वेदान्त दर्शन के हो? जानकारी जरुर राख्नुहोस


प्रवीण अधिकारी———-

अद्वैत, द्वैत ,विशिष्ठ अद्वैत , द्वैताद्वैत ,विशुद्ध अद्वैत र अचिन्त्य भेदाभेद वेदान्त
————————————————————————————
संस्कृत भाषामा सनातन धर्म भनेर चिह्निएको हाम्रो हिन्दू धर्म वा हाम्रो जीवन पद्धतिलाई यसका अनुयायीहरुले ” वैदिक सनातन वर्णाश्रम धर्म ” पनि भन्ने गरेको पाइन्छ | यसो भन्नुको पछाडिको तर्क यसको शुरुवात मानव उत्पत्ति भन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो | त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक ,पौराणिक परम्परा र संस्कृतिहरुको सम्मिश्रण मानिएको हो | अन्य धर्म (?) , जस्तो हिंदू धर्मभित्र कोही संस्थापक रहेका छैनन् | यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा ,उपासना पद्धति ,मत, सम्प्रदाय , दर्शनहरु हुर्किएको पाइन्छ | यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवाद्लाई पृष्टपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म , हिंदू धर्म , वैदिक धर्म , हिंदू आगम आदिजस्ता अनेकौं नाउँले चिह्नाउँदै आइएको छ | यसले आफुभित्र थुप्रै दर्शनहरुपनि हुर्काउन सकेको छ |आजको दिनमापनि यसभित्र वैदिक र लौकिक संस्कृत भाषामा लेखिएका शास्त्राीय वाङ्गमयहरुको विशाल भण्डार रहेको छ | इतिहाँसको विभिन्न कालखण्डमा आतंककारीहरुको उपध्रोमा परी यसले आफ्ना थुप्रै अमूल्य हस्तलिखित ग्रन्थहरु गुमाएको तितोसत्य भोगेको भएपनि झन्डै १३०० प्राचिन हस्तलिखित ग्रन्थहरु आजपनि यसका ढुकुटी भित्र जिउँदा रहेका छन | हाम्रो वोलिचालीमा यिनै ग्रन्थहरु शास्त्र कहलिन पुगेका हुन | यहाँ शास्त्रको अर्थ हाम्रो जीवन पद्धतिका (धर्म) गूढ़ तत्त्वहरुलाई ब्याख्या गरेको अर्थमा हो | ती धर्म शास्त्रहरूको निचोडको रुपमा थुप्रै दर्शन शास्त्रहरूको उदय हुनपुगेको छ |

अनातन हिंदू पद्धतिले धर्म शास्त्रलाई कर्मपरक मानेको छ भने दर्शनशास्त्रलाई ज्ञानपरक ठानेको छ | यी दुईभित्र हाम्रो आध्यात्म विधालाई विचार्ने ‘मोक्षशास्त्र रहेको छ , यसका ज्ञानहरुलाई मीमांसा गर्ने प्रमाण शास्त्र हुनपुगेको छ | ती दुबैलाई गतिलोगरी विचार्ने दर्शनशास्त्र रहेको छ | त्यसैले हाम्रो परिप्रेक्ष्यमा हाम्रो जीवन र हामी हुर्किएको जगतको त्यो दर्शन संग अटूट सम्बन्ध रहेको मानिएको हो | हाम्रो यो सम्बन्धलाई अन्वेषण गरेर चिरफार गर्नेकाम मानव जीवनले गर्दै आएको हो | हाम्रो जीवनको सैद्धानितक स्वरुप त्यही दर्शनले विश्लेषण गरेको हो | जीवन र जगतको मीमांसा गर्नु यी दर्शनहरुको उद्देश्य हो | हामी को हौँ ? ,कहाँबाट आयौ ? किन आयौं ? जस्ता सूक्ष्म जिज्ञासा र त्यसभित्र रहेको ज्ञानको खोजीगरी बुझ्ने प्रयाश गर्दा ती दर्शनहरुको उत्पत्ति हुन पुगेको हो | यी दार्शनिक चिन्तनका दृषिटकोणहरु बेग्ला बेग्लै रहेका छन | त्यसले गर्दा ती विचारहरुको विश्लेषण गर्दा अनेकौं पद्धतिहरुको जन्म हुन पुगेको हो | यसैबाट विभिन्न दार्शनिक सिद्धान्त र सम्प्रदायहरु बन्न पुगेको छ | तर , जस्तो भएपनि ‘वेद शब्द जस्तै यी दर्शनहरुमापनि ठूलो ज्ञानपरम्परा हुर्किएको छ , त्यो नै यथार्थ हो |

हाम्रो धर्ममा दार्शनिक चिन्तन गर्ने परम्परा ज्यादै प्राचीन हो | यसको मूल तत्व र्इश्वर, जीव, प्रकृति, श्रिष्टि ,उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि रहेको छ | यो दर्शन शास्त्र भनेको यस ब्रह्माण्डको परम सत्य र प्रकृतिका सिद्धान्तहरु ,त्यसका कारणहरुको ब्याख्या गरेको ग्रन्थहरु हो | यो ब्याख्या दृष्टिकोणको रुपमा रहेको छ | यहाँ दार्शनिक चिन्तन भन्नाले मानव जीवन र जगतको खोज हो अनि दर्शनशास्त्र भनेको चाहीं यस प्रकृति ,समाज ,मानव चिंतन तथा ज्ञान प्रक्रियाहरु संगालिएको नियमहरुको विज्ञान हो | भन्नुको अर्थ दर्शनशास्त्र भनेको खासमा हाम्रो सामाजिक चेतना हो | यसै वैदिक दर्शनलाई फिलोसफीको रुपमा पाइथागोरसले र विशिष्ट अनुशासन र विज्ञानको रुपमा प्लेटोले ब्याख्या गरेका थिए |

षड् दर्शन र वेदान्त दर्शन भनेको के त ?
——————————————-
अब एकछिन , षड् दर्शन र वेदान्त दर्शन भनेको के हो त्यो विचार गरी हेरौं | सनातन धर्म भित्र विभिन्न समयमा विभिन्न व्यक्तिहरुले यसका परम्परा ,स्थिति र ज्ञानलाई आ आफ्नो दृष्टिकोणहरुमा खारेर विश्लेषण गरेका थिए | त्यै विश्लेषण षड्दर्शनको रुपमा जन्मिन पुग्यो | यसको अर्थ षड्दर्शन हाम्रो दार्शनिक एवं धार्मिक विचारहरु मंथन गरिंदा उम्रिन पुगेको हो , जसलाई हजारौं बर्षको मिहिनेतले जन्माएको हो भन्नुपर्ने हुन्छ | यसलाई वैदिक दर्शन वा आस्तिक दर्शनपनि भन्ने गरिएको छ , तर , यो वेदान्त दर्शन चाहीं होइन | यसका प्रणेताहरु हुन् – पूर्व मीमांसा: महिर्ष जैमिनी ( जैमिनिघाट,ठेउला खोला बागलुङ्ग ) , २ वेदान्त (उत्तर मीमांसा): महिर्ष बादरायण (दमौली,तनहुँ ) ३ सांख्य: महिर्ष कपिल (कपिलवस्तु ) ,४ वैशेषिक: महिर्ष कणाद ५ न्याय: महिर्ष अक्षपाद गौतम (गोतम)( विदेह्स्थान ,जनकपुर ” विदेहोऽथ माधवोऽग्निवैश्वानरमुखे बभार। तस्य गोतमो राहुगण ऋषि: पुरोहित आस। (श.ब्रा.. ४ .) ६ योग: महिर्ष पतंजली | त्यतिखेर वैदिक ज्ञानलाई चिह्नाउन दुईटा प्रयाश गरिएको थियो १. दर्शनशास्त्र २. ब्राह्यण र उपनिषदादि ग्रन्थ | ब्राह्यण (ब्र्ह्मलाई चिह्नाउने सामर्थ्य दिने ग्रन्थ ब्राह्मण भनिएको ) र उपनिषदादि ग्रन्थहरुले आ आफ्नो विषय वस्तुहरुलाई प्राचिन ऋषि महर्षिहरुले आफ्ना शिष्य, श्रद्धावान र जिज्ञासुहरुलाई मूल वैदिक ज्ञान सरल भाषामा बुझाएका छन् | यो कुरो आइन्सटाइनको Theory of Relatively जस्तै छ | जसरी आइन्सटाइनको भनाइलाई कसैले कुनै अन्य प्रमाणहरु नै नखोजी स्वीकार गर्दछ भने कसैले आइन्सटाइनको कुरो सत्य र ठिक हो भंनेकुरो पत्याउँदैनन ,अली अनकनाउछन् ,र त्यसलाई प्रमाणित गर्नु पर्ने तर्क खोज्दछन त्यसरी नै वेदको ज्ञानलाई तर्क दिएर सम्झाउन माथी उल्लेख गरिएको छ ओटा दर्शन शास्त्र लेखिएको | जसले मूल वेदको ज्ञानलाई आ आफ्नो तर्क दिएर पुष्टी गर्ने प्रयाश गरे | प्रत्येक दर्शन शास्त्रको आ आफ्नै विषयवस्तु रहेको छ | जसरी भौतिक विज्ञान (Physics) मा Newtonian Physics, Maganetism Atomi Physics, इत्यादि रहेको छ | दर्शन शास्त्र सूत्र रूपमा लेखिएको छ | प्रत्येक दर्शनले त्यो दर्शन लेखिनुको उद्द्येश्यहरु आफ्नो प्रथम सूत्रमा दर्शाएका छन् र त्यो उद्द्येश्यको पूर्ति गर्ने सूत्र चाहीं त्यसग्रन्थको अन्तमा बताएका छन | वैदिक ज्ञान समेटिएको ग्रन्थ भगवद्गीता हो जसको लेखिने आधार वेद, उपनिषद र दर्शन शास्त्रनै हो |

भगवद्गीता २-३९ र १३-४ मा भनिएको छ –

एषा तेSभिहिता सांख्ये बुद्धिर्योगे त्विमां श्रुणु।
बुद्धया युक्तो यथा पार्थ कर्मबन्धं प्रहास्यसि।। गीता २-३९

-हे अर्जुन ! यो बुध्दि(ज्ञान) जसलाई मैले सांख्य दर्शन अनुसार भने , अब यही कुरो म तिमीलाई योग दर्शन अनुसार भन्दैछु | यो ज्ञान हृदयंगम गरेर तिमी आफ्नो कर्म बन्धनलाई समूल नष्ट गर्न सक्दछौ |

ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविषै: पृथक्।
ब्रह्यसूत्रपवैश्चैव हेतुमदिभर्विनिधैश्चितै:।।४।। गीता१३-४

प्रमाण , विचार, सृष्टिमीमांसा र मोक्षसाधना षड्दर्शनको विषयवस्तु हो | यी छ दर्शनहरु सबैले कुनै न कुनै रुपमा आत्मालाई स्वीकारेका छन | यसअनुसार आत्माको निवृत्तनै मोक्ष हो | पुनर्जन्म, आचार, योग आदि यी दर्शनले स्वीकारेका विषय वस्तुहरु हुन | न्याय, योग जस्ता केही दर्शनले ईश्वरलाई स्वीकारेको छ , तर सांख्य र मीमांसा दर्शनले ईश्वरलाई स्वीकारेको छैन |

अब वेदान्त दर्शन भनेको के हो ? त्यो बुझ्ने प्रयाश गरी हेरौं | वेदान्त दर्शन भनेको वेदको अन्त र त्यसले प्रतिपादन गरेको सिद्धान्त हो | कस्तो सिद्धान्त ? भन्दा त्यस्तो सिद्धान्त जस्कालागि उपनिषद् ग्रन्थहरुनै प्रमाणको रुपमा रहेको छ | यहाँ बुझ्नु पर्ने के हो भने -वेदान्तमा उल्लेख गरिएका कुराहरुको मूल उपनिषद् हो | यसैकारण वेदान्त दर्शनकालागि तिनै सिद्धान्तहरु मननीय मानिन्छन , जुन सिद्धान्त उपनिषद्मा आधारित भएको हुन्छ अर्थात उपनिषद्लाई आधार बनाएर महर्षि बादरायणले जुन ब्रह्मसूत्रको रचना गरेका थिए त्यसका सूत्रहरु मूल उपनिषदमा भएकोले उपनिषद्लाई सबै दर्शनहरुको मूल सिद्धान्त भनिएको हो | यहाँ वेदान्तको शाब्दिक अर्थ हो – वेदको अन्त वा वेदको सिद्धान्त वा वेदको सार | सनातनीले जोगाएर राखेको कर्मकांड र उपासना पद्धतिको वर्णन वेदको मंत्र संहितामा र ब्राह्मण ग्रन्थहरुमा रहेको हुन्छभने वेदभित्र रहेका अध्यात्मिक ज्ञानहरुको वर्णन चाहीं उपनिषदहरुमा रहेको छ | यसर्थ वेदान्त शास्त्रकालागि ती सिद्धान्तहरुमात्र मननीय हुन मानिन्छन जसलाई उपनिषदले प्रमाणित गर्न सक्छ वा प्रमाणित गरेर ल्याएको छ | त्यसैले उपनिषद्लाई सबै वैदिक दर्शनहरुको मूल सिद्धान्त मानिएको हो | उपनिषद् भित्र रहेको वेदान्त दर्शनलाई ज्ञानयोगको एउटा शाखा भनेर मान्ने गरिन्छ भने त्यो ज्ञानयोगले कुनैपनि व्यक्ति विशेषलाई ज्ञान प्राप्तिकोलागि उत्प्रेरित गर्ने गर्दछ | उपनिषद् भनेको वेद र अरण्यक ग्रंथहरुको सार हो भने दर्शन भनेको हाम्रो जीवन र जगतको परमसत्यहरुको प्राकृतिक सिद्धांत र त्यसका कारणहरुलाई कोट्याएर विश्लेषण गरेको सिद्धान्त हो | दर्शन कुनैपनि विषयवस्तुहरुको यथार्थता थाहा पाउन सकिने प्रारम्भिक दृष्टिकोण हो | मानव जीवनको मूलअर्थ खोज्नु दार्शनिक चिन्तनको एकमात्र लक्ष हो | हाम्रो सनातनी दर्शन र अंग्रेजको ‘फिलोसफी’ (Philosophy) एउटै कुरो होइन , यी नितान्त वेग्लावेग्लै कुरो हुन | किनभने , दर्शनले जीवनको ,भोगेको विषय वस्तुको , तत्वज्ञानको यथार्थता वोध गराउँदछ भने फिलोसफीले विभिन्न विषय वस्तुहरुको साधारण विश्लेषण मात्र गर्न सक्दछ | हाम्रो दर्शनले हाम्रो चेतनाको र चेतनास्तरको मीमांसा अर्थात गम्भीर मनन र विचार विमर्श गरेको हुन्छ ,जुनकुरो पाश्चात्य फिलोसफीले अलिकतिपनि समेट्न सकेको देखिन्न |

वेदान्त र ज्ञान योग
——————–

वेदान्त ज्ञानयोगको त्यस्तो हाँगो हो ,जसले मान्छेलाई आध्यात्मिक ज्ञान प्राप्तिकोलागि उक्साउँछ | माथि उल्लेख गरे अनुसार यसको मुख्यश्रोत उपनिषद हो र त्यो उपनिषद् भनेको वैदिक ग्रन्थ र आरण्यक ग्रंथहरुको सार हो | त्यै उपनिषद् वैदिक साहित्यहरुको अंतिम भागपनि हो | त्यसैले यसलाई वेदान्तपनि भन्ने गरिएको हो | वेदान्तका शाखाहरु अद्वैत ,द्वैत ,विशिष्ठाद्वैत , द्वैताद्वैत ,विशुद्धाद्वैत र अचिन्त्य भेदाभेद भनेर चिह्निएका छन | आदि गौणापाद , शंकराचार्य, रामानुजाचार्य , माधवाचार्य ,निम्वाकाचार्य , वल्लाभाचार्य , चैतान्यदास आदि यसका प्रवर्तक मानिएका छनभने यसका ज्ञानयोगका अन्य शाखाहरुको प्रवर्तकमा भाष्कर , वल्लभ, चैतन्य, निम्बारक, वाचस्पति मिश्र, सुरेश्वर र विज्ञान भिक्षु आदि रहेका छन | यसवाहेक आधुनिककालका केही वेदान्तीहरु रामकृष्ण परमहंस, विवेकानंद, अरविंद घोष, शिवानंद र रमण महर्षि आदिहरुले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएकाछन | शुरुशुरुमा उपनिषदकोलागि मात्र ‘वेदान्त’ शब्दको प्रयोग गरेको देखिएपनि पछिपछि त्यै उपनिषदलाई आधार मानिंदा जुनजुन विचारहरुको विकास भएर गयो त्यसलाई पनि ‘वेदान्त’ नै भन्न थालिएको पाइन्छ |

उपनिषदलाई ‘वेदान्त’ शब्द प्रयोग गर्ने ३नोटा आधारहरु
—————————————————————-

(१ ) पहिलो , उपनिषद् ‘वेद’को अन्तमा आउने हुँदा , वेद भानिंदा वैदिक संहिताहरु भन्ने बुझिन्छ ,जसमा ऋक्, यजुः, साम तथा अथर्ववेद पर्दछन | त्यसपछि ब्राह्मण, आरण्यक तथा उपनिषद् आउँछ | यी उपनिषदहरु वैदिक साहित्यको अन्तमा पर्न गएकोकारण यिनीहरुलाई वेदान्त भनिने गरिएको हो | (२ ) दोश्रो , वैदिक साहित्यमा उपनिषदकोपालो पछिमात्र आउने हुँदा , वैदिककालतिर गृहस्थाश्रममा प्रवेश गरेपछि गृहस्थोचित यज्ञादि कर्मगर्न ब्राह्मण-ग्रन्थ पढाइने गरिन्थ्यो | अनि , वानप्रस्थ या संन्यास आश्रममा पुगेपछि उसलाई आरण्यक ग्रन्थको आवश्यकता पर्दथ्यो | ती मान्छेहरु वनमा बसेर जीवन ,जगतको कुरोहरु बुझ्ने गर्दथे | उपनिषद्को अध्ययन तथा मनन त्यतिखेरै खुवै हुने गर्दथ्यो | (३ ) तेश्रो , उपनिषदहरुमा वेदको ‘अन्त’ अर्थात् वेदका विचारहरुको परिपक्व स्वरूप रहेको हुँदा वेद-वेदांग आदि सबै शास्त्र पढेपनि उपनिषदहरुको शिक्षा प्राप्त नगरेसम्म मान्छको ज्ञान पूर्ण आर्जन गर्नसकेको मानिन्थेन | त्यसकारण सबै उपनिषद् ग्रन्थहरुले वेदान्त शाखाको प्रतिनिधित्व गर्ने गर्दछन भन्ने गरिएको हो |

हाम्रो सनातन हिन्दूधर्ममा वेदान्तका विशेषताहरुलाई कोट्याउने ज्यादैलामो परम्परा रहेको पाइन्छ | वेदान्त दर्शनलाई नेपाली सनातन हिंदू समाजले ब्रह्म सूत्रपनि भन्ने गरेको छ | ब्रह्मसूत्र भनेको छुट्टै पदावलीको प्रयोग हो ,जसले , हाम्रै सत्य सनातन वैदिक ग्रन्थलाई जनाउँछ | यसमा विगतका हाम्रा विभिन्न आध्यात्मिक व्यक्तित्वहरुले प्रतिपादन गरिदिएका विभिन्न सूत्रहरुको ब्याख्या गरिएको छ | तेश्रो शताव्दी अघिदेखि यसका विशेषताहरु औंल्याउन , केलाउन र प्र्ष्ट्याउन , विभिन्न व्यक्तिहरुले , विभिन्न धार र विचारहरु प्रतिपादन गरेका छन् | यत्रोलामो समयावधिमा कस्ता कस्ता पूर्वाचार्यहरु जन्मिए ? तिनले कस्तो कस्तो दर्शन र मान्यताहरु अघि सारे ? हाम्रा ती व्यक्तित्वहरुले आत्मा ,परमात्मा र मायाँलाई प्रष्ट्याउन सम्बन्धमा कस्तो सिद्धान्त राखे , कस्तो मान्यता प्रतिपादन गरे ? भन्ने कुराहरुको निचोडनै अद्वैत ,द्वैत ,विशिष्ठ अद्वैत , द्वैताद्वैत ,विशुद्ध अद्वैत र अचिन्त्य भेदाभेद वेदान्त दर्शन हो | आदि शंकराचार्य , रामानुजाचार्य , निम्वकाचार्य , माधवाचार्यले , वल्लभाचार्य ,चैतन्य महाप्रभु यसका प्रवर्तकहरु हुन |

(१ )अद्वैत :
—————–
अद्वैतको शाब्दिक अर्थ , ब्रह्म र जीव दुईटा कुरो जस्तो बुझिएपनि तिनको सत्ता एक हो , भन्ने हो | यो त्यस्तो दार्शनिक शब्द हो जसलाई गौणपादले चलाए , आदि शंकराचार्यले उनको अनुवर्ती भएर प्रसार गरे | आजको सनातनी हिन्दू संसारमा त्यै व्याख्या अद्वैतवादको नाउँले चिह्निंन सकेको छ | यस मतले एउटामात्र ईश्वरीय सत्ता देख्तछ , जसलाई भन्ने गरिन्छ – ब्रह्म | यस मतमा प्रत्येक आत्मा ब्रह्मसंगै रहेको हुन्छ ,त्यसैले मूल रुपमा त्यो ब्रह्मलाईनै आत्मा भनेर स्वीकारिएको हुन्छ | यसको भनाईमा हामी भित्रको अज्ञानले यस्तो कुरोलाई दुईटा देख्ने गरेकोमात्र हो | किनभने ज्ञान प्राप्त गरेपछिमात्र , हाम्रो आत्माले आफ्नो मूल स्वरूप ब्रह्मलाई प्राप्तगर्न सक्ने अवस्थामा पुग्दछ | आदि शंकराचार्यले मायाँको अस्तित्वलाई कुनैपनि अर्थमा , कुनैपनि स्वरुपमा स्वीकारी दिएनन , त्यसलाई पटक्कै वास्ता गरेनन | उनको तर्कमा मायाँ भन्ने चिज , एकदमै झूठो चिज हो | उनको भनाईमा ” मायाँ ” एक किसिमको इल्यूज़नमात्र हो | हाम्रो अज्ञानताकोकारणले गर्दा हामीले त्यसलाई बोध गर्न सकेका हौँ | किनभने मान्छेले ज्ञान प्राप्त गर्न थालेपछि त्यो “मायाँ ” आफै हराएर जान्छ | एउटै परमसत्ताको कुरोगरेर सबैलाई एउटैमा समेटने दर्शन नै अद्वैतवाद हो (Non -Dualism ) |

यस सिद्धान्तमा ब्रह्म मात्र सत्य हो | कुनैपनि जीव , ब्रह्म भन्दा अलग हुने सक्दैन | यो नामरूपात्मक जगत् झूठो हो | ब्रह्ममात्र सत्य हो | त्यसैले एउटा ब्रह्मलाई मात्र सत्य मान्ने विचारधारा अद्वैतवाद भनिएको हो र यसैलाई वेदांतपनि भनिएको हो | अहम ब्रह्मास्मि , ‘सर्वं खल्विदं ब्रह्म’ (यो सबै ब्रह्म हो ), तत्वमसि (तत् त्वम् असि), तिमी (जीव) त्यो (ब्रह्म) जस्ता महावाक्यले ब्रह्म अद्वैतताकै पुष्टि गर्न पुगेको हो | उपनिषद अनुसार महर्षि बादरायण व्यासले ब्रह्मसूत्रको रचना गरेका थिए र उनैले त्यसमा अद्वैतवादको प्रतिपादन गरिदिए | ब्रह्म सूत्रपछि गीताले ब्रह्मतत्वको विश्लेषण गर्यो | त्यसैले यी तीनै ग्रन्थलाई प्रस्थानत्रयी भनेर चिन्ने गरियो | बादरायणपछि यस मतका झन्डै एक दर्जन विद्वानहरु देखिए तर शंकराचार्यको ठाउँ कसैले ओगट्न सकेनन | एकमात्र स्थायी सत्ता भएको कारण , यो ब्रह्म भन्ने चिज निर्गूण , निराकार, अनादि, निरंजन, अद्वितीय र सर्वव्यापक मानिएको छ | यसमा मायाँ भन्ने चिज जतिखेर मिसिन पुग्दछ ,त्यतिखेर त्यो निर्गूण ब्रह्म ईश्वर भनिन पुग्दछ र त्यै ईश्वर यस सृष्टिको कारण कहलिन्छ | यसरी ईश्वर ब्रह्मको अभिन्न अङ्ग हुन् पुग्दछन | उनको भनाइमा यो नामरूपात्मक जगत् हाम्रो इन्द्रियले देख्न सक्छ , ब्रह्मको सत्तालाई ब्रह्म तत्वद्वारा हेरेर त्यसको यथार्थता थाहापाउन सकिन्छ | तसर्थ शंकराचार्यको मतमा यो जगत झूठो भनिएको हो | मायाँ यो नामरूपात्मक , दृश्यात्मक जगत् रुपी ब्रह्मको विकार हो | ब्रह्म तत्वलाई भ्रामक बनाई त्यसमा परिवर्तन गराउन खोज्नु नै विकार हो | त्यतिखेर शंकराचार्यले बौद्ध र जैन दर्शनको खुबै विरोध गरे | किनभने , उनीहरुको त्यो अद्वैतवादी दर्शनले वर्ण-व्यवस्थाको समर्थन गरेको देखिएको थियो |त्यसैले शंकराचार्य ज्ञान र निर्गुण ब्रह्मको उपासना तिर मात्र केन्द्रित हुन पुगे | उनले ईश्वरलाई शिव रूपमा चिह्नाए , जन-साधारणलाई शैव उपासना सिकाएर ज्ञानमार्ग द्वारा एकेश्वरवादमा छिर्न बाटो देखाए | शुरुशुरुमा यो अद्वैतवादका सर्जक गौणपाद (तेश्रो शताव्दी) मानिएपनि तिनका अनुवर्ती आदि शंकराचार्य (जम्मा वत्तिस बर्षको आयुमा मृत्यु वरण गर्ने शंकराचार्य , जन्म ७८८ -मृत्यु ८२०)ले यस दर्शनलाई उचाइमा पुर्याउन सकेकोले उनैलाई अद्वैत्वादको मर्मज्ञ मानिएको छ | त्यसैले उनलाई शिवजीको पूर्णावतार मानिएको हो |

(२) द्वैत :
———–
यस दर्शनका प्रवर्तक १२ औं शताव्दीका रामानुजाचार्य हुन | यसलाई विशिष्टाद्वैत वेदान्तपनि भन्ने गरिएको छ | इनले एउटा ब्रह्मको कुरो स्वीकारेका छन् , तर , उनको भनाईमा एउटा वृक्षको हाँगाबिङ्गा ,पात ,फूल ,फलपनि हुन्छन जुन समग्रमा हेर्दा त्यस वृक्षका बेग्ला बेग्लै अङ्ग हुन् | यो कुरो स्विकार्दा एउटै रुखमा धेरै विविधता रहेको भेटिन्छ | त्यसरीनै एउटै परमेश्वरको जीव (आत्मा )र मायाँ ,परमात्मा आदि शब्दहरु ती परमेश्वरका विशेषण हुन ,अझ भनौं विशिष्ठ गुणहरु हुन | त्यसैले यस दर्शनको नाउँ विशिष्ठ अद्वैतवाद राखिएको हो , जसलाई पश्चिमा समाजले Qualified Non -Dualism भन्ने गरेका छन | यो दर्शनले मायाँलाई झूठो भन्दैन | यस दर्शनले ब्रह्म सत्य हो भने मायाँपनि सत्य हो भन्ने गर्दछ |

(३) द्वैताद्वैत :
—————
१२ औं शताव्दीमा माधवाचार्य भन्ने सन्त देखा परे , जसले पांच किसिमको द्वैतवादको कुरो गरे (Five Dualities )

(i) पहिलोकुरा , माधवाचार्यको भनांईमा प्रत्येक मान्छे भित्र दुई किसिमको आत्मा हुन्छ | तर,त्यो आत्माहरु स्वरुप एक नासको हुँदैन | एउटा मूक्त हुँदा अर्को बन्धनमै रहेको हुन्छ | भन्नुको अर्थ , हरेक आत्माले आफ्नो स्वभाव अनुरुप संस्कार पाएको हुन्छ | त्यसैले तिनको स्वभाव वेग्ला वेग्लै भएको ठानिन्छ |

(ii) दोश्रोकुरा ,उनले मायाँ (Material energy ) र आत्मा विच फरक देखाए | उनको भनाईंमा मायाँ जड़ हो , यसमा भौतिक उर्जा हुने गर्दछ | तर, आत्मा जीव हो ,चैतन्य हो अर्थात चेतनाको स्तर हो |

(iii) तेश्रोकुरा ,उनले त्यो मायाँमापनि फरक देखाए | उनको विचारमा जसरी हामीले केहीकुरा आफ़ालागि खाद्य र अखाद्द भनेर छुट्ट्याउछौं त्यसरीनै समस्त भौतिक उर्जाका स्वरुपहरु हाम्रालागि फरक फरक हुन पुग्दछन |उनको तरका यदि त्यस्तो नभएको भए मान्छेले माटो नि खाने थियो |

(iv) चौथोकुरो , उनको भनाइमा मायाँ र ब्रह्म बीच द्वैधभाव (द्वैत ) रहेको हुन्छ | परमात्मा सर्व शक्तिमान रचनाकार (Creator ) हुन भने मायाँ तिनको शक्ति (Energy ) हो | परमात्मा सनातन सत्य हो | ज्ञान र आनंदको सागर हो | कोईपनि मान्छेले मायाँको शक्ति परमात्माबाट पाउँछ तसर्थ परमात्मा मायाँको आश्रय स्थल हो |

(v) पांचौकुरो , उनको भनाईमा , आत्मा र परमात्मा बेग्ला बेग्लै कुराहरु हुन | आत्मा मायाँसंग आवद्ध रहेको हुन्छ | अनि , परमात्माले मायाँमाथि शासन गरेको हुन्छ | आत्मा ज्ञान स्वरूप हो , तर , उसको ज्ञान सँधै सीमित हुन्छ | आत्मा सर्वज्ञ (सर्वज्ञाता ) हो | आत्माको चेतना (चेतन तत्व ) एउटै शरीरमा मात्र हुन्छभने परमात्मा सर्वत्र अर्थात सारा सृष्टिमा व्याप्त रहेका हुन्छन | आत्माले शान्ति र आनंद खोज्ने गर्दछ , तर , परमात्मा सँधै स्वयं आनंन्दित भई रहन्छ | त्यसैले आनंदलाई परमात्माको नाउँले पुकारिएको हो | जहां आनंद हुन्छ ,त्यहाँ परमात्माको वास हुन्छ | यो आनन्द कहिल्यै सीमित हुन्न , सँधै असीमित रहन्छ | परमात्मा यो संसारको होइन , त्यो संसारको हो | त्यसैले भगवान कृष्ण भन्दछन जहां आनंद छ त्यहाँ म पनि रहन पुग्दछु , त्यस अर्थमा त्यो आनन्द भनेको म नै हुँ | हाम्रो परम्परामा सँधै द्वैतवादको बोलबाला रहेकोकारण यो समस्त परम्परालाई द्वैतवाद भन्ने गरिएको हो (Dualism ) |

(४ विशिष्ठाद्वैत (द्वैत -अद्वैतवाद ):
————————————-
११ औं शताब्दीका निम्बकाचार्य यस वेदान्तका प्रतिपादक मानिन्छन | उनी अद्वैत र द्वैत दुबैलाई सही र स्तुत्य ठान्दछन | उनको भनाईमा समुन्द्र र त्यसमापर्ने पानीको थोपा दुईटै अलग अलग कुरा हुन | यसरी हेर्दा आत्मा त्यै परमात्माकै अंश हो | अब त्यो अंश र अंशीलाई बेग्ला बेग्लैपनि मान्न सकिन्छ वा होइन यी दुईटा एउटै हो पनि भन्न सकिन्छ किनभने शक्ति ,शक्तिमानभन्दा अलग्ग रहन सक्तैन ,सँधै शक्तिमान संगै रहन्छ |
(५ ) विशुद्ध अद्वैतवाद (Pure Non -Dualism ):
——————————————————
१५ औं शताब्दीका वल्लभाचार्य यस वेदान्तका प्रवर्तक मानिन्छन | यसलाई कसै कसैले शुद्धद्वैत वेदान्तपनि भन्ने गर्दछन | इनले आदि शंकराचार्य जस्तो मायाँको अस्तित्वलाई अस्विकार गरेका छैनन् | इनले मायाँलाई इल्यूज़न वा झूठपनि भनेका छैनन | इनको भनाईमा दुईटैको अस्तित्व छ | तर , परमात्माका साथमा रहन पुग्दा यी दुबैको अस्तित्व एउटै हुन पुग्दछ ,अर्थात मायाँ परमात्माको शक्ति हो | त्यसैले आत्माको परमात्मा संग विलय हुन सक्तछ | आत्माले परमात्मालाई भेट्न सक्तछ |

(६)अचिन्त्य भेदाभेद :
————————-
१५ औं शताब्दीका चैतन्य महाप्रभु यस वेदान्तका प्रतिपादक हुन | उनको भनाईमा जसरी गर्मी र प्रकाश आगोकै शक्ति हो | त्यसरी नै गर्मी र प्रकाश ऊर्जाका दुई बेग्ला बेग्लै स्वरुप भएपनि , दुईटै एकैसाथ् रहेका ठानिंछन | यसलाई अग्निको रुपबाट अलग्याउन सकिन्न | त्यसैगरी आत्मा र माया दुईटै कुरोले परमात्माको शक्ति भएर काम गर्ने गर्दछ | दुवै उसैका शक्ति हुन , तर बेग्ला बेग्लै काम गर्दछन ,अलग अलग बस्छन तर सधैं साथ रहन्छन | साधारण किसिमले यी कुराहरुलाई त्यही रुपमा बुझ्न सकिन्न | यसलाई बुझ्न प्रज्ञा चक्षु चाहिन्छ | त्यसैले उनले यो मतलाई अचिन्त्य भेदाभेदवाद भन्न पुगे |सनातन हिंदू धर्म दर्शन भित्रका यी प्राथमिक विद्द्यालयहरु हुन | आज सम्ममा निकालिएको वेदान्तको निचोडपनि यही नै हो | अस्तु – प्रवीण अधिकारी

Image may contain: text

Write A Suggestion

%d bloggers like this: