आज महान राजा स्व- श्री ५ महेन्द्रको जन्मजयन्ती !


राजा त्रिभुवनको स्वर्गारोहण भएको एक वर्ष नबित्दै युवक राजाले राजनीतिक दलहरूका साथै सामाजिक संगठनहरूको सम्मेलन गरिसकेका थिए । जनताको राय–सल्लाह मागिरहेका थिए । विद्वान् र शिक्षितहरूले सल्लाह दिए, जंगबहादुर देखि मोहन शमशेरसम्मको १०४ वर्ष लामो राणा शासनकालमा नेपाली कूटनीति संसारमा विस्तीर्ण हुन नसकेको हुँदा कूटनीतिमा विशेष ध्यान पुर्याउनुपर्छ भनेर राजा भएको नौ महिनामै नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएर राजा महेन्द्रले ठूला सफलता प्राप्त गरे। आफ्ना कुरा विश्वसमक्ष प्रस्तुत गर्न नेपालले उपयुक्त ठाउँ पायो ।यो राष्ट्रका निम्ति इज्जतको कुरा थियो । देशको पश्चिम क्षेत्र पूर्वको तुलनामा अविकसित भएकाले पहिलो स्वदेश–भ्रमण उनले त्यहीँबाट सुरु गरे। मेची–महाकाली जोड्ने राजमार्ग बनाएर राष्ट्रको मुहार फेर्न सकिन्छ भन्ने सोच उनलाई त्यही बेला आयो । पोखरा हुँदै उनी बुटवल, भैरहवा, लुम्बिनी, बिभिन्न तीर्थस्थल र नेपालगन्ज पुगे । ठूलाठूला योजनालाई चाहिने आर्थिक स्रोत जुटाउन राष्ट्रिय बजेटबाट मात्र सम्भव थिएन । त्यसैले सम्पन्न राष्ट्रहरूसँग मित्रता गरेर नेपाली माटोमा लगानी गराउने र राष्ट्रिय सुरक्षाका निम्ति संसारको समर्थन जुटाएर राष्ट्रिय स्वतन्त्रता एवं स्वाधीनताबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने हेतुले राजा महेन्द्रले अहर्निश कूटनीतिक प्रयत्न गरिरहे ।
२०१३ सालमा नेपालले स्विट्जरल्याण्ड, सोभियत संघ र जापानसँग दौत्य सम्बन्ध स्थापना गर्यो। सोही साल राजा महेन्द्रको शुभराज्याभिषेक सम्पन्न भयो । त्यस अवसरमा काठमाडौँ आएका विभिन्न राष्ट्राध्यक्ष, प्रधानमन्त्री र विशिष्ट प्रतिनिधिहरू समक्ष नेपाललाई कुनै न कुनै रूपमा सहयोग गर्न राजाले आग्रह गरे । सोही साल नेपाल राष्ट्रबैंक र सर्वोच्च अदालत स्थापना गरेर राष्ट्रनायकले आफू अहोरात्र क्रियाशील भएको सन्देश दिइसकेका थिए । अघिल्लो वर्ष दिल्लीमा राष्ट्रपति डा. राजेन्द्र प्रसाद लगायतका विशिष्ट व्यक्तिबाट भव्य स्वागत पाएका राजा महेन्द्रले साहित्यिक भाषामा राजेन्द्र प्रसादलाई भनेका थिए, ‘म तपाईंलाई काठमाडौंमा पर्खिरहनेछु । त्यहाँबाट हामी सुन्दर हिमालय हेर्न सक्छौं ।’ नभन्दै २०१२ साल कात्तिकको पहिलो हप्ता भारतका प्रथम राष्ट्रपति राजेन्द्र नेपाल आए। संसारका करोडौं बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गर्न कात्तिक महिनाको अन्तिम हप्ता चौथो विश्व बौद्ध सम्मेलन नेपालमा आयोजना गरियो । यो धार्मिक कूटनीतिको सुन्दर उदाहरण थियो । महेन्द्रकालमा विदेशी दातृ निकाय र कूटनीतिज्ञहरू नेपालसँग योजना मागेर त्यसमा लगानी गर्न चाहन्थे । त्यसैले राजाले योजना कमिसन (हालको आयोग) बनाए । न्युजिल्यान्ड दुग्ध उद्योगमा अनुभवी भएकाले राजा महेन्द्रले दुग्धशाला बनाइदिन आग्रह गरे । लैनचौरको दुग्ध विकास संस्थानको जन्म त्यहींबाट भयो । २०१३ सालमा श्रीलंका पुगे, राजा महेन्द्र । अर्को वर्ष सुन्दर पश्चिम तराई र पहाडी जिल्लाहरूको भ्रमणमा गए । बाटो थिएन । घोडा र पैदल यात्रामा हजारौं जनतासँग भेटे । ‘गर्नुपर्ने काम हजारौं छन् तर पैसा छैन । त्यसैले संसार घुमेर पैसा जुटाउनु छ मैले’। आफ्ना प्रिय राष्ट्रसेवक सरदार भीमबहादुर पाँडेलाई महेन्द्रले भनेका थिए। भारतीय राष्ट्रपति राजेन्द्रलाई प्रसन्न पारेर थानकोट–नौबिसे–सिमभन्ज्याङ–हेटौंडा हुँदै वीरगन्ज जोड्ने त्रिभुवन राजपथ बनाउन राजी गराए उनले । श्रीलंकाको भ्रमणको परिणामस्वरूप श्रीलंकासँग दौत्य सम्बन्ध स्थापना भयो । २०१४ सालमै नेपाल र अरबबीच दौत्य सम्बन्ध स्थापना भयो । त्यसको एक सालपछि संघीय गणतन्त्र जर्मनीसँग दौत्य सम्बन्ध स्थापना भयो । कूटनीति नै राष्ट्राध्यक्षको परीक्षा हो भन्ने बुझेका महेन्द्रले २०१५ साल जेठमा रूस, युरोप र अफ्रिकाको भ्रमण गरेर धेरै राष्ट्राध्यक्ष, सरकार प्रमुख र वरिष्ठ कूटनीतिज्ञहरूलाई साथी बनाए । अर्को महिना नर्वे, स्विडेन, फिनल्यान्ड, डेनमार्क, पश्चिम जर्मनी, हल्यान्ड (नेदरल्यान्डस्), फ्रान्स, अस्ट्रिया, इटली, स्पेन, केन्या, पाकिस्तान र भारतको भ्रमण गरे । २०१६ सालमा अस्ट्रिया, पोल्यान्ड, मलेसिया, थाइल्यान्ड र युगोस्लाभिया सँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो । ग्रिस, फिलिपिन्स, बर्मा, पाकिस्तान, अस्ट्रेलिया, चेकोस्लोभाकिया, नेदरल्यान्डस् सोही वर्ष नेपालसँग कूटनीतिमा आबद्ध भए । स्वदेशमा हजारौं योग्य जनशक्ति आवश्यक रहेको तथ्यसँग अवगत राजाले विभिन्न भागमा कलेज र कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थापना गराए । सरकारको ढुकुटीमा पर्याप्त रकम थिएन । त्यसैले आफ्ना मुमाहरू कान्ति र ईश्वरीसँग मागिएका गहना बेचेर त्रिभुवन विश्वविद्यालयलाई सोह्र लाख रुपैयाँ दिए। त्यो कालखण्डमा त्यति रकमले सयौ रोपनी जमिन खरिद गर्न सकिन्थ्यो । कूटनीति र अन्तर्राष्ट्रिय ज्ञानको अध्ययन गर्न राजा महेन्द्रले निजी खर्चमा समेत कतिपय युवालाई विदेश पठाएको बूढापाकाहरू बताउँछन्। साहित्य, संगीत र कलाप्रति महेन्द्रको गहिरो विश्वास, अभिरुचि र अनुराग थियो । २०१४ साल असारमा काठमाडौंमा उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना गरेर स्वदेश र विदेशमा बस्ने धेरै प्रतिभाशाली व्यक्तिलाई समेटे । लैनसिंह वाङ्देल र अम्बर गुरुङ जस्ता प्रतिभाशाली युवकहरूलाई दार्जिलिङबाट ल्याएर सक्रिय गराए । चीन, रूसलगायतका राष्ट्रमा सांस्कृतिक र साहित्यिक टोली पठाएर संस्कृति तथा साहित्यका माध्यमबाट कूटनीतिक साइनो गाँस्न थालियो । चीनले सुरु गरेको ‘पिङ–पङ डिप्लोमेसी’ मार्फत नेपाल पनि त्यसमा संलग्न हुन थाल्यो । २०१७ सालमा राजा महेन्द्रले ब्रिटेनको भ्रमण गर्दा त्यहाँकी महारानी एलिजाबेथ (द्वितीय) रेल्वे स्टेसनमा स्वागतार्थ आफैँ उपस्थित भएकी थिइन् । जर्मनीबाट रेलगाडीमा लन्डन पुगेका राजा महेन्द्रको भव्य स्वागत गरिएको दृश्य यु–ट्युबमा अहिले पनि हेर्न सकिन्छ । त्यहीबेला राजाले इटली र इन्डोनेसियाको भ्रमण गरेका थिए भने इजरायल, स्विडेन, मंगोलिया, हंगेरी र न्युजिल्यान्डसँग सोही वर्ष दौत्य सम्बन्ध स्थापना भएको थियो । कूटनीतिका लागि अंग्रेजी भाषा मात्र पर्याप्त हुँदैन भन्ने बुझेका राजाले २०१८ सालमा विश्व भाषा स्कुल स्थापना गर्न प्रेरित गरे । सोही साल भदौमा युगोस्लाभियाको राजधानी बेलग्रेडमा आयोजित असंलग्न राष्ट्रका राष्ट्राध्यक्षहरूको सम्मेलनमा राजा महेन्द्रले ओजस्वी भाषण दिए । विश्वका सञ्चार माध्यमहरूमा त्यसको व्यापक चर्चा भएको पाइन्छ । २०१८ सालमै महेन्द्रले पाकिस्तान भ्रमण गरेर ठूला र शक्तिशाली राष्ट्रहरूको थिचोमिचो स्वीकार नगर्न पाकिस्तानी नेताहरूलाई उत्प्रेरित गरे । राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि र परराष्ट्रमन्त्री भइसकेका शैलेन्द्रकुमार उपाध्यायसँग कुराकानी हुँदा उपाध्यायले भनेका थिए, ‘राजा महेन्द्रले दरबारमा बोलाएर केही विषयमा छलफल गरिबक्स्यो । त्यहाँ राजासँग गम्भीर कुराकानी हुँदा एउटा संवेदनशील विषयमा मैले असहमति जनाएँ । राजाले आवेगमा आएर ‘शैलेन्द्र, गेट आउट’ हुकुम भयो । म सरासर घर आएँ । राजाले नै नरुचाएपछि भारततिर गएर बस्नुपर्यो भन्ने सोचेर त्यही राति आठ बजेतिर सामान सुटकेसमा राख्दै थिएँ । राजा महेन्द्र टुप्लुक्क मेरो निवासमै सवारी भयो । ‘अघि तिमीलाई गाली गर्ने महेन्द्र होइन, महेन्द्रको हाइ ब्लड प्रेसर हो । त्यसैले मसँग नरिसाऊ है भाइ ।’ राजाले प्यारो गरेर त्यसरी आत्मालोचना गर्दा म द्रवित भएँ । आँखाबाट आँसु आयो । राजाले पनि ‘आई एम सरी’ भन्छन् भन्ने त मैले कल्पना समेत गरेको थिएन ।’
फूल र पत्थर दुवै थिए महेन्द्र । कहिले नौनी जस्तो नरम त कहिले चट्टान । राजा महेन्द्रका बारेमा जी. कृष्णमूर्तिद्वारा लिखित अंग्रेजी पुस्तक (पोलिटिकल आइडोलोजी अफ किङ महेन्द्र) मा उनको प्रतिभा, क्षमता र आनीबानीहरूको विशद् चर्चा गरिएको छ । २०१८ सालमा चीन र मंगोलियाको भ्रमण गरे उनले । चीनमा राजतन्त्र अन्त्य भएको झन्डै ३८ वर्षपछि सत्तामा आएका कम्युनिस्ट नेता माओ–त्से (माओ–जे) तुङले राजा महेन्द्रको भव्य स्वागत गरे । त्यसअघि नै काठमाडौंबाट चीन जोड्ने कोदारी राजमार्गको निर्माण प्रारम्भ भइसकेको थियो । ‘चीन जोड्ने बाटो बनाएर के नेपालमा साम्यवाद ल्याउन खोजिएको हो ? ‘ भन्ने प्रश्नको जवाफमा राजा महेन्द्रले एकजना भारतीय पत्रकारलाई घतलाग्दो जवाफ दिएका थिए– ‘साम्यवाद ट्याक्सी चढेर आउँदैन ।’ (कम्युनिज्म डज् नट् कम बाई ट्याक्सी ।) राष्ट्रको भौतिक विकास र कूटनीतिमा राजा महेन्द्रले अधिकांश समय खर्च गरे । उनको पालामा धेरै राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना भएकाले कैयन् सम्पन्न राष्ट्रले नेपालको प्रगतिमा योगदान गरेको पाइन्छ । बरु महेन्द्रले स्थापना गरेको कैयन् उद्योग र आयोजना कालान्तरमा अलपत्र मात्र भएनन्, कतिपय उद्योग उपेक्षापूर्वक सस्तो मूल्यमा बेचिए। २०२० सालमा दौत्य सम्बन्ध स्थापना भएपछि अफगानिस्तान, लेबनान र बेल्जियमसँग नेपाल निकट बन्न पुग्यो । राजाले इजरायल र पूर्वी अफ्रिकी राष्ट्रहरूको भ्रमण गरेर कहिल्यै पराधीन नभएको नेपाल राष्ट्रको आफ्नै गाथा छ भन्ने चिनाए । त्यस्तै २०२१ सालमा पूर्व र पश्चिम जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, इटली, भारत, इजिप्ट आदिको भ्रमण गरे । कायरोमा सम्पन्न असंलग्न शिखर सम्मेलनमा राजा महेन्द्रको सहभागिताबाट नेपाल लाभान्वित हुन पुग्यो । २०२४ सालमा राजा महेन्द्रले हल्यान्ड (नेदरल्यान्डस्) भ्रमण गरे । उनको भ्रमणकै अवधिमा १४० वर्षपछि त्यहाँको राजदरबारमा पुत्र (युवराज) पैदा भएको खबर प्राप्त भएपछि रात्रिभोजमै राजा महेन्द्रले भ्रमण दलमा रहेका साहित्यकार भीमनिधि तिवारीलाई कविता लेख्न लगाए । त्यसलाई डच भाषामा तत्काल अनुवाद गराएर रात्रिभोजमा सुनाइयो । भोलिपल्ट अखबारहरूले ती सबै घटनाको चर्चासहित नेपालको प्रशंसा गरे । उनलाई विकास, कूटनीति, संस्कृति, साहित्य र सभ्यताको प्रेरक व्यक्तित्व भनेर चर्चा गरियो ।
इथियोपियादेखि अमेरिकासम्म र चीनदेखि अस्ट्रेलियासम्म कूटनीतिक सम्बन्ध तथा भ्रमण गरेर संसारलाई आकर्षित गर्न सक्ने क्षमताका धनी राजा महेन्द्रले कुनै स्कुल–कलेज पढेका थिएनन् । नेपाली, संस्कृत, हिन्दी, अंग्रेजी, नेवारी र उर्दू भाषामा उनी पारंगत थिए । संसारमा यस्ता राजनेता विरलै जन्मिन्छन् । १९७७ साल जेठ ३० गते जन्मिएका महेन्द्र २०२८ साल माघ १७ गते परलोक भए । विवेकशील नेपालीहरू आज पनि उनलाई श्रद्धापूर्वक सम्झिने गर्छन् । राजा महेन्द्र सम्बन्धी पुस्तक, अन्तर्वार्ता, जीवनी र उनीसँग काम गरेका अनुभवीहरूको कथनबाट एउटा कुरा स्पष्ट हुन्छ– उनी प्रखर राष्ट्रवादी राजनेता, स्वप्नद्रष्टा, कुशल कूटनीतिज्ञ तथा चक्रवर्ती रास्ट्रनायक थिए भन्ने बुझिन्छ।
स्व. श्री ५ महेन्द्र अमर रहुन् I

King-Mahendra-Maotsetung-dd mahendraa mahendra-bir-bikram-shah-dev-2 neharu_mahendra 11903852_551407578345846_5832676595627858234_n 15541565_784030548416880_1126491624260310925_n


Write A Suggestion

%d bloggers like this: