आइज निँदरी आइज


 

– निर्मलमणि अधिकारी “आयोदधौम्य”

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो :
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।

सानैमा
बुई चढाएर पिठ्युँमा
मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो
भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज
र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
सुम्सुम्याउँदै मलाई
परीकथा हाल्नुहुन्थ्यो मेरी आमा
जहाँ-
परीहरु हुन्थे
परीकथामा दुःखीहरुपनि हुन्थे
खलचरित्रहरु पनि त हुन्थे परीकथामा
दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप
खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास
र परीहरु आइपुग्थे अचानक –
उनीहरु दुःखीका आँसु पुछिदिन्थे
उनीहरु बदमासहरुलाई दण्ड दिन्थे
उनीहरु खुशी बाँडेर खुशी हुन्थे
र उनीहरु आकाशतिर उड्थे
उनीहरु बस्थे आकाशतिरै; रम्थे आकाशसितै<
उनीहरु आकाशभित्रैबाट आएका थिए र त
स्वयम् आकाश थिए ः
करुणाका/मायाका/दयाका/दैवी-भावनाका
र कथा सुनिरहँदा
म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
मेरी आमा –
मलाई निँदरीको लोरी सुनाउँदै
नीँदपरीको पोल्टामा राख्दै
कल्पिनुहुन्थ्यो एउटा भोली ः
भालेको डाक सँगसँगै ब्युँझनेछ छोरो मेरो
र सखारै/ झिसमिसेमै शुरु गर्नेछ उडान ।

मेरी आमा –
मलाई बुई बोकी
ढिकीको उठानबैठानसँगै/ जाँतोको रिङ्गाइसँगै
सजाउनुहुन्थ्यो एउटा स्वप्न ः
उठ्नेछ छोरो मेरो
उज्यालोको गर्नेछ प्राप्ति ।
मेरी आमा –
परीकथा सुनाएर मलाई
ममा “परी” प्रतिस्थापित हुने स्वप्न सजाउँदै
भन्ने गर्नुहुन्थ्यो अक्सर :
आकाशतिर उड्नेछ छोरो मेरो
आकाशतिर बस्नेछ छोरो मेरो
आकाशभित्रै रम्नेछ छोरो मेरो
आकाशभित्रै हुनेछ छोरो मेरो
र मेरो छोरो स्वयम् हुनेछ आकाश
अनि एउटा आकाश उमार्नेछ ।
मेरी आमाले कल्पेको कल्पना
मेरी आमाले सजेको सपना
मेरी आमाले रटेको रटना
अपशोच !
तर ‘परी’ बन्न सकिनँ म ।

हिजै पर्याप्त सुतिसकेको म
ब्यूँझनु पर्ने अघि नै
ब्यूँझाउनु पर्ने हो एउटा युगलाई
तर म आफैं
उभिएर चोकमा –
हाऽऽई गर्दैछु
आँखा मिच्दैछु
र निँदरी बोलाउँदैछु :
आइज निँदरी आइज … … …
आइज निँदरी आइज … … …


Write A Suggestion

%d bloggers like this: