संस्कार ल्याऊ तिमी…… (शार्दूलविक्रीडित छन्द)


 

… ……………. .. ……. ….

जम्मै अङ्गहरू प्रदर्शित हुने छोटा लुगा लाउँदै,
रक्सी जाँड धुवाँ पिई शहरमा उन्माद फैलाउँदै,
खैनी हात दुबै बजाइरहँदै माड्नेगरेकी तिमी,
नेपाली युवती! बजारभरि नै निर्लज्ज घुम्छ्यौ तिमी।

ज्वाई चाहिँ विदेशको मुलुकमा खट्छन् नखाईकन,
सुत्दैनन् बिचरा गरेर घरको माया तथा सम्झना।
यो जम्मै उनको परिश्रम तथा सम्पत्ति मासीकन,
नाठाका सँग इत्रिँदै शहरमा डुल्नेगरेकी किन?

आफ्नै सन्ततिको सुसार नगरी केटाहरूका सङ,
घुम्दा इज्जत नाश हुन्छ निजको बुझ्दैन तिम्रो मन।
आफ्नै त्यो ससुराल माइतहरू बर्बाद पारीकन,
माती टुन्न बजार हाटभरि नै डुल्नेभएकी किन?

कस्तो विकृति यो समाजभरि नै फैलेर आयो अति,
छोरी जातहरू पिएर मदिरा बौली हिँडेका कति?
आमा बाबु दुबै पिएर मदिरा मातेर हिँड्नेभए,
के संस्कार दियौ र सन्ततिहरू हुर्केर कस्ता भए?

रक्सी मासु जतातता शहरमा झन् गाउँ बस्तीतिर,
मात्रै गान र नाचभो मुलुकको चिन्ता कुनै गर्छ र?
दाज्यूका सङमा दिदी र बहिनी मात्नेभईन् भाउजू,
माते भानिज ती बिहान घरमा मात्छिन् कतै माइजू।

ज्वाईंको थर बद्लिँदै मुलुकका मातेर छोरीहरू,
घुम्छन् हाट,बजार गाउँ घरमा नेपाल धान्नेहरू।
नारी नै अति लाजहीन बनिए त्यो देश सुध्रन्न है।
नारीकै अनुहारमा मुलुकको नक्शा हुनेगर्छ है।

नारीमाथि विभिन्न लाञ्छनहरू थोपेर हिँड्नेहरू,
नारी वस्तु समानझैं शहरमा बेच्ने र किन्नेहरू।
थुप्रै होटलमा लगेर तरुनी नाच्ने तथा गाउने,
गर्ने मानिस हुन् हिमाल मनिको सर्वस्व हर्नेहरू।

रक्सी पस्किन मस्त छन् मुलुकका थुप्रै जनानाहरू,
यस्तै काम गरी हिमाल तनया निर्लज्ज पार्नेहरू।
नेपाली युवती! चरित्रपथमा लागेर गर्जे तिमी।
बोकी राष्ट्रिय स्वाभिमान सबमा संस्कार ल्याऊ तिमी।
क्रमश…..
………………….. ….. …………….
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
मितिः १८ जुलाई २०१७
समयः दिउँसो ११ बजेर ४५ मिनेट जाँदा
स्थानः सिलगढ़ी, हाल बंगाल, भारत

………… ….. …. …

आदरणीय पाठकवृन्द! यो जम्मैलाई भनिएको हैन। एक दिन एक जना कविले मेरो एउटा कवितालाई लिएर ममाथि कविता कोर्नुभएछ जस्मा भनिएको थियो कि तैंले सबै नेपालीलाई गाली गरिस् भनेर। कनकधाराको होस् छउन्जेल कनकधारा नेपालीलाई गाली गर्दैन। कनकधाराको नियत नेपालीलाई गाली गर्नु हैन। नेपालीले विश्वमा त्यस्तो के अपराध गरेको छ र उस्लाई गाली गर्नुपरोस्? कनकधारा नेपालीको स्वाभिमान र चरित्र चाहन्छ। कनकधारा कुनै नेपाली समुदायको दुःश्मन मातेको देख्यो भने भित्रभित्रै खुशी हु्न्छ तर हाम्रो जातिसमूह र हाम्रा छोरी चेली मातेर परचक्रीहरूलाई ज्वाईं बनाएको कनकधारालाई कत्ति मन पर्दैन। यहाँ कवितामा मैले सबै छोरी-चेलीलाई केही भनेको छैन तर हाम्रो समाज कुन दिशातिर जाँदैछ भन्ने कुरा कतिपय परदेश गएका ज्वाईं, छोरा र त्यस घरका आमा बुबालाई त थाहै होला भन्दै र यस्ता विषयमा किन कलम चलाउँदैनस् भनीकन घच्घच्याउने आदरणीय अग्रज कवि होम सुवेदीप्रति आभार प्रकट गर्दै यो कविता प्रस्तुत गर्दछ कनकधारा ।


Write A Suggestion

%d bloggers like this: