नेपालमा लिङ्ग र योनि पूजा , ब्रह्म र ब्रह्माण्ड स्विकार्यताको आधार


प्रवीण अधिकारी

19748514_659773967562442_2565329166787345840_n

———————————————————————–
सनातन हिंदू संस्कृतिको प्रारम्भिक कालमा हाम्रा आराध्य ईश्वर र ऋषिमुनिको स्वरुप वस्त्रहीन थियो | आजको जस्तो तिनलाई छोपेर राख्ने चलन थिएन | त्यतिमात्र होइन सम्पूर्ण विश्वभरीमा मान्छेका आ आफ्ना आस्था अनुरुप मानेका देवी देउताका नग्न स्वरुप नै त्यसकालमा प्रचलित रहेको देखिन्छ | प्राचिन आर्यावर्तमा शिवलिङ्गको पूजन पद्धति थियो भने ,त्यसैको प्रभाव स्वरुप नेपालका प्राचिन देवालयहरुका ठड्याइएका टुंडालहरुमा कुँदिएका नाङ्गा पुङ्गा आकृति र भित्र गर्भगृहमा स्थापना गरिएका नग्न मूर्तिहरुको प्रचलन प्राचिन ग्रीक कालभन्दा प्राचिन हो भनेर सबैले स्विकार्न सक्नु पर्दछ | किनभने , वैदिक व्यवस्था अनुसार नेपाल शुक्ल यजुर्वेदका अनुयायीहरु बस्ने मुलुक हो र त्यसग्रन्थको मुख्य प्रतिपाद्द विषयवस्तु याज्ञिक कार्य र रुद्र उपासना पद्धति हो | यहीकारणले नेपालमा योनि र शिव लिङ्गको पूजा गर्ने परम्परा शक्ति र शिवको पूजागर्ने सबैभन्दा लोकप्रिय प्राचिन आधार बन्न पुगेको हो | नेपाल शिवलिङ्ग र त्यसलाई टिकाउने आधार प्रकृति र पुरुषको प्रतिक हो जुनकुरो नेपाली सनातनी संस्कृतिको अविभाज्य अंगको रुपमा हाम्रो देवार्चन परम्परामा नंग र मासु भई स्थापित हुन पुगेको छ |

मूर्तिपूजाको अवधारणा
————————-

हाम्रा पूर्खाहरुले ईश्वरीय अवतारहरुलाई मानवीय रुपमा ढाल्न पुग्दा मूर्ति पूजाको परम्परा विकसित भएको थियो | ईश्वरको शारीरिक रचनालाई पुराण र वैदिक साहित्यले दिग्दर्षित गरिदिएपछि कलाकारको दृष्टिमा देवी देउताहरुको स्वरुप भित्र नैतिक वा अनैतिक कुराले महत्व पाउन सकेन | किनभने , तत्कालिन लौकिक विचारमा नैतिकता संधै निरपेक्ष रहन्छ भन्ने मान्यता विकसित गराएर लागिंदा हाम्रो पूजा विधिमा सबै देवी देउताहरुलाई नाङ्गै राखेर दूध ,दही,घ्यू ,मह चिनी मिसाई पञ्चामृत तयार पारेर वा बेग्ला बेग्लै स्वरुपमा तिनै चिजविजले स्नान गराई पूजा गर्नुपर्ने विधान स्थापित भएर गयो | हामी देवी देउताहरुलाई नुहाई सकेपछि मात्र वस्त्र चढाउनु पर्ने पद्धति रहेको छ | यही कुरालाई लक्षित गर्दै नेपालको गुह्येश्वरी र आसामको कामाख्या मंदिरमा गुह्य र योनी पूजाको चलन बसेर गयो | शिवजी तन्त्र शास्त्रका जंमदाता हुन , नेपालमा मात्र होइन ,यो विश्वभरी सम्पूर्ण मन्दिर ,देवालयहरु तन्त्रविधि अवलम्वन गरी प्राण प्रतिष्ठा गरी स्थापित गरिन्छन | कामदेवद्वारा सर्वप्रथम सती देह निर्मित योनि पीठहरु पूजित भईसकेपछि मात्र अन्य देउताहरुको पालो आएको पौराणिक विवरण रहेको हुँदा , ती शक्ति पीठहरु सबै प्रकारको आगमोक्त , तांत्रिक, परा विद्या तथा गुप्त साधनाकालागि उत्तम आधार मानिएका हुन | मानव, दानव, मुनि, सिद्ध, गन्धर्व, देउताहरुको आराधना स्थल हुन पुगेका हुन | त्रेता तथा द्वापर युगमा दानव प्रवृति भएका नरकासुरले शक्ति पिठहरुको पूजा गरेको हुँदा कामाख्याको योनि स्वरुपबाट बग्ने रगत र गुह्येश्वरीको तरल पदार्थलाई तिनले पनि शक्ति बीजको रुपमा स्वीकार्दै लागेका थिए |

सनातनी परिवेशमा नेपाली समाजमा नग्नताको स्वीकार्यता
—————————————————————

नग्नतालाई औंल्याएर त्यसप्रति डर र हैकम चलाउने कार्य नेपालको सनातनी हिन्दू समाजले कहिल्यैपनि कसैलाईपनि गरेन | नेपाली संस्कृतिले त्यसप्रति संधैभरी उदारता देखाउँदै ल्याएको छ | नेपाली समाजमा नग्नतालाई देखेर त्यस्ता व्यक्तिले ज्यादै अप्ठ्यारो मानेर खोइरो खनेका छन् – जो वामपन्थी चरित्रको छ , जसले नग्नता र कामुकतामा फरक देख्न सकेको छैन , जो पश्चिमा संस्कारबाट आकर्षित छ , जसले सनातनी धर्म ग्रन्थको अध्ययनबाट आफुलाई कोसौं टाढा राखेको छ , र , जसले नेपाली संस्कृतिको मर्म अलिकतिपनि बुझ्न सकेको छैन | हामी नेपाली सनातानीहरु देवीलाई जगन्नमाता भन्दछौं , त्यही अनुरुपको सम्मान दिन्छौं | उनको निवास स्थानलाई शक्तिस्थल स्विकार्छौ | त्यसैले भगवती जगदम्विके र हामी विच आमा छोराको नातो गाँसिन पुगेको छ | अब आमा छोरा भन्नासाथ हामी भित्र आमाले छोरालाई र छोराले आमालाई नाङ्गो स्वरुपमा नदेखि हाम्रो जन्म नै हुँदैन भन्ने मान्यता सनातनी संस्कृतिको गुढ र सर्वस्वीकृत यथार्थता हो |

अर्कोकुरा , कामाख्या मंदिरमा पूजागरिने शक्तिको विग्रह योनि स्वरुपमै यो विश्वभरी प्रख्यात भएको परिप्रेक्षमा उनको योनिबाट प्रवाहित रक्त(प्रतिक रूपमा ) हामीले शिरमा राख्दा वा आशिष थाप्दा हामी कसैलेपनि कामाख्या वा गुह्येश्वरी कामुक स्थल हो भनेर सोच्दैनौं बरु साक्षात् शक्ति स्वरुपको रुपमा स्वीकार्दछौं | सनातन धर्म भित्र नग्नता त्याज्य विषय वस्तु कहिल्यै , कुनै कालखण्डमा थिएन | हाम्रो परिप्रेक्ष्यमा ईश्वर र धर्मको स्वरुप प्राकृतिक भएकोले तमाम प्राकृतिक कुराहरुलाई हामीले शाश्वत र नैतिक आधारमा स्वीकार गरेका छौं | त्यसैले हाम्रो परिप्रेक्षमा लुगा र नैतिकता विच सम्बन्ध गाँसिन नसकेको हो | उष्ण प्रदेशमा बस्ने अर्थात गर्मी ठाउँमा बस्ने मान्छेले पातलो लुगा लाउनु र जाडो ठाउँमा बस्नेले ऊनी र धेरै लुगा लाउनु प्राकृतिक यथार्थता हो | तर , धेरै लुगा लाउने मान्छे ज्यादा नैतिकवान इतिहाँसको कुनैपनि कालखण्डमा मानिन सकेन , त्यो मानव समाजको अकाट्य सत्य हुन पनि सकेन , आजपनि छैन | यही नै यथार्थ हो | आफ्नो शरीरमा लुगा थोपर्नु नैतिकताको निर्देशक सिद्धान्त मानिएन भने थुप्रै लुगा लाउने मान्छेमात्र यस संसारमा नैतिकवान कहलिन पनि सकेनन , भन्नेकुरापनि आजसम्म कुनै स्वघोषित नैतिक वानले प्रमाणित गरेर देखाउनपनि सकेन | हामीलाई जे कुरामा डर लाग्दछ त्यस चिजलाई हामी छोप्छौँ | तर त्यो कुरो धर्म वा भयको आधारमा छोपिएक होइन | भयको आधारमा धर्म टिक्न सक्दैन | धर्म साश्वत हुन्छ | नेपालमैपनि जैन र हिंदू धर्ममा दिगम्बर पंथ र नांगा पन्थका तमाम साधकहरु रहेका छन् | ती सबै नाङ्गै भएर बस्छन भनेर कुनै सनातनीले अश्लील भई थुतुनो चलाउन सकेन | अनेक स्तूप, मंदिरहरुमा स्थापना गरिएका देवी देउताको नग्न रूपका विग्रहहरु , भित्तोमा कोरिएका चित्रहरु , टुंडालमा खोपिएको दृष्यहरु अश्लीलताको परिचायक होइन ,हाम्रा पुर्खाहरुको बस्तुपरक सोच र तत्कालिन परिद्रिष्यको सचित्र व्याख्या हो | पूर्वजहरुको जीवन पद्धति हो | त्यसलाई अश्लील देख्ने हामी र हाम्रो आँखो दोषी हो | ती र त्यस कुराको अर्थ त्यो होइन जो हामी साधारण मान्छेले लाउने गर्दछ |

नैतिकता र ज्ञान
==========

नैतिकता भन्ने शब्दको सम्वन्ध यो प्रकृति संग , सृजना संग र ज्ञान संग रहेको हुँदैन | ज्ञान प्रकृतिमा आधारित हुन्छ | नैतिकता प्राकृतिक कानून हो | प्राचीन महर्षिहरुले ज्ञानलाई दैवी अंशको रुपमा देखेका कारण त्यसमा सृजनशीलता भेट्टाए | उनीहरुले नैतिकताको नियम र कानून एकै खालको चिज हो भनेर व्याख्या गरे | सनातनी हिन्दू मान्यतामा देव र देवी जगतपिता र जगतमाता हुन | बच्चा र माताको सम्बन्ध , बच्चा र बाबुको सम्बन्ध नग्नता र कामुकता संग रहेको हुन्न | त्यसैकारणले गर्दा महाभारतमा आमा र छोरा विचको सम्बन्धमा लुगा अहंकार र अज्ञानको प्रतिक मानिन पुगेको थियो | अन्धा लोग्नेकालागि गांधारीले आँखोमा पट्टी बाँधेर बस्न पुगेकी थिइन र तिनै गांधारीले दुर्योधनलाई जीवित राख्न निर्वस्त्र आउन आदेश दिइन , तर , भगवान कृष्णको सल्लाहमा दुर्योधनले केराको पात बेरेर पुगेको कारण दुर्योधन जोगिन सकेनन , भीमद्वारा मारिए | दुर्योधनको अज्ञान ,अहंकार , केराको पातले बेरिएको तिघ्रो र गुप्तांग आफ्नी आमाको आँखोको प्रकाश उर्जाबाट वंचित रहन पुग्दा कमजोर हुन पुगेको ठानियो भने व्यास पुत्र शुकदेव आफ्ना बाबुसंग रिसाएर युवावस्थामै तपस्या गर्न वनतिर हिंड्दा , छोरो फर्काउन भनि पछिपछि आएका व्यासलाई देखेर तलाउमा नुहाउँदै गरेका नारीहरुले शुकदेव जी त्यै बाटो हिडदा पूर्ववतः नुहाई रहेपनि , शुकदेवका वृद्ध बाबु व्यासलाई देख्ता आफ्नो जिउ छोपेर नमस्कार गर्न पुगेका थिए | यस्तो देखेर व्यासले अडिएर सोधे – भन देवी हो ! तिमीहरु अघि शुकदेव यै बाटो हिडदा नाङ्गै नुहाई रहेका थियौ , तर , मलाई देखेर आफ्ना जिउ छोप्यौ किन ? भनेर प्रश्न गर्दा ती नारीहरुले भने महात्मन ! शुकदेव जी ज्ञानको त्यस अवस्थामा पुगि सकेका छन जहाँ स्त्री र पुरुष , नाङ्गो र लुगा लाएको विच कुनै फरक देख्तैनन , तर वृद्ध भएपनि , तिम्रो दृष्टि र ज्ञानको स्तर फरक छ | ज्ञान अग्नि समान हुन्छ | त्यसले अज्ञानलाई डढाउछ | अनि त्यै अज्ञान समाप्त भएपछि ज्ञानको उदय हुन पुग्दछ भने दिगम्बरावस्था ज्ञानको ज्यादै उच्च अवस्थापनि हो | परमात्मालाई बुझ्न चाहने साधक संधै पूर्णतः आवरण रहित हुनैपर्दछ | अर्कोतर्फ , नग्नता यस स्रिष्टि निर्माणको अंतिम खुडकिलोपनि हो र मैथुन सृजन कार्यको अंतिम अवस्थापनि | त्यसैकारण हाम्रा शास्त्र र देवालय भित्र र वाहिरको कला कहिल्यैपनि नैतिक, वा अनैतिकताको द्दोतक हुन् सकेन वरु संधै निरपेक्ष भएर रहन सक्यो | पशुपक्षीमा नग्नता सहज रुपमा रहेको छ |

भैरवी मार्गमा योनि र शिव लिङ्ग
———————————–

भैरवी मार्ग अनुसार मूलाधारमा लुकेर बसेको प्रकृतिको ऊर्जा स्वरूप योनि र लिंगको प्रत्यक्ष स्वरूप पृथ्वीको आकर्षण शक्तिले गर्दा प्रकट भएको मानिन्छ | प्रकृतिको स्वरुपमा आवश्यकता अनुसार उत्तेजनात्मक हुन पुग्ने भएकोले योनि र लिङ्ग पूजा गरेर जपेको मन्त्र बढि सिद्धिदायक हुने ठानिन्छ | हाम्रो परम्परामा शिवलिंग शिवको प्रतिक, पूरूष लिंग पुरुषको प्रतिक , स्त्रीलिंग स्त्रीको प्रतीक,नपुसकलिंग भनेको नपुंशकताको प्रतीक रहेको छ , भने योनि शब्दको अर्थ जन्माङ्गपनि हो | जस्तो मनुष्ययोनि मान्छेको जन्म (स्त्री या पुरूष), कीट योनि अर्थात किरा माकुराको जन्म , कुकुर योनि भनेको कुकुरको जन्म | सनातन हिंदू पद्धतिमा ८४ लाख किसिमको योनि रहेको छ अर्थात ८४ लाख प्रकारको जन्मको मान्यता त्यसैले राखिएको हो | जस्तो कर्म त्यस्तै जन्म | त्यसैकारण आजका वैज्ञानिकहरुपनि भन्दछन ८४ लाखको हाराहारीमा यस पृथ्वीमा जीव जन्तुहरु छन् | यसैलेगर्दा भैरवी मार्गका साधकहरुले योनिलाई आद्याशक्तिको रुपमा स्वीकारेका हुन | उनीहरुको विचारमा सृष्टिको प्रथम बीजरूपको उत्पत्तिस्थल यही हो | यसलोकमा लिंगको अवतरण यसैको प्रतिक्रिया स्वरुपमा हुन पुगेको हो | यी दुई मिल्दा यस सृष्टिको आदि परमाणु रूप उत्पन्न हुन पुग्दछ | तीदुई संरचना मिल्दा ब्रह्माण्ड वा कुनै इकाईको शरीर बन्न पुग्दछ | यसैको प्रतिक्रिया स्वरुप जीवमा प्राणतत्व ऊर्जाको संचार हुन् पुगेको हुन्छ | योनि र लिंगको संगमनै हाम्रो शरीर हो | यसैको कारण शिवको सार तत्व (बिंदु/अमृत/सावित्री/सती) सति भनेर बुझ्न सकिएको हो | खास अर्थमा हाम्रो सनातनी जीवन तत्व नै यही हो |

योनिको अर्थ
————–

मनुष्ययोनि , पशुयोनि , रुख विरुवाकोयोनि , पत्थरयोनि आदि सबै योनिकै स्वरुप हुन | यसरी हेर्दा योनिको अर्थ प्रकटीकरण हो | प्रत्येक जीव जन्तुहरु आ आफ्नो कर्म अनुसार विभिन्न योनिमा जन्म लिन पुग्छन | मनुष्य योनि ,पुरुष र स्त्री दुवै मिल्दा प्राप्त हुन्छ | एक्लो स्त्री या एक्लो पुरुषकालागि मनुष्य योनि शब्दको प्रयोग भएको हुँदैन | पुराण साहित्य अनुसार , भगवान विष्णुको चक्रले खंडित हुन पुगेको सतीको योनि नीलांचल पर्वतमा झर्न पुग्दा यो शक्तिपीठको निर्माण हुन पुग्यो | काम देवले पौरुषत्व हराएपछि देवी शक्तिको गर्भबाट उनले मूक्ति पाएका हुँदा कामाख्या देवीको विग्रह स्थापना गरी पूजा शुरू गरिएको थियो | नाराकासुर दैत्य त्यस मन्दीरको प्रथम सर्जक भएको कारण यसलाई विश्वको सबभन्दा ठूलो सिद्धिदायक शक्तिपीठको रुपमा हेरिएको छ | हाम्रो संस्कृतिमा ‘योनि पूजा वैदिककालको देन हो | नेपालका थुप्रै मन्दिरहरुमा आजसम्म गरिंदै आएका देवीको योनि पूजा त्यसैको देन हो | योनि, जसलाई Vagina भनेर अंग्रेजले भन्दछन ,हाम्रो परिप्रेक्ष्यमा यौनाङ्ग कम ‘Divine Passage’, ज्यादा हो | तसर्थ यसलाई त्यस्तो दिव्य मार्ग जसका माध्यमले देउतासम्म पुग्न सकिन्छ भन्ने अर्थमा ईङ्गित गरिएको हो |

योनिको स्तुति
—————-

संकुचित र हिन मानसिकताले गहन विषयवस्तु कहिल्यैपनि सम्झिन सक्दैन | लिंग शब्द स्त्री पुरुषको पर्याय हुँदै होइन | यज्ञकुंड रचना गरिंदा योनिको महत्व स्वीकार गरेर त्यसमा लिङ्ग आकार बनाई यज्ञ गर्ने गरिन्छ ( शंका हुनेले शुल्व सूत्र ग्रन्थ हेरौं )| देवालयमा शिवलिङ्ग र योनिको प्रतीक राखि पूजा गर्ने गरिन्छ | यस प्रतीकको अर्थ स्त्री-पुरुषको अंग नभई अनंत व्रह्माण्डको नव सृजनाको चीरस्थायी प्रतीक हो | देवी देउताको पूजागर्दा अनेक मुद्रा प्रदर्शन गर्ने गरिएको हुन्छ | देउताको पूजा गर्दा लिङ्ग मुद्रा र देवीको पूजा गरिंदा योनि मुद्रा दर्शन गराउनु हाम्रो वैदिक ऋषिपरंपराको शास्त्रोक्त विधान हो | पश्चिमा समाजको प्रभावमा नेपालमा लिंगोपासनाको विरोधमा व्यक्त गरिएका कुराहरुको जवाफ दिनु पर्दा के मात्र भन्न मन लाग्दछ भने हामीले बाल्यकालदेखि लिङ्ग उपासना गरेका हौँ , जहाँ हामीले अश्लीलता कहिल्यै भेटेनौ | हाम्रो दर्शनमा लिङ्ग र योनि दुवै यस सृष्टिका मूल तत्व र रहष्यहरु हुन् | पुरुष र स्त्री विना सृष्टि सम्भव छैन | शिव र शक्ति, ईश्वर र माया, पुरुष र प्रकृति, जसलाई सम्झिएपनि सर्वत्र इनै दुई मूल शक्तिबाट सृष्टि कार्य हुने गरेको हुन्छ | यो ब्रह्माण्डको परिचायक चिन्ह “लिङ्ग” हो | जसको अभिव्यक्ति हुन सक्दैन | यो अव्यक्त सत्ताबाट निस्केको तेजोमय र ज्योतिर्मय तत्व हो | स्वयं निस्किने भएकोले त्यसलाई स्वयंभू भनिएको हो | यो नै अव्यक्त अवस्थाको परिचायक हो | त्यसैकारण यसलाई लिङ्ग भनिंदै आइयो | जसरी आधार र आधार दिनेको परस्पर सम्बन्ध हुन्छ ,त्यसरी नै लिंग र योनिकोपनि सम्वन्ध रहेको हुन्छ | तंत्रशास्त्रले योनिलाई त्रिकोण रूपमा ,त्यसको केंद्रस्वरुपमा वा मध्य विन्दूको रुपमा उल्लेख गरेको छ | त्यसैले वेदांत सूत्रकारहरु भन्छन – “योनेः शरीरम्” |

हेर्नुहोस हाम्रो वैदिक परम्पराले सुरक्षित तुल्याएर राखिदिएको –

||योनिस्तोत्रम् ||
—————-
ॐभग-रूपा जगन्माता सृष्टि-स्थिति-लयान्विता ।
दशविद्या – स्वरूपात्मा योनिर्मां पातु सर्वदा ।।१।।
कोण-त्रय-युता देवि स्तुति-निन्दा-विवर्जिता ।
जगदानन्द-सम्भूता योनिर्मां पातु सर्वदा ।।२।।
कात्र्रिकी – कुन्तलं रूपं योन्युपरि सुशोभितम् ।
भूक्ति -मूक्ति -प्रदा योनि: योनिर्मां पातु सर्वदा ।।३।।
वीर्यरूपा शैलपुत्री मध्यस्थाने विराजिता ।
ब्रह्म-विष्णु-शिव श्रेष्ठा योनिर्मां पातु सर्वदा ।।४।।
योनिमध्ये महाकाली छिद्ररूपा सुशोभना ।
सुखदा मदनागारा योनिर्मां पातु सर्वदा ।।५।।
काल्यादि-योगिनी-देवी योनिकोणेषु संस्थिता ।
मनोहरा दुःख लभ्या योनिर्मां पातु सर्वदा ।।६।।
सदा शिवो मेरु-रूपो योनिमध्ये वसेत् सदा ।
वैâवल्यदा काममुक्ता योनिर्मां पातु सर्वदा ।।७।।
सर्व-देव स्तुता योनि सर्व-देव-प्रपूजिता ।
सर्व-प्रसवकत्र्री त्वं योनिर्मां पातु सर्वदा ।।८।।
सर्व-तीर्थ-मयी योनि: सर्व-पाप प्रणाशिनी ।
सर्वगेहे स्थिता योनि: योनिर्मां पातु सर्वदा ।।९।।
मुक्तिदा धनदा देवी सुखदा कीर्तिदा तथा ।
आरोग्यदा वीर-रता पञ्च-तत्व-युता सदा ।।१०।।
योनिस्तोत्रमिदं प्रोक्तं य: पठेत् योनि-सन्निधौ ।
शक्तिरूपा महादेवी तस्य गेहे सदा स्थिता ।।११।।

यस्ता अनेकौं तथ्यहरु हाम्रा ग्रन्थहरुमा छ्याप छ्याप्ती छन् जसलाई सम्झिन र व्याख्या गर्न अहिलेको विज्ञानले सक्तैन | केवल भाषिक ज्ञान र दूषित मानसिकताले हाम्रो पर्यायवाची शब्दहरुलाई अश्लीलता संग जोड़नु केवल मूर्खता मात्र हो |

रुद्र (शिव ) पूजा
——————

समिद्धः शुक्र दीदिह्य रतस्य योनिम आसदः ससस्य योनिम आसदः || ऋग ५/२१/८ , अश्वो न वाजी शुनप्र्ष्ठो अस्थादा यत सेदथुर्ध्रुवसे न योनिम || ऋग ७/७०/२ जस्ता मन्त्रहरुले भरिएको वेद शिवकै स्वरुपको अंश हो | त्यसैले वेद: शिव: शिवो वेद: भनिएको हो | अर्थात् वेद शिव हुन अनि शिव नै वेद , वेदको प्रादुर्भाव शिवबाटै भएको हो | शिव र विष्णु एकांश भएकैले हरिहर भनिएका हुन | हरि अर्थात् नारायण (विष्णु) र हर अर्थात् महादेव (शिव) | वेद र नारायण पनि एकै हुन , त्यसैले ” वेदो नारायण: साक्षात् स्वयम्भूरिति शुश्रुतम्। ” भनिएको हो | हाम्रो संस्कृतिमा वेदको महत्व निकै हुन पुगेको कारण हाम्रा प्रत्येक कृत्यहरू वेदकै ऋचा , मन्त्र , सूक्तहरुले गरिन पुगेका हुन | प्रत्येक पूजा, यज्ञ, अभिषेकमा रुद्राभिषेकको महत्व रहेको हो | शिवकै कारण सबै र सबैमा शिव रहेका कारण शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि नाउँ ब्रह्मको पर्यायवाची हुन पुगेको हो | रुद्र अर्थात् ‘रुत्’ र रुत् अर्थात् दु:ख नष्ट गर्नेलाई रुद्र भनिएको कारण ” रुतं–दु:खं, द्रावयति–नाशयति इति रुद्र:” भनेर निरुक्ति गरिएको हो |

रुद्रहृदयोपनिषद् ले भन्दछ —

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका:।
रुद्रात्प्रवर्तते बीजं बीजयोनि र्जनार्दन:।।
यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन:।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।।

एक्लो रुद्रको पूजा गर्दा स्वत: सबै देवी देउताको पूजा हुन पुग्दछ | इनको पूजा गर्न दूध, घ्यू ,मह ,गुण र वेद मन्त्र कण्ठ भए पुग्दछ | प्रकृतिको देन वेलपत्र ,धतुरो,सेता फूल ,सेता अक्षेता , जनै र यजुर्वेदको १६ अध्यायको ६५ ऋचा पढ्न सक्ता ब्रह्म स्वरुप रुद्र प्रसन्न हुन पुग्दछन | तर ,

योनिंविना महेश्नानि सर्वंपूजा वृथंभवेत
सर्वंपूजा परितज्य योनिंपूजा समाचरेत

भन्ने विधान पौराणिक साहित्यले निर्दिष्ट गरेका हुँदा शिवलिङ्ग र योनि संगै पूजा गर्ने पद्धति हाम्रो संस्कृतिको प्रमुख अंग हुन पुगेको हो | शिवजीकै अंशबाट उत्पत्तिभएको मानिने तंत्र शास्त्रले सृष्टिक्रम संयोग (शिव र शक्तिको मिलन, अनि त्रिगुणात्मक आदि पिंड र नीलो रंगको महाप्रकाश, धूम्र रंगको महावायु,,रक्तवर्णको महातेज, श्वेत वर्णको महासलिल, पीतवर्णको महापृथ्वी, पांच महातत्वबाट उत्पत्ति भएका महासाकार पिंड, भैरव, श्रीकंठ , सदाशिव, ईश्वर, रुद्र, विष्णु, ब्रह्मा, नरनारी, प्राकृतिक पिंड अर्थात नर नारीकै संयोगबाट पुरुष र नारीको जन्म भएको जनाएको छ |

अग्नि, सूर्य र सोमको मिलनले सृजन त्रिभुज अर्थात योनिको उत्पत्ति भएको भनेर व्याख्या गर्दछ र त्यो सृजना शून्य तथा अंधकारबाट शुरु हुने गर्दछ | शिवदेखि पृथ्वीसम्म ३६ तत्त्व रहेका हुन्छन | ती तत्वहरुले आत्मासंग मिलेर सजीव र निर्जीव जगत निर्माण गर्दछन | प्रलयकालमा पृथ्वी ,पानी , अग्नि , वायु र आकाश एक आपसमा लीन हुन पुग्दा बिंदु रूपमा देखा पर्दछ | यही संकोच र विस्तार हुने प्रक्रिया प्रलय र सृजना हो | यसैबाट सम्पूर्ण प्राणि जगतले जन्म र मृत्यु पाउन सकेको हो | बिंदु स्वरूप ब्रह्म वामशक्ति हो जसले विश्व वमन अर्थात उत्पन्न गर्दछ –

ब्रह्म विन्दुर्महेशानी वामा शक्तिर्निगते |
विश्वँ वमति यस्मात्तद्वामेयम प्रकीर्तिता ||( ज्ञानार्णव तंत्र, प्रथम पटल-१४)

लिङ्गको शास्त्रीय ब्याख्या
—————————-

संस्कृत शब्द “सूत्र”ले डोरी/ धागो , भाष्य अथवा लेखन ,जस्तो नासदीय सूत्र ब्रह्म सूत्र बुझिएझै , “अर्थ” शब्दले सम्पति र मतलब बुझाए झैं शिवलिङ्ग शब्दले चिह्न, निशानी, गुण, व्यवहार या प्रतीक भन्ने बुझाउँछ | जस्तो –

१ .) त आकाशे न विधन्ते -वै०। अ ० २ । आ ० १ । सू ० ५ अर्थात रूप, रस, गंध र स्पर्शको लक्षण आकाशमा छैन , शब्दनै आकाशको गुण हो |

२ .) निष्क्रमणम् प्रवेशनमित्याकश स्य लिङ्गम् -वै०। अ ० २ । आ ० १ । सू ० २० अर्थात जसमा प्रवेश गर्ने र निस्किने हुन्छ त्यो आकाश लिङ्ग हो अर्थात त्यो नै आकाशको गुण हो |

३ .) अपरस्मिन्नपरं युगपच्चिरं क्षिप्रमिति काललिङ्गानि । -वै०। अ ० २। आ ० २ । सू ० ६ अर्थात जसमा अपर, पर, एक वर, विलम्ब, क्षिप्रम शीघ्र इत्यादि प्रयोग हुन्छन त्यो काल हो र त्यही नै कालको लिङ्ग हो |

४ .) इत इदमिति यतस्यद्दिश्यं लिङ्गम । -वै०। अ ० २ । आ ० २ । सू ० १ ० अर्थात जसमा पूर्व, पश्चिम, उत्तर, दक्षिण, माथि तल व्यवहार हुन्छ त्यो दिशा हो र त्यही नै दिशाको लिंग हो |

५ .) इच्छाद्वेषप्रयत ्नसुखदुःखज्ञाना न्यात्मनो लिङ्गमिति – न्याय० अ ० १ । आ ० १ । सू ० १ ० अर्थात जसमा (इच्छा) राग, (द्वेष) शत्रुता , (प्रयत्न) पुरुषार्थ, सुख, दुःख, (ज्ञान) जान्नु आदि गुण रहेको हुन्छ , जो जीवात्मा हो ती सबै जीवात्माको लिंग अर्थात कर्म र गुण हो | तसर्थ शून्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतीक भएकोले त्यसलाई लिङ्ग भनिएको हो | स्कन्दपुराणले भनेको छ आकाश स्वयं लिङ्गर यो पृथ्वी त्यसको आधार | यस ब्रह्माण्डका प्रत्येक चिज अनन्त शून्यबाट उम्रेर त्यसैमा लोप हुन्छन , त्यसैले यसलाई लिङ्ग भनिएको हो |

भाषा ,विज्ञान र शिव लिङ्ग
——————————

शिवलिंग=शिवलिंगको अर्थ हो शिवको प्रतीक | पुरुषलिंगको अर्थ पुरुषको प्रतीक, स्त्रीलिङ्गको अर्थ स्त्रीको प्रतीक र नपुंसकलिङ्गको अर्थ नपुंसकको प्रतीक | त्यसैले ”शिवलिङ्ग” को अर्थ शून्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतीक हुन पुगेकोले यसलाई लिंग भनिएको हो |शिव लिङ्गको अर्थ अनन्त पनि हो अर्थात न अन्त न शुरुवात| ब्रह्माण्डमा रहेको ऊर्जा र पदार्थ अर्थात हाम्रो शरीरको पदार्थ र आत्मा रुपी ऊर्जाको प्रतीक शिवलिङ्ग हुन पुगेको हो | ब्रह्मांडमा भएका सबै ठोस तथा उर्जा शिवलिङ्गमा रहेका छन् | वास्तवमा शिवलिङ्ग हाम्रो ब्रह्मांडको आकृति हो (हेर्नुहोस -The universe is a sign of Shiva Lingam.) | शिवलिंग चिह्न, निशानी, गुण, व्यवहारको प्रतीक हो | यो पृथ्वी त्यसको आधार हो | अनन्त शून्यबाट उत्पत्ति भएर त्यसैमा लय हुने भएकोले त्यसलाई शिव लिङ्ग भनिएको हो |यसका अरु नाउँपनि छन – प्रकाश स्तंभ/लिंग, अग्नि स्तंभ/लिंग, उर्जा स्तंभ/लिंग, ब्रह्माण्डीय स्तंभ/लिंग (cosmic pillar/lingam) | शिवलिंग भगवान शिवको शक्तिको आदि आनादी एकल स्वरूप मात्र होइन , पुरुष र प्रकृतिको समानताको प्रतिकपनि हो | यस संसारमा पुरुष वा प्रकृति (स्त्री) को एक्लो मात्र वर्चस्व हुने छैन ती दुवै समान रहने छन भन्ने पनि हो | शून्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतीक भएको कारण यसलाई लिङ्ग भनिन पुगेको हो | स्कन्दपुराणमा आकाशलाई स्वयं लिङ्गको रुपमा व्याख्या गरिएको छ |

वैज्ञानिकहरुको भाषामा शिवलिङ्ग एउटा Radioactive Source Container हो | जाग्रत शिवलिङ्ग, Live source को Container हो , बाँकी अरु सबै प्रतीक | यसको Source तातो हुने भएकोले यसमा लगातार पानी हाल्ने गरिएको हुन्छ | शिवालयमा स्थापित शिवलिङ्गको आधारबाट , पानी बाहिर नाजावोस भनेर , शिवलिङ्गमा चढाएको पानी रिएक्टिव हुनपुग्दा त्यसरी राखिएको पानी निस्किँदा त्यहाँ भएको निकास नली न नांघियोस भनेर त्यसो गरिएको हो | आजको परमाणु बिजलीघर र हिंजोको शिवालय गाउँ मानव बस्तीदेखि बाहिरै ,एकलासमा , वीरानो ठाउँमा स्थापना गर्नुको अर्थपनि त्यही हो | रेडियोएक्टिविटी नक्सा हेर्दापनि नुक्लिएर रिएक्टर सबै ज्योत्रिलिंग (शिवलिंग) भएको स्थानमा सबैभन्दा बढि रेडिएशन भेटिएको छ | शिवलिङ्ग न्यूक्लिअर रिएक्टर्स नै हो त्यसकारण त्यसमाथि पानीराख्ने गरिएको हो ताकि त्यो शांत रहन सकोस | महादेवको सबै प्रिय पदार्थहरु बिल्व पत्र, आक, धतूरो , शमी पत्र आदि सबै कुराले न्यूक्लिअर एनर्जी सोसने काम गरेको हुन्छ | त्यसैले भाभा एटमिक रिएक्टरको डिज़ाइनपनि शिव लिंग जस्तै गरिन पुगेको छ (Google image: Bhabha Atomic Reactor ) |

शिवलिंगको पूजा अनुसार नै छ आइनस्टाइन सूत्र
——————————————————–

शिवलिंग पूजालाई सम्झिन आइंनस्टाइनको सूत्र सम्झिदा पुग्छ | यै सूत्रको आधारमा परमाणु बम बनाएको थियो | त्यस सूत्रले परमाणु भित्रको अनंत ऊर्जा कति विध्वंसक हुन्छ त्यो बताएको छ | उनले दिएको परमाणु बमको सूत्र e / c = m c {e=mc^2} हो | यो सूत्र एक सिद्धांत हो जसले पदार्थलाई पूर्णतया ऊर्जामा बदलिन सक्छ अर्थात, पदार्थ र उर्जा दुईटा बेग्ला बेग्लै चिज नभई एउटै चिज हो | तर , दुईले बेग्लाबेग्लै स्वरुपमा चिह्निएर सृष्टिको निर्माण गरिरहेको हुन्छ | यो रहस्य हाम्रा ऋषि मुनिहरुले हजारौं बर्ष पहिले बताएका थिए | हाम्रा ऋषि मुनिले यो ज्ञान वेद उपनिषदमा लिखित रूपमा दिए तर कहिल्यै यसमा दावी गरेनन | लगभग १३७ खरब वर्ष पुरानो सार्वभौमिक ज्ञान संस्कृत भाषामा लेखिएपनि , तिनको भावार्थ अहिले बदलिंदै गएपनि अरु भाषामा आजसम्म उल्था हुन सकेन | “गूगल ट्रांसलेटर”ले सबै भाषा उल्था गर्दछ तर संस्कृत भाषा गर्न सकेको देखिंदैन |

हाम्रो समाजमा शिवलिंग र योनिको संसारिक महत्वको व्याख्या
———————————————————————

शिवलिंगको प्रकृतिले के कुरा प्रष्ट संग औंल्याएको छ भने कुनै ठाउँमा अकस्मात् उर्जा उत्सर्जन हुँदा त्यो उर्जा वृताकार रुपमा तलमाथि भएर आफ्नो मूल स्थानको चारैतिर फैलिन्छ | जसले गर्दा त्यहाँ शिवलिंगको आकृति प्राप्त हुन पुग्दछ | जसरी बम विस्फोट हुँदा प्राप्त हुने उर्जाको प्रतिरूप , जमेको पानीमा ढुङ्गा फ्याल्दा प्राप्त हुने तरंग (उर्जा) लेपनि शिवलिंगनै निर्माण गर्दछ | सृष्टिको शुरुमा विस्फोट भएपछि उर्जा वृत्ताकार भएर फैलियो त्यसबाट महाशिवलिंग उत्पत्ति हुन पुग्यो | त्यै कुरो लिंगपुराण, शिवपुराण, स्कन्द पुराण आदिमा वर्णित हुन पुग्यो | त्यो शिवलिंग विशालता दुतहरुले चाल पाउन सकेनन | त्यसको शुरु र अन्त थाहा पाउन सकेनन | अनि पुराण ग्रन्थले भन्यो समस्त संसार यै शिवलिंगमा समाहित (लय) छ जसबाट पुनः स्रिष्टि हुनेछ | सामान्य भाषामा भन्दा त्यै आदि शक्तिको आदि स्वरुप (शिवलिंग ) बाटै यो समस्त संसारको उत्पति भएको हो र त्यसैको गोलाकार जस्तो स्वरुप प्रत्यक्ष वा परोक्ष रुपमा प्राकृतिक अथवा कृत्रिम रूपले हाम्रो वरिपरि रहन पुगेको हो | त्यै शिवलिंगको प्रतिरूप ब्रह्माण्डको हरेक ठाउँमा व्याप्त रहेको छ | हाम्रो आकाश गंगा, त्यसमाथिको अन्य आकाश गंगाहरु (पांच -सात -दस होइन अनंत छन् ) ग्रहहरु , उल्काहरुको गति (पथ), ब्ल्याक होलको रचना, पृथ्वीमा पाइने सर्पको आकृति , समुद्री तूफान, मानव डीएनए, परमाणु संरचना इत्यादि सबैमा रहन पुग्यो | त्यसैले शिवलाई शाश्वत ,अनादी, निरंतर भनिएको हो |

लिङ्ग पुराण अनुसार यस सृष्टिको नैसर्गिक सामंजस्यताको तात्विक ज्ञान भगवान् शिवले दिए | यस ग्रन्थले ध्यान गरे आत्मज्ञान पाइने बतायो | लिङ्गपुराणले गृहस्थलाई साधू भन्यो , धारण गर्ने धर्म र धारण गर्न नसकिने अधर्म हो भनेर छुट्ट्यायो | शिवले म लिङ्गस्वरुपमै ध्यान गर्ने योग्य छु र म बाट उत्पन्न भएको यो जगत योनी हो ,प्रकृति हो भन्ने शन्देश दिए |. लिंग वेदी महादेवी मानिइन र लिङ्ग भगवान् शिव हुन पुगे | पुर अर्थात शरीरमा सुत्ने भएका कारण ब्रह्मलाई पुरुष भनिन पुगियो | त्यसैले शिव पुरुष र अम्बिका प्रकृति हुन पुगिन |प्रत्येक पुरुषका शरीरमा शिव रहेको मानियो | प्रत्येक नारीमा शक्ति तत्व रहेको ठानियो | योनी तंत्र अनुसार ब्रह्मा ,विष्णु र महेश तिनै शक्तिको निवास स्थान प्रत्येक नारीको योनी हो भनेर ब्याख्या गरियो किनभने हरेक नारी भगवतीका अंश ठानिन्छन | योनि तंत्रमा भगवान् शिव भन्दछन – श्रीकृष्ण .श्रीराम र स्वयं शिवपनि योनि पूजाकै कारण शक्तिमान हुन पुगेका हुन |

पुरुष शरीरको शुक्राणु अज्ञात शक्ति संग मिली अंडाणुको संयोगमा हुर्किंदा जीव आत्मा बन्दछ | अरवौं खरवौँ शुक्राणुबाट दुर्लभ मान्छेको शरीर निर्माण हुन्छ |यो संग्राम विजयी हुनु त्यो आत्माको उपलब्धी हो |योग शास्त्र अनुसार मानव शरीर यस प्रकृतिका चौबीस तत्वहरुले बनेको हुन्छ – पांच ज्ञानेन्द्रिय (आँखा , नाक, कान, जीव्रो र छाला ),पांच कर्मेन्द्रिय ( हाथ ,खुट्टो ,मलमूत्र द्वार र मुख ),पञ्च कोष(अन्नमय ,प्राणमय, मनोमय , विज्ञानमय र आनंदमय ),पञ्च प्राण ( पान ,अपान,सामान ,उदान,व्यादान ), मन ,बुद्धि ,चित्त र अहंकार | आत्मा यी सबैको आधार हो | आत्माबाट आकाश , आकाशबाट वायु , वायुबाट अग्नि , अग्निबाट जल र जलबाट पृथ्वीको उत्पत्ति भएको हो | हाम्रा शरीरमा सातओटा धातुहरु छन | छाला ,रगत ,मासु ,वोसो ,हड्डी ,मासी र वीर्य(पुरुष शरीरमा ) या रज(नारी शरीरमा ). शरीरमा नौओटा प्वालहरु छन -दुई कान ,दुई नेत्र ,दुई नाकाका प्वाल ,मुख ,चाक र लिंग .नारीको शरीरमा दुई स्तन र एक भग अर्थात गर्भको छिद्र अतिरिक्त रुपमा रहेको हुन्छ | नारीहरु संग २० ओटा मांसपेसीहरु बढी हुन्छन | योनिमा ३ चक्र हुन्छ ,जसमा गर्भ शैय्या समेत रहेको हुन्छ | रातो तत्वले वीर्यलाई जीवन दिन्छ | हाम्रो शरीरमा १०७ मर्मस्थान र तीन करोड़ पचास लाख रौँ कुवाँ हुन्छन |मान्छेको शरीर अणु परमाणुबाट नै बनेको हो | – प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: