कौशिक गोत्र प्रवर्तक ऋषि विश्वामित्र


प्रवीण अधिकारी

200px-Vishvamitra-Muni

=======================
स्वयम्भुव मनु र शतरुपाबाट जन्मेकी देवहुतिको विवाह कर्दम ऋषिसंग भएको थियो | प्रजापति कर्दम र देवहूतिकि नौ ओटी छोरी कपिलदेव ऋषि सहित कला, अनसूया, श्रद्धा, हवी, गती, कृपा, ख्याती, अरुन्धती र शान्ति मध्ये अनुसूया अत्रि मुनिकी पत्नी हुन पुगेकी थिइन | कर्दम ऋषिले बाँकी अरु आठोटी छोरीहरुको बिहे क्रमशः मरिचि, अत्रि, अंगिरा, पुलस्य, पुलह,क्रतु भृगु, वशिष्ठ र अथर्वण नामक ऋषिहरुसंग गरिदिएका थिए | अनुसूयाको पतिभक्ति अर्थात सतीत्व तेजको कारण आकाशमार्गबाट विचरण गर्ने देवपनि उनको प्रतापको कारण ‘सती अनसूया’ को कोखबाट जन्मिन लालयित हुने गर्दथे | अनुसूया र अत्रि ऋषिबाट जन्मिएका दत्तात्रेय ,चन्द्रमा र दुर्वासा ऋषि मध्ये कुनैदिन चन्द्रमाले यो जगत् संचालनको अधिकार पाउँदा चन्द्रमा र ताराबाट बुध जन्मिन पुगेका थिए | बुधबाट पुरुरुवा – विजय -भिम -काञ्चन -होत्र -जन्हु -सुमन्तु – अलक-अजक-कुश-कशाम्वु -गाधी जन्मे । त्यै गाधी नै कुश वंशका दीपक हुनपुगे | गाधी राजाका छोराका पूर्वार्धकालमा छोरा जन्मिएका थिएनन | छोरी सत्यवतीको विवाह उनले महर्षि ऋचीक संग गरीदिए । बुढेश काल लागुञ्ज्याल सम्मपनि आफ्नो छोरा नभएको र छोरी पट्टीपनि पुत्र हिनता देखिएकोले ससुरा र ज्वाई ( राजा गाधी र ऋचिक )मिलेर पुत्रेष्ठि यज्ञ गरे | त्यस यज्ञको प्रतापले गाधीराजका छोरा भएर जन्मिए महर्षि विश्वामित्र | उता छोरी सत्यवती र ऋषि ऋचीकबाट जन्मिन पुगे जमदग्नि | तिनै जमदग्निका पुत्र भएर जन्मिए विष्णु अवतार परशुराम | हाम्रा वाङ्मयमा पूर्ण पुरुष, तपस्वी, साधक, रागी, विरागी युगद्रष्टा महर्षि विश्वामित्र पौराणित आख्यानमा मात्र सीमित ऋषि होइनन बरु आफ्नो कर्मपथमा हिंडेर जीवनको सर्वोच्च लक्ष्य पाउने त्यस्ता चरित्र नायक पनि हुन जसले राजाको रुपमा राज्य विस्तार गरे ,साधकको रुपमा साधना गरे अनि .राजर्षि पदबाट ब्रह्मर्षि पद पाउन सके | यिनी साधना पूर्व कालमा विश्वरथ भनेर चिह्निन्थे |
पौराणिक साहित्यमा विश्वामित्रले आफ्नो सौच सन्ध्याकोलागि नदी उत्पत्ति गरे जसलाई कौशिकी भनियो जुननदी आजको दिनमा कोशी भनेर चिह्निएको कुरो वर्णन गरिएको पाइन्छ |

कौशिक विश्वामित्र
============
शुरुमा उपनाम विश्वरथ भनेर चिह्निएका कुशिक गोत्रोत्पन्न कुशिक वंशज गाधिका छोरा विश्वामित्र १०० छोराका बाबु हुन पुगेका थिए |शिवजीबाट धनुर्विद्या पाउने सामर्थ्य राख्ने विश्वामित्र – विश्वामित्रकल्प’, ‘विश्वामित्रसंहिता’, ‘विश्वामित्रस्मृति जस्ता ग्रन्थका रचयिता हुन पुगेका थिए | विश्वामित्रको वसिष्ठ ऋषिसंग कामधेनु गाईको विषयमा भएको खटपट नै उनलाई ब्राह्मण बनाउने सूत्र हो | राजकूलमा जन्मिएका कारण मेनका अप्सरा संग प्रेम गर्ने तर वशिष्ठ ऋषि जस्तासंग द्वेष राखेका कारण राजा त्रिशंकुलाइ छुट्टै स्वर्ग शृजना गरी पठाउन सक्ने सामर्थ्य राख्ने यिनी पछि ऋग्वेदको तेश्रो मण्डलको मन्त्र द्रष्टार ऋषि हुन् पुगेका थिए | ऋषि विश्वामित्र तपस्याका धनि थिए | गायत्री मन्त्र इनको खोज थियो |
त्यसैमा इनले सिद्धि गरेका थिए | नवीन स्वर्गको सृष्टि गरी त्रिशंकुलाई सशरीर स्वर्ग पठाई ब्रह्मर्षि पद प्राप्त गरेका यिनी असम्भव काम गर्न माहिर मानिन्थे | राजा कुलको जन्म भई जिद्धि स्वभाव पल्हाएपनि इनी पुरुषार्थ, लगन, उद्यम र तपस्याका प्रतिमूर्तिपनि मानिन्छन | तसर्थ महर्षि विश्वामित्रले आफ्नो पुरुषार्थले ,तपस्याको बलले क्षत्रियत्वबाट ब्राह्मणत्व प्राप्त गरी राजर्षिबाट ब्रह्मर्षि भई सबै देउता र ऋषिहरुमा पूज्य हुन पुगेका थिए | विश्वामित्र सप्तर्षि मध्ये त्यस्ता ऋषि हुन जो आफ्नो तपस्याको बल र योगद्वारा सबैकालागि वन्दनीय हुन पुगेका छन |

रिशाहा विश्वामित्र
===========
इदेवराज इन्द्र संग खटपट भएर जाँदा त्रेता र द्वापर युगको सन्धिकालमा बाह्र बर्षसम्म अनावृष्टि हुन पुग्यो | चारैतिर सुख्खा लागेर त्रिणमूल नपाएका विश्वामित्रले भोकाएर कुकुरको मासु आपतधर्म मानी खाने विचार गरे | तर , त्यो भन्दा पहिले त्यै मासु यज्ञका देव इन्द्रलाई अर्पण गरी चढाउने प्रयाश गर्दा मात्तिएका ईन्द्रले डराएर वर्षा गराई दुर्भिक्ष हटाउनु परेको थियो |

शास्त्रीय परिचय
==========
कौंडिण्य ऋषिको शिष्य | इनको शिष्य शांडिल्य ऋषि थिए [बृ. उ. २.६.१,४.६.१]। वायु तथा ब्रह्मांड पुराणको मतमा व्यासको सामशिष्य परंपराका हिरण्यनाभको कौशिक शिष्य थिए | पाणिनीका अनुसार इनि एक शाखाप्रवर्तक ऋषि हुन | अथर्ववेदको गृह्यसूत्र लेखिंदा कुन मन्त्र लाई कहाँ राख्ने भन्ने विवाद हुँदा इनकै सल्लाह अनुसार मन्त्र राखिएको थियो [कौ.९.१०]; इनको नाउँमा छापिएका ग्रन्थहरुमा १. कौशिकगृह्यसूत्र, २. कौशिकस्मृति, ३.कौशिकपुराण रहेको छ | यी ग्रन्थहरुको उल्लेख हेमाद्रिले परिशेषखंडमा गरेका छन् [कौ. १.६.३१];[कौ. ६.३.७] | कौशिक कुलमा १३ जाना मन्त्र द्रष्टा रिशिहरु रहेका छन – १ विश्वामित्र,२ देवरात, ३ बल, ४. शरद्वत, ५. मधुछंदस, ६. अघमर्षण, ७. अष्टक, ८. लोहित, ९. भूतकाल, १०. अम्बुधि, ११. धनंजय, १२ शिशिर, १३. शावंकायन [मत्स्य. १४५. ११२-११४]| कुशांक, गाधिन्, विश्वामित्र आदिलाई सामान्यतः कौशिक भनेरै चिह्निन्छ | कुनै कालखण्डमा यिनी कुष्ठरोगी र व्यसनी हुन पुगेका थिए | इनकि पत्नी पतिभक्त थिइन् | आफ्नी श्रीमतीको काँधमा बसेर राति वेश्यानिर जाँदा बाटामा सूलीमा चढेर तपस्या गरिरहेका मांडव्य ऋषि बसेको शुली इनको शरीरको धक्काले हल्लिंदा इनले सूर्योदय पूर्वनै मृत्यु हुने श्राप पाएका थिए | तर, आफ्नी पत्नीको पतिव्रत्यताको कारण, सूर्योदय नै हुन सकेन |देउताहरुले इनकि पत्नीलाई सन्तुष्ट बनाएपछि तथा अनुसूयाले इनको पति जीवित गरेकी थिइन् [मार्क. १६.१४-८८];[ गरुड.१.१४२]।

ऋषि वशिष्ठको आतिथ्य
===============

विदेह जनकका दरवारका राज गुरु शतानन्दले भगवान राम संग विश्वामित्रको बखान गर्दै भनेका थिए – ऋषि विश्वामित्र प्रतापी र तेजस्वी महापुरुष हुन | उनी ऋषि धर्म ग्रहण गर्नु अघि पराक्रमी र प्रजावत्सल राजा थिए | चन्द्र वंशाधिपति विश्वामित्रका कुश, कुशनाभ , आदि पुर्खा जगत प्रसिद्ध भएका कारण उनी कौशिक भनेर चिह्निएका थिए | राजा हुँदा आफ्नो सेना सहित वशिष्ठ ऋषिको आश्रममा पुगेका राजा विश्वामित्र , सेना सहितलाई एउटी नन्दिनी गाइ भएकै कारण सेवा सत्कार गर्न सक्षम भएका ऋषिलाई देखेर उनले राजदरवारमा हुनुपर्ने गाई ऋषिले किन पाल्ने भन्ने प्रश्न गर्दै वशिष्ठ ऋषि संग उक्त कामधेनु नन्दिनी माग्न पुग्दा वशिष्ठ र विश्वामित्र विच तनाव उत्पन्न भयो | ऋषि वशिष्ठको नन्दिनी काम्धेनुले ब्रह्मणत्वको अघि क्षत्रियतव निरिह हुने कुरो बताइदिएपछि इनलाई ईख पल्हाउन्दा इनी तपस्या गर्न हिंडेका थिए | विश्वामित्रका सयभाई छोरा कुपित भएर ऋषि वशिष्ठलाई मार्न जाँदा ऋषि वशिष्ठले विश्वामित्रको एउटा छोरोलाई छोडि सबैलाई भष्म गरिदिए त्यै एउटालाई दुखि भएका ऋषि विश्वामित्रले राज्य सुम्पि आफु तपस्या गर्न हिंडेका थिए | त्यो तपस्याबाट फर्केर आएपनि पुनः वशिष्ठ संग झगडिन पुगेका विश्वामित्रले वशिष्ठ्को ब्रह्मास्त्र खप्न सकेनन | त्यसपछि उनले क्षत्रिय बल भन्दा ब्राह्मण बल श्रेष्ठ हुने कुरा स्वीकारे | राजा त्रिशंकुलाई सदेह स्वर्ग पठाउने उनी थिए | प्रकृतिको नियम विरुद्धको कामनात्मक यज्ञ गराएर विश्वामित्रले त्रिशंकुलाई छुट्टै स्वर्ग रचना गरेर पठाए | लगन र प्रयाश गरे सबैकुरा सम्भव छ भन्नेकुराको मूर्ति हुन विश्वामित्र | पुरुषार्थ, लगन, उद्यम र तपस्या महर्षि विश्वामित्रका पर्याय थिए |तसर्थ पुरुषार्थ र तपस्याको बलमा उनले क्षत्रियत्वबाट ब्रह्मत्व प्राप्त गरेका थिए | राजर्षिबाट ब्रह्मर्षि , देउताहरू र ऋषिहरुका पूज्य स्थानमा पुगी सप्तर्षिमा गनिन पुगेका थिए |

विशामित्रको देन
===========
ऋग्वेदको तृतीय मण्डलको ६२ओटा सूक्तको द्रष्टा ऋषि एक्लो विश्वामित्र नै हुन त्यसैले त्यो मण्डल ‘वैश्वामित्र-मण्डल’ भनेर चिह्निन्छ |यस मण्डलमा इन्द्र, अदिति, अग्निदेव, उषा, अश्विनी तथा ऋभु आदिको स्तुति गरिएको छ र अनेक ज्ञान-विज्ञान, अध्यात्म आदिको विस्तृत विवेचन गरिएको छ |यही तृतीय मण्डलको ब्रह्म-गायत्रीको मूल मन्त्र मुख्य द्रष्टा तथा उपदेष्टा ऋषि महर्षि विश्वामित्र नै हुन | ऋग्वेदको तृतीय मण्डलको ६२ औं सूक्तको दशौँ मन्त्र ‘गायत्री-मन्त्र’ हो –

तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात्॥

महर्षि विश्वामित्रले गायत्री मन्त्र प्राप्त गरेपछि त्यो वेदमन्त्रको मूल हुन पुग्यो सबै मन्त्रहरु यसैबाट निस्किन थाले | त्यसैले गायत्री मन्त्रलाई ‘वेदमाता’ भनिन थाल्यो | उनले वैदिक मन्त्रको माध्यमले गायत्री उपासना गर्न बल दिएका छन् | ‘विश्वामित्रकल्प,’ ‘विश्वामित्रसंहिता’ तथा
‘विश्वामित्रस्मृति’ आदि उनकै ग्रन्थहरु हुन | महर्षि विश्वामित्रले यो संसारलाई गाईको महिमा, त्यागको आदर्श, क्षमा शक्ति, तपस्या , उद्यम महिमा, पुरुषार्थ एवं प्रयत्न , दृढ़ता, कर्मयोग, लगन ,निष्ठा एवं दृढ़तापूर्वक कर्म गर्ने प्रेरणा दिए | ऋग्वेदको तृतीय मण्डल को ३० , ३३ तथा ५३ सूक्त मा महर्षि विश्वामित्रको परिचयात्मक विवरण गरिएको छ |त्यहींबाट यी कुशिक गोत्रोत्पन्न कौशिक हुन पुगेको बताइएको छ | ऋग्वेद ५३ औं सूक्तको नबौं मन्त्रले महर्षि विश्वामित्र अतिशय सामर्थ्यशाली, अतीन्द्रियार्थद्रष्टा, देदीप्यमान थिए भनेको छ | इनी त्यतिखेर सक्षम अध्वर्यु , उपदेष्टा तथा राजा सुदासको यज्ञको आचार्य रहन पुगेका थिए |

नेपालमा कौशिक गोत्र र विश्वामित्रको देन
==========================
नेपालमा कौशिक गोत्रीयहरुको रुपमा बुड्थापा ,घोडासैनी वा धोरासैनी , चिमाली (फुयाल) , छत्कुली , जोशी (रेग्मी) , टण्डन , डागी , तिवारी , थापा , धामी , ढुङ्गाना , पाठक , पुडासैनी , फुयाल , बखेती / बखती , बम , बस्ताकोटी , बेताली (फुयाल) , बोलशे , बोगटी , भण्डारी ( अछमी) , माझी (खपतरी) , रायमाझी , राजोपाध्याय (रिमाल) , राय , रिमाल , रघुवंशी ( भण्डारी) , रोकायो , शाही , सिजापती , सन्जेल , सेन्चुरी , स्वार , हैता , अंगाईं, रेग्मी, साउँद, खप्तरी खड्का, खपतरी बिष्ट, खपतरी बुढाथोकी, बेडारी, फुँयाल, रिमाल, लामिछाने, माझी, रायमाझी, दसौलिया, खप्तरी बस्नेत, पुडासैनी, रघुवंशी, गौली , रेग्मी / गौडेल , खपतरी बस्नेत , खड्का, बिडारी, रसाइली , लामिछाने , ढुङ्गाना , धिताल, फुयाल, तिवारी , माझी , लुईँटेल , बानियाँ , भण्डारी , शाही ईत्यादि | यसका तीन प्रवर हुन्छन –
कौशिक, देवरात र औदल | माथी उल्लेखित थरका अरु गोत्रपनि हुने गरेको छ| विश्वामित्र प्रवरकाण्डमा धेरै गोत्रकाऋषिहरु रहेका छन्, यीनलाई दश गोत्रगणभित्र समेटिएको छ | यस काण्डमा कुशिक, रोहित, रौक्ष, कामकायन, अज, अघमर्षा, पूरण, इन्द्रकौशिक, धनञ्जय र कत गोत्रगण रहेका छन् | क्षेत्रीयकूलमा जन्मी ब्रह्मर्षि बन्न पुगेका विश्वामित्रका रेणु, सालवति र माधवी नामक श्रीमतिहरुबाट रेणुमान, सङ्कृति र मुद्गल गरी एकसय छोराहरु जन्मिएका थिए | यिनले वरण गरेका जेठा छोराको नाम मधुच्छन्दासः हो | यिनलाई मधुच्छन्दा पनि भनिन्छ |ऋग्वेदको पहिलो मन्त्रद्रष्टानै मधुच्छन्दा ऋषि हुन् – यिनका दुइ छोराहरु क्रमशः कौडिन्य र धनञ्जय गोत्र प्रवर्तक भएकाहुन | – प्रवीण अधिकारी

6050_Maharshi Vishwamitra_l


Write A Suggestion

%d bloggers like this: