गुरुपूर्णिमाको गुरुत्त्वाकर्षण र महत्व


डा. जगमान गुरुङ शनिवार, असार २४, २०७४

आषाढ शुक्लपूर्णिमा गुरूपूर्णिमाको नामबाट प्रसिद्ध छ । चन्द्रमा आफ्नो सोह्रकलाले पूर्ण भएको दिन पूर्णिमा कहलाउँछ । असार महिनामा उत्तरषाढा नक्षत्रको नजिकमा गएर चन्द्रमा आफ्नो सोह्रकलाले पूर्ण हुन्छ । अतः उक्त पूर्णिमा आषाढ शुक्लपूर्णिमा कहलाउँछ । मासको अर्थ चन्द्रमा पनि हो र महिना पनि । त्यसकारण आषाढ शुक्लपूर्णिमाको नामबाट उक्त महिनाको संस्कृतमा आषाढ र नेपालीमा असार नाम रहेको छ ।

असार महिनामा सौर्यमण्डलका अधिपति सूर्य आद्र्रा नक्षत्रमा गएर बसेपछि आद्र्रा नक्षत्रमा बसेको सूर्यको किरण पृथ्वीमा पर्छ र त्यसपछि पृथ्वीको गर्भ रसाएर पानीको मूल फुट्छ । पृथ्वीको गर्भ रसाएर मूल फुटेको पानी जल हो र जल रज हो । आकाशबाट वर्षेको पानी पर्जन्य हो र पर्जन्यचाहिँ वीर्य हो । अतः रजस्वरूप जल र वीर्यस्वरूप पर्जन्यको संयोगबाट पृथ्वी शस्यशालिनी हुन्छ । त्यसैले काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी यो वैदिक मान्यता र कृषि प्रणाली हो । ज्येष्ठ शुक्ल पूर्णिमादेखि पृथ्वीको गर्भ बढी तातिन थाल्छ । असार १६ गतेदेखि दिन छोटिँदै जान्छ र पृथ्वीको गर्भ पनि सेलाउँदै जान्छ । त्यसकारण असार १५ गते खले गरोको रोपाइँ गर्ने नेपाली परम्परा छ ।

आषाढ शुक्ल पूर्णिमा पनि एउटा समन्वयात्मक पर्व हो । आषाढ शुक्ल पूर्णिमाको रातमा शिशु बोधिसत्व सिद्धार्थ गौतमले मायादेवीको गर्भमा प्रवेश गरेका थिए । आषाढ शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमले शान्तिको खोजीका लागि घर छाडेका थिए, जसलाई बौद्ध धर्मको भाषामा महाभिनिष्क्रमण भनिन्छ । यसैगरी, आषाढ शुक्ल पूर्णिमामा नै शाक्यमुनि बुद्धले वाराणसीको सारनाथ, मृगदावमा पञ्चवर्गीय ब्राह्मणलाई आफूले पाएको बोधिज्ञानको पहिलो पटक उपदेश दिएका थिए, जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन भगवान वेदव्यासको जन्म भएको हो । अतः आषाढ शुक्ल पूर्णिमा व्यास जयन्ती पनि हो । गण्डकी महात्म्यमा मादी र सेतीको द्वीपमा भगवान वेदव्यासको जन्म भएको उल्लेख छ । त्रिकालदर्शी पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धाबाट जन्माएका कृष्णद्वैपायन भगवान वेदव्यास नेपाल माताका वरद पुत्र हुन् ।

आषाढ शुक्ल पूर्णिमाका दिन सर्वलोक गुरु दक्षिणामूर्तिको पूजा हुन्छ । भगवान शिवका अनेक स्वरूपमध्ये दक्षिणामूर्ति स्वरूप विशिष्ट छ । भगवान् शिवले हिमालय पर्वतमा दक्षिणपट्टि फर्केर बसी सम्पूर्ण शास्त्रको उपदेश गर्नुहुन्छ । त्यसकारण भगवान् शिवको त्यस स्वरूपलाई दक्षिणामूर्ति भनेको हो । दक्षिणामूर्तिका पनि ध्यान दक्षिणामूर्ति र ज्ञान दक्षिणामूर्ति दुई स्वरूप छन् । भगवान् दक्षिणामूर्तिले ध्यान स्वरूपबाट ज्ञान प्राप्त गरी ज्ञान स्वरूपबाट शास्त्रको उपदेश गर्नुहुन्छ । भगवान् दक्षिणामूर्ति सर्वज्ञ हुनुहुन्छ, सर्वलोकका गुरु हुनुहुन्छ र शिव अर्थात् कल्याणकारी हुनुहुन्छ । भगवान् दक्षिणामूर्तिको यो मन्त्रद्वारा यो वास्तविकता राम्ररी स्पष्ट हुनेछ, जस्तै – ओम् सर्वज्ञनाथपार्वतीपते सर्वलोकगुरो शिव
शरणं त्वाम् प्रपन्नोस्मि पालय ज्ञानं प्रदापय ।

सर्वलोक गुरु शिव दक्षिणामूर्तिले शास्त्रको उपदेश गरेको पावन दिन पनि आषाढ शुक्ल पूर्णिमा नै हो । त्यसकारण आषाढ शुक्ल पूर्णिमालाई गुरूपूर्णिमा मानिएको हो । भगवान् दक्षिणामूर्तिले दक्षिणपट्टि फर्केर शास्त्रको उपदेश दिएको स्थल नेपालको गौरीशंकर हिमाल हो । तिब्बती भाषामा गौरीशंकर पर्वतमालालाई रोल्वालिङ भनिन्छ । रोल्वाको अर्थ क्रीडा हो । लिंगको अर्थ द्वीप हो । यस सन्दर्भमा क्रीडा भन्नाले देवी÷देवताको क्रीडा र देवीदेवता भन्नाले शिव पार्वतीको क्रीडा भन्ने बुझ्नुपर्छ । यसरी तिब्बती भाषा र सांस्कृतिक मान्यताबाट गौरीशंकर पर्वतमाला शिव पार्वतीको क्रीडास्थल हो भन्ने सिद्ध हुन्छ ।

गौरीशंकर हिमाल कुमारसम्भवको स्थल पनि हो । अहिले गौरीशंकर हिमालको समयलाई नेपालको प्रामाणिक समय मानिएको छ । अतः गौरीशंकर हिमालको टुप्पोमा घाम झुल्केपछि नेपालमा दिनारम्भ र वर्षारम्भ हुन्छ । गौरीशंकर हिमाल समुद्र सतहबाट ७१३४ मिटर उचाइमा र लन्डनको ग्रिनविच शून्य डिग्रीबाट ८६० २०० पूर्वी देशान्तरमा अवस्थित छ । गौरीशंकर हिमालको काखमा अवस्थित छोरोल्पा कैलाश मानसरोवर जत्तिकै पवित्र छ ।

लिम्बूहरू शिव-पार्वतीलाई थेवा र युमा भन्छन् । राईहरू पारुहाङ र सुम्निमाङ भन्छन् । गुरुङहरू केडेँखर्कलि र मडेँह्योखर भन्छन् । तिब्बती भाषामा भगवान् पशुपतिलाई वाङछ्युक छेन्पो भनिन्छ । यसरी भाषा र भाषी मात्र फरक छ । आखिर तत्वव एउटै हो । मनाउने परम्परा पृथक् भए पनि हाम्रा चाडपर्व एउटै छन् । त्यसकारण वेदले एकोऽहम् । बहुस्याम् भनेको छ । एकोऽहम् । बहुस्याम् मात्र होइन, बहुस्याम । एकोऽहम्को भावना पनि छ । यही नै परम सत्य र यथार्थ पनि हो । यही परम सत्य र यथार्थता नै समन्वयात्मक नेपाली संस्कृतिको चुरो हो ।

नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको मूलभूत आधार हो । अतः गुरुपूर्णिमाको गुरुत्ववाकर्षणलाई हृदयंगम गरी समन्वयात्मक नेपाली संस्कृतिले देखाएको समन्वयको बाटोमा लागेर अघि बढ्नु हामी सबैको साझा कर्तव्य हो । गुरुपूर्णिमाले हामीलाई यस दिशातर्फ उन्मुख हुन अभिप्रेरित गरोस् ।Guru_Purmina-59608f9a0c66b0.38381554

स्रोत- अन्नपुर्ण पोष्ट


Write A Suggestion

%d bloggers like this: