पारसीहरुको धर्मग्रन्थ ‘जेंदावस्ता’ ग्रन्थमा प्रयोग गरिसकेका थिए | पारसी ग्रन्थका प्राचीनतम विद्वानहरुले हिन्दू शब्दको आदिम स्वरुपलाई आफ्नो धर्मग्रन्थमा स्थान दिनु र यहूदीहरुको प्राचिन धर्म पुस्तक ‘ओल्ड टेस्टामेंट’ ( बाइबलको पुरानो संस्करण ) ले ‘हन्द्’ शब्द प्रयोग गर्नु ( https://www.scribd.com/…/HINDU-sacred-word-Hindu-in-Vedik-S…,) यो शब्द १००० बर्ष अघिदेखि प्रयोगमा आएको हो भन्ने विद्वानहरुलेनै हिंदू शव्दको प्राचिन इतिहाँस खोज्न सिक्नु पर्दछ |

( इ )

श्री वासुदेव विष्णुदेव दयालको पुस्तक ‘द एसेन्स आफ द वेदाज एण्ड एलाइड स्क्रिपचर्स’ को पृष्ठ ३-४ (https://www.amazon.co.uk/s/ref=dp_byline_sr_book_1… ) मा आचार्य सत्यदेव वर्माले ‘इस्लामिक धर्म ग्रंन्थ कुरानको संस्कृत अनुवाद गरि त्यसको भूमिकामा श्रीतनसुख रामले आफ्नो पुस्तक ‘हिन्दू परिचय’ को पृष्ठ ३१ मा अरबी भाषाको कवि “लबी बिन अखतब बिन तुरफा “ले आफ्नो काव्य संग्रहमा हिन्द एंव वेद शब्द प्रयोग गरेको उल्लेख गरेका छन् | यी कवि यो विश्वमा ईश्लाम धर्म आउनु भन्दा २३०० वर्ष अघिका हुन | अरबी भाषाको ” सीरतुलकुल ” मा हिन्दू शब्द भेटिनुले के कुरा प्रष्ट गर्दछ भने यो शब्द प्राचिनकालमा यूनान, फारस र अरब देशहरुमा प्रसस्त प्रचलित थियो | यसको अर्थ तत्कालिन विश्व परिवेशमा विभाजित हुन् पुगेका अधिकतर समकालीन राष्ट्रहरुले यो शब्दलाई धर्म विशेष अथवा सम्प्रदाय विशेषको अर्थमा नभई सदगुण सम्पन्न मानवजाति या क्षेत्र विशेषकोलागि प्रयोग गर्ने गरेका थिए |

(ई)

प्रसंगवश हिन्दू शब्दको प्रयोग वेदमा पनि छ | ऋग्वेदमा एउटा ऋषि छन जसको नाउँ “हिन्दव” हो | अधा हिन्वान इन्द्रियं ज्यायो महित्वमानशे | अभिष्टिकृद्विचर्षिणिः || ऋग्वेद ९/४८/५ यस मंत्रमा लेखिएको ‘हिन्वान’ शब्द नै हिन्दवानको मूल हो |

(उ)

सिंधूबाट हिन्दू बन्नु र तिनले हिन्दुहरुलाई तुच्छ दृष्टिले हेरिनुले शब्दको अर्थमा खासै महत्व राख्दैन | त्यसैले कुनै भाषा वा भाषीले हिंदूहरुलाई काफ़िर ,गुलाम आदि भन्नु वा नभन्नुले यो शब्दको खास अर्थ खुल्दापनि खुल्दैन | हिंदू शब्द धेरै भाषाहरुमा भेटिएको शब्द देखिएपनि एकै रुपमा प्रयोग भएको चाहीं किमार्थ होइन | उदहारणकोलागि हाम्रो समाजमा प्रयोग हुने शिव शब्द लिउँ – संस्कृतमा त्यो शब्द ३ बटा धातुहरुबाट बन्दछ तर अर्थ एउटै छ , सबैको अर्थ कल्याण या मंगल वाचक हो | यही ‘शिव’ शब्द यहूदी भाषामापनि छ , अंग्रेजी अक्षरमा ‘Seeva’ लेखिन्छ ,उच्चारण शिव नै हुन्छ तर अर्थ हो वीर | हिब्रू भाषामा शिव ‘ शू’ धातुबाट बनेको छ तर अर्थ हुन्छ रातो रंग | त्यसकारण ‘शिव’ नामको अर्थ यहूदी ,हिब्रू र संस्कृतमा भिन्न भिन्न हुन पुगेको पाइन्छ | त्यस्तै संस्कृत शब्द ‘सप्ताह’ र फारसीको ‘हफ्ता’ शब्दको एउटै अर्थ छ तर ती एउटै धातुबाट निस्किएका शब्द होईनन | हफ्ता बन्ने धातुको सम्बन्ध संस्कृतको सप्ताह बन्ने धातु संग कत्तिपनि छैन | फारसीमा स. (स्वाद), स (सीन), श (शीन) जस्ता शब्दहरु छन जसको उच्चारण मिल्दछ तर त्यहाँ सप्ताहको ‘स’ हफ्ता को ‘ह’ मा बदलिन पुग्दैन | हफ्ता शब्द सप्ताहको अपभ्रंश हुँदापनि होइन |

(ऊ )

हिन्दू शब्दको प्राचीनतम उल्लेख पारासीहरुको धर्मग्रन्थ अवेस्तामा (रामधारी सिंह दिनकर, संस्कृति के चार अध्याय , लोकभारती प्रकाशन, इलाहाबाद, १९९३ ; पृष्ठ ११२ ) ; हिन्दू शब्दको प्राचीन उल्लेख ईशा पहिलेको फारस ( वर्तमान ईरान ) का राजा दारा महान ( ईशा पूर्व ५२२ – ४८६ ; यूनानिहरुले उसको नाउँ Darius लेखेका छन् ) को अभिलेखमा लेखिएकोपनि पाइन्छ | त्यहाँ हिन्दू शब्दको प्रयोग कुनै नदी वा धर्मकालागि नभई क्षेत्रीय प्रदेशकोलागि गरिएको पाइन्छ | दाराको साम्राज्यमा २३ प्रांत थिए जसलाई ” क्षत्रपियाँ ” भनिन्थ्यो | त्यतिखेर ‘ गंदार ‘ र ‘ हिंदू ‘ भारतबर्ष भित्र पर्ने गर्दथ्यो | दारा महानको पर्सिपालिस अभिलेख र नख्शे रुस्तम अभिलेखमा गंदारको साथै हिंदुशकोपनि उल्लेख गरिएको छ | अर्को अभिलेख ( सूसा पैलस ) मा ‘ हिन्दव ‘ शब्द प्रयोग भएको छ | दारा महान पछि पारसी राजा शेरेश (xerexsus) को पर्सिपालिस अभिलेखमा पनि गंदार र हिंदुश शब्द लेखिएको पाइन्छ |

केहि प्रचलित तर्कहरुको खण्डन
====================
(क)

केहीको भनाइमा हिन्दू शब्द फारसीहरुले ‘स’ लाई ‘ह’ उच्चारण गर्दा जन्मिएको हो रे , त्यसो हो भनेे फारसी भाषाको व्याकरणमा यो नियम किन समावेस भएन ? त्यतिखेर भारतबर्षको सिमाना अफगानिस्तानसम्म थियो भने त्यतिबेलाको सिमानामा भारतबर्ष संग टाँस्सिएको काबुल नदी थियो , भन्देखुन त्यै सिद्धान्त अंगालेर यता बस्नेलाई काबुली किन भनिएन ? फारसहरुले आफुलाई पारह किन भन्न सकेनन ? यदि ‘स’ को उच्चारण ह भएको हो भने ? प्राचीन इराकी शहर सुमेरलाई हुमेर किन भनिएन ? फारसीहरुले त्यो शहरलाई सुमेर नै अहिले सम्म किन भन्दैछन् ? त्यतिखेर सिंध नाउँ गरेको छुट्टै राज्य थियो र त्यसलाई सिंधनै भन्ने गरिन्थ्यो आजको पाकिस्तानमापनि सिंध नाउँको नै प्रान्त छ त्यसलाईपनि सिन्ध नै भन्ने गरिन्छ | यदि सिन्धुको वारि पट्टि बस्नेलाई हिंदू भनिएको हो भने आजको दिनमापनि सिन्धूलाई सिन्धू नै भनिनुको अर्थ के त ? हिंदू किन भनिएन ? सतलजलाई सतलज नै भनिन्छ हतलज किन न भनिएको हो ? यो तर्क काम नलाग्ने भएपछि फारसीहरु ‘स’ लाई ‘ह’ भन्ने गर्दथे भन्ने सिद्धान्त काम नलाग्ने भयो अनि विदेशीहरु हिंदू शब्द उच्चारण गर्न जान्दैनथे भन्न थालियो |

फारसीहरुले उनीहरुको भाषामा “इयम क़तागुविया ‘ (यो मध्य एशिया हो ) | ‘इयम गडरिया’ (यो गन्धार हो ) | ” इयम हिदुविया'(यो हिन्दू हो ) भन्दै आएका छन् | यसबाट के थाहा पाइन्छ भने फारसीहरुले सम्पूर्ण भारत बर्षको अंग तत्कालिन गान्धारलाई गंधार नै भने | भारतको उत्तरमा अहिलेपनि गंधार पर्दछ जो अहिले अफगानमा पर्दछ र हिंदूकुश सिमानामा आएर टुंगिन्छ भन्नुको अर्थ ततकालिन समयमा हिंदू सिन्धू उपत्यकालाई कसरी भनिएको हुन सक्ला ? वेदमा सिंधू उपत्यकालाई ” ब्रह्मवर्त ” भनिएको देखिन्छ तर सिंधूनदीको किनारमा बस्नेले आफुलाई कहिल्यै हिन्दी वा हिन्दवी भनेको सुनिएको छैन | पारसीहरुले कुनै दिन भारतको पंजाब सम्मको भूभाग जितेका थिए तर तिनले आफुलाई आर्यावर्तको महाराज भनेनन | तिनको तत्कालिन दस्तावेजमा आर्यावर्त शब्द परेको देखिन्न | तर , भारतको पंजाव प्रान्तको जुनागढमा रहेको सम्राट अशोकको शिलालेखमा हिदा या हिन्द ७० पल्ट लेखिएको अहिले पनि देख्न सकिन्छ | यदि यो हिंदू शब्द पारसीले उत्पत्ति गरिदिएका हुन भने , फारसी भाषा बोल्न नजान्ने सम्राट अशोकले अपनाउनु पर्ने कारण के ? यथार्थ कुरो के हो भने सम्राट अशोकको शिलालेख मघद भाषामा लेखिएको हो | त्यो मघदी भाषामा लेखिएको हिंदू शब्द फारसीहरुको पेवा कुनै काल खण्डमा छँदै थिएन | पश्चिमा समर्थित यी आधुनिक विद्वानहरुले अत्तनपत्तको कथा बनाई विश्वविद्दालयको डिग्री लुटी रहेछन |हुँदै नभएको काल्पनिक कथालाई पूर्ण सत्य बनाएर हामीलाई वेवकुफ बनाइ रहेकाछन | तर जसो गरेपनि फारसीहरुकी सरस्वती कहिल्यै हरस्वती बन्ने छैनन् |

(ख)

तत्कालिन समयमा मात्र होइन आजका दिनमापनि ऋग्वेदको ” ॐ मधुवाता ऋतायते, मधुक्षरन्ति सिन्धवः ।। मार्ध्वीनः सन्तवोषधीः ।।” सिंधूनदीले गुनगुनाई रहेकिछन , सिंधूनदी बगिरहेकी छन र त्यै पौराणिक नदीलाई सिंधू नै भन्ने गरिएको छ | भारत विभाजन भएपछि पाकिस्तानको भूभागमा परेको ऋग्वेदको सप्तसिन्धू शब्द समातेर भाषाविदहरुले हिंदू वा आर्यहरुको भाषाहरुको ‘स्’ ध्वनि (संस्कृतको व्यंजन ‘स्’) ईरानी भाषामा ‘ह्’ हुन पुग्दा सप्त सिन्धु तत्कालिन अवेस्तन भाषामा हिंदू हुन् पुगेको बताए | (अवेस्ता : वेंदीदाद, फर्गर्द १ .१८ ) | त्यसपछि ईरानीहरुले सिन्धू नदीको पूर्वतर्फ बस्नेलाई ‘हिन्दू’ भन्न पुगेको भन्न पुगे र तत्कालिन ईरानको पतन भएपछि मुसलमान हमालावरहरु यता छिरेर उनीहरुले यताका मूल धर्मावलंबिहरुलाई हिंदू भन्न थालेको वर्णन गरेर देखाए | यहाँ के कुरो बिर्सिन मिल्दैन भने पारसी धर्म वैदिक धर्मको विकृत स्वरुप हो जसलाई हिंदूहरुको एउटा समूहले ईशाभन्दा २ ,७०० बर्ष पहिले त्यता छिरेर स्थापना गरेका थिए | यसलाई संगठित स्वरुपमा बाँधेका थिए जरथुस्त्रले त्यसकारण उनी त्यसका संस्थापक मानिएका थिए | ती थिए अत्रि कुलका ऋषिहरुका सन्तान | अब यदि ती पारसीहरुले ‘स्’को उच्चारण गर्न नसक्ने भा भए पाकिस्तानको सिंध प्रांतलाई हिन्दप्रान्त किन भन्न सकेनन ? सिन्धीहरुलाई हिन्दी किन भनेनन् ? संस्कृत भाषालाई पारसीमा हंस्कृत किन भनेनन ? यस्तो तर्क हाम्रा विद्वानहरु कसरी दिनसके ? बडो हास्यास्पद देखिन्छ | अर्कोतर्फ यो तर्क विदेशीहरुले लेखेको ग्रन्थ र भाष्य पढेको प्रभावपनि हो किनभने उनीहरुले विशालाक्ष भन्ने ग्रन्थलाई संक्षित स्वरुपमा लेख्ने काम महर्षि बृहस्पतिले गरेको कुरो थाहा पाएनन , बार्हस्पत्य शास्त्र उनीहरुको नजरमा परेन | वराहमिहिरले लेखेको बृहत्संहिता र बृहस्पति-आगम तिनले भेटेनन | यी सहित अन्य आगमहरु ईरानी या अरबी सभ्यता अघि लेखिइ सकिएको उनीहरुको बुझाइबाट ओझेल पर्यो | तसर्थ प्राचीन ऋषिहरुले हिंदू शब्दको उल्लेख पर्याप्त रुपमा गरिसकेका हुँदा हिंदू शब्दलाई अरवी र ईरानीले दिएका हुन भन्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयाश गरे सरह मान्नु पर्दछ |

(ग)

चीनीया यात्री ह्वेनसांगको समयमा पनि ‘हिन्दू’ शब्द प्रयोग हुन्थ्यो | ‘हिन्दू’ शब्द ,’इन्दु’ अर्थात चन्द्रमाको पर्यायवाचीपनि हो , त्यसलाई चीनमा ‘इंतु’ भनिन्थ्यो | ज्योतिष शास्त्रले चन्द्रमालाई धेरै महत्व दिएको कारण र यसैको आधारमा तिथि र पर्वहरुको गणना गरिएको कारण चीनका मान्छेले याताकलाई ‘इंतु’ या ‘हिन्दू’ भन्न थाले | मुस्लिम आक्रमण हुनु पूर्व ‘हिन्दू’ शब्द प्रचलित भैसकेको कारण यो शब्द पारसीहरुको देन होइन भन्नु पर्छ |
(घ)

‘हिन्दू’ नाम यस क्षेत्रमा तुर्क, फारसी, यहूदी ,अरवीहरुको प्रभाव पर्नु अघिदेखि चलेर आएको हो | हिन्दूकुश पर्वतमाला यसैको पहिलो साक्ष्य हो | यो शब्दको प्रयोग हाम्रो संस्कृत र लौकिक साहित्यमा प्रसस्त परेको छ | त्यसैले यो नाउँ पूर्णतया हिंदू को हो भन्न सक्नै पर्छ | ‘हिन्दू’ शब्दको मूल वेदादि प्राचीन ग्रंथहरु हो | उपनिषदकालको प्राकृत, अपभ्रंश, संस्कृत एवं मध्यकालीन साहित्यमापनि ‘हिन्दू’ शब्द प्रसस्त उल्लेख गरिएको छ | त्यसैले ‘हिन्दू’ शब्द प्राचीनकालदेखि आजसम्म व्यावहारिक भाषामा आउन भएको हो | होइन भन्नेले ब्राहस्पत्य शास्त्र , कविकोष, राम कोष, मेदिनी कोष, शब्द कल्पद्रुम, मेरूतंत्र, पारिजातहरण , भविष्य पुराण, अग्निपुराण ,कालिका पुराण, वायु पुराणादि संस्कृत ग्रंथहरु हेर्दा थाहा हुन्छ |

हिंदू शब्दको वैयाकरणिय व्याख्या :
======================

१ . पहिलो ब्याख्या :-
=============

हिन्दू धर्मप्रति श्रद्धा आर्जन गर्न नसकेका ,शब्दको ज्ञान कम भएकाले हिन्दूशब्दलाई गाली सम्झिने गर्दछन | उनीहरुको तर्क छ वैदिक वांगमयमा हिन्दू शब्द लेखिएको छैन | दुर्भाग्यवस यी शब्दहरु ती व्यक्तिहरुको उद्गार हो जो आफै न वेद पढ्न सक्छ , न संस्कृत साहित्यमा दक्खल राख्न सक्छ , न ती साहित्यहरु पढ्ने तिनलाई चाहना हुन्छ ,न त तिनलाई संस्कृत व्याकरणको ज्ञान नै हुन्छ | यस्तो अवस्थामा वैदिक साहित्य बुझ्न नसक्नु स्वाभाविक हो | तर , त्यस्ता व्यक्तिहरु संस्कृत भाषा भित्रको रहश्यहरुको ज्ञाता बन्न खोज्नु पटमूर्ख्यांइ मात्र हो |

हिन्दू शब्द अरबी या फारसीले हामीलाई दिएको गाली होइन , वैदिक संस्कृत व्याकरणले गरेको लौकिक रूपान्तरण हो | संस्कृतका प्रत्येक शब्दहरु निर्माणको पछाडि शब्द विज्ञान रहेको हुन्छ जसलाई शब्द व्युत्पत्ति भन्ने गरिएको छ | जस्तो : “पत्नात त्रायते सा पत्नी” अर्थात वैदिक व्याकरणमा शब्द उत्पत्तिको आधार ध्वनि विज्ञान (नादविज्ञान) रहेको हुन्छ | ध्वनि उत्पत्ति, उद्गम, आवृत्ति, ऊर्जा आदिको आधारमा शब्द परिवर्तन हुनपुगि समानार्थी शब्दहरु निर्माण हुने गर्दछ | जस्तो सरित(नदी) शब्दको उत्पत्ति हरित शब्दबाट भएको हो | “हरितो नरह्यॉ”( अथर्ववेद २० .३० .४ ) को व्याख्या गर्दै निघंटुले भन्दछ “सरितों हरितो भवन्ति” | वैदिक व्याकरणको नियम उल्लेख गर्दै निघंटुले एउटा नियम नै बनाइदिएको छ जसमा “स” धेरै स्थानमा “ह” ध्वनिमा परिवर्तित हुन पुगेको छ | यसरी अरु स्थानमापनि ” स ” लाई “ह” र “ह” लाई “स” लेखिएको देखाइएको छ | सरस्वतीलाई हरस्वती- “तवं नो गोपाः पथिक्र्द विचक्षणस्तव वरताय मतिभिर्जरामहे | बर्हस्पते यो नो अभि हवरो दधे सवा तं मर्मर्तु दुछुना हरस्वती || ” (ऋग. २ ।२३ ।६ ), श्री लाई ह्री- ” ह्रीश्चते लक्ष्मीश्च पत्न्यौ। अहोरात्रे पार्श्व्। नक्ष्त्राणि रूपम्। अश्विनौ व्यात्तम्।इष्टं मनिषाण। अमुं मनिषाण। सर्वं मनिषाण॥ आदि-आदि | यही सिद्धान्त अंगालेर हिन्दू शब्द वैदिक सिंधु शब्दबाट उत्पत्ति भएको भनिएको हो र सिंधू शब्दबाट हिन्दूहरुको सम्बोधन विदेशीहरुले गरेको नभई वैदिक व्याकरणको नियमले हुन् पुगेको हो भन्न सक्नु पर्दछ | “पर्ष्टो दिवि धाय्यग्निः पर्थिव्यां नेता सिन्धूनां वर्षभ सतियानाम | स मानुषीरभि विशो वि भाति वैश्वानरो वाव्र्धानो वरेण ||” (ऋग ७ .५ .२ ), “सिन्धोर्गभोसिविद्दुताम् पुष्पम्”(अथर्व १९ .४४ .५ ) प्राचीन शब्दकोषहरु रामकोष , मेदिनीकोष , अद्भुतकोष, शब्दकल्पद्रुम हेरे पुग्छ | रंग न ताल संग एकहोरो कराएर अडभिङ्गे तर्क गर्न कसैले पाउनु हुँदैन | “हिन्दुहिन्दूश्चहिंदव:” को सूत्र हेरे पुग्दछ (मेदिनी कोष ) |

२ . दोश्रो ब्याख्या :-
============

संस्कृतमा एउटा धातु छ ” हिसि ” त्यसको अर्थ हुन्छ हिँसा गर्नु | यो हिसि धातुलाई कर्तार्थक प्रत्यय लगाउँदा हिनन वा हिंसक शब्द बन्न पुग्दछ | यी दुई शब्दमा खण्डन र परिताप अर्थ वोधक “दो” र “दृङ” मिसिदा हिंदू शब्द बन्दछ | शब्दको अर्थ हिँसा वोधक भएपनि त्यसको खण्डन गर्ने अथवा तिनलाई अवरोध पुर्याउने कामगर्दा हिंदू शब्दको उत्पत्ति हुन पुगेको मानिन्छ | अर्थात वेदान्त षड् दर्शन भित्रका वैदिक ,बौद्ध , जैन सिद्धान्तका सबै अनुयायीहरुले कुनैपनि चिजको व्यर्थमा हिँसा नगर्नु भन्ने आआफ्नो मतको मूख्य उद्द्येश्य बनाउन पुग्दा हिँसा गर्नेको विरोध हुनपुगि हिंदू शब्द प्रयोग हुन थालेको हो भन्ने सिद्धान्त धेरै ठाउँमा भेटिन्छ भने कसै कसैको मतमा त्यै ” हिसि ” धातुमा अन्तर्निहित हीन अर्थ बोक्ने कुमार्गी मान्छेलाई दोष या दण्ड दिने प्राचिन आर्यसंतानहरुलाई हिंदू भनिएको हो पनि भनिएको देखिन्छ |

३ . तेश्रो ब्याख्या :-
===========

वंगालबाट प्रकाशित ‘हिन्दू और निगर’ पत्रिका अनुसार “हिन्दू शब्द संस्कृत सिंधू शब्दबाट उत्पन्न भएको होइन | त्यस पत्रिकाको तर्क अनुसार पारसीहरुको धर्म ग्रन्थ ’जेन्दावस्ता’ वेदकालिन ग्रन्थ हो | त्यसमा प्रयोग गरिएको हिन्दू शब्द हारोबेरोजेति (अल्बुर्ज) पहाड़ नजिक पहिले ऐर्यन वयेजो (आर्य निवास) रहेको कारण अहर्मजदाले (पारसीहरुका देउता ) १६ शहर बसाएका थिए | त्यस मध्ये १५ औं शहरको नाउँ ‘हफ्तहिंदव’ राखिएको थियो | वेदमा त्यै शब्दलाई ‘सप्तसिंधव’ भनिएको हो भन्ने गरिन्छ | जेंदावस्तामा तीन-इयास्ते पाहाडलाई हिंदव शब्द प्रयोग गरिंदा ‘हिंदव’ शब्द आजकलको हिंदुकुश पर्वत हुनपुग्यो |

४. चौथो ब्याख्या :-
===========

” हिंदू” शब्दलाई पारासीहरुको धर्म ग्रन्थ जेन्दावस्ताबाट खोजेर हाम्रा सामु ल्याइदिने भारतीय विद्वान , महावीर प्रसाद द्विवेदी थिए | उनको भनाईमा वेदको सप्तसिन्धव जेन्दावस्तामा हप्तहिन्दव हुन पुगेको कारण त्यहाँ रहेको पर्वत हिन्दूकुश पर्वत भनिन पुगेको हो | त्यैकुरो अर्कोगरि भनिंदा हनुद भनियो | ईशाभन्दा पहिलेको यहुदीहरुको ग्रन्थ “ओल्ड टेस्टामेण्ट ” जुन हिब्रु भाषामा लेखिएको छ , त्यसमा त्यै हदम शब्द लेखिन पुग्यो र त्यै शब्द पश्तु भाषामा “हन्दू ” हुनपुगेपछि त्यो शब्द शक्ति ,गौरव, विभव, प्रभव आदि भएर अर्थियो | अनि फ्रान्सिसी लेखक जोकोलिएतले आफ्नो ग्रन्थमा असाधारण बल र असाधारण विद्वताको कारण भारतबर्ष यस पृथ्वीको सबैकोलागि आदरको रुपमा हेरिन्थ्यो भनेर लेख्न भ्याए | त्यसको अर्थ हिंदू भनेको विक्रमशाली र प्रभावशाली व्यक्तिहरु हुन भनेर अर्थिन पुग्यो | यसरी जेन्दावस्ताको हिन्दव शब्द पश्तु भाषामा “हन्द” हुन पुगेपछि गुरु नानकका सैनिक शिष्यहरुले गुरुमुखी भाषामा हिन्दू लेख्न पुगे | गुरु नानक भन्दा पहिले यो शब्द हिन्दव , सिन्धव , हनद ,र हन्द सम्म बनाइरहंदा शिखहरुले त्यसलाई टपक्क टिपेर हिंदू बनाइदिएपछि हिंदूहरुको वीरता ,साधुता, विद्दा ,वैभव देखेर पारसी ,यहूदी ,ग्रीक र रोमनहरु मोहित हुन पुगे |

हिंदू शब्दको प्राचिन प्रयोगहरु हेरौं
======================
(क)

पं. ज्ञानेन्द्रदेव सूफी ( धर्मान्तरित पूर्व मौलाना हाजी मौलवी अब्दुल रहमान)ले १९२५ देखि १९३१ ई. सम्म अरब देशहरुको भ्रमणगर्दा येरुसलममा सुल्तान अब्दुल हमीदको नाउँमा स्थापित पुस्तकालयमा अरबी , सिरियानी , मिश्री , इब्रानी भाषाका प्राचिन पांडुलिपिहरु खोजि गर्दा ऊंटको झिल्लीमा लेखिएको लगभग ९०० वर्ष अघिको “सीरुलउकूल”( )को पाण्डुलिपि भेटे जसलाई कवि अस्मईले अरबका प्राचीन कविहरुको इतिहांसका रुपमा लेखेका थिए | कवि अस्मई आज भन्दा लगभग १३०० वर्ष अघि अलिफलैला कथाहरु लेखेकाकारण त्यहाँका प्रसिद्ध खलीफा “हारूँ रशीद” को दरबारमा कविशिरोमणि भई बसेका थिए | कवि अश्मईले त्यस किताबमा कवि “लबी बिन अख्तब बिन तुर्फा” को बिषयमा उल्लेख गर्दै भनेका छनकि उनी अरबी साहित्यका कसीदहरुका जन्मदाता हुन , जो हजरत मोहम्मद भन्दा लगभग २३-२४ सय बर्ष पहिले अर्थात ईशा भन्दा १७०० बर्ष अघि जन्मिएका थिए अर्थात् उनी महाभारत कालपछिका जेठा अरवी कवि मानिन्थे | उनले हिन्दूहरुको विषयमा लेखेको शेरहरु हेरौं :-

पहिलो शेर :- “ अया मुबारक-अल-अर्जे युशन्नीहा मिन-अल-हिन्द , व अरदिकल्लाह यन्नज़िजल ज़िक्रतुन .”
दोश्रो शेर :- ” वहल बहलयुतुन अैनक सुबही अरब अत ज़िक्रू, हाज़िही युनज्ज़िल अर रसूलु मिन-आल-हिन्दतुन. ”
तृतीय शेर :- यकूलून-अल्लाहा या अहल-अल-अर्जे आलमीन कुल्लुहम , फत्तबाऊ जिक्रतुल वीदा हक्कन मालम युनज्ज़िलेतुन .”
चतुर्थ शेर :- “व हुवा आलमुस्साम वल युजुर् मिनल्लाहि तन्जीलन् , फ़-ऐनमा या अख़ीयु तबिअन् ययश्शिबरी नजातुन् . ”
पंचम् शेर :- “व इस्नैना हुमा रिक् अथर नासिहीना उख़्वतुन् , व अस्नाता अला ऊदँव व हुवा मशअरतुन् .”

माथिको शेर लेख्ने अरबका विद्वान ‘लबी बिन अख्तब बिन तुर्फा’ ले उनीहरुको मूल धर्म (मजहब) वेदमा आधारित थियो भन्नेकुरा स्वीकार गरेका छन | माथिको शेर लेखिएको समय हजरत मोहम्मद भन्दा २४०० वर्ष अघिको हो अर्थात् आज भन्दा लगभग ३८५० वर्ष पहिले | यो प्रमाण सम्बन्धमा शंका हुनेले येरोसलमको त्यो पुस्तकालयमा गएर अरबी काव्य-संग्रह “सीरुलउकूल” नामको पुस्तक जसलाई West Publishing Company “West Palaestine” ले प्रकाशित गरेको छ हेरे भयो नत्र भारतमा छापिएको प्रति “हाज़ी हमज़ा शीराजी एन्ड को.” पब्लिशर्स एण्ड बुकसेलर्स, बान्द्रा रोड, मुम्बईबाट मंगाएर हेरेपनि हुन्छ | यो कविता सीरुलउकूलको पृष्ठ संख्या-११८ मा उल्लेख गरिएको छ |

(ख) ” दि बुक अफ़ यस्थर ” (The Book of Esther) को हिब्रू नाउँ ‘आजथुर’ हो | यसको पहिलो अध्यायमा लेखिएको छ :- ” Now it came to pass in the days of Ahasuerus, this is Ahasuerus, which reigned from India even to Ethiopia, over an hundred and seven and twenty province— Esther, Chapter I. Verse.” (http://biblehub.com/nasb/esther/1.htm , https://www.kingjamesbibleonline.org/Esther-1-1/ ) यहाँ हेरौं – यो ‘इंडिया’ (हिन्दूस्तान ) शब्द कुन अर्थको वोधक हो ? यहुदीहरुको हिब्रू भाषामा लेखिएको ‘ओल्ड टेस्टामेंट’ ग्रन्थ ईशाभन्दा २००० वर्ष पहिले लेखिएको मानिन्छ | त्यै ग्रन्थको अंग्रेजी अनुवादमा ‘इंडिया’ शब्द राखिएको छ | त्यो इंडिया’ शब्द पूर्वोल्लिखित ‘हन्द्’ शब्दको भाषांतर हो भन्नेकुरा हामीले बुझ्ने पर्दछ | हिब्रूमा ‘हन्द्’ शब्दको अर्थ हो – विक्रम, गौरव, विभव, प्रजा, शक्ति, प्रभव इत्यादि | माथि ‘आजथुर’ पुस्तकबाट साभार गरिएको वाक्यको अर्थ हेर्नोस – आहासुरस् राजाले ह्न्द् (शक्ति) ले इथियोपिया सम्म राज्य गर्यो | यसर्थ ह्न्दबाट इथियोपिया सम्म राज्य गर्यो भन्नुको अर्थ ‘ह्न्द् (शक्ति विशिष्ट राज्य) हुँदै इथियोपिया सम्म राज्य गर्यो | हेर्नोस डॉ. हेगले लेखेको अंग्रेजी-हिब्रू व्याकरण | त्यस्तै मेगास्थनिज ग्रीसका ऐतिहासिक लेखकका रुपमा चिह्निंथे , उनले “यहूदीहरुले पारसिहरुबाट ज्ञान र शिक्षा अनि भारतीयहरुबाट धन र प्रभुत्व प्राप्त गरेका थिए भनेर लेखेका छन् | यहूदी राजा दाऊदको छोरा सालोमनको विश्व-विख्यात मंदिरकोलागि काठ , चून, ढुङ्गो यै क्षेत्रबाट लगिएको थियो | थराक्लूस नाउँ गरेको ग्रीक ग्रन्थकार अनुसार , “भारतवर्षको विक्रम र गौरव देखेर यहूदीहरु यस देशलाई ह्न्द् भन्ने गर्दथे भनेका छन | यो हन्द् शब्द उनीहरुले पारसीहरुको जेंदावस्ताबाट पाएका थिए |

जस्तो :-
जेंद भाषा – हिब्रू भाषा
तराशश् (Taurus) – तरश्
मोशूजा – मोशजा
मजदाहा – मेशाया (Messeah)
कोशा – कोशा
आर् द्जु – इयारनउ
किरियाद् – करयोयद्
शिकना – सकना
हिशिया – अशय
हिज्रद – यजानुद
विरजोद् – वरजाद

(ग)

हिब्रू भाषामा हकार हुँदैन | जुन शब्द खास हिब्रूको होइन त्यसमा इकार हुँदैन | उच्चारणमा इकार नभएकोले लेख्ने गरिन्थेन | अर्कोकुरा , हिंदूकुशदेखि अटक नदीसम्म बस्ने सबै मान्छेहरु उहिले पश्तू भाषा नै बोल्ने गर्दथे | फ़ारसका आदिवासी फ़ारसी थिए | ती धर्मान्तरित हुनु अघि सम्म अग्निपूजकनै रहेका थिए | पश्तू भाषा बोली यस क्षेत्रमा बस्न आइ पुगेका अर्थात् ‘जेंदावस्ता’ मान्ने अग्निसेवक पुराना पारसीका वंशधरहरुले , ‘ह्न्द्’ शब्दको अघि हृस्व उ प्रयोगगरि त्यसलाई ‘हंदु’ बनाए | पश्तू व्याकरण अनुसार ‘ह्न्द्’ र हिन्द् शब्दमा हृस्व उ प्रत्यय गांसिदा ‘युक्त’ अर्थ निस्कन्छ | उ प्रत्यय लाग्दा ‘ह्न्द्’ अर्थात् शक्ति, गौरव, विभव, प्रभाव इत्यादि महिमायुक्त भई जातिसूचक हुनपुग्छ | पश्तू भाषाको व्याकरणको नियमानुसार उ प्रत्यय गुणवाचक जाति या गुणवाचक पुरुषको अगाडि लाइन्छ | प्राचीन हिंदू जातिको गौरव, पवित्रत्व र वैभव हेर्दा पश्तू भाषा बोल्नेले त्यो प्रत्यय लाए | पश्तू भाषाको ‘ह्न्द्’ र हंदु शब्द गौरव वाचक हो | पश्तू भाषाको तलको पद्य हेरी यो कुरो आफै विचार्नोस –

युश् रो लबोदे जग्ड़ीर फेजो पाना ।
उरो उरो न लखियाल् लहैं जग्ड़रे
ह्न्दु जेल् फाल्गो ।।१।।
देवाट् देरन् ज, जरर् उहें रम् ।
कत्लेबे यत्वे देश् तर् गो ।।
ह्न्दु कम् सां डेरो ।।२।।

हिंद् शब्दको अर्थ विक्रमशाली, प्रभावशाली मान्न थालिएपछि प्रसिद्ध फ्रांसीसी लेखक जाकोलियेत (Jaquliethe) ले आफ्नो ग्रन्थमा – “असाधारण बल र अशाधारण विद्वताका कारण पूर्वकालमा यो क्षेत्र पृथ्वीका सबैको आदर सूचक हुन पुगेको लेखे | “त्यसपछि हाम्रो साधुता, वीरता, विद्या, वैभव देखेर पारसी, यहूदी, ग्रीक र रोमनहरु मोहित हुँदै गए अनि तत्कालिन अरवी इतिहासकारले यो क्षेत्रलाई स्वर्ग-भूमि ठान्न थाले | हिंदू शब्द कदर वोधक होइन , हिंदू शब्द गौरव, गरिमा, विक्रम र वीरत्वको व्यंजक हो , ज्ञान, विज्ञान र सर्वशास्त्रीय तत्त्वहरुको आदर्श हो | हामी यस पाहाडी देशको गौरव हो | हिन्दू शब्द भित्र समस्त मानवीय आदर्शहरु समेटिएर बसेको छ | अनि सिंधू ,गङ्गा ,गण्डकी ,कोशी आदि क्षेत्रसंग सम्बन्धित भएको कारण यसले हाम्रो क्षेत्रीय परिचयपनि बोक्न सकेको छ | हाम्रो देशमा अस्तित्वमा रहेका सबै धर्म , सम्प्रदायको मान्यता र उपासना विधि , भाषा, भेष भूषा , रीतिरिवाज, धार्मिक विश्वास नमिले पनि हामी सबैले हाम्रो हिंदू परिचय सबै जाति, प्रजाति, एवं उपजातिको रुपमा कायम राख्न सके यो मुलुक हामी सबैको पूण्यभूमि हुन सक्नेछ |

संस्कृत भाषाको कोष र अंग्रेजहरुको डिक्सनरी शब्दको अर्थ एउटै हो | विश्व साहित्यमा यो शब्द जे जस्तो अर्थिन प्रयोग गरेको भएतापनि हाम्रा प्राचिन विद्वानहरुले हिंदू शब्दको प्रयोग उच्च आदर्श प्राप्तिकोलागि गरेका कारण त्यै अर्थमा अर्थ्याउने प्रयाश गरेका थिए | कल्पद्रुम कोषले – हीनता न स्विकार्ने हिन्दू हो (हीनं दूषयति इति हिन्दू) भन्यो | रामकोषले – हिन्दू न दुष्ट हुन्छन , न विदूषक, न अनार्य भन्यो र सद्धर्म पालक , वैदिक धर्म मान्ने विद्वान हुन्छन भन्ने गरेको थियो ( हिंदु दुष्टो न भवति नानार्यो न विदूषकः ; सद्धर्मपालको विद्वान श्रौतधर्मपरायणः ) | यसरीनै वृद्ध स्मृतिले जो सदाचारी, वैदिक मार्गमा हिंडने , प्रतिमापूजक र हिंसा देखेर दुःख मान्ने हुन्छन त्यो हिन्दू हो भन्यो ( हिंसया दूयते यश्च सदाचरणतत्परः , वेदगो प्रतिमासेवी स हिन्दू मुखशब्दभाक ) | माधव दिग्विजयले त्यस्तोलाई हिन्दू भन्यो जो ओंकार लाई मूलमंत्र मानि पूनर्जन्ममा दृढ़ आस्था राख्ने , गोभक्त हुन्छ | मुश्लिम कोषमा ‘ हिन्दू ‘ शब्दको अर्थ दूषित पारेर परिभाषित गर्दैमा के हुन्छ ? तर , हिंदू शब्दको अर्थ बुझाइमा फरक पर्दै गएपछि विस्तारै ‘ हिन्दू ‘ शब्द धर्म विशेषको रुपमा प्रयोग हुन् थालेको चाहीं पक्का हो | हाम्रा विद्वानहरुले शिकारीको वृत्ति, स्यालको छल र चितुवाको धूर्तता अपनाउँदा हिंदूहरुको आदर्श प्राप्ति खस्किदै गएकोपनि हो | शब्दको अर्थमा विचलन आएकोपनि हो | विगतमा हाम्रा ज्ञानी पुर्खाहरुले आफ्नो सर्वस्व लाएर हिन्दुत्वको थिति बसालेका थिए | त्यसैकारणले हाम्रो समाजमा आदर्शवादी मान्यताहरु स्थापित हुँदै समाजमा त्यसले गहिरो जरु गाडेको थियो | अब हामीले ती कुराहरु बुझ्न चाहेनौ ,मानवीय सद् गुण सम्पन्न श्रेष्ठता कायम गर्न सकेनौं , सम्वर्धन गर्न सकेनौ भने ‘वसुधैव कुटुम्बकम्’ लक्ष्य प्राप्ति हुन् सक्दैन | निश्वार्थपन एंव शहिष्णुता अपनाएमात्र हामी साँचो अर्थमा मान्छे हुनसक्छौं नत्र हामी त सकिन्छौ , सकिन्छौ हाम्रा पुर्खाहरुले कायम गरिदिएको मानवीय श्रेष्ठताको गुणहरुपनि एक एक गरेर सकिनेछ |अस्तु |||- प्रवीण अधिकारी

Image may contain: 1 person

Write A Suggestion

%d bloggers like this: