गुरु शब्दको अर्थ र महर्षि व्यास जन्म


प्रवीण अधिकारी

19961492_660150227524816_4172596055543536645_n

——
गुरूर्ब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः |
गुरोर्साक्षात परंब्रह्म तस्मै श्री गुरूवे नमः || -श्वेताश्वेत्तर उपनिषद्

हाम्रो सनातनी दर्शनले गुरु शब्द ब्रह्मा, विष्णु एवं महेश्वरको प्रतीक भएको स्वीकार्दछ | त्यसैले त्यो गुरु शब्दको मर्मले ” आफ्नो शिष्य बनाई शिक्षार्थीलाई नयाँ जन्म दिन सक्ने भएकोले गुरुलाई ब्रह्मा , शिष्यको रुपमा उसको रक्षा गर्न सक्ने भएकोले विष्णु र आफ्ना शिष्यहरुका सबै दोषहरुको संहार गर्नसक्ने भएकोले महेश्वर भनिन पुगेको बुझाउँदछ ” | गुरुले छात्राको अज्ञान हटाई धर्ममार्ग अर्थात सदमार्ग देखाउने भएकोले गुरुको अर्थ हो बुद्ध र कृष्ण जस्तो सदा , सर्वथा मूक्त चेतना | हातमा अज्ञानको समिधा बोकेर आउने प्रत्येक शिक्षार्थीहरुलाई ज्ञानको अग्निले भष्मिभूत गराई वा उनका समिप पुग्ने प्रत्येक पिपाषुको अज्ञानलाई ज्ञानको यज्ञमा आहूति दिनसक्ने सामर्थ्यवान शब्द हो ” गुरु ” | आफ्ना छात्रहरुको जीवनको जिज्ञासाहरु बटुलेर तिनको उपनित संस्कार गरी वा उपनित संस्कार गरी आफ्ना आश्रमको ढोका ढकढक्याउन पुग्ने प्रत्येक अचेतन मुढ मनलाई दृष्टि दिन सक्ने भएकोले ती छात्रहरु द्विज कहलिन पुग्दछन | द्विज शब्द दोश्रो जन्मको द्दोतक हो | आफ्नो बुद्धिले अहंकार दर्शाउने व्यक्ति कहिल्यै गुरुको थान्कोमा पुग्न सक्दैन , उ आडम्वरी हुन सक्छ तर गुरु हुन सक्दैन | महर्षि व्यासलाई ” गुरुणाम गुरु: ” भनिन्थ्यो | गुरुत्वको अभिभारा बोकेर सनातनी हिन्दु समाजलाई इनले दिएको ज्ञान लाखौँलाख बर्षपछि सनातनी भएर ज्यूँदो रहन सकोस भन्ने कामना गर्दै हाम्रा ग्रन्थहरुले गुरु शब्दप्रति सम्मान स्वरुप व्यक्त गरेको उद्गार सम्झिन चाहन्छु –

अज्ञान तिमिराधस्य ज्ञानांजन शलाकया |
चक्षु रुन्मिलितम येन तस्मै श्री गुरुवे नमः ||

अज्ञानको अन्धकारमा डुबेको व्यक्तिलाई ज्ञान रुपी गाजल लाइदिएर जसले आँखोको ज्योति बढाई दिने गर्दछ , त्यस्ता गुरुलाई नमस्कार छ | भन्नुको अर्थ , हामी र हाम्रो परमात्मा , अज्ञान र ज्ञान , मृत्यु र अमृत , अन्धकार र उज्यालो आदि विचको सेतु बनेर हामीलाई बाटो देखाउने गुरु हाम्रालागि सूर्य जस्तै चम्किला ग्रह हुन | गुरुको प्रकाश जहिलेपनि चन्द्रमा जस्तो शीतलता दिने हुन्छ | यस संसारमा गुरु विविध रूपमा भेटिन्छन | त्यसअर्थमा गुरु मान्छेको मनभित्र सुतेको परमात्माका अभिव्यक्ति हुन | यिनले आफ्ना शिष्यहरूलाई अँध्यारोबाट उज्यालो तर्फ अर्थात ज्ञान तर्फ डोर्याउछन | मृत्युबाट अमरतातिर , निन्द्राबाट चेतनातर्फ बाटो देखाउँदछन | गुरु बाबुआमा भन्दापनि शिर्षस्थानमा राखिन्छन | बाबु आमा ब्रह्मा र विष्णुको भूमिकामा रहेका हुन्छनभने गुरु सधैं शिवको भूमिकामा रहन्छन | त्यसैकारण गुरुको आशं भगवान भन्दामाथि रहेको हुन्छ | आषाढ़ शुक्ल पूर्णिमा गुरु पूर्णिमा हो जसलाई महर्षि व्यास पूर्णिमापनि भन्ने गरिएको छ | व्यास अर्थात सनातन हिन्दू धर्म सम्बन्धी ज्ञान विस्तार गर्ने एक पूज्य ,सशक्त अभिभावक , जसले आफ्नो एकल प्रयाशले हामी सनातनी गर्विलो अनुभूति गर्ने मान्छेहरुलाई संस्कार सम्पन्न बनाउन अथक प्रयाश गर्यो |

गुरु पूर्णिमाको महत्व
———————–

गुरू पूर्णिमा वर्षा ऋतुको शुरुवातकालपनि हो , चतुर्मासाको प्रारम्भिक चरण अर्थात हरिशयनी एकादशीपछिको पहिलो पूर्णिमा | परिव्रजाक साधुसंतले ज्ञानगङ्गा निरन्तर बगाई आफ्ना ईक्षुक साधकहरुलाई ज्ञानले तृप्त बनाउने दिन | ज्ञान, शांति, भक्ति र योग शक्ति प्राप्त गर्ने सुनौलो अवसर | यो बेला प्रकृतिले चारैतीर हराभरा राख्न सक्ने भएकीले अध्ययन अध्यापनकोलागि यो चतुर्मासा समय हरेक तरहले उपयुक्त मानिएको छ | जसरी यो चार महिनाभित्र सूर्यको ताप बढेर तात्छ , त्यसरीनै त्यै सूर्यको कारणले भूमिलाई वर्षाको पानी पनि उपलब्ध गराई पृथ्वीलाई सिंचित गर्दा , उनले शीतलता पाई आशातित अन्नहरुको उब्जनी गराउन पुग्दछिन | ठिक त्यसरीनै गुरुका समिप पुगेको हामी जस्ता मुढ चेलोले ज्ञान, शांति, भक्ति र योग शक्ति प्राप्त गरेर आफ्नो अविद्या र अंधकार हटाई प्रकाश तीर डोरिने भएकोले गुरु पूर्णिमाको महत्व बढेर गएको हो |

व्यास परिचय
—————

विभिन्न ग्रन्थहरुमा महर्षि व्यास जन्मको तिथिमिति फरक देखिएपनि हाम्रो परम्परा औ पात्रोले आषाढ़ शुक्ल पूर्णिमालाई गुरू पूर्णिमा अर्थात व्यास पूर्णिमा भनेर चिह्नाउने गरेको छ | तर यो पूर्णिमा तिथि महर्षि व्यास जन्मिएको दिन हो भन्ने कुरोमा चाहीं अलि शंकै छ , किनभने धेरै प्राचिन ग्रन्थहरुले यी अट्ठाइसौ महर्षि व्यास वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डी पूर्णिमाको दिन जन्मिएका थिए भनेर उल्लेख गरेको देखिन्छ | यै दिनमा पछिगएर गौतम वुद्धपनि जन्मिन पुगेका थिए | तसर्थ २८ ओटा व्यासहरु जन्मिएको परिप्रेक्ष्यमा , वहुजन व्यासहरु आषाढ शुक्ल पूर्णिमामा जन्मिएको कारणले वा वेग्ला वेग्लैको जन्मतिथि मनाउन नसक्ने हुँदा वा सामुहिक तिथिको रुपमा लिइएको हुनसक्छ | जे सुकै भएपनि अद्रिका अप्सराकी छोरी सत्यवती र महर्षि पराशरको छोरा कृष्ण द्वैपायन अर्थात २८ सौं व्यासको गुरुत्वलाई सम्मान गरिएको दिन हो , यो गुरु पूर्णिमा | ( हाम्रा पुराण ग्रन्थहरुले अठ्ठाईस जना व्यासहरुको नाउँ उल्लेख गरिदिएको छ ,जसअनुसार यस वैवस्वत मन्वन्तरको हरेक द्वापरमा जन्मिएका व्यास वेग्लाबेग्लै थिए भनेर देखाएको छ | यो समय , वर्तमान वैवस्वत मन्वन्तरको अठ्ठाईसौं द्वापर वितेर आएको २८ सौं कलियुग हो | त्यसैकारण पुराण ग्रन्थहरुले व्यासहरुको संख्या अठ्ठाईस बताउन पुगेको हो | ती ग्रन्थहरुले कृष्ण द्वैपायन व्यासलाई अठ्ठाइसौं व्यास भनेर चिह्नाएको छ | बिभिन्न पुराणहरुमा व्यासहरुको नाउँ फरक फरक उल्लेख गरिएको भएपनि विष्णु पुराण अनुसार अठ्ठाईस ओटा व्यासहरुको नाउँ यस्तो रहेको छ – १. स्वयंभू (प्रभु, ऋभु, ऋतु); २. प्रजापति (सत्य); ३. उशनस् (भार्गव); ४. बृहस्पति (अंगिरस्); ५. सवितृ; ६. मृत्यु; ७. इंद्र; ८. वसिष्ठ; ९. सारस्वत; १०. त्रिधामन्; ११. त्रिवृषन (निवृत्त); १२. भरद्वाज (शततेजस्); १३; अन्तरिक्ष (धर्मनारायण); १४. वप्रिन् (धर्म, रक्ष, स्वरक्षस्, सुरक्षण); १५. त्रयारुण (आरुणि); १६. धनंजय (देव, कृतंजय, संजय, ऋतंजय); १७. कृतंजय (मेधातिथि); १८. ऋणज्य (व्रतिन्); १९. भरद्वाज; २०. गौतम; २१. उत्तम (हुर्यात्मन्); २२. वेन (राजःस्रवस्, वाजश्रवस्, वाजश्रवस्, वाचःश्रवस्); २३. शुष्मायण सोम (तृणबिंदु, सोम आमुष्यायण); २४. वाल्मीकि (ऋ.क्षभार्गव); २५.शक्‍ति (शक्‍ति वसिष्ठ, भार्गव, यक्ष, कृष्ण); २६. पराशर (शाक्तेय); २७. जातूकर्ण; २८. कृष्ण द्वैपायन (अहिले चर्चा गर्दै गरेको ) [विष्णु. ३.३.११-२०];[ दे. भा. १.३];[ लिंग. १.२४. शिव. शत. ५];[ शिव. वायु. सं. ८];[ वायु. २३];[ स्कंद. १.२.४०];[ कूर्म. पूर्व. ५१.१-११] ) |

महर्षि व्यास संस्कृत भाषाका प्रकांड विद्वान , चारै वेदको व्यवस्थापन कर्ता , महाभारतको रचयिता , ब्रह्म सूत्रको ग्रन्थकार भनेर चिह्निएका थिए | यस अर्थमा व्यास शब्द सनातनी हिंदू समाजको दायित्व हो ,पदवी होइन | व्यास शब्दको अर्थ शास्त्रहरुको त्यस्तो जानकार , जसले सुवोध र सरल भाषामा सनातन हिंदू धर्मको मर्म प्रसारित गर्न सक्तछ र वेदलाई समस्त मानवीय ज्ञानको अक्षय निधिको रुपमा व्याख्या गर्न सक्ने सामर्थ्य राख्दछ | यसवाहेक समस्त वैदिक र पौराणिक साहित्यलाई समयानुकुल व्याख्यागरी त्यसका निहित तत्वहरुको प्रसार ,प्रचार एक स्वस्थ वैज्ञानिक परम्परामा गर्न सक्दछ , तिनै व्यास हुन् , हाम्रा नजरमा गुरु हुन | हाम्रो संस्कृति र धार्मिक व्यवस्था दुवै जड चिज होइनन ती गतिमान विषयवस्तुहरु हुन | प्राचिन ज्ञानलाई परिष्कृत र परिमार्जित गरेर त्यसको युगानुकुल व्याख्या गर्ने कामगरी महर्षि व्यासले ‘नित्य नूतन , चिर पुरातन’ संस्कृतिको रुपमा सनातन धर्माई उभ्याईदिन पुगेका हुँदा उनलाई यो सनातनी संसारले सदा सर्वदा गुरु शब्दले उनलाई विभूषित गर्न पुगेको हो |

व्यास , आधुनिक ज्यामितीय गणितको व्यास
————————————————-

आधुनिक ज्यामितिय गणितमापनि व्यास शब्द प्रयोग हुने गर्दछ | यो व्यास शब्दले कुनैपनि वृत्तको (circle ) चौडाई र परिधि नाप्दछ , भन्नुको अर्थ , जसले ज्ञानको परिधिलाई सम्पूर्णरुपमा नाप्न सक्दछ त्यो व्यास हो र त्यै व्यास हाम्रो परिप्रेक्ष्यमा गुरु हो | त्यहीने आधुनिक व्यासहरुलाई चिह्नाउने आधुनिक फर्मूला वा सूत्रपनि हो | १८ पुराण रुपी सूत्रद्वारा जसले हाम्रो जीवन जगतको गुह्यतत्वलाई सरल कथाहरुको माध्यमले सम्झाउन सक्ने क्षमता राख्दछ तिनै ज्ञानी व्यक्तित्व आधुनिक परिप्रेक्ष्यमा हाम्रा गुरु हुन | यहाँ ठाडो वा वृत्ताकार टिको लाएर ,घाँटीमा थरिथरिका माला झुण्ड्याई , विभिन्न रुपमा झुल्किने सुकिला ,मुकिला पहेंला ,सेता वस्त्रधारी आधुनिक नांच गानमा राम्मिने व्यासहरुको यो शब्द संग कुनै किसिमको साइनो छैन , त्यसको कुनै गुञ्जाइसपनि छैन | व्यास शब्द अत्यन्त आदरणीय शब्द हो , ज्यादै आधुनिक र वैज्ञानिक मार्ग हो |

व्यासको अर्थ
—————

व्यासको अर्थ हो ‘संपादक’ | विशेषगरी यो उपाधि वेदलाई व्यवस्थित गर्ने महर्षिहरुलाई दिने गरिन्थ्यो | उनी चिरंजीव थिए त्यसकारण ‘आश्वत’ भनिन्थे | त्यो जमानामा वेद /पुराण संकलनकर्ता, वेदान्तदर्शन स्थापनकर्ता तथा पुराण व्यवस्थापकपनि त्यै नाउँले पुकारिन्थे | तर, हाम्रो परम्पराले यी सबैलाई एउटै व्यक्ति मानेको छ | महाभारत लेख्ने व्यास ऋषि पराशर र अद्रिका पुत्री , सत्यवतीका छोरा हुन | उनी काला भएकाले कृष्ण , द्विपमा (टापु,पाहाड )मा जन्मिएकोले द्वैपायन कहलिएकाले इनलाई संयुक्त रुपमा कृष्णद्वैपायन , विष्णुको २४ औं अवतारी पुरुष , अलौकिक शक्तिसम्पन्न महापुरुष , वेद विस्तार गरेकोले वेदव्यास तथा बदरीवनमा बस्ने हुनाले बादरायणपनि भन्ने गरिएको थियो | महाभारत, अठारह महापुराणहरु र ब्रह्मसूत्रको श्रेय इनैलाई जान्छ | इनले ६ अंगहरु सहित सम्पूर्ण वेद सम्पादन गरेका थिए | इनले लेखेको महाभारतलाई पंचम वेद भनिन्छ |

महाभारतकालका व्यास
—————————-

मैत्रावरूणीय वशिष्‍ठ + कर्दभ ऋषिकी पुत्री अरुन्‍धति – शक्ति -प्रतिप – पराशर + सुमन्‍तु ऋषि र अद्रिका अप्सराकी छोरी सत्‍यवतिबाट जन्मिएका पौराणिक पात्र वेद व्‍यास | वेद व्‍यासको जन्म सत्‍यवतिको कुमारी अवस्थामा भएको हुँदा कानीन भनिएका थिए | त्यस कालखण्डमा लेखिएका पौराणिक साहित्यले व्यास , कर्ण, शिवी र अष्‍टक आदि कौमार्य अवस्थामा जन्मिएका सन्तानहरु भनेर चिह्नाएको छ | वैवस्‍वत मनवन्‍तरको अठाईसौं द्वापरमा म‍हर्षि पराशरले सत्‍यवति मार्फत जन्माएका संतानानै कृष्‍ण द्वैपायन वा व्‍यास भनेर चिह्निएका व्यक्ति हुन | इनकी पत्नी पिंगला थिइन् जसबाट शुकदेव जन्मिएका थिए | शुकदेव गृहस्‍थाश्रम प्रवेश गर्न नचाहने भएकोले उनलाई विदेहराज जनकको दरवार मिथिलामा पठाइएको | विदेहराज जनकको सत्संगबाट फ़र्किएपछि ‘पीवरी’ नाउँ गरेकी देव पितृहरुकी कन्‍यासंग बिहे हुँदा उनका पांच भाई छोराहरु – कृष्‍ण, गौर, प्रभु, भूरी, देवश्रुत तथा एउटी किर्ती नाम गरेकी छोरी जन्मिएकी थिइन |शुकदेवकी छोरी किर्तिबाट ब्रह्मदत्त जन्मिएका थिए | इनलाई पितृवर्ती पनि भनिन्थ्यो | श्रद्धादी कर्म गरिंदा पाठ गरिने पितृ सूक्तको सम्बन्ध यिनै ब्रह्मदत्त संगै रहेको हुन्छ भनेर भन्नेकुरा सनातनी धर्म ग्रन्थहरुले वर्णन गरेको छ |

महाभारतमा महाराज युधिष्ठिरको राजसूय यज्ञमा इन्द्रप्रस्थ आउँदा इनले युधिष्ठिरलाई आजको तेह्र बर्षपछि क्षत्रियहरुको महासंहार हुनेछ भनेर बताएका थिए | त्यतिखेर युधिष्ठिरलाई , तिमी दुर्योधनको विनाशको निमित्त बन्नेछौ भन्न भ्याएका थिए | पाण्डवहरु वनवास गएको बेला दुर्योधन ,दु:शासन तथा शकुनी मार्ने योजना बनाउँदा महर्षि व्यासले चालपाई तत्काल हस्तिनापुर पुगेर कौरवहरुलाई तिनको दुष्कृत्य अवगत गराई धृतराष्ट्रलाई गाली गर्दै तिमीले कथित जुवाको जाल रचेर पाण्डवहरुको सर्वस्व छिनेर वन पठाएर राम्रो गरेनौ | दुरात्मा दुर्योधन पाण्डवहरुलाई मार्न खोज्दै छ | यो काम रोक नत्र तिमीहरुलाई पाण्डवहरुको हातबाट मर्न कसैले जोगाउने छैन भनेर सचेत गराएका थिए | धृतराष्ट्रले महाभारत युद्धमा मारिएका आफ्ना छोराहरु हेर्ने प्रार्थना गर्दा महर्षि व्यासले आफ्नो अलौकिक शक्ति प्रयोग गरी गंगाजीमा उभिएर महाभारतको युद्धमा मरेका उनका सबै छोराहरु देखाईदिएका थिए |

भगवान व्यास आज पनि जिउंदै रहेको मानिन्छन किनभने उनी अष्ट चिरन्जीवी हुन | भगवान आद्य शंकराचार्य र मण्डन मिश्रले उनलाई भेटेको कुरो ग्रन्थहरुमा वर्णित छ | उनले महाभारत जस्तो विशालकाय ग्रन्थ ३ बर्षमा लेखेका थिए |

त्रिभिर्वर्षे: सदोत्थायी कृष्णद्वेैपायनोमुनि:।
महाभारतमाख्यानं कृतवादि मुदतमम्।।( आदिपर्व – (५६/५२)

महर्षि वेदव्यासलाई भगवानकै स्वरुप मानिन्छ –

नमोऽस्तु ते व्यास विशालबुद्धे फुल्लारविन्दायतपत्रनेत्र।
येन त्वया भारततैलपूर्णः प्रज्ज्वालितो ज्ञानमयप्रदीपः।।

अर्थात् – जसले महाभारत रूपी ज्ञानको दीयो बाले त्यस्ता विशाल बुद्धि भएका महर्षि वेदव्यासलाई मेरो नमस्कार छ |

व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे।
नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नम:।।
प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: