नेपाली जनता के को आधारमा स्वाभिमानी हुने ? कालापत्थर देखाएर ?


शुसिल गौतम(Sushil Gautam) /फिन्ल्याण्ड—————

औषधि बिज्ञान पढ्दै गरेकी युवतीसंग प्रसङ्गबस कुरा निस्कियो । मैले राजिभ दिक्षितलाई उधृत गरेर आयुर्वेदका तीन शाखा मध्ये एक शस्त्रकर्मको कुरा निकाले र नाकको प्रत्यारोपण आयुर्वेदिक चिकित्सापद्धतिमा पहिले भईसकेको थियो भने । उनले सुन्ने बितिक्कै भनिन – ‘ गफ ‘ । मैले स्वभाविक रुपमा लिएँ र फेरी सोधे – मानिसको टाउकोको प्रत्यारोपण हुन सक्दैन होला र ? कहाँ टाउकोको ट्रान्स्प्लाण्ट हुन्छ, ब्रेन त अत्ति कम्प्लिकेटेड हो नि ! इम्पोसिबल छ ! त्यसपछि मैले इटालीको डाक्टरले रसियाको एक व्यक्तिको टाउको झिकेर अर्को शरीरमा राख्दैछन् यसै बर्षको अन्त्यतिर भने । मेरो स्वरमा कुनै उतार चढाव थिएन । अघिल्लो नाकको प्रत्यारोपणको तहमा थियो । उनी चुप लागिन र भनिन ‘ हो र, मलाई थाहा थिएन ‘

टाउकोको प्रत्यारोपणको कल्पनालाई अघि भर्खर इम्पोसिबल देख्ने औषधि बिज्ञानकी बिधार्थी इटाली र रसियाको नाम सुन्ने बितिक्कै आफ्नो धारणा गलत मात्र मानिनन थप तथ्य तथ्यांक हेर्नु आवश्यक पनि सोचिनन, सरक्क बिश्वास गरिन ।

त्यसपछि फेरी मैले स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ किताबमा उल्लेखित तत्कालिन बैज्ञानिक आश्विनिकुमारहरूले गरेको टाउकोको प्रत्यारोपणको कुरा गरे । जसले उनलाई मज्जाले हँसाईदियो ।

यो मानसिक दासता हो । रसिया र इटालीको नाम सुन्ने बितिक्कै भर्खरै गरेको ‘इम्पोसिबल ‘ कुरा पोसिबल मान्ने । तर भारतबर्षीय चिकित्सापद्धति शस्त्रकर्म अन्तर्गत नाकको प्रत्यारोपणमा बिश्वास नगर्ने । अझ अघि भर्खर आफैलाई ‘इम्पोसिबल’ लागेको टाउकोको प्रत्यारोपण एकातिर डा. सर्जेभ क्यानावेरोको नाम लिंदा पोसिबल लाग्ने, अश्विनिकुमारहरूको नाम लिंदा मज्जैले हाँसिदिने ।

औषधि बिज्ञानमा स्नातकोत्तर गर्दै गरेकी उनी हामी आम नेपाली युवाहरूको मानसिकता दर्शाउने प्रतिनिधि पात्र हुन् ।

डा. निर्मलमणि अधिकारीले एकपटक उठाउनु भएको बिषय यहाँ सान्दर्भिक देखिन्छ – छाला गोरो बनाउने जति नै गुणस्तरिय क्रिम बनाएपनि बिक्दैन, त्यसलाई बिकाउनु अघि गोरो हुनु राम्रो हुनु हो भनेर बिचार लाद्नुपर्छ अनि बल्ल बिक्छ !

कुरा सामान्य देखिन्छ तर गम्भीर महत्वको । पश्चिमी सभ्यतामा बिकसित विचारहरू हामीमा यसरी लादिएको छ कि त्यहाँ बिकास भएको शिक्षा, स्वास्थ्य, संचार, राजनीति, अर्थनीति, कुटनीति – तपाई जे भन्नुस । पश्चिमको उत्कृष्ट मानिन्छ,  बुझे पनि नबुझे  पनि  पूर्वीय चै फिक्का ।

रबिन्द्र मिश्र र बिजय कुमार पाण्डेको अन्तर्वार्ता केहि दिन अघि हेर्ने मौका मिल्यो । रोजगार र अध्ययनको शिलशिलामा बिकसित देश पुगेका नेपालीहरू नेपालमा ‘ केहि होला र फर्कौला ‘ भनेर अन्तिम श्वाससम्म कुर्नेहरू पनि छन् । ति भन्दा पृथक बनेर रबिन्द्र मिश्र  ‘ आफै केहि गर्छु ‘ भनेर सपरिवार बेलायतबाट फर्किनु हामी जस्ता बिदेशिएकाहरूको निम्ति प्रेरणाको श्रोत हो । बिबिसीको पत्रकारको रुपमा भन्दा मेरो सम्मान यसमा ज्यादा छ ।

अन्तर्वार्ता दुवैको जुँगा नभएपनि चलनचल्तीको भाषामा ‘जुँगाको लडाई’ जस्तो देखियो । रबिन्द्र मिश्र साझा पार्टीका संयोजक हुन्, उनको पार्टीले नेपालमा राजनीति गर्ने भएकोले उनको पार्टीले लिएको नीति, सिद्दान्त, अवधारणाको जरो र किलो कहाँ छ ? नेपालमै छ कि अन्यत्रै बाट ल्याएर फेरी लाद्न खोजिएको हो ? सो बुझ्नु जरुरी छ । अन्तर्वार्तामा सबै कुरा न आएको हुँदा आएका बिषयहरूलाई जरोकिलोको प्रतिमानबाट विश्लेषण  हुनु आवश्यक छ ।

राष्ट्रवादी – देशभक्त

” राष्ट्रवाद नभनेर देशभक्ति भन्नुपर्छ भन्ने जमात ठुलो भईसक्यो ! ”  अन्तर्वार्ताको क्रममा मिश्र भन्छन

फरक जाति र भाषा भाषीहरू पृथक पृथक स्थानमा बसेको हाल युरोपको तत्कालिन अवस्थालाई सम्बोधन गर्न ‘राष्ट्रराज्य’ सिद्दान्त प्रयोगमा ल्याईयो जसले कुनै एक जाति, भाषा, धार्मिक सम्प्रदाय, छालाको रंग, अनुहारको प्रकारलाई राष्ट्र (राष्ट्रियताको आधार) मान्यता दिन्छ र सोहि राष्ट्रियतामा टेकेर राज्य निर्माण हुने मान्यता राख्छ । राष्ट्रराज्य सिद्दान्तले जुन जाति, भाषा, छालाको रंग, अनुहारको प्रकार, धार्मिक सम्प्रदाय आदिको कारण स्थापित भएको हो, राज्य त्यसै समूहको पेवा जस्तो बनाईदिन्छ । यस अर्थमा ‘ राष्ट्रवादी ‘ शब्दले कुनै एक जाति, भाषा, छालाको रंग, अनुहारको प्रकार वा कुनै एक धार्मिक सम्प्रदायलाई प्राथमिकता दिएको बुझिने भएको उक्त सिद्दान्त अन्तर्गत स्थापित राज्यमा ‘राष्ट्रवादी’ शब्दलाई नकारात्मक शब्दको रुपमा लिईन्छ । भने पूर्वीय दर्शन बिशेषत: अथर्ववेदले निर्दिष्ट गरेको व्यवस्थामा जन्मैको आधारमा प्राप्त हुने जाति, भाषा, धार्मिक सम्प्रदाय, छालाको रंग, अनुहारको प्रकारलाई राष्ट्रियता मान्दैन, बरु उ जुन देशको नागरिक हो । उसको राष्ट्रियता त्यहि हो । नेपाल जस्तो प्राचिनकाल देखि ‘राज्यराष्ट्र’ सिद्दान्तमा आधारित रहेको राज्यमा ‘राष्ट्रवादी’ शब्दले कुनै एक जाति, भाषा, धार्मिक सम्प्रदाय, छालाको रंगलाई प्राथमिकता दिएको होइन बरु उक्त राज्यलाई प्राथमिकता दिएको हो जसले त्यहाँका सबै जातजाति, भाषाभाषी, धार्मिक सम्प्रदायको संरक्षकको भूमिका निर्वाह गरेको छ ! नेपाली माटोको राज्यराष्ट्र सिद्दान्तले देशभक्ति वा राष्ट्रवादीमा कुनै अन्तर देख्दैन । फरक छ त युरोपेली राष्ट्रराज्य प्रतिमानमा ।  शब्दको तात्पर्य नबुझि ‘पोलिटिकल्लि इनकरेक्ट ‘ भईन्छ भन्दै नेपालमा पनि ‘राष्ट्रवादी’ युरोपेली प्रतिमानको अर्थ दिनु सरासर मानसिक दासता स्वीकार्नु हो कि होइन ?

देश , काल र परिस्थिति अनुसार शब्दको फरक अर्थ हुनसक्छ । युरोपमा जे गरियो त्यसैको नक्कल गर्दै लाद्न खोज्दा नेपालको आजको यो अवस्था भएको हो ।

स्वावलम्बी नेपाली युवा पनि हुन सक्छन युरोपेली युवा पनि हुन सक्छन । कतिपय युरोपेली देशहरूमा अठार बर्ष पुगेपछि बाउ आमाले आर्थिक जिम्मेवारी बहन गर्नु नपर्ने कानुन भएकोले युवायुवती बाउ आमाको घर छोडेर एक्लै अथवा प्रेमिप्रेमीकासंग बस्न अन्तै सर्छन । आफै कमाउँछन् आफै खर्च गर्छन । यदि स्वावलम्बीको परिभाषा यसैलाई बनाउने हो भने बुढेसकालको सहारा बनेर बाउआमा स्यार्दै बसेका नेपाली युवाहरूलाई कि त परजीवी भनिने भए नत्र बाउआमा छोडेर अन्तै बस्न जानुपर्यो । बाउआमाको साथमा रहेर स्वावलम्बी भनिदैन किनभने युरोपमा यस्तै चलन छ ।

धर्म निरपेक्षता – पन्थ निरपेक्षता

‘ धर्म निरपेक्षता ‘ लाई साझा पार्टीले पनि अवलम्बन गरेको छ भनेर सिधै रबिन्द्र मिश्रले भने । पृथ्वी नै ब्रम्हाण्डको केन्द्र हो, सुर्य, चन्द्रमा, ताराहरू पृथ्वीलाई नै केन्द्र बनाएर घुम्छन भन्ने मान्यता राख्ने तत्कालिन क्याथोलिक पादरीहरूको सोच बिपरित ग्यालियो ग्यालेलीले सुर्यको वरिपरि पृथ्वी घुम्छ भनेर पत्ता लगाए । बाइबलको भनाई बिरुद्ध गयो भनेर शक्तिशाली पादरीहरूलाई असह्य भयो । बैज्ञानिक ल्यालिलियोलाई कठघरा उभ्याईयो, माफी माग्न लगाईयो, आफ्नो बैज्ञानिक खोज जीवनकै ठुलो भूल हो भन्न लगाईयो तैपनि नजरबन्दमा राखियो र त्यहि क्रममा उनको मृत्यु भयो । ग्यालिलियो भनेको कुरा सहि थियो भनेर क्याथोलिक चर्चले करिब तीन सय पचास बर्षपछि अर्थात सन् १९९२ मा माफी माग्यो । यो एउटा उदाहरण हो तत्कालिन युरोपेली देशहरूमा चर्चका पादरीहरू कति शक्तिशाली हुन्थे भनेर । इस्लामी सेना (जेहादी) बिरुद्ध इसाई सेना (क्रुसेडर्स) परिचालन कुनै राजा होइन अर्बान-दोस्रो नामको गरेको पादरीले  गरेका थिए । शक्तिशाली तत्कालिन पादरीहरू राज्यसंचालनमा पनि हालीमुहाली गर्थे । समय क्रमसंगै इसाई धर्मसंग सम्बन्धित अधिकार चर्चको पादरीको हुने र राज्य संचालन सम्बन्धि अधिकार राजाको हुने भनेर चर्च र राज्यलाई छुट्ट्याउन सेक्युलारिस्म (पन्थ निरपेक्ष) को बिकास भएको थियो ।

मन्त्रिपरिषदबाट अन्तरिम संबिधानको मस्यौदा पारित गर्दा नभएको धर्म निरपेक्षता घोषणाको क्रममा थपिनु,  तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला तथा पूर्वप्रधानमन्त्री सुशील कोइराला समेत यस बिषयमा अनभिज्ञ रहनुले ‘धर्म निरपेक्षता’ अपारदर्शी ढंगले भित्र्याईएको हो भन्ने कुनै शंका छैन तर पारदर्शीतालाई आफ्नो पार्टीको आधारशिला स्तम्भ मान्ने साझा पार्टीका संयोजकले मिश्रले धर्म निरपेक्षतालाई ‘होलसेल’ मै स्वीकार गरे । एकातिर पारदर्शिता (Transperency ) लाई आफ्नो आधारशिला स्तम्भ मान्ने अर्कोतिर देशमा दुरगामी असर गर्ने त्यो पनि गलत अर्थापन सहितको अपारदर्शी कुरा सहर्ष स्वीकार गर्ने ? यहि हो आधारशिलाको व्यवहारिक प्रयोग ?

चर्चको हालीमुहालीबाट राज्यलाई जोगाउन सुरु भएको युरोपियन सेक्युलारिज्म नेपालमा लाद्नु अघि यहाँ कुन कुन बौद्ध गुम्बाले बालुवाटारमा हालीमुहाली गरेका थिए ? कुन कुन मन्दिरका पुजारीले सिंहदरबार कब्जा गरेका थिए ? पारुहांग र सुम्निमाको कुन कुन अनुयायीले शितल निवास कब्जा गरेका थिए ? यसको लेखाजोखा भयो ? युरोपमा सुरु भएको भनेपछि जे पनि लादिहाल्ने, त्यसको लागि आफ्नो आधारशिला स्तम्भ नै बिर्सिनु मानसिक दासता हो कि होइन ?

डा. काले राई (स्वामी प्रपन्नाचार्य ) को भनाई अनुसार संस्कृत भाषा सर्वाप्राचिन भाषा हो । (हे.वेदमा के छ ?) यसैको “धृ धातुबाट धर्म शब्द निष्पन्न भएको थियो जसको अर्थ ‘ धारणा गर्नु ‘ भन्ने हुन्छ । जीवनलाई पतन हुनबाट जोगाउन धर्मज्ञानको धेरै भाग नैतिक-चारित्रिक शिक्षायुक्त छ ” डा. निर्मलमणि अधिकारीको यस भनाईमा प्रस्तोता बिजयकुमारले पाली भाषालाई उधृत गरेको धर्मको अर्थ ‘नियम’ संग निकट सम्बन्ध देखिन्छ । रेलिजन अथवा मजहब भन्नाले केवल ‘सम्प्रदाय ‘ लाई बुझिन्छ । अंग्रेजी रेलिजन शब्दको अर्थ धर्म हुनैसक्दैन । (हे.वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त बिज्ञान)

मनुस्मृतिमा बताईएको धर्मका लक्षणहरू धैर्य, क्षमा, दम (बिषय वासना हटाउनु), अस्तेय, शौच (स्वच्छता), इन्द्रियानिग्रह (इन्द्रिय नियन्त्रण), धी(बुद्धि), बिद्द्या, सत्य र अक्रोध गरी दश वटा छन् । उपरोक्त गुण हुनुभनेको धार्मिक हुनु हो । राज्यले जनतालाई उपरोक्त गुणले परिपूर्ण गराउन प्रेरित गर्ने कि निरपेक्ष रहने ?  बौद्ध दर्शनले पंचशीलको शिक्षा अहिंसा, अस्तेय (चोरी) नगर्नु, व्यभिचार नगर्नु, सत्य र शुद्धता देखि रबिन्द्र मिश्र लगायतका नेताहरूलाई के आपत्ति आईलाग्यो कि राज्यलाई यी बाट निरपेक्ष राख्न खोजियो ?

युरोपमा सुरु भएको भनेपछि लादिहाल्ने ? जाँड खाएर दु:ख दिएको श्रीमानलाई पो सुधार्न रिह्याब राख्ने, सुध्रिन्छ रे भनेर जाँडै नछुने श्रीमानलाई पनि रिह्याबमा कोचिदिने ?

नेपाल पूर्वीय दर्शनको केन्द्र र भारतवर्षको अविछिन्न उत्तराधिकारी हो । वेदव्यास (कृष्णद्वैपायन) ले मानव सभ्यताको पहिलो ग्रन्थ वेद तनहुँको तिनाउ नदीको गुफामा बसेर लेखिएको (संकलन) गरिएको थियो जसलाई अहिले पनि ब्यास गुफा नामले चिनिन्छ । उनको जन्म र कर्मथलो दुवै नेपालमै छ । गौतम बुद्धको जन्मथलो नेपालमै छ । पहिले तिब्बतलाई उत्पति थलो मानिएको बोन सम्प्रदायको उत्पति थलो नेपाल नै रहेको देखिन आएको छ । नेपालमण्डलको शाषकहरूमा किरातको नाम लामो समय रहेको थियो । राजर्षी जनक र सीताको भुमि जनकपुर नेपालमै छ । राज्यले गैंडाको संरक्षण तदारुकता देखाउनु पर्ने तर यी धार्मिक-संस्कृतिक सम्पदाप्रति उदासिन राखिनुपर्ने ? नेपालका मौलिक दर्शनप्रति उदासिन रहने तर आफ्नो कार्यालय मौलिक शैलीमा बनाईएको भनेर झ्याली पिटाउने साझा पार्टीको संयोजकको ‘चरित्र’ चै कसरी अन्य दलका नेताहरू भन्दा पृथक देखियो  र उनले अन्यलाई नेतालाई आरोप लगाए ? ?

एउटा कथा छ – एकदिन दुईवटा बिरालोले रोटी फेला पारेछन । एक अर्काप्रति बिश्वास नभएपछि बराबर भाग लगाउन बाँदरको मद्दत माग्न पुगेछन । बाँदरले बराबर गर्न तराजुको दुवै भागमा राखेछ र जुनमा बढी हुन्थ्यो त्यसको झिकेर खान थालेछ । यसो गर्दा गर्दै रोटी सकिएछ । दुई बिरालो हेरेको हेर्यई भएछन ।

नेपालका मौलिक रैथाने धार्मिक सम्प्रदायहरू मध्ये कसैको पनि नहुने भनेर जुन युरोपियन ‘धर्म निरपेक्षता’ लादिएको छ । कालान्तरमा बिदेशी प्रायोजित एनजीओ आईएनजीओले साम दाम दण्ड भेद लगाएर क्रमश: विधर्मी बनाउँदै लगिरहेका छन् । समयमै ‘धर्म निरपेक्षता’ लाई नत्याग्ने हो भने बाँदरले बराबर गराउने बहानामा एकपछि अर्को रोटी खाए जस्तै हिन्दु, बौद्ध, जैन, किरात, बोन धर्मावलम्बीहरू विधर्मी बनाईने छ । त्यसपछि सिर्जित द्वन्द थेग्न जति नै मौलिक शैलीको कार्यालय बनाएपनि सकिनेछैन ।

 

 

सेन्टर लेफ्टमा परोपकारको लेप

सन् २०१७ को सुरुवात सम्म नेपालमा १६४ वटा राजनीतिक दलहरू दर्ता भएका रहेछन । त्यस मध्ये केहि राइट विङ्ग (पुँजीवादी)  छन् भने बाँकी अधिकांस लेफ्ट (कम्युनिस्ट)  र दुवैको घालमेल भएको विचार बोकेर हिंडेका छन् । अलि अलि लेफ्ट अलि अलि राइटको बिचार बोकेर साझा पार्टी पनि त्यहि लाइनमा उभिन आईपुगेको छ । सन् १७८९ को क्रान्ति पश्चात गठन भएको सभामा राष्ट्रपतिको दायाँ बस्ने कि बायाँ बस्ने भनेर नामाकरण भएको रहेछ राईट-लेफ्ट ! त्यसपछि जर्मनीका कोरा पदार्थवादी विचारक कार्ल मार्क्सको उदयपछि व्यक्ति नै सर्वेसर्वा ठानिने ‘पुँजीवाद’ र राज्य नै सर्वेसर्वा ठानिने ‘साम्यवाद’ का बिशेषताहरू भरियो राइट-लेफ्ट शब्दमा । के सरोकार छ नेपाली समाज र यहाँको धार्मिक/सांस्कृतिक चरित्रसंग फ्रेन्चहरूको कुर्सि रोजाई, यहुदी दर्शनमा हुर्केका जर्मन कार्ल मार्क्स र रसियाका लेनिनको ?

वि.स २००७ साल अघिको अवस्थालाई राणा शासन जिम्मेवार ठहर्याईयो तर त्यसपछि खुलेका अधिकांस राजनीतिक दलहरू जर्मनी, फ्रान्स, रसिया,चीन र भारतबाट भित्र्याईएका ‘ जंक आईडोलोजि ‘ बोकेर नेपालमा राजनीति गरिरहेका छन् । बिपी कोइराला भारतमै लागु हुन नसकेको प्रजातान्त्रिक समाजवाद (Center Left) नेपालमा लागु गर्न भारतबाट फर्के । केहि बर्ष अगाडी चिनियाँ माओवाद (Extreme Left) नेपालमा लागु गर्नुपर्छ भन्दै बाबुराम भट्टराई र प्रचण्डहरू भारतबाट फर्के । अहिले रबिन्द्र मिश्र स्केण्डिनेभिया जस्तो बनाउनु पर्छ भन्दै Center Left बोकेर नेपालमा लागु गर्नुपर्छ भन्दै बेलायतबाट फर्किएको देखियो ।

के सरोकार छ ‘अर्थ’ सर्वेसर्वा ठान्ने व्यक्ति केन्द्रित पुँजीवाद र सत्ता केन्द्रित कम्युनिस्मको नेपाली समाजसंग ? जब जब चुनाव आउँछ नेपाली जनतालाई सोधिन्छ – यो देश जर्मनीको सिद्दान्तबाट शासन भएको हेर्न चाहन्छौ कि रसियाको कि चीनको ? चुनाव सकिए लगत्तैको उथलपुथल त हामी सामु स्पष्टै छ ।

स्थानिय चुनावताका अघि जनतामाथि आरोप थोपर्न अघि सारिएको उदाहरण अलि मिलेन । जनताले दश पटक मेनु पढेर म:म चाउमिन नै मगाएको होइन । मेनुमा कि इटालीमा बनेको पुंजीवाद नामको पिज्जा कि जर्मनीमा बनेको मार्क्सवाद नामको बर्गर त कि तिनको ठिमाहा मात्रै छन । भुटेको मकै भटमास त राखिएकै छैन । जुन छाने पनि पिज्जा बर्गर मात्रै हो ।  चाहे त्यो साझा पार्टी ब्राण्डको होस वा नेपाली कांग्रेस ब्राण्डको  दुवै पिज्जा र बर्गरका ठिमाहा हुन् ।

नेपालको आजको अवस्थाको जिम्मेवार ति आयातित विचार होइन बरु हाम्रै नेताहरूको चरित्र हो भन्ने बुझाई रबिन्द्र मिश्रको रहेको देखियो । फरक धार्मिक / सांस्कृतिक अवस्थाको उपज ति विचारहरू नेपाल जस्तो बिल्कुलै फरक धार्मिक/ सांस्कृतिक र सामाजिक चरित्र भएको देशमा लाद्न खोज्नु नै आजको राजनीतिक बिचलनको कारण हो भन्ने चेत रहेको देखिएन ।

नेपालमा ‘ फोहोर फ्याँक्न मनाही छ ‘ भनेर लेख्दैमा फाल्न रोकिदैन बरु त्यहाँ एउटा ढुंगामा अबिर र अक्षता दलेर राख्दा फोहोर फाल्न रोकिन्छ । बनजंगल धेरै भयो भने अक्सिजन बढ्छ कार्बनडाईअक्साईड कम गर्छ,  विश्व तापमान  नबढोस भन्ने चेतले होइन बरु बन देवताले सराप्छ भनेर फडानी गर्न हिच्किचाउने छन् ।  नेपाली समाजमा धार्मिक भावना यो साना उदाहरण मात्रै हुन् ।  भन्न खोजिएको कुरा त एकै हो फोहोर नफ़ाल्नु, बन फडानी नगर्नु तर समाजले कुन तरिकाले सहजै ग्रहण गर्छ त्यसमा ध्यान नदिई यस्तो समाजमा कोरा पदार्थवादी राजनीतिक चिन्तन लाद्ने अनि त्यहि बिचार सापेक्ष चरित्र भएन भनेर नेतालाई आरोप लगाउनु अज्ञानता होइन ?

पृथ्वीलाई ‘धर्ति माता ‘ भन्ने सांस्कृतिक धरातल भएको समाजमा ‘पृथ्वी प्रभुले भोग गर्न दिएको हो ‘ भन्ने समाजको बिचार लाद्न खोज्नु नै अहिलेको नेपालको अवस्थाको जिम्मेवार हो । आमाको दुध खान्छौ तर आमा खादैनौ । दिगो बिकासको अवधारणा नेपाली मौलिक धार्मिक सम्प्रदायमा गाडिएको छ भने पृथ्वीलाई भोग गर्न दिएको हो भन्ने विचारले भोग गर्दा गर्दा आजको ग्लोबल वार्मिंग र क्लाईमेट चेन्जको समस्या आएको हो ।

 

पाप – धर्म

४२ औं मिनेटमा मिश्रले गज्जबको बिषय उठाएका छन् । ” मैले धेरै यस्ता बुढा बुढी भेटेको छु जसले पाप-धर्ममा बिश्वास गर्छन नराम्रो काम गर्नु हुन्न है भन्छन ” हाम्रो सामाजिक र सांस्कृतिक चरित्र पृथक छ भनेर कार्यक्रमको अन्त तिर स्वीकारेको देखियो । प्रहरीको डरले नचोरेको होइन बरु चोर्न हुदैन भनेर धर्मले दिएको विवेकको कारण नचोर्नेको संख्या धेरै छ नेपालमा । यो मर्मलाई त राज्यले संरक्षण र प्रवर्धन गर्नुपर्ने थियो । भ्रष्टाचार अधार्मिक कार्य हो ढिलो चांडो यसको नराम्रो प्रतिफल आउँछ आउँछ भनेर शिक्षा दिने हो भने न राज्यले प्रत्येक व्यक्तिको निगरानी गरिरहन पर्थ्यो न मिश्र आफैले भ्रष्टाचारीलाई किरा परोस भनेर टिसर्ट छाप्न पर्थ्यो ।

साझा पार्टीको संयोजकको हैसियतमा धर्मप्रति निरपेक्ष रहने अर्थात पापको अपेक्षा गर्ने व्यवस्था संबिधानमा स्वीकार गर्ने अनि समाजमा पाप-धर्मको कारण नराम्रो काम नगर्ने धेरै भेटेको छु भन्नुको के अर्थ ?

” स्वाभिमान भएन भने कहिले पूर्वीयले खेलाउँछ कहिले पश्चिमाले खेलाउँछ ” नेपाल आफै पूर्वीय दर्शनको केन्द्र र भारतवर्षको अविछिन्न उत्तराधिकारी हो । राजनीति जस्तो देशको शिक्षा, स्वास्थ्य, रोजगार, अर्थतन्त्र, शासन प्रणाली लगायत हरेक तह र तप्कामा एक साथ असर गर्ने कुरामा पश्चिमी सेन्टर लेफ्ट ल्याउने, पाप-धर्मको ख्याल गर्दा समाजमा भ्रष्टाचार, चोरी, डकैति जस्ता अपराधमा कमि हुन्छ भन्ने थाहा हुँदा हुँदै युरोपियनले दिएको धर्म निरपेक्षता स्वीकार गर्ने अनि नेपाली जनता स्वाभिमान नभएको कारण बिकास नभएको हो भनेर कुर्लिनु अलि विरोधाभासपूर्ण भएन ?

भौतिक बिकास मात्रै बिकास होइन । मानिसको जीबनको भौतिक, मानसिक र आध्यात्मिक पक्षलाई बिकास गराउन नेपालको मौलिक दर्शन सक्षम छन् तर हरेक कुरामा पश्चिम फर्किने मानसिकताले नेपालको आजको अवस्था भएको हो । जब सम्म नेपालको शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, राजनीति, जस्ता अवयवहरू नेपालको

 

मौलिक रैथाने दर्शनको आधारमा हुँदैन, नेपाली जनता के को आधारमा स्वाभिमानी हुने ? कालापत्थर देखाएर ?


Write A Suggestion

%d bloggers like this: