नेपाल के हुन्छ है?


Kanakdhara Swami Swadeshanand —-

(शार्दूलविक्रीडित छन्द)

ट्याटू अङ्कित हात पाउभरि नै आश्चर्य लाग्नेगरी
कस्तो अद्भुत रूप निर्मित गर्‍यौ नेपालकी सुन्दरी।
आफ्ना बक्ष नितम्ब दर्शित हुने लाई लुगा हिँड्दछ्यौ,
चौबन्दी फरिया चुरा मखमली चोलीहरू भुल्दछ्यौ।

छोराका सब वस्त्र छन् वदनमा थोत्रा र च्याङ्लासरि
पाएनौ कि नयाँ बजारभरि नै हिँड्छ्यौ जड्यौरा भिरी।
फाटेका कपड़ा अतीव महँगा सस्ता कि सग्लाहरू
सग्ला वस्त्र असभ्य भिर्छ अहिले थोत्रा भलाद्मीहरू।

च्यातेका कपड़ा भिरी वदनमा डुल्छन् युवा देशमा,
माती दङ्दङ छन् युवा मुखहरू चढ्नेभए मञ्चमा।
गाइन् कोकिल कण्ठकी सुर लता कैलै नमातीकन,
माती सन्तति टुन्न भैकन यहाँ मेरा गए गाउन।

कस्तो संस्कृति यो हिमाल मनिको नेपालमा फैलियो,
वेश्यावृत्ति तथा दुराचरणले यो देश नाङ्गो भयो।
राम्रो काम कुरा युवा र युवती गर्दै नगर्ने भए,
आफ्नै सन्ततिबाट थुर्थुर हुँदै आमा र बाबा रहे।

हाँक्छन् बाइकमा चढीकन युवा बिर्सेर माया दया,
बा-आमाप्रति सम्झना यदि भए पालिन्छ रे सभ्यता।
आफैंमाथि दया र प्यार ममता केही नराखीकन,
मेरा सन्तति डुल्दछन् शहरमा उन्माद बोकीकन।

खैनी खान धुवाँ छ पान मुखमा जर्दा लगाईकन,
थुक्छन् प्याच्च जतातता शहरमा दुर्गन्ध पारीकन।
आमा बाबु र पुत्र पौत्र तनया जम्मै नशामा परे,
लागू औषधमा युवा र युवती को गर्छ रक्षा अरे!

यस्तै हाल रह्यो भने मुलुकको सन्तान मासिन्छ है।
अर्कै जाति भरिन्छ देशभरि नै आफ्नो त पाइन्न है!
अर्का जाति समूह सज्जन भई यो देश हाँक्नेभए।
आफ्नाको अनुहार सम्म नहुँदा नेपाल के हुन्छ है?
………………….. ….. …………….
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
मितिः 19 जुलाई २०१७
समयः दिउँसो १४ बजेर ४५ मिनेट जाँदा
स्थानः सिलगढ़ी, हाल बंगाल, भारत


Write A Suggestion

%d bloggers like this: