गुरूपूर्णिमा मेकियाबेली संक्रमण…


आज  वेदव्यासलाई सम्झने दिन हो – गुरू गुरूपूर्णिमा | पश्चिम नेपालको दमौलीमा पराशर ऋषि र माझीको छोरा वेदव्यासले वैदिक सभ्यताको विकास, प्रसार तथा संस्थागत गर्न एतिधेरै काम गरेका छन् कि उनी विश्वगुरु बनेका छन् |

वेदब्यासले अठार पुराण, ब्रहमसूत्र तथा महाभारतको ग्रन्थमात्र लेखेनन् अपितु वेदलाई चारभागमा विभाजित गरेर सरल बनाए | यी सबै कुरा देवभूमि नेपालमा जन्मेका वेदब्यासले गरेका हुन् |

19756550_1945714532375703_5015886813640439141_n

यो कुरा हाम्रा विद्यालय वा विश्वविद्यालयहरूका पाठ्यपुस्तकमा उल्लेख छैन | विद्यालय र विश्वविद्यालयले यी विश्वगुरूका विषयमा कुरा गर्न लाजमर्दो हुन्छ | थेल्स, सुकरात, अरस्तु वा सन्त अगस्ताइन, पोप, मार्टिन लुथरकोका विषयमा लाजमर्दो हुँदैन |

हाम्रा नीतिकारहरूले जन्मदेखि मरणसम्मको संस्कार ऋषिहरुले तयार गरिएदिएका ग्रन्थहरूका आधारमा सम्पन्न गर्छन् तर आफ्ना छोराछोरीलाई यिनका स्रजकहरूका विषयमा जानकारी दिने ठाउँमा जिसस क्राइस्टको नाम लेक्छन् |

हाम्रा विद्यालय र विश्वविद्यालयमा वेदब्यासहरूका योगदानको कदर हुँदैन | योगी नरहरिनाथ प्रपन्नाचार्यआदिको चर्चा हुँदैन | हाम्रा विवि र विद्यालयहरूका सबैद्वारहरूमा अग्रेजी भाषा र गुरू मेकियावेलको राज्य छ |

मेकियावेली गुरुको जादुमा ब्यासहरू गुमनाम भएका छन् | ब्यासको सम्झनामा नगर पालिका बन्न सक्छ, जैमिनीको नाममा गाउँपालिका बन्न सक्छ तर यी महापुरुषहरूको इतिहासका विषयमा मौनता छाउँछ |

नेपालीमा गुरू शब्दको अर्थ नै वदल्नु पर्ने भएको छ | विदेशी भक्तिभाव बढाउने र स्वदेशीपन हटाउने ज्ञान दिने नै गुरू हुन् | यस्ता गुरूहरूको आरम्भविन्दु राजनीति हुन्छ भने समापन रैथाने पद्यतिहरूप्रति उपेक्षाभाव |

संस्कृतमा गुरू शब्दको अर्थ अज्ञानको नाश गर्ने र गहनतम भौतिक, दैविक र आध्यात्मिक ज्ञान प्रदान गर्ने हुन्छ | विद्याको गन्तब्य अमृततत्वको प्राप्ति हुन्छ | गुरूले आफ्नो गहनज्ञाद्वारा शिष्यलाई त्यो अमृततत्व प्रदान गर्छन् |

मेकियावेलीका बौद्धिक दासत्वको बानी परेकाहरूकाहरूले “अंग्रेजी भाषा, संस्कृति तथा परम्परा” बाहिरका जुनसुकै जस्तोसुकै महत्वपूर्ण विषयभए पनि अस्वीकार्य हुन्छन् |

अहिलेको युगमा प्राचीन पूर्ण बैदिक गुरुकुल परम्परामा फर्किन असम्भव होला तर वदलिएका आवश्यकताअनुसार आफ्ना रैथाने गुरुपरम्पराको जगेर्ना गर्न सकिन्छ |

अंग्रेजहरूले जे गरे, त्यो नै उनीहरूका लागि उचित थियो | आफ्नो प्रतिमान स्थापना गर्न उनीहरूले हाम्रो वैदिक शिक्षानीति मैं प्रहार गरे | उनीहरू सफल भैरहेका छन् |

अव मेकियावेलीलाई विस्थापित गरेर ब्यासीय-पद्यति स्थापना गर्ने दायित्व हामी उपर आएको छ | ब्यास विश्वगुरू हुन् | विश्वगुरूले स्थापना गरेको विद्यापद्यति नै अवको हाम्रो लक्ष हुनुपर्छ |

विश्वगुरू ब्यासप्रतिको सबैभन्दा महत्वपूर्ण भक्ति मेकियावेली शिक्षा पद्यतिलाई नेपाली समाजबाट विस्थापित गरेर हुन्छ | यो कुरा पढेर धेरै गुरूहरूले खिस्सी गर्नेछन् – तर सत्य यही हो |

नेपालका प्रत्येक बालबालिका वेदब्यास बन्ने सामर्थ्य छ र यो सामर्थ्यलाई जगाउने कामको आरम्भ वेदब्यासलाई सम्झेर होइन, उहाले लेखेका कितावहरू पढेर हुन्छ |

भाषा जुन सुकै होस्, जाति जुन सुकै होस्, भौगोलिकता जहाँ होस् तर आफ्नो मौलिकताको रक्षा गर्न आफै अगाडी सर्नुपर्छ | आत्मविश्वास, गुरूप्रतिको श्रद्धा तथा प्रतिमापरिवर्तनको अदम्य इच्छाशक्ति हाम्रा शक्ति हुन् |

अन्त्यमा, परोपकाराय पुण्याय पापाय परपीडनम् – अर्थात् परोपकार हाम्रो मन्त्र हो र अरूलाई पीडा दिनु पाप | हामी घृणाको बाटो होइन प्रेमको बाटो हिड्ने छौँ | विश्वगुरू वेदब्यासका प्रति सादर नमन |

बन्दे गुरुस्ते चरणारविन्दम् |


Write A Suggestion

%d bloggers like this: