मैले बुझेको महाभारत र त्यसभित्र हराएका पात्र नकुल र सहदेव ||


प्रवीण अधिकारी

गहजहगज

—— ———————————- —————————–
” महाभारत ” सनातन हिंदूहरुको त्यस्तो प्राचिन एतिहाँसिक ग्रन्थ हो जसमा यस आर्यावर्तको मात्र होइन , सम्पूर्ण विश्‍वको प्राचिन वृतान्तहरु लुकेर बसेको छ | मानवजातिको इतिहाँसको समग्र विकास क्रमलाई यस ग्रन्थले प्रकाश पारेको छ | त्यसवाहेक यस कथा औ इतिहांसका हरेकपात्रहरु वर्णन गर्न लायक भएर उभिएका छन , तसर्थ तिनीहरु अपूर्ण रुपमा जन्मिएको देखिई बारम्वार गल्ति दोहोर्याउँदै र सो अनुरुप भोग्दै सम्पूर्ण हुन , देखिन सकेका छन | महाभारतकि प्रथम पुस्ताकी माझी कन्या सत्यवती हुनकी दोश्रो पुस्ताकी शुरसेनकी छोरी ,वशुदेवकी वहिनी वा कुन्तिभोजकी धर्मपुत्री कुन्ती , श्रेष्ठ धुरंधर कर्णले पाएको अपहेलना होसकी युधिष्ठिरको गल्तिले डुवेको राज्य , दुर्योधन औ दुसाशनले द्रौपदी प्रति गरेको व्यवहार होसकी द्रौपदीले मयमहलमा दुर्योधनप्रति वोलेको अपशब्द , दुर्योधन पोखरीमा चिप्लिंदा द्रौपदीले हाँसेको कुटिल हाँसो होसकी भीष्मको लाचार स्थिति , शकुनीको कुटिलता होसकी धृतराष्ट्रको पुत्रमोह , भीमको वल होसकी दुर्योधनको अडिगता , द्रौपदीको हाँसो होसकी जयद्रथको कामाशक्ति , नकुलको रुप होसकी महात्मा विदुरको विद्वता , यी र यस्ता तमाम कुराहरुको रोचकताले महाभारतका हरेक पात्रहरुलाई विशेष अनुहारमा उभ्याइदिन सकेको छ | कहिलेकाहीं पढदै जाँदा उनीहरु हाम्रो नजरमा दयाका पात्रको रुपमा देखा पर्दछन , तर , ती आफ्नो भूमिकामा अतिकुशल , सक्षम र सवलपनि देखिन सकेका छन | पासा खेलमा शकुनि , धनुर्कलामा अर्जुन, गदायुद्धमा भीम ,कुटनीति र कुशलतामा कृष्ण , अटल निर्णयमा दुर्योधन , प्रतिज्ञामा भीष्म , आफ्नो क्षमता नै देखाउन नपाउने अभागीमा वरवरिक , जुवामा लम्पट युधिष्ठिर ,पुत्रमोहमा धृतराष्ट , आत्म निर्णयमा भीष्म , शत्रुहन्तामा अस्वत्थामा , रुपमा नकुल , मित्रतामा कर्ण , भविष्यवेत्तामा सहदेव उत्क्रिष्ट देखिएपनि सबै पात्रहरुलाई उनीहरुको भूमिकाले गतिलोगरी कसेको छ भने त्यसैले जीवन्तता दिएर श्रद्धाकोपात्र समेत बनाएको छ |

यसबाहेक , शिष्य कस्तो हुनु पर्दछ ? , गुरु कस्तो हुनु पर्दछ ? , एउटी राजमहिषी राज्य उत्तराधिकारी विहिन हुँदा कति चिन्तित हुन्छन ? एउटा बाबु कसरी पुत्र मोहमा पर्दछन ? ती यावद कुराहरुको सटिक वर्णन महाभारतमा छ | त्यस एतिहाँसिक ग्रन्थले त्यसका केही पात्रहरुमाथि कहींकहीं अन्याय गरेको देखाएपनि निष्ठा र समर्पण हुन सकेको खण्डमा जो कोहीपनि सफल हुन सक्नेतिर मानव जगतलाई औंल्याएर देखाएको कुरो कसैले विर्सन मिल्दैन | त्यस्तो घटनामा एकलव्यप्रति द्रोणाचार्यको अमानवीय व्यवहार , कर्णसंग कवच र कुंडल हात पार्न इन्द्रले गरेको छलकपट , एक सशक्त गुरुको हत्या गर्न युधिष्ठिर जस्तो प्रतीकका मुखबाट युद्ध मैदानमा “नरो वा कुंजरों वा” भनाउनु पर्ने अवस्था , भगवान कृष्णद्वारा वार्वरिकको हत्या गर्नु परेकोकारण , सहदेव जस्ता विद्वानको मुखमा परिस्थितिले कोचिएको बुजो , अश्वत्थामा जस्तो वीर पुरुषलाई समयमा सेनापति नबनाउन अख्तियार गरिएको नीति (जसले महाभारतको परिणामनै फरक पार्न सक्ने क्षमता राख्तथ्यो ) , घटोत्चकको वल , महाभारतको इतिहाँसलाई सर्वकालिक चेतना मूलक कथा बनाउने नमूनाको उदाहरण हो |

महाभारतका प्रत्येक घटना भित्र ज्ञान र विज्ञानको पोको रहेको छ | त्यसका पात्रहरु हरेक कोणबाट सफल रहन सकेका छन | कौरव, पांडव, कर्ण , कृष्ण धृष्टद्युम्न, शल्य, शिखंडी वा कृपाचार्य आदि जो सुकै हुन , कसैलेपनि यो ग्रन्थलाई योद्धाहरुको गाथामा सीमित हुन दिएको छैन | त्यहाँ एकले अर्कोलाई दिएको श्राप , वचन र आशीर्वादमा समेत ज्ञान र रहष्य लुकेको छ | त्यसका हरेक पात्रको आफ्नै मौलिक विशेषता रहेको छ | महाभारत ग्रन्थमा यस क्षेत्रको मात्र होइन मान्छेको इतिहासको त्यस कालखंडलाई ‍दिग्दर्शन गरिएको छ जसले ज्ञान, विज्ञान, खगोल, धर्म आदिका विषय वस्तु मात्र होइन ,वरु आश्चर्यजनक रूपमा तत्कालिन ज्ञानार्जन क्षमतालाई समेत प्रष्ट्याएको छ | त्यसका पात्र बर्बरीक सर्वश्रेष्ठ धनुर्धर थिए ,उनकोलागि तिन वाणनै काफी थियो |जसको बलमा उनले कौरव र पांडवहरुको सबै सेना समाप्त गर्न सक्तथे | युद्ध मैदानमा बर्बरीक दुवै खेमाको मध्य बिन्दु हुनपुगेको एउटा पीपलको रुख मुन्तिर उभिएर घोषणा गर्न पुगेकी म त्यसैको पक्षतिरबाट लडनेछु जो कमजोर हुनेछ | बर्बरीकको यो घोषणा सुन्दा कृष्ण चिंतित हुन पुगे र वर्वरिकको जीवन लिलानै दानलिएर समाप्त पारिदिए | महाभारतका अर्कापात्र गावल्यगणको छोरो संजय जुलाहा थिए | उनले महर्षि वेदव्यासबाट दीक्षा पाएर ब्राह्मणत्व ग्रहण गरेका थिए | वेदादि विद्या अध्ययन गरे पश्चात उनी धृतराष्ट्रको राजसभामा मंत्री हुन पुगेका थिए | गीताको उपदेश अर्जुनले र संजयले मात्र सुन्न पाएका थिए | भगवान कृष्णको विश्वरूप तथा चतुर्भुज स्वरुपको दर्शन गर्न पाउनेपनि यीनै दुई रहेका थिए | संजय स्पष्टवादिताकालागि प्रसिद्ध मानिन्थे | इनले शकुनीको कुटिलता र दुर्योधनले पाण्डवहरु संग गरेको असहिष्णु व्यवहारप्रति धृतराष्ट्रको ध्यान संधै तान्ने गर्दथे | द्रोणाचार्य पुत्र अश्वत्थामा हरेक विद्यामा पारंगत थिए | तिनले चाहेको भए पहिल्यै दिन युद्ध सकाउन सक्थे जसको एक वाणको मारक क्षमता ७५००० संख्यामा रहेको थियो | तर , भगवान कृष्णले कहिल्यैपनि उनलाई अगाडि बढ्न दिएनन | किनभने , कृष्‍णजीलाई बाबु छोराको जोडीले युद्ध तुरुन्तै समाप्त गर्न सक्छ भन्ने राम्रोसंग थाहा थियो | इन्द्रले धनुर्धर कर्णसंग व्राह्मण भेषमा कवच-कुंडल लिन नसकेको भए र कर्णले आफ्नो अमोघ अस्त्रको प्रयोग घटोत्चकमाथि नगरेर अर्जुनमाथि गरेको भए कथाको पाटो अर्कै हुन सक्थ्यो | भीम संग हजारौं हात्तीको बल थियो | युद्ध भूमिमा भीम भन्दा शक्तिशाली घटोत्चक रहेको थियो र उ भन्दा शक्तिशाली बर्बरीक तर बर्बरिकलाई युद्ध भूमिभित्र मायावी कृष्णले छिर्न नै दिएनन , उसको लिलानै सकिदिए | आर्यक नाग भीमको मावली हजुर्वाउको हजुर्वाउ भएको र भीम दुर्योधनद्वारा विष पान गराईदा मूर्छित भएको वेला उनलाई हजारौँ हात्तिको बल दिने कुंडहरुको रस ख्वाइएको थियो | जसले गर्दा भीम संग हजारौं शक्तिशाली हात्तीहरुको बल थुप्रिन पुगेको थियो | घटोतचक यती ठूलो शरीर भएको थियोकी उसले एक लात मार्दा जुन सुकै रथलाई ३कोस टाढा पुर्याउन सक्थ्यो | जन्मिदा टाउकामा केश नभएको ( केश =उत्चक ) घट-हात्तिको टाउको + उत्चक = केशहीन अर्थात घटोत्चक राखिएको थियो | घटोत्चक को वाण थाम्न नसकेको कारण कर्णले उसलाई आफ्नो अमोध अश्त्र चलाएर घटोत्चकको बध गर्नु परेको थियो , जसका कारण अर्जुन जोगिन पुगेका थिए | भगवान कृष्ण सोह्रै कलामा माहिर थिए |उनी जति मायावी थिए त्यतिनै मानवीय |

महाभारतलाई पढेर हामी कसैलेपनि एउटै सम्मति बनाउन सक्दैनौं | त्यो ग्रन्थ पढने कसैलेपनि एउटै कुरोको दीक्षा प्राप्त गर्न सक्दैन | त्यसग्रन्थलाई पढ्ने प्रत्येकले आफ्नो रुचि अनुसारको विषयवस्तु र सो अनुरुपको ज्ञान त्यसग्रन्थ भित्र भेट्न सक्दछ | एकता भित्रको विविधता र विविधता भित्रको एकता नै त्यस ग्रन्थको विशेषता हो , किनभने धृतराष्ट्रकी पत्नी गांधारीले पतिभक्तिका कारण आँखामा पट्टी बाध्ने निर्णय गर्दा सहानुभूति पोख्न रुचाउने हामी पाठकहरु , धृतराष्ट्रले आफ्नी पत्नी गांधारीलाई , “ यदि तिमीले म जस्तो छु , त्यसैरुपमा स्वीकार गर्न सकेकी भए वा मेरो तागतमा विश्वाश गरेकी भए त ठिकै मानिन्थ्यो , तर आफ्ना आँखोमा पट्टी बाँधेर के कुरो इंगित गरेकी छ्यौ भने – म असक्त छु , दुर्बल छु , निसहाय छु ” भनेको देखेर त्यो ग्रन्थ पढने प्रत्येकले त्यस ग्रन्थप्रतिको आफ्नो अवधारणा पुनर्मूल्यांकन गर्न बाध्य हुने गर्दछ , र महाभारतप्रति पुनः सोच्न विवसः हुन्छ | त्यस्तै , मृत्यु शैय्यामा रहेका भिष्मले पांच पाण्डवहरुलाई कृष्णको सल्लाहमा धर्म र अधर्मको शिक्षा दिंदा भीष्मले दिएको शिक्षा सुनेर खित्का छोडेर हाँस्दै द्रौपदीले पितामह भीष्मलाई ” जुन वेला तपाईं सशरीर तगडा हुनुहुन्थ्यो , त्यतिखेर तपाइंले सही र गलत छुट्याउन सक्नु भएन ,धर्म र पाप चिन्न सक्नु भएन , मलाई कौरवहरुले त्यस सभामा नंग्याउँदा मुक दर्शक भएर बस्नु भयो ,चुईक्क वोल्न सक्नु भएन तर अहिले वाण शैय्यामा सुतेर आफ्ना नातीहरूलाई कसरी धर्म र अधर्मको अर्तिबुद्धि दिंदै हुनुहुन्छ ? ” भनेर प्रति प्रश्नगर्दा निर्विवादित सत्यकुरोले कसैको मान ,मर्यादा र अवस्था कहिल्यै हेर्न सक्तैन भन्नेकुरा सोच्न सबैलाई बाध्य बनाउँदछ | यसमा उल्लेख गरिएका प्रत्येक घटना , तिनको संबंध र त्यसमा रहेको ज्ञान-विज्ञानले यसका प्रत्येक पात्रहरुलाई योद्धाको रुपमा सीमित नगरी तिनीहरुले पाएको श्राप , वचन र आशीर्वादको रहष्यहरुमा डुवुल्कि मार्न सिकाएको छ |

अधर्मले छोपी दिएको वरदान
—————————-
महाभारतको तेह्रौं दिन कौरवहरुको वहिनी ज्वाईं दुशला पति जयद्रथको चुरीफुरी निकै बढेको थियो | उता वासुदेव कृष्णसंग अरुको गुप्तचर प्रणाली र शत्रुको सबैकुरो थाहा पाउन सक्ने कला रहेको थियो | भगवान कृष्ण त्यस युद्धमा अर्जुनको सारथीमा सीमित जस्तो देखिएपनि उनको मायाँको कारण प्रत्येक योद्धा युद्धमा आफै संलग्न हुन पुगेका थिए | जयद्रथ सिन्धु नरेश ब्रिधास्त्रको छोरो थियो | जयद्रथले सबैसंग सम्मान त निकै पाउँथ्यो तर उ अज्ञान र अधर्मको कुण्ठामा बाँचेको थियो | दौपदीसंग उसले गरेको अशोभनीय ब्यबहार र हरण गरेको कारण पाण्डबहरुले उसको चारपाटे मुडेका थिए | यसको बदला लिन जयद्रथले शिवको तपस्या गरेर एउटा अस्त्र पाएको थियो जसले अर्जुन बाहेक सबैलाई रोकेर राख्न सक्तथ्यो | जयद्रथका बाबु ब्रिधास्त्र संन्यासलिएर तपस्यारत भएको वेला उसले बाबुबाट इच्छा मृत्यु वरदान माग्यो तर उसका बाबुले त्यो बरदान दिन सकेनन बरु तपस्यारत ब्रिधास्त्रले जसले उसको सिर काटेर भूमिमा झार्छ त्यो मान्छे तुरुन्तै सय टुकडामा विभक्त हुनेछ भन्ने वरदान दिए | गुरु द्रोणाचार्य र दुर्योधनले सुशर्मा र उसको भाईलाई अर्जुन संग लडेर अरु पांडव भन्दा टाढा लैजान अह्राएर द्रोणले युधिष्ठिरलाई बंदी बनाउन “चक्रव्यूह ” रच्दा जयद्रथले अरुलाई रोकी राख्यो र अभिमन्यु मारिए | अनि अर्जुनले भोली बिहानसम्म जयद्रथलाई मार्छु भनेर कसम खाए | वासुदेव कृष्णले मायाँको पासा फेके | सूर्यमा ग्रहण लाग्यो | सूर्य अस्त देखियो | जयद्रथ आफ्नो विजयको मदमा अन्धो भएर अर्जुनले कसरी आफ्नो हत्या गर्दछ भनेर हेर्न आयो | कृष्णले ग्रहण सकाए अनि अर्जुनले जयद्रथको वरदानको रहष्य सम्झाएर पाशुपत अस्त्र प्रयोग गर्न लाएर जयद्रथको हत्या गरे | उसको टाउको तपस्यारत उसका बाबुको काखमा गएर झर्यो | आकस्मिकता देखेर उसका बाबु अत्तालिएर उठ्दा जयद्रथको शिर भूमिमा झर्यो र उसका बाबु खण्ड खण्ड भई मरे | यसरी जसले वरदान दियो त्यो वरदान दिनेकैलागि अभिसाप हुन पुगेको थियो | यसरी वरदानको छायाँमा लुकाएको अधर्म धर्मको आढमा कृष्ण जस्तो अतिमानवको अघि निस्तेज भई दिनेकैलागि दुखदायी हुन पुगेको थियो |

यस प्रकार महाभारत ग्रन्थमा यो सम्पूर्ण भारतबर्षको संस्कृति छ , आचार संहिता छ , यो ग्रन्थ कौरव र पांडवको आपसी संघर्षको कथा नभएर उनीहरुलाई निमित्त बनाएर तयार पारिएको सनातनीहरुको धर्मशास्त्र हुन पुगेको छ | यो ग्रन्थलाई पाँचौं वेद भनेर त्यस्तो सिंहासनमा लगेर राखियो जुन ठाउँमा आजसम्म कुनै अर्को ग्रन्थ पुग्नै सकेन | यसका हरेक पात्रहरुमा भएको जीवन्तता , गल्ति गरेर पूर्ण मानव हुन पुग्ने अभिलाषाले यसका हरेक पात्रहरु ज्यादै रहष्ययुक्त देखिन पुगेका छन | त्यसै रहष्ययुक्त पात्रहरु मध्ये आज मैले छानेका दुई पात्रहरु हुन पाण्डु पुत्र राजकुमार नकुल र सहदेव |

सहदेव र उनले पाएको ज्ञान
——————————–

महाभारतकालीन पात्र सहदेव ज्यादै वुद्धिमान थिए | सनातनी हिंदू साहित्यमा अरिष्ट्नेमीको नाउँले चिह्निने कश्यप ऋषिपछिका अर्को पात्र हुन् सहदेव | उनी सबै भन्दा कान्छा थिए , उनले अरिष्ट्नेमी कहलिन सक्ने बुद्धि कसरी पाए ? भन्ने सम्बन्धमा एउटा वडो रोचक प्रसंग महाभारतमा राखिएको पाइन्छ | विधाताको लिला , किंदम ऋषिको श्राप पाएर आफ्नी पत्नीहरुकालागि अयोग्य हुन् पुगेका पांडुले जंगलमा आगो तापेर बसीरहेका वखत आफ्ना पाँचै छोराहरुलाई एकसाथ राखेर भने – म विगत धेरै बर्षदेखि तिमीहरुकी आमाहरुसंग टाढा मात्र भइन , बरु मैले ब्रह्मचर्य साधन गरेर असाधारण गुह्यशक्ति ,दूरदर्शिता, निर्णय गर्नसक्ने क्षमता र बुद्धि आर्जन गर्न सकेंको छु | यी ज्ञानहरु म संगै नजाउँन , भन्ने मेरो चिन्ता र भित्री चाहना भएकोले , मैले आर्जन गर्न सकेको ती गुणहरु तिमीहरु सम्म पुग्न सकोस भन्ने इक्षा बोकेको छु | तर , तिमीहरुलाई चाहेरपनि दिन सकेको छुइन | राजा पाण्डुले भनेको कुरोप्रति अरु छोराहरुले उतिसारो ध्यान दिएनन , तर कान्छो सहदेवले निकै चाख मानेर सुने | पाण्डुले भने म जुन दिन मर्दछु ,त्यो दिन मेरो अन्तिम संस्कारगर्दा तिमीहरुले मेरो शरीर वा गिदीको केहीभाग लिएर खानु | यदि तिमीहरुले मेरो शरीरको मासुलाई आफ्नो शरीरको एउटा भाग बनाउन सक्यौ भने, मैले आर्जन गर्न सकेको ज्ञान तिमीहरुको शरीरमा प्रवेश गर्नेछ | समय आएपछि सहदेवले आफ्ना धर्मपिता पाण्डुको अंतिम इच्छा हिम्मत औ श्रद्धा पूर्वक पुरा गरेका कारण उनले जुन दिव्यशक्ति प्राप्त गर्नसकेका थिए | जुनकुरो अरु कुनै पाण्डवहरुले पाउन सकेका थिएनन | सहदेवले बाबुलाई जलाउँदा उनको गिदिको एक अंश खाँदा इतिहासको ज्ञान , दोश्रो अंश खाँदा वर्तमानको ज्ञान र तेश्रो अंश खाँदा भविष्य चाल पाउन सक्नेमात्र भएका थिएनन वरु त्रिकालज्ञ भएर निस्किन सकेका थिए | पाण्डुको इच्छा बमोजिमको कामगर्न सकेको कारण पाण्डुको अनुभव , कठिनकामलाई सजिलोसित गर्न सक्ने खुबी, बुद्धि , सीप र ज्ञान समेत पाउन सकेका थिए | सहदेवले आफ्ना बाबुको सो इक्षा अक्षरस: पुरा गरेका कारण भविष्यको सटीक पूर्वाभाष गर्नसक्ने सामर्थ्य राख्तथे |

सहदेवलाई महाभारतको युद्ध हुन्छ तर कहिले हुन्छ ?, कसले , कसलाई मार्दछ , को विजयी हुन्छ ? जुवाखेल्दा कसले कपट गर्छ ? ,को हार्छ , कसलाई जिताइन्छ ? लाक्षागृह दहन आदि सबैकुरो थाहा थियो | त्यसकारण उनी जुवा खेल्दा युधिष्ठिर सबैकुरो हार्नेछन भनेर दुर्योधनको दरवारमा त्यो जुवाको खालमा उपस्थित भएनन् | त्यस अवधिभर उनी द्रौपदीको साथमा उनको सुरक्षामा बसे | उनले यो कुरो सार्वजानिकपनि गर्न सकेनन , वरु चुपलाग्नुमै कल्याण ठाने | सहदेव एक धुरन्धर विद्वान ज्योतिषी थिए ,उनको त्यो ज्ञान बुझेर नै शकुनीले दुर्योधनलाई युद्धकोलागि मुहूर्त हेराउन महर्षि गर्गकोमा नपठाई सहदेवको समिपमै पठाउनु परेको थियो | त्यतिखेर सहदेवले त्यो कुरा पांडवहरुकोलागि सही नहुने भएपनि आफ्नो ज्ञान प्रयोग गरेर युद्ध शुरु गर्ने मुहूर्तको जानकारी दुर्योधनलाई दिएर पठाएका थिए |

सहदेव र नकुलको विशेषता
————————–
सहदेवको त्यो ज्ञानको जानकारी भगवान कृष्णलाई चाहीं , उनी स्वयम् अन्तर्यामी र साक्षात् नारायण भएका कारण गतिलोगरी थाहा भएको थियो | तसर्थ सहदेवले महाभारत युद्ध कहिले हुने ,कस्तो हुने ? कसले मुख्य भूमिका खेल्ने ? थाहा पाउन सक्ने भएको कारण भगवान कृष्णले सहदेवलाई – त्यो कुरोको रहष्य कसैका सामु खोल्यौ भने तिम्रो तत्काल मृत्यु हुनेछ भनेर श्राप दिएका थिए | यसरी श्रापको भुमरी भित्र परेका सहदेवले महाभारतको युद्धको तत्वदर्शी भएपनि विवश भएर थाहा नपाए जस्तो गरी आफ्ना दाजुहरुको पछि पछि लागेर उनीहरुको निर्णयमा साथ् दिंदै गए , तर त्यसकुरामा कहिल्यै मुख खोलेनन् , कसैलाई जानकारी गराउन सकेनन | महाभारत ग्रन्थका यी सक्षम र सवल पात्र भएपनि यिनको भूमिका सदैव विलिन हुन् पुगेको देखिएको थियो | महाभारत युद्धमा सहदेवको रथको घोडा तित्राका रंगका राखिएको थियो | उनी १०५ बर्षको उमेरमा मरेका थिए | इनले आर्जन गरेको सबै ज्ञान अन्य दाजुभाइहरु सरह गुरुहरु कृपाचार्य र द्रोणाचार्यबाटै पाएका भएपनि उनी धर्म, शास्त्र, चिकित्सा र ज्योतिष विद्याका निकै अव्वल दर्जाका विद्वान कहलिने गर्दथे | भविष्यमा घटने हरेक कुरा थाहा पाउन सक्ने सामर्थ्य भएका इनलाई प्रत्येको कुराको आदि र अन्त्य थाहा हुने गर्दथ्यो | तर, भगवान कृष्णको श्राप , डर र नेतृत्वकोकारण इनले संधै आफ्ना मुखमा ताल्चा लाएरै बसे | इनकी विजया, भानुमति र जरासंधकी छोरी पत्नीहरु थिए | श्रुतकर्मा, सुहोत्र , सोमक इनका छोराहरु मानिन्थे | महाभारतको युद्धमा इनले बजाउने शंखको नाउँ पुष्पक र नकुलको शंखको नाउँ सुघोषमणि भनेर चिन्ने गरिएको थियो |

नकुलको जन्म दैवीय चिकित्सक अश्विनी कुमारहरुको वरदानको कारणले भएको थियो | नकुलको अर्थ परम विद्वान भनिएपनि महाभारत ग्रन्थमा इनको चित्रण एक रूपवान, प्रेम युक्त ,सुंदर व्यक्ति भनेर गरिएको छ | कृपाचार्य र द्रोणाचार्यबाटै शिक्षा प्राप्त गरेका भएपनि इनलाई धर्म, शास्त्र, चिकित्सा क्षेत्रका अद्भूत विद्वान मानिएको छ भने इनको रुपको तुलना “कामदेव” संग गरिएको छ | १३ बर्षको अज्ञातवास र वनवासको समयमा इनले आफुलाई संधै धूलो र माटो संग नजिक्याए , द्रुपद राजाको गाई गोठालो र तवेलाको देखभाल गर्ने सईस भएर बसेका थिए | तलवार चलाउनु र घोडसवारी गर्नु इनकोलागि सामान्य थियो | बर्षाको पानीले शरीर नाभिजाई घोडा चढेर देखाउनु इनको अद्भूत कला मानिएको थियो | रुपवान , नीति, धर्मशास्त्र तथा युद्धविद्यामा सिपालु नकुल पशु चिकित्साका तत्कालिन समयका मूर्धन्य विद्वान मानिन्थे | पाण्डवहरु अज्ञातवासमा बिराट राजाकोमा रहंदा इनको नाउँ तंत्रिपाल रहन पुगेको थियो | तन्त्रिपालाको रुपमा इनको काम गाई गोठालो र घोडाको सईस रहेको थियो | युधिष्ठिरले राजसूय यज्ञ गर्दा इनले पश्चिम तिरका महेत्थ र पंचन आदि देशलाई जितेका थिए |चेदिराजकी छोरी करेणुमती इनकी अर्धाङ्गिनी रहेकी थिइन् | इनको छोराको नाउ निरमित्र राखिएको थियो |

भगवान श्रीकृष्ण
——————
भगवान श्री कृष्ण ज्यादै चतुर र अन्तर्यामी थिए | उनलाई सहदेव राजपुत्र हुँदा हुँदैपनि एक ऋषि सरह बाँच्न सक्दछ र उसको ज्ञानार्जनले भाग्यको सम्पूर्ण धाराहरु रोक्न सक्दछ भंनेकुरो कृष्णले राम्ररी बुझेका थिए | त्यसकारण कृष्णले सहदेवलाई -‘यो मेरो आदेश हो , तिमीले आफ्नो बुद्धि औ ज्ञान कसैको अघिप्रकट नगर भनेर कडावाक्य प्रयोग गरी सहदेवलाई निस्तेज बनाई दिएका थिए | यदि तिमीलाई कसैले कुनै प्रश्न गर्यो भने तिमीले त्यस्ता प्रश्नहरुको जवाफ प्रतिप्रश्न गरेर देउ भनेर अह्राएका थिए | त्यसदिनदेखि सहदेवले संधै सबैको प्रश्नको जवाफ प्रश्नात्मक उत्तरका रुपमा दिने गर्दथे | उनले दिएको प्रश्नात्मक जवाफ बुझ्न सक्ने क्षमता धेरै थोरैमा मात्र हुने गर्दथ्यो | जसले सम्झिन सक्तथ्यो उसले सहदेवको बुद्धिमानीको आंकलन गर्दथे र जसले बुझ्दैन थे ती सबैले यो सहदेव संधैभरी हरेककुरो अस्पष्ट भनेर भ्रम सिर्जना गर्दछ भन्ने गर्दथे | आजको दिनमापनि सहदेवले लेखेको ग्रन्थहरु व्याधिसंधविमर्दन, अग्निस्त्रोत, शकुन परीक्षा आदि प्राचिन पुस्तकालयहरुमा खोजेको खण्डमा भेट्न सकिन्छ |

महाभारतमा नकुल र सहदेवको जन्म प्रसंग
————————————————

महाभारत आदि पर्व भित्रको ‘सम्भव उपपर्व’ को १२३ औं अध्यायमा नकुल र सहदेवको उत्पत्तिको कथा प्रसंग उल्लेख गरिएको छ | त्यहाँ माद्रीले पाण्डुलाई भनेकी छन – कुन्‍तीले तीनोटा छोरा पाई सकिन , मेरा जेठाजु धृतराष्ट्रका सयभाई छोराहरु जन्मिसके , तर कुरुनन्‍दन ! मेरो कोख रित्ताको रित्तै छ | तिमी संतान उत्‍पन्न गर्ने शक्ति रहित छौ , म तिम्रो यो न्‍यूनता वा दुर्बलताको विषयमा केही भन्न सक्दिन तर म कुन्‍तीको दाँजोमा रहेकी भएपनि संधै कान्छी नै भएर बसे , कहिल्यै दुख मानिन | मेरा जेठाजु धृतराष्ट्र र जेठानी गान्‍धारीको सयभाई छोराहरु हुँदा नि मलाई दु:ख लागेको छैन | तर, मेरो मनको दु:ख म र कुन्‍तीदेवी तिम्रो समान पत्नि भएरपनि उनका सन्तान हुने म चाहीं संतानहीन हुने ? यसमा चाहीं मलाई निकै दुख लागेको छ | सौता भएकी हुँदा मेरो मनमा अभिमान जागेको छ | तिमी मेरो लोग्ने भएको कारणले मेरालागि यस सम्बन्धमा कुन्‍तीलाई अभिप्रेरित गरिदेउ |

त्यसपछि पाण्डुले कुन्तीसंग माद्रीको कुरो गरे | अनि कुन्तिले माद्रीलाई पुत्र प्राप्त गर्न सकिने मन्त्र बताइन र आफुलाई मनले खाएको देउताको चिन्‍तन गर्न सल्लाह दिइन | उनको सल्लाह अनुसार माद्रीले दुवै अश्विनीकुमारहरुको स्‍मरण गर्न पुगिन , यसैका प्रतापले माद्रीका गर्भबाट जमल्याहा छोराहरु नकुल र सहदेवको रुपमा जन्मिए |तिनीहरुको रुपको तुलनायोग्य यो पृथ्‍वीमा त्यतिखेर कोहीपनि थिएन | ती दुई भाई नकुल र सहदेव अश्विनीकुमारहरु भन्दा बढि बुद्धि, रुप र गुणहरुले सम्‍पन्न हुन पुगेका थिए |

द्रौपदीको नजरमा नकुल र सहदेव
————————————–

दुर्योधनकी बहिनी दुशलाकापति जयद्रथ आफु संग व्यभिचार राख्ने उद्द्यश्यले आउँदा द्रौपदीले नकुल’ को वर्णन गर्दै भनिन हेर जयद्र्थ | तिमी कुरू वंशका ज्वाईं हौ , त्यसकारण तिम्रो प्राण हर्न म मेरा पतिहरुलाई भन्न सक्दिन तर तिनीहरुको गुण चाहीं म तिमीलाई बताई दिन्छु | मेरा काइँलापति भगवान श्रीकृष्ण भन्दा सुन्दर छन , हरेक पक्षमा कुशल छन | धर्म , नैतिकता ,चिकित्सा र चौतर्फी ज्ञानका धुरन्धर विद्वान हुन , प्रत्येक डराएकाहरूलाई उसको डर हटाईदिने क्षमता राख्दछन | उनले आर्जन गरेको ज्ञान ज्यादै उच्च कोटीको छ , त्यतिमात्र होइन उनी मेरालागि मात्र होइन ,सारा संसारकैलागि सवभन्दा सुन्दर युवकमा गनिएका छन | कृपाचार्य र द्रोणाचार्य जस्ता गुरुहरूका शिष्य उनी हुन | आफ्ना सबै अग्रजहरुलाई समान रुपमा श्रद्धा गर्ने भएकै कारण उनी सबैका प्यारा रहेका छन | उनको हातको चाल यति हलुङ्गो छ की उनले तरवार चलाउँदा कसैको आँखालेपनि भ्याउन सक्दैन |

सहदेवको वर्णन गर्दै द्रौपदी भन्दछिन उनी कान्छो भएकाले सवैको प्यारा भएका होइनन , वरु शस्त्र अस्त्र ,बुद्धि ,विवेक र चिकित्सा क्षेत्रमा ज्यादै उच्च स्तरीय ज्ञान हासिल गर्न सकेकाले उनी अश्विनी पुत्र कहलिएका हुन | उनी धर्मको विरुद्धमा कहिल्यै जाँदैनन , कुनै काम गर्दैनन् | उनले आर्जन गरेको ज्ञान , वुद्धि , वीरतालाई टक्कर दिन सक्ने मान्छे यो संसारमा अहिले कोही जन्मिएको छ जस्तो लाग्दैन | मैले मात्र होइन , मेरी सासु कुन्तीले आफ्ना यी छोरालाई प्राणभन्दापनि प्यारो ठान्छिन | सँधै क्षेत्रीय धर्मलाई पछ्याएर हिँड्ने सहदेवलाई धर्म र नैतिकताकोलागि आगोलेपनि डढाउन सक्दैन | तसर्थ तिमी यहाँबाट सरक्क आफ्ना घरतिर फर्क |- प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: