श्री ५ पृथ्वीनारायण शाहले किर्तिपुरेको नाक काटेको भन्ने कुरा पादरीको मनगढन्त कथन !


prithvi-narayanshah-king

‘किर्तिपुरका जनताले आत्मसमर्पण गरेपछि श्री ५ पृथ्वीनारायण शाहले शुरप्रताप शाहलाई, १) बस्तीमा केहि मुख्य बासिन्दाहरुलाई मार्नु, २) प्रत्येक व्यक्तिको नाक र ओठ काट्नु, ३) नाक ओठ काटिएका मानिसको गन्ती गर्नलाई काटिएका नाक ओठ जम्मा गरिराख्नु र ४) बस्तीको नाम बदलेर नसकटापुर राख्नु भन्ने आज्ञा पठाएर यस आज्ञाको निर्दयतापूर्वक पालना गरियो भनेर पादरी जोसेप्पीले लेखेका छन् । तर यसै बस्तीमा श्री ५ पृथ्वी नारायण शाह आएर यस बस्तीलाई सजाएर आफूसमेत केहि महिना यहीँ बसेका हुनाले सबै नकटा नरनारी भएका नकटापुरलाई सजाउनु र त्यहाँ आफु निवास गरिरहनु एकदम असम्भव छ । त्यहाँ बसेर श्री ५ पृथ्वी नारायण शाहले र श्री ५ युवराज प्रतापसिंह शाहले लेखेका पत्रहरुमा मुकाम किर्तिपुर लेखिएको छ, नकटापुर लेखिएको छैन ।

यो कुरा साँचो भएको भए समयान्तरमा यस बस्तीको नाम पुरानै कायम हुन गए तापनि यस बस्तीको नाम बदल्ने श्री ५ पृथ्वी नारायण शाहले र उनका उत्तराधिकारी श्री ५ युवराज प्रतापसिंह शाहाले यहाँ बसेर लेखेका पत्रहरुमा निश्चयनै मुकाम नकटापुर लेखिने थियो । यस कारण पादरी जोसेप्पीको कथन पागलको प्रलापसमान छ ।

हग्सन पेपरमा रहेका यस विषयको कागज लेखेर हग्शनलाई दिने ‘थुनी’का बदलामा ‘ठुनि’ लेख्ने महाशयले श्री ५ पृथ्वीनारायण शाहको नाम नलिएर आक्रामक भारदारले नै दोस्रा दिन राजाको दर्शन गर्न बाह्र वर्ष उँभोका बस्तीका बासिन्दाहरुलाई बोलाई कोटमा थुनेर पछि सबैका नाक काटिदिँदा काटिएका नाकको तौल धार्नी १२, सेर १ र तोला ६ भयो भनेर लेखेका छन् । यो बाहेक नाक मात्र काट्ने आज्ञा दिएकोमा ओठ पनि काटेका अपराधमा काट्ने भोटेहररुलाई पनि मारिदिए र कोट र प्रजाहरुका घर पनि आगो लगाएर जलाइदिए भन्ने प्रलाप जो लेखेका छन्, त्यो उनकै मनगढन्त सिवाय केहि साबित हुँदैन ।

बुद्धिमान सिंहले पनि केही जोसेप्पीका लेखेको र केही हग्शनलाई दिने अज्ञातनमा लेखकको अन्धानुकरण गरी नकटापुर भन्ने नामको समर्थन गर्दै काटिएका नाकको तौल बढाएर १७ धार्नी एक सेर पु्र्याएका छन् । यस तरहका पागलपनका विषयमा अधिक चर्चा गर्नु आफ्नै पागलपन हुने भएको छ । कप्तान कर्क प्याट्रिकले आफ्ना भरियाहरुमा ध्यान आकर्षित गर्ने संख्यामा नकटाहरु देखेका कुरा लेखेका छन् । अरु बयान जोसेप्पीको लेखेको भरमा लेखिएको देखिन्छ । तर, यिनले न ओठ काटेको कुराको वर्णन गरेका छन् न त आफ्ना नकटा भरियाहरुको ओठ नभएको कुरा नै लेखेका छन् । कर्क प्याट्रिकका यसै वर्णनबाट ओठ काटिएको भन्ने कुुुरा सर्वथा गलत देखिन आएको छ ।

यस प्रकार नाक ओठ काण्डका विषयमा यो कार्य कसैले श्री ५ पृथ्वीनारायण शाहका आज्ञाले भएको र कसैले सेनापतिले धोखा दिएर बस्तीका बासिन्दाहरुलाई एक कामका निम्ति बोलाएर थुनी काटेको भनि लेखेका छन् । यस अवस्थामा यस प्रकारको राक्षसी आज्ञा श्री ५ पृथ्वी नारायण शाहले दिएका हुन् भन्ने कुरा नै निराधार छ । अनि कसैले नाक ओठ दुवै काटेको, कसैले नाक मात्रै काटेको र कसैले संख्या जान्न मात्रै नाक ओठ जम्मा गर्न लगाएको, कसैले काटेका नाक ओठ तौलेको र त्यो तौल पनि एकजनाको वर्णनमा एकथरी, अर्काको वर्णनमा अर्कैथरी भएको अनि कसैले त्यो बस्तीको नाम मात्रै बदलिएको र कसैले त्यस वस्तीलाई नै भस्मसात गरिदिएको कथा कथेका छन् ।

श्री ५ पृथ्वीनारायाण शाहको चरित्र र उनका निर्देशन र नियन्त्रणमा निर्माण भएको गोरखाली सेनाको परम्पराका आधारमा पनि यस विषयमा विचार गरिनु आवश्यक देखिन आएको छ । नेपालको एकीकरणका लागि सम्बत १८०१ देखि १८३१ सम्मको आफ्ना जीवनकालमा श्री ५ पृथ्वी नारायण शाहले सुरु गरेका अभिानमा सय भन्दा बढी ठाउँमा लडाईं लडिए । सत मध्ये कुनै लडाईंमा पनि आत्मसमर्पण गरेका र रण क्षेत्रमा समातिएका ब्यक्तिको लडाईंपछि हत्या भएको आजसम्म पाइएका कुनै पनि समसामयिक कागजपत्रबाट देखिएको छैन ।

लडाईंको मैदानमा हतियार लिएर भिड्न आएका सत्रुलाई बाहेक अरु कुनै पनि निहत्था नरनारीको हत्य गारखाली सेनाले गरेको कुरा पनि समसामयिक कागजपत्रमा भेटिएको छैन । यसको एकमात्र अपबाद भक्तपुरको लडाईं थियो र यस कामका लागि उत्तरदायी सम्बन्धित ब्यक्तिलाई श्री ५ पृथ्वीनारायण शाहले उचित दण्ड दिएको कुरा समेत यथास्थान उल्लेख भइसकेको छ (भाग ३) ।

किर्तिपुरमा मात्र गोरखाली सेनाले हार खानु परेको थिएन र यसै लडाईमा मात्र गोरखाली सेनापति परेका थिएनन् । नालदुम, चौकोट आदि स्थानका लडाईंमा पनि गोरखाली सेनाले कयौं पटक हार खानु परेको थियो र नामी गोरखाली सेनापतिहरु ति लडाईहरुमा खेत गएका थिए । पछि ति स्थानहरुमा स्थायी रुपले दख्खल भएपछि श्री ५ पृथ्वी नारायण शाहद्वारा ति मध्ये कुनै पनि स्थानका जनताको अत्याचार बेइज्जती र उनीहरुको सर्बस्वहरण भएको कुरा पनि कुनै समसामयिक कागजपत्रमा भेटिएको छैन । बरु चौकोटका जनता आपफैंले बस्तीमा आगो लगाइदिंदा अरु धनजनको हानी नहोस् भनेर केही समय पर्खेर अर्कै उपायद्वारा एक थोपा पनि दुनियाँको रगत नबगाई एक कौडी पनि कसैको नोक्सान नगरी श्री ५ पृथ्वी नारायण शाहले चौकोट दख्खल गरेको कुरा पनि यथास्थानमा लेखि सकिएको छ । यसबाट पनि किर्तिपुरको यो घटना सर्बथा निराधार छ ।

हग्सन पेपरमा रहेका यस विषयको कागज लेखेर हग्शनलाई दिने ‘थुनी’का बदलामा ‘ठुनि’ लेख्ने महाशयले श्री ५ पृथ्वीनारायण शाहको नाम नलिएर आक्रामक भारदारले नै दोस्रा दिन राजाको दर्शन गर्न बाह्र वर्ष उँभोका बस्तीका बासिन्दाहरुलाई बोलाई कोटमा थुनेर पछि सबैका नाक काटिदिँदा काटिएका नाकको तौल धार्नी १२, सेर १ र तोला ६ भयो भनेर लेखेका छन् । यो बाहेक नाक मात्र काट्ने आज्ञा दिएकोमा ओठ पनि काटेका अपराधमा काट्ने भोटेहररुलाई पनि मारिदिए र कोट र प्रजाहरुका घर पनि आगो लगाएर जलाइदिए भन्ने प्रलाप जो लेखेका छन्, त्यो उनकै मनगढन्त सिवाय केहि साबित हुँदैन।’
-प्रवीण अधिकारी

इतिहासकार बाबुराम आचार्यद्वारा लिखित ‘श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको संक्षिप्त जीवनी’ चक्रपथबाट साभार)
Posted by दीर्घराज प्रसाई

 


Write A Suggestion

%d bloggers like this: