वेद,पुराण ,उपनिषद् ,ब्राह्मण ,आर्य ,आर्यावर्त र आर्यसमाजी


प्रवीण अधिकारी 

=======================================
हाम्रो मुलुकको अवस्थिति रहेको यो भूखण्डको प्राचीन नाउँ आर्यावर्त थियो अर्थात आर्यहरुको केंद्र स्थान | आर्यावर्त भनीनु भन्दा पहिला यो भूमिखंड जम्बूद्वीप भनेर चिह्निन्थ्यो | कुनै कुनै ग्रन्थले यसलाई अजनाभ खण्ड भनि चिह्नाएको छ | यहाँ अजनाभ खंडको अर्थ ब्रह्माको नाइटो या नाभि प्रदेश भन्ने हो | हाम्रो वेदपुराण र अन्य धर्मग्रंथहरु र वैज्ञानिक शोध ग्रन्थहरु समेतले मान्छे सहित अन्य जीव जन्तुको शृष्टि हिमालयको वरीपरी नै भएको थियो भनेर अर्थ्याएको पाइन्छ | यस शीलशिलामा तिव्वतलाई महत्व दीएको छ त्यसको अर्थ के हो भने तिव्वत यस संसारको सबै भन्दा ऊँचो पठार हो |

हिमालय क्षेत्रमा भएको कारण यो ठाउँ हिमवर्ष भनेर पनि चिह्निएको थियो | अहिलेको तिव्वत उतिवेला त्रिविष्टप भनेर चिह्निन्थ्यो | महाभारतको महाप्रस्थानिक पर्वमा तिब्बत हिमालयको त्यो राज्य् हो जंहा नंदनकानन नामक देवराज इंद्रको देश थियो भनिएको छ | यसको अर्थ इंद्रको स्वर्ग अदृश्य ठाउँमा नभई हिमालयकै छेउ छाउमा थियो भन्ने हो | त्यहीनिर शिव र अन्य देवताहरुको पनि वसोवास रहेको थियो | यो पृथ्वी यस वैवश्वत मन्वन्तरको जल प्रलयमा छोपिदा कैलाश, गौरी शंकर र सगरमाथाको टाकुरा सम्म पानी पुग्यो | धेरै महिना सम्म वैवस्वत मनुले ( श्राद्धदेव ) डुंगामा बिताए | पछि बिस्तारै जनसंख्या वृद्धि र वातावरणमा परिवर्तन आएका कारण वैवस्वत मनुका सन्तानहरु अलग-अलग भूमितिर फैलिन पुगेको कुरा पुराणहरु र आर्ष ग्रन्थहरुमा वर्णित देखिन्छ | विज्ञानले भन्छ पहिले सबै द्विप एकै ठाउँमा थिए | पछि पृथ्वीको घुमाइको गति र भू-गर्भीय परिवर्तनको कारण यो पृथ्वी विभिन्न द्वीपहरुमा बाडिन पुग्यो | मनुका सन्तानहरु हिमालय पार गरी फैलिन थाले र् पानीको मात्रा घटदै जाँदा मध्य भाग तिर छिरे र यो भूमि ब्रह्मवर्त, ब्रह्मर्षिदेश, मध्यदेश,आर्यावर्त एवं भारतवर्ष आदि नामले चिन्हिन थाल्यो र यस ठाउँका ज्ञानी, कुलीन,श्र्ष्ठ बासिन्दाहरु आर्य भनेर सम्बोधित हुन थाले |

आर्यको अर्थ
=========
आर्यको शाव्दिक अर्थ श्रेष्ठ हो | विशेषगरी त्यस्ता व्यक्तिहरु जो वैदिक धर्म र नीतिनियमहरुलाई शिर्ष स्थानमा आफ्नो जीवन यापन गर्द्थे ति आर्य कहलिंथे | यस् विपरित जो व्यक्ति वेद विरूद्ध जीवन यापन गर्द्थे र ब्रह्म बाहेक अन्य शक्तिहरु स्विकार्थे ति अनार्य मानिन्थे | आर्य कुनै जाति विशेष नभै एक विशेष विचारधारा मान्ने समूह हुन पुगेको थियो जसमा गोरा ,पहेँला , गहुँ गोरा , काला र अश्‍वेत रंगका सबै सामेल थिए | निरुक्त ६/२६ मा महर्षि यास्क भन्छन ” आर्य: ईश्वरपुत्र:” अर्थात आर्यको अर्थ ईश्वर पुत्र हो | ऋग्वेद ६/२२/१० मा आर्य शव्दलाई बलवानको अर्थमा प्रयोग गर्यो | ऋग्वेद ६/६०/६ मा वृत्रलाई आर्य बताईएको छ् ” हतो वृत्राण्यार्य ” | यहाँ आर्य शब्द बलवानको रूपमा प्रयोग भएको हो | वृत्रको अर्थ निघंटुमा मेघ वादल् हो | महाकुलकुलीनार्यसभ्यसज्जनसाधव:। -अमरकोष ७ ।३ अर्थात : आर्य शब्दको प्रयोग महाकुल, कुलीन, सभ्य, सज्जन, साधु आदिकोलागि प्रयोग गरिन्थ्यो | सायणाचार्यले ऋगवेद भाष्यमा ‘आर्य’ को अर्थ विज्ञ, यज्ञको अर्थ अनुष्ठाता, विज्ञको अर्थ विद्वान् आदरणीय अथवा सर्वत्र गंतव्य, उत्तमवर्ण, मनु, कर्मयुक्त र कर्मानुष्ठानले श्रेष्ठ आदि भनेका छन | आर्य शब्द आदरणीयको अर्थमा संस्कृत साहित्यमा आर्यको प्रयोग गरिएको देखिन्छ |तसर्थ तत्कालिन पत्नीहरुले आफ्ना पतिलाई आर्यपुत्र भन्ने गरेका थीए |

कर्तव्यमाचनरन् कार्यमकर्तव्यमनाचरन्।
तिष्ठति प्रकृताचारे स आर्य इति उच्यते।।

‘आर्य’को प्रयोग प्रजाति अथवा वर्णकोलागि नगरी यस्को प्रयोग नैतिक अर्थमा गरिन्थ्यो जस अनुसार कुनै पनि वर्ण अथवा जातिको व्यक्ति आफ्नो श्रेष्ठता अथवा सज्जनताका कारण आर्य भनिन्थ्यो | आर्यको थियो ? वाल्मीकी रामायणमा समदृष्टि र सज्जनताले पूर्ण श्रीरामचन्द्र ‘आर्य’ वा ‘आर्यपुत्र’ भनिएका थिए | विदुरनीतिमा धार्मिकलाई , चाणक्यनीतिमा गुणीजनलाई , महाभारतमा श्रेष्ठबुद्धि भएका व्यक्तिलाई , गीतामा वीरलाई ‘आर्य’ भनिएको देखिन्छ | वेद भन्दछ् ‘कृण्वन्तो विश्वमार्यम’ अर्थात सारा संसारलाई आर्य बनाउ | ‘अहं भूमिमददामार्याय'(ऋग्वेद) अर्थात म् आर्यहरुलाई यो भूमि दिन्छु | यस्को अर्थ हो श्रेष्ठ गुण, कर्म, स्वाभाव भएका सज्जन मनुष्यहरु ( आर्य ) संगठित भएर यस पृथ्वीमा शासन गरुन |”

अब कुरो गरौँ आर्य समाजको
===================

यो शब्दको प्रयोग आर्य सामाजीले जस्तो आफुले आफुलाई प्रयोग गर्ने शब्द होइन | यो विशेषण हो विशेषको आगि प्रयोग हुनु पर्छ | प्राचिन आर्यावर्तमा कसैलेपनि आफैले ,आफ़्नोलागि यो शब्दको गलत प्रयोग गरेन | जो मान्छेका गुण कर्म स्वभाव अरु भन्दा श्रेष्ठ हुन्थ्यो ती आर्य पुत्र भनि संवोधित गरिन्थे | अहिले यस विश्वमा स्वघोषित आर्य सामाजी मूर्ख जमातको टोलीले यो शब्द दुरुपयोग गरिरहेको छ र आर्य समाजको नाउँले चिह्निंन पुगेको छ | जो आफैले आफैलाई आर्य नाउले शुशोभित गराएर दंग परेको छ | कसैको गुण ,कर्म र स्वभावको मूल्याङ्कन अर्काले गर्ने हो आफैले आफ्नो गर्ने होइन उसको जमातले बुझेको छैन |

कुनैपनि अंहकारी झुण्ड आर्य कहलिन सक्तैनन |कसैले आफैले आफ्नो गुण कर्म स्वभाव आदि आफैले वर्णन गरेर आफुलाई आर्य भनाउँछ भने त्यस्ता झुण्डहरु आर्य कहलिन सक्तैनन | ती स्वघोषित आर्यहरु म्ळेच्छ बुद्धिका बुद्धिहीन मान्छेहरुको झुण्ड मात्र हो | उनीहरुको भनांईमा मूर्ति पूजा वेद विरुद्ध हो , यो कुरो प्रष्ट्याउन तिनले संधैं यजुर्वेदको अर्द्ध श्लोक भट्याउने गरेका छन् – “न तस्य प्रतिमा अस्ति ” र यसको अर्थ लाउँछन – परमात्माको कुनै मूर्ति छैन | अहिंसा परमो धर्म जस्तै यो अधकल्चो श्लोक घोकेर घोकाएर उनीहरु सम्पूर्ण सनातनी समाजलाई उल्लु बनाई रहेकाछन |

यहाँ हेर ! अमर कोषले के भन्दछ ? –
————————————-
“प्रतिमानं प्रतिबिम्बं प्रतिमा प्रतियातना ।
प्रतिच्छाया प्रतिकृतिरर्चा पुंसि प्रतिनिधि: उपमोपमानं स्यात्॥” ~अमरकोष-{२/१०/३५-३६}

यहाँ प्रतिमा , प्रतिमान आदि शब्दको प्रयोग उपमा उपमानको अर्थमा गरिएको हो | पूर्ववर्ति विद्वानहरुले उपमा उपमानको अर्थ प्रतिमा हो भनेका छन् | भानुजी दीक्षितको रामाश्रमी व्याख्या हेर ,ती विद्वान तिमीहरु जस्तो दयानन्दको सुरुवालको फेरसमातेर कुद्ने पटमूर्ख थिएनन |

माथिको श्लोकले प्रतिमाको अर्थ मूर्ति , उपमा, उपमान र सदृश भनेपछि तिमीहरुले यो संसारलाई उल्लु बनाउँन प्रयोग गर्ने गरेको अर्द्ध शोल्कको पूर्ण भागपनि पढेर हेर :-

न तस्य प्रतिमा ऽ अस्ति यस्य नाम महद् यशः। हिरण्यगर्भ ऽ इत्य् एषः।
मा मा हिमसीद् इत्य् एषा। यस्मान् न जातऽइत्य् एष॥ ~यजुर्वेद {३२/३}

अर्थात जुन परमात्माको महिमाको वर्णन ‘हिरण्यगर्भ’ (यजुर्वेद २५/१०) ‘यस्मान्न जात:’ (यजुर्वेद ८/२३) तथा ‘मा मा हिंसीत् (यजुर्वेद १२/१०२) आदि मंत्रहरुले गरेर ल्याएको छ , ‘यस्य नाम महद् यशः’ जसको नाम र यशको तुलना सूर्य संग मात्र गर्न सकिन्छ ,ती ईश्वर नै आदित्य जगत , वायु , चन्द्र, शुक्र, जल प्रजापति र सर्वत्र व्याप्त हुन पुगेका हुन् , ‘न तस्य प्रतिमा अस्ति’ यस्ता अद्वितीय परमात्मा मात्र हुन ती जस्ता अरु कोइ छैनन् |

अव हेर मूर्ति पूजाको वेद प्रमाण :-
=====================

कासीत् प्रमा प्रतिमा किं निदानमाज्यं किमासीत्परिधिः क आसीत्।
छन्दः किमासीत्प्रौगं किमुक्थं यद्देवा देवमयजन्त विश्वे॥ ~ऋग्वेद {१०/१३०/३}

अर्थात – यथार्थ ज्ञानबुद्धिको स्वरुप कस्तो हुन्छ ? प्रतिमामा थापिने मूर्ति कस्तो हुन्छ ? यस जगतका कारण को हुन ? हरेक विषयको घ्यू समान सार कसले जान्दछ ? सबैलाई निवृत्ति गराउने कारक र आनंद दिलाउने प्रितिको पात्र परिचय कस्तो हुन्छ ? यस जगतको पृष्ठमा को छ ? र स्वतंत्र वस्तुको रुपमा स्तुति गर्ने योग्य को हुन ? यी प्रश्नहरुको अन्तमा उत्तर आउँछ – त्यस्तो परमेश्वर जसको मूर्ति इंद्रादि देउताले समेत पूजा गर्दछन ,त्यस्ता परमात्माको प्रतिमा स्वरुप यस संसारमा रहेको हो र तिनै सारगर्भित रुपमा हामी सबैले स्तुति गर्ने लायक ठहरिएका हुन |

तिमीलाई जति घोकाइएको छ तिमीले त्यतिमात्र पट टु सुगा जस्तो घोकेका छौ | तिम्रो आफ्नो वुद्धि अर्काको दास हुँ पुगेको हुँदा पुराण आदि सनातन धर्म ग्रंथहरुको विरोध गरेर आफ्नो बुद्धिहीनताको प्रमाण दिइरहेका छौ | जसले वेद / श्रुति ग्रन्थहरुको आफु अनुकुलको ब्याख्या गरेर नीजि लाभका खातिर अर्थको अनर्थ गरिरहेको छ | तिमी मूर्खहरु ब्राह्मणहरुले पुराणमा मिलावट गरे भनेर खोक्दैछौ जुनकुरो हास्यास्पद मात्र होइन वेवकुफ पनि ठहर्छ किनभने सत्य ,त्रेता,द्वापर जस्ता ३ युग सम्म वेद र पुराण ब्राह्मणहरु संगसंगै रहेको थियो भने तिनीहरुले वेदमा दयानन्दले गरे जस्तो मिलावट किन गर्न सकेनन ? र पुराण ग्रन्थहरुलाई मात्र गरे | दयानान्दाले त्यति ओह्र्याई गर्दापनि तिमीहरु वेदलाई किन शुद्ध मान्दै छ्यौ ?

हेर प्रमाण तिम्रै पेवा हुन पुगेको त्यो वेदले के भन्दछ ? –
=================================

यत्र स्कम्भः प्रजनयन् पुराणं व्यवर्तयत्।
एकं तदङ्गं स्कम्भस्य पुराणमनुसंविदुः ॥ (अथर्ववेद – १०,७.२६ )

स्कम्भ बाट उत्पन्न भएको पुराण व्यवहरित हुन पुग्यो , भन्नुको अर्थ त्यै स्कम्भको अंगलाई पुराण भनिएको हो कि होइन ?

तमितिहासश्च पुराणं च गाथाश्च नाराशंसीश्चानुव्यचलन् ॥
इतिहासस्य च वै स पुराणस्य च गाथानां च नाराशासिनां च प्रियं धाम भवति य एवम् वेद ॥ (अथर्ववेद १५/६/१२)

अर्थ- इतिहास ,पुराण गाथा नारांशंसी प्रियधाम हुन , कुनैपनि विद्वान, ‘इतिहास, पुराण, गाथा र नाराशंसी’ द्वारा वेद महत्व वृद्धि हुने व्याख्या गरेर मात्र अघि बढ्न सक्तछ |

ऋचः सामानि छन्दांसि पुराणं यजुषा सह ।
उच्छिष्टाज्जज्ञिरे सर्वे दिवि देवा दिविश्रितः ॥ (अथर्ववेद – ११/९/२४ )

ऋक् साम, छन्द, पुराण, यजु आदि द्युलोक र स्वर्गस्थ सबै देउता उच्छिष्ट यज्ञ मै उत्पन्न भए , अर्थात् पुराणको उत्पत्ति ऋक्, साम, यजु, र छन्द संगै हुन् पुगेको हो |

अब ब्राह्मण ग्रन्थ हेर –
=============

मध्वाहुतयो ह वा एता देवानाम् यदनुशासनानि विद्या वाकोवाक्यमितिहासपुराणं
गाथा नाराशंस्यः स य एवं विद्वाननुशासनानि विद्या वाकोवाक्यमितिहासपुराणं
गाथा नाराशंसीरित्यहरहः स्वाध्यायमधीते मध्वाहुतिभिरेव
तद्देवांस्तर्पयति त एनं तृप्तास्तर्पयन्ति योगक्षेमेण प्राणेन रे ॥ ~[शतपथ : ११/५/६/८]

अर्थ- हाम्रा शास्त्रहरु देविदेउताहरु सम्म पुग्ने आहुति जस्ती हुन् | देव विद्या , ब्रह्म विद्या जस्ता आदि विद्याहरुका उत्तर प्रत्यूतर खोज्न सक्ने भएकोले ग्रन्थ ,इतिहास , पुराण गाथा नाराशंसी शास्त्र कहलिन पुगेका हुन् | इनको नित्य स्वध्याय गर्ने व्यक्तिहरु नै देउताहरू प्रतिको आहुति सरह मानिएका हुन |

स यथार्द्रैधाग्नेरभ्याहितस्य पृथग्धूमा विनिश्चरन्त्येवं वा अरेऽस्य महतो
भूतस्य निश्वसितमेतद्यदृग्वेदो यजुर्वेदः सामवेदोऽथर्वाङ्गिरस इतिहासः
पुराणं विद्या उपनिषदः श्लोकाः सूत्राण्यनुव्याख्यानानि व्याख्यानान्यस्यैवैतानि
सर्वाणि निश्वसितानि ॥ ~[शतपथ ब्राह्मण : १४/५/४/१०]

अर्थ- जसरी यज्ञ कुण्डमा चारै तिरबाट राखिएका काँचो दाउराको अग्नि बल्न नसकेर धूँवा निस्किन्छ त्यसरीनै हे मैत्रेयी ! यी ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्वाङ्गिरस, इतिहास , पुराण उपनिषद सूत्र , श्लोक, व्याख्यान, अनुव्याख्यान,उपाख्यान इष्ट (यज्ञ), हुत (यज्ञ क्रिया ) , पायित, इहलोक, परलोक र समस्त प्राणीहरु ती परम महान सत्ताका नि:श्वास हुन पुगेका हुन |

अर्को हेर –
========
यस ऋचामा इतिहास पुराण आदि नाम पृथक पृथकनै लिइएको छ –

सहोवाच — ऋग्वेदं भगवोऽध्येमि यजुर्वेदं सामवेदमाथर्वणं चतुर्थमितिहासपुराणं पञ्चमं वेदानां वेदं पित्र्यं राशिं दैवं निधिं वाकोवाक्यमेकायनं देवविद्यां ब्रह्मविद्यां भूतविद्यां क्षत्रविद्यां नक्षत्रविद्यां सर्पदेवजनविद्यामेतद्भगवोऽध्येमि ॥ ~[छान्दोग्य : ७/१/२]

नारदजीले भने ‘हे भगवन्’ ! मैले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्वण बुझेको छु (ईतिहासपुराणं पञ्चमं वेदानां वेदं) इतिहास, पुराण जो वेदहरु मध्ये पाँचौ वेद हो त्यो पनि जानेको छु | श्राद्धकल्प, गणित, उत्पादविद्या, निधिशास्त्र, तर्कशास्त्र, नीतिशास्त्र, निरूक्त, ब्रह्म सम्बंधी उपनिषदविद्या, भूततन्त्र, धनुर्वेद, ज्योतिष, सर्पदेवजनविद्या, देवजनविद्या, गन्धधरण, नृत्य, गीत, बाद्यवादन ती पनि जानेको छु |

लौ हेर ! छान्दोग्य उपनिशादको यस वाक्यानुसार कति वेदहरू रहेछन त्यो पनि प्रमाणित भयो र यहाँपनि पुराण पाँचौ वेदकै रुपमा पृथक नै ग्रहण गरिएको छ |

अरेऽस्य महतो’भूत’स्य नि’श्वसितम्एत’द्य’दृग्वेदो’ यजुर्वेद’ सामवेदो’ऽथर्वाङ्गिर’ सइतिहास’पुराण’विद्या’ उपनिष’दः श्लो’काः सू’त्राण्यनुव्याख्या’ नानिव्याख्या’ ननिदत्त’म्हुत’ माशित’ पायित’ मय’चलोक’प’रश्चलोक’ स’र्वाणि च भूता’न्यस्यै’ वै’ता’नि स’र्वाणि नि’श्वसितानि ॥ ~[बृह० ऊ० : ४/५/११]

अर्थ- त्यस परब्रह्म नारायणको निश्वासबाट ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्वाङ्गिरस, इतिहाँस , पुराण उपनिषद सुत्र, श्लोक, व्याख्यान, अनुव्याख्यान, इष्ट (यज्ञ), हुत (यज्ञ किया ) , , इहलोक, परलोक र समस्त देखिएका कुरा वा देख्न सकिने कुरा समावेस गरिएको छ |

एवमिमे सर्वे वेदा निर्मितास्सकल्पा सरहस्या: सब्राह्मणा सोपनिषत्का: सेतिहासा: सांव्यख्याता:सपुराणा:सस्वरा:ससंस्काराः सनिरुक्ता: सानुशासना सानुमार्जना: सवाकोवाक्या ॥ (गोपथब्राह्मण १/२/२०)

अर्थ- कल्प रहस्य , ब्राह्मण , उपनिषद , इतिहाँस , पुराण , अनवाख्यात स्वर संस्कार निरुक्त अनुशासन र वाकोवाक्य समस्त वेद परमेश्वरबाटै निर्मित भएका हुन |

अब मनुस्मृति, वाल्मीकि रामायणको कथन हेर –
————————————————

स्वाध्यायं श्रावयेत् पित्रे,धर्मशास्त्राणि चैव हि।
आख्यानमितिहासांश्च,पुराणान्यखिलानि च ॥ ~[मनुस्मृति : अ० ३, श्लोक ]

श्राद्ध गरिसकेपछि हाम्रा पित्रिहरुको प्रीतिको लागि वेद पारायण गरि श्रवण गराउ , धर्म शास्त्र आख्यान ,इतिहाँस , पुराणादि पनि सुनाउ |

एतच्छुत्वारह: सूतो राजानमिदमब्रवीत ।
श्रूयतां यत्पुरा वृतं पुराणेषु मया श्रुतम् ॥ ~वाल्मीकि रामायण

यो सुनेर सूतले एकांतमा राजा संग भन्यो महाराज !, यो त प्राचीन कथा हो जुन मैले पुराणमा सुनेको हुँ | त्यसपछि भविष्यमा हुने रामजन्मको चरित्र सबै राजालाई सुनाएर भन्यो अब श्रीराम तिम्रा घरमा जन्मिनेछन | तसर्थ ऋंगी ऋषिलाई वोलाउ र त्यस्तै हुन पुग्योपनि |

पुराणन्यायमीमांसा धर्मशास्त्राङ्गमिश्रिताः ।
वेदाः स्थानानि विद्यानां धर्मस्य च चतुर्दश ॥ ~[याज्ञ० स्मृति० : १/३]

अर्थ- पुराण , न्याय , मीमांशा, धर्म शास्त्र र छः अङ्गहरु सहितको वेद सहितका चौध विद्या धर्मका ठाउँ हुन | यसरी शतपथ ब्राह्मण (१४/३/३/१३) ले त पुराणवाग्ङमयलाई वेद नै भन्दिएको छ | छान्दोग्य उपनिषद् (इतिहास पुराणं पञ्चम वेदानांवेदम् (७/१/२,४) मा पनि पुराणलाई वेद भनिएको छ | बृहदारण्यकोपनिषद् तथा महाभारतमा “इतिहास पुराणाभ्यां वेदार्थ मुपबर्हयेत्” अर्थात् वेदको अर्थविस्तार पुराणद्वारा गर भनेर निर्देशन नै दिएको छ | यी सबै कुरोले भनेको के हो भने वैदिक कालमा सबै पुराण र इतिहासलाई वेदकै स्तरमा राखिएको थियो |

अब पुराणको लक्षण हेरौं
================
सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि च ।
वंशानुचरितं चैव पुराणं पञ्चलक्षणम् ॥

१.सर्गः (जगतः उगमः)
२.प्रतिसर्गः (अवनतिः पुन्स्सृष्टिः)
३.वंशः (ऋषिदेवतादीनां जीवनम्)
४.मन्वन्तरम् (मानवजातेः उगमः, मनूनां राज्यभारः)
५.वंशानुचरितम् (सूर्यचन्द्रवंशीयराजानां चरित्रम्)

अर्थात (१) सर्ग – पंचमहाभूत, इंद्रियगण, बुद्धि आदि तत्त्वहरुको उत्पत्ति वर्णन,
(२) प्रतिसर्ग – ब्रह्मादिस्थावरांत संपूर्ण चराचर जगत् निर्माणको वर्णन,
(३) वंश – सूर्यचंद्रादि वंशको वर्णन,
(४) मन्वन्तर – मनु, मनुपुत्र, देव, सप्तर्षि, इंद्र र भगवान् को अवतारहरुको वर्णन,
(५) वंशानुचरित – प्रति वंशका प्रसिद्ध पुरुषहरुको वर्णन | यो नै पुराणहरुको पाँच लक्षणहरु हो अर्थात जुन कुरामा यी पाँच लक्षणहरु विद्दमान रहन्छन ती पुराण कहलिएका हुन |

यस सृष्टिको रचनाकार ब्रह्माजीले सर्वप्रथम जुन प्राचीनतम धर्मग्रंथको रचना गरे त्यसलाइनै पुराण भनेर चिह्निएको हो |यसको प्रमाण वेदमा छ त्योपनि हेरौ –

ऋचः सामानि छन्दांसि पुराणं यजुषा सह ।
उच्छिष्टाज्जज्ञिरे सर्वे दिवि देवा दिविश्रितः ॥ (अथर्ववेद – ११/९/२४ )

अर्थात् पुराणहरुको उत्पत्ति ऋक्, साम, यजु, र छन्द संगै भएको हो | तसर्थ पुराण ग्रन्थहरुलाई नविनतम भन्नेहरु वेद विरोधी, नास्तिक दयानंद र तिनका नियोगी चम्चा हुन जसले आफ्नो औकातमै बसेर बोल्ने गर्नु पर्दछ | ती वेवकुफ़हरुले के चाहीं बुझुन भने जुन पुराण ग्रन्थको महिमा गुणगान वेद, उपनिषद, ब्राह्मण, मनुस्मृति, वाल्मीकि रामायण र महाभारत जस्ता आदि ग्रन्थहरुले गरेका छन् , जुन पुराणहरूको महिमा हाम्रा ऋषि मुनिहरुले गाउँदा पाँचौं वेद भनेर गाएका छन् त्यसलाई हिंजो अस्तिको हो भनेर विरोध गर्ने दयानंद र तिनका नियोगी चम्चाहरुले वेदादि ग्रंथकै अपमान गरिरहेका छन् | ती चम्चाहरुले पुराण ग्रन्थ नयाँ हुन भन्नुको साटो आफ्नो गालामा आफै हिर्काउने गरुन तिनको वुद्धिको भाँडो आफै खुल्नेछ |किनभने सनातन हिन्दु धर्म ग्रन्थमा वेद , ब्राह्मण , उपनिषद र पुराणको विकल्प छैन |

अवतारवादको प्रमाण
==============
प्राचीन ग्रन्थहरु रेफरेन्स र तथ्य दुवै हो | व्यक्ति विशेषको कपिपेष्ट तर्क विहिन तर्क तर्क हो | रामायाणकाल महाभारतभन्दा अगाडिको हो भन्दैमा कल्पना हो भन्न मिल्दैन , कल्पना शब्दको हुन्छ , तथ्यको हुन सक्दैन | वेदले ” एको ब्रम्ह द्वितियो नास्ति: ” भन्नुको अर्थ अवतारवादलाई स्विकार्दैन भनेको होइन –

अवतारवादको अभिव्यक्ति मूल संहिता ग्रन्थबाट जस्ताको त्यस्तै :-

प्रजपतिश्चरती गर्भे अंतरजायमानो बहुधा वि जायते |
तस्य योनिं परि पश्यन्ति धीरास्तास्मिन ह तस्थुभुवनानि विश्वाः || (यजुर्वेद ३१ -१९ )

प्रजापति ईश्वर गर्भ भित्र विचरण गर्दछन | उनी जन्मरहित मानिन्छन तर अनेक किसिमले जन्म ग्रहण गर्दछन | विद्वानहरुले मात्र ती ईश्वरको उत्पति स्थान देख्न सक्दछन | उनी उत्पति हुँदा यो सम्पूर्ण भूवन उनीमै आधारित रहन पुग्दछ |

अव अर्को हेर्नोस –

इदं विष्णुर्वि चक्रमे त्रेधा नि दधे पदम् | समूढ़मस्य पा सुरे ||(यजुर्वेद ५ -१५ )

अर्थात यी दृश्यमान संसारलाई भगवान विष्णुले एकैपल्टमा निरुपण गरे कसरी भन्दा यसमाथि आफ्नो पाउ राखी यो सम्पूर्ण लोक नापे |

त्यसैले मूल ग्रन्थ अध्ययन बिनाको अभिव्यक्ति वेवकुफ धारणा मात्र हो अरु कसैलाई त्यसले आकर्षित गर्न सक्दैन | नोट- मेरो विचारमा मैले बुझ्न सकेको वैदिक साहित्यको म भन्दा कनिष्ठ र मेरा समवयष्कले बुझ्न सकुन भन्ने थियो तर दुई बर्षको अनुभवले बताउंदै छ म पानपसले विच बसेर कोहिनूरको व्यापार गर्न खोज्दैछु त्यसले चाहान्छु यो अभियान यहीं पुर्याएर बन्द गरौँ |
ऋषि मुनिहरुले साँचो बोलेका थिए – वेद र पौराणिक ग्यान त्यसैले पाओस जो इक्षुक छ ,अपात्रलाई न देउ | फेस बुक अर्थात अनुहार देखाउने बुक ,अनुहार देखाउ ,लाइक ठोक | यस्ता मूल्यहीन विषयवस्तुको यो एक्काइसौँ शताव्दीमा के काम ? – प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: