गर्ला रगत् भक्षण…….

  • 4
    Shares

Kanakdhara Swami Swadeshanand 

(शार्दूलविक्रीडित छन्द)

००००००० ०००००००००० ०००००

मेरो यो खुकुरी अशिक्षित भयो पढ्दैन एक्कैरति।
मेरो यो खुकुरी अबूझ पनि हो बुझ्दैन एक्कैरति।
यो मुङ्ग्रे खुकुरी पुगी समरमा नाच्नेछ कोही दिन,
गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।

पक्रौंला जब हातले बल गरी खोज्नेछ यो फुत्कन,
खाँदौंला अनि दापमा खुरुखुरू निस्कन्छ यो युद्धमा।
मेरो यो खुकुरी छुचो छ बहुतै धेरै नजिस्क्याउन,
गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।

मेरो यो खुकुरी विलासपनको जान्दैन भाका पनि,
मेरो यो खुकुरी दलाल-पथको गर्दैन यात्रा पनि।
मेरो यो खुकुरी कुनै समयमा देखिन्छ मैदानमा,
गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।

मेरो यो खुकुरी समाज-ठगको बोल्दैन बोली पनि,
मेरो यो खुकुरी हिमालतिरको आशा-भरोसा छ नि।
गोर्खा राज्य हुँदैन भन्दछ भने तम्सिन्छ टुक्र्याउन,
गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।

अर्कामाथि थिचोमिचो हुनगए खप्दैन यस्ले रति,
अर्का जाति सताउने विषयमा जाँदैन यस्को मति।
साह्रै धेर थिचोमिचो हुनगए खोज्ला रिपू-गर्दन,
गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।

मुर्दा मानिसका नहुन् शहरमा भन्ने इरादा धरी,
गोर्खा राज्य बनाउने बन तिमी चाँड़ो न ढीलो गरी
गोर्खाले खुकुरी झिकेर नगरून् प्रान्तीय आन्दोलन,
गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।

स्वरचित गोर्खा एकात्मता खण्डकाव्यबाट साभार
संशोधित रूप। प्रकाशन वर्ष २००६ ईस्वी।


  • 4
    Shares

Write A Suggestion

%d bloggers like this: