बौद्ध परम्परा अनुसार मैत्री र करुणा


टीका शेर्पा___________________

मैत्रीको भावना

हामीले हाम्रो समाजमा शान्ति, सद्भाव र अमनचयन बनाइ राख्न धर्मको नियम पालन गर्नु जरुरी हुन्छ । धर्म भनेको कुनै असल गुण वा अरुको हित हुने गुण धारण गर्नु हो । यसै प्रसंगमा सनातन हिन्दु धर्म र बौद्ध धर्ममा यस्ता अनेकन गुणहरुको बारे वर्णन गरिएको भएता पनि यहाँ महायानी बौद्ध परम्परा अनुसार मैत्री र करुणाको भावना बारे चर्चा गरिनेछ ।

बोधिचित्त उत्पन्न गर्नको निम्ति सबैभन्दा पहिला हामीलाई मैत्रीको आवश्यक पर्दछ। मैत्री तीन प्रकारका हुन्छन् । १) सत्वआलम्बिनी मैत्री, २) धर्मआलम्बिनी मैत्री र ३) अनालम्बिनी मैत्री । मैत्रीको विषयमा अक्षयमतिपरिपृच्छासूत्रमा यस्तो उल्लेख गरिएको छ, “भर्खर बोधिचित्त उत्पाद गरिएको बोधिसत्वहरुमा सत्वआलम्बिनी मैत्री हुन्छ, चर्यामा लागेका बोधिसत्वहरुमा धर्मआलम्बिनी मैत्री हुन्छ र अनुत्पत्तिकधर्मक्षान्ति बोध गरिसकेको बोधिसत्वहरुमा अनालम्बिनी मैत्री हुन्छ ।” मैत्रीको विषय के हो त भन्दा सम्पूर्ण सत्व प्राणीहरु हुन् भने मैत्रीको आकार सबै आमारुपी सत्व प्राणीहरु सुखी होऊन् भन्ने कामना गर्नु हो ।

मैत्रीको भावना कसरी गरिन्छ त भन्दा आमारुपी सम्पूर्ण सत्व प्राणीहरुको उपकारलाई बारम्बार सम्झिनु हो। किनकि मैत्रीको मूल जरा नै त्यसैमा अडिएको हुन्छ । धेरै पर सोच्न नसके तापनि यस जुनीको आफ्नो आमालाई सम्झन सके मैत्रीको भावना गर्न सजिलो हुन्छ । यस जुनीमा हामीलाई धेरै उपकार गर्नुहुने आफ्नी आमा नै हुन्। त्यो कसरी त भन्दा आफू चिसोमा सुतेर पनि बच्चालाई सुख्खा ओछ्यानमा सुताउनु हुन्छ, आफू भोकै बसेर पनि बच्चाको भोक प्यासमा दिन, महिना र वर्ष गुजार्नु हुन्छ । त्यति मात्र कहाँ हो र, मुखबाट निल्न लागेको मीठो खानालाई पनि निकालेर बच्चालाई खुवाइदिनु हुन्छ । बिरामी हुँदा धामी, झाँक्री र अस्पताल धाउन अलिकति पनि अप्ठ्यारो मान्दैनन्। संसारको सबैभन्दा असल व्यक्ति र ठूलो व्यक्ति बनाउँछु भन्ने सपनाको महल बनाउँदै अनेक प्रकारको दुःख, कष्ट झेल्न पछि पर्नु हुन्न । नौ महिनासम्म पेटमा बोकेर हिँड्दा आमालाई हिँड्न, बस्न र डुल्न गाह्रो हुन्छ । विस्तारै–विस्तारै जब जन्मने बेला आउँछ तब प्रसुती पीडाले एकपल्ट जीवन र मृत्युको दोसाँधमा पल्टिएर चित्कार र क्रन्दन गरिरहँदा भाग्यवश उनी यमदूतका हातबाट फुत्केर फेरि एकपल्ट नव जीवन प्राप्त गर्नुहुन्छ ।

बच्चा जन्मिसकेपछि असह्य पीडा र आफू मृत्युको मुखबाट उम्केको कुरा चटक्कै बिर्सनु हुन्छ र तुरुन्त आफ्नो नवजात शिशुलाई हातमा लिएर खुसी हुँदै सबै दुःखहरुलाई लुकाउनु हुन्छ । त्यस्ती ममतामयी आमालाई हामीले कहिल्यै बिर्सनु हुँदैन । तर अचेल प्रायः जसो बच्चाहरुले हुँर्कदै गएपछि युवा अवस्थामा पुग्दा आफू यत्तिकै विना कारण अनायस ठूलो भएको हुँ भनी सोची अपार अनुग्रह गर्ने दयामायाको खानी ती आमाबाबुलाई उल्टो अटेर गरी अनेक गाली गलौच गर्ने गरेको हाम्रो वरिपरिको घट्नाक्रमले स्पष्ट पार्दछ। यसबाट हामीले के बुझ्नु पर्दछ त भन्दा हामीलाई बामे सर्नेदेखि लिएर टुकुटुकु हिँड्न, बोल्न, टोल्न, खेल्न र पढ्न सिकाउनुहुनेआफ्ना आमाबाबुलाई यो संसारको सबैभन्दा उच्च दर्जा दिनु पर्दछ । उनीहरुको उपकारलाई बारम्बार सम्झनु पर्दछ । आमाबाबुको आशीर्वाद लाग्ने भएको कारण श्राप पनि लाग्न सक्ने भएकोले भुलेर पनि उनीहरुको चित्त दुखाउने काम गर्नु हुँदैन ।

लालन–पालन र अनेकन दुःख, कष्ट खपेर जीवन प्रदान गर्नुहुने आफ्नी आमालाई सदैव स्मरण गर्नु पर्दछ । यस विषयमा अष्टसाहस्रिका प्रज्ञापारमिता मा भगवान् बुद्धले यसरी आज्ञा गर्नु भएको छ, “त्यस्तो किन त भन्दा हाम्री आमाले हामीलाई जन्म दिएर हुर्काउनुभयो, हाम्रा लागि अनेक प्रकारका दुःख, कष्ट झेल्नुभयो र हामीलाई यो संसार देखाउनुभयो ।”

यसरी मैत्रीको भावना प्रवल नहोऊन्जेलसम्म यी कुराहरुलाई स्मरण गरिरहनु पर्दछ। जबसम्म आँखा आँसुले भर्दछ, शरीरका रौंहरु उठ्छन् तब हामीले हाम्रो मनमा महामैत्री उत्पन्न भएको रहेछ भनी बुझ्नु पर्दछ । महामैत्रीले भरिएको चित्त सबै सत्व प्राणीहरुको लागि सर्वोत्तम हितकारी हुने भएकोले त्यो अप्रमाण हुन्छ । मैत्रीको अभ्यास गरेर हामीलाई प्राप्त हुने पुण्यलाई नापेर नाप्न सकिँदैन । यस विषयमा चन्द्रप्रदीपसूत्र मा भगवान् बुद्ध यसरी आज्ञा गर्नुहुन्छ, “विविध एवं अपरिमित पूजा सामग्रीले कोटि–कोटि बुद्ध क्षेत्रहरुलाई व्याप्त पार्दै उसले बुद्धको पूजा गरे तापनि त्यत्तिको पुण्य प्राप्त हुन्न जति मैत्री धारण गरेमा प्राप्त हुन्छ ।” मैत्री अभ्यास गरेमा बोधि मार्गमा पुग्नु अगावै हामीलाई आठवटा लाभहरु प्राप्त हुन्छन् । जसको व्याख्या रत्नावलीमा यसरी गरिएको छ, “देव र मनुष्यहरुको प्रिय हुनु, देव र मनुष्यहरुबाट संरक्षित हुनु, शान्त चित्त र अरु अनेक सुख प्राप्त हुनु, विष वा हतियारले हामीलाई सजिलै छुन्न, परिश्रम नै नगरी हाम्रो आफ्नो लक्ष्य हासिल हुनेछन् र त्यसैगरी ब्रह्मलोकमा हाम्रो जन्म हुनेछ । परम् मोक्ष प्राप्त नभए तापनि मैत्रीधर्मका यी आठ लाभहरु भने हामीले अवश्य प्राप्त गर्नेछौं ।”

 

करुणाको भावना चिन्तन

मैत्रीको भावनामा पारङ्गत भइसकेपछि करुणाको अभ्यास गर्न त्यति कठिन हुँदैन। करुणा तीन प्रकारका हुन्छन् । १) सत्वआलम्बिनी करुणा, २) धर्म आलम्बिनी करुणा र ३) अनालम्बिनी करुणा । सत्व आलम्बिनी करुणाको अर्थ दुर्गतिमा फसिरहेका सत्व प्राणीहरुको दुःखलाई देखेर मनमा करुणा अर्थात् दयामाया उत्पन्न हुनु हो । दोस्रो, धर्म आलम्बिनी करुणाको अर्थ के हो त भन्दा जब हामीले चार आर्य सत्यको अभ्यास गरेर हेतु र फल बीचको सम्बन्धलाई प्रष्ट बुझ्छौं, त्यसबेला हाम्रो मन नित्य एवं पिण्डग्राहबाट विमुख हुन्छ।

त्यसरी त्यस सोचको प्रगति हुँदै गएमा करुणाको उत्पत्ति हुन्छ । बिचरा सत्व प्राणीहरु हेतु र फल बीचको सम्बन्धप्रति अनभिज्ञ भई नित्य र पिण्डमा टाँसिएर अनेक दुःख भोग्दै भ्रममा बाँचिरहेका छन् भनी सम्झने गर्नु पर्दछ। तेस्रो, अनालम्बिनी करुणाको अर्थ के हो त भन्दा जब विकल्प रहित समाधिबाट सबै धर्मको शून्यता बोध हुन्छ, त्यसबेला संवृति सत्य वा ‘भाव’ लाई ग्रहण वा ग्राह गर्ने सत्वप्राणीहरुप्रति विशेष किसिमको करुणा जागृत हुन्छ । यस विषयमा यस्तो उल्लेख पाइन्छ । जब समाधिमा लीन बोधिसत्वको समाधिबल पूर्णतामा पुग्छ, तब उनमा भावग्राहले ग्रसित सत्वप्राणीहरुप्रति विशेष प्रकारले करुणा जागृत हुन्छ भनिएको छ ।

करुणाको आलम्वन विषय सबै सत्व प्राणीहरु नै हुन्। करुणाको आकार समस्त प्राणीहरुलाई दुःख र दुःखको हेतुबाट मुक्त गर्ने इच्छा वा संकल्प गर्नु हो । करुणाको भावना गर्दा कसरी गर्ने त भन्दा मैत्री भावना गरे अनुरुप नै भावना गर्दा सजिलो पर्दछ। जसरी आफ्नी आमा अनेक दुःखले ग्रसित हुन्छन् र खप्नै नसक्ने पीडाले छट्पटाइरहेको बेला हाम्रो मनमा अवश्य नै अगाध करुणा उत्पन्न हुन्छ।

यसरी नै नरकमा पतन भई अनेक प्रकारका दुःख भोगिरहेका प्राणीहरु पनि पहिलेका जुनीमा आमाबुबा बनी सकेकाले उनीहरु आफ्नो  कु–कर्मको फलस्वरुप नरकमा पतन भई अनन्त दुःख भोगिरहेका छन् । ती आमारुपी प्राणीहरुलाई तत्कालै तार्न नसके तापनि करुणाको भावना मार्फत आमारुपी सत्व सबै नरकवासी प्राणीहरु दुःख र दुःखको हेतुबाट मुक्त होस् भनी संकल्प गर्दै करुणाको अभ्यास गर्नु हो । करुणा अभ्यासको पूर्णता कहिले हुन्छ त भन्दा जब हामीले आफ्नो  स्वार्थपरायणताको पासोलाई छिनाल्छौं र जब हाम्रो मनमा प्राणी मात्रलाई दुःखबाट मुक्त पार्ने वाकशून्य अभिलाषा उत्पन्न हुन्छ, त्यतिबेला करुणाको पूर्णता हुन्छ भनी थाहा पाउनु पर्छ ।

करुणा अभ्यास गर्दा यसको गुण अपरिमित हुन्छ भनी हामीले बुझ्नु पर्दछ । जस्तो अवलोकितेश्वरअवदानमा यसरी उल्लेख गरिएको छ, “एउटा त्यस्तो गुण प्राप्त भएमा बुद्धका सबै गुणहरु हाम्रो हत्केलामा स्वतः आए सरह हुन्छन्। त्यो कस्तो गुण हो त भन्दा त्यो गुण महाकरुणा हुन् ।”

त्यसैले हामीले के बुझ्नु पर्छ त भन्दा सबै बुद्धहरुको गुण करुणाको अभ्यासबाट नै प्राप्त हुने रहेछ भनी बुझी बारम्बार करुणाको अभ्यास गर्नु अत्यन्त कल्याणकारी हुन्छ। यस विषयमा धर्मसंगीतिसूत्र मा भगवान् बुद्ध भन्नु हुन्छ, “हे भगवान् यस्तै हो। जहाँ चक्रवर्ती राजाको धर्मचक्र रहन्छ त्यहाँ उनका सारा सेनागण पनि रहन्छन् । हे भगवान्, यस्तै प्रकारले जहाँ कुनै बोधिसत्वका महाकरुणा रहन्छ, त्यहाँ सबै बुद्धहरुका गुणहरु पनि समाहित हुन्छन् ।”

यसरी मैत्रीद्वारा सम्पूर्ण प्राणीहरुले सुख प्राप्त गरुन् र करुणाद्वारा सबै आमारुपी सत्व प्राणीहरु दुःखबाट मुक्त होउन् भनी अभ्यास गरेमा हामी स्वार्थबाट विमुख हुन्छौं। सबै सत्व प्राणीहरुको लागि बुद्धत्व प्राप्त गर्ने इच्छा उत्पन्न हुन्छ, अरुको लागि बुद्धत्व प्राप्त गर्ने इच्छा वा संकल्प नै स्वार्थी भावनाको प्रतिपक्ष हो । मैत्री र करुणाको अभ्यास गरी आफूलाई भन्दा अरुलाई महत्व दिने व्यक्ति उत्तम पुरुष कहलिन्छ । यस विषयमा महाचार्य दीपंकर श्री ज्ञान

(अतीश) विरचित ‘बोधिपथप्रदीप’मा एउटा श्लोक यस्तो छः “जसले गम्भीर रुपले अरुका सबै दुःख मेटाउन चाहन्छ, त्यो व्यक्ति उत्तम पुरुष हो, किनभने उसको चित्त सन्ततिमा दुःखको स्वभाव ज्ञात भइसकेको हुन्छ ।”

तसर्थ मैत्री र करुणाको अभ्यास अत्यन्त महत्वपूर्ण छ । हामीले मैत्री र करुणाको अभ्यास गरेपछि मात्र बोधिचित्तको अभ्यास गर्न सजिलो हुन्छ । किनकि मैत्री र करुणा बोधिचित्तका जग नै हुन्। जलेको बीउबाट विरुवा पलाउँदैन भने झैँ मैत्री र करुणा वा साधारण भाषामा भन्ने हो भने दयामाया विना बोधिचित्तको अभ्यास गर्छु भन्नु ठाडो खोलामा बालुवाको पुल हाल्नु सरह हुन्छ ।

मैत्री र करुणाको यो अभ्यास विधि आचार्य गम्पोपा विरचित सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारमा आधारित छ । गम्पोपा विरचित सद्धर्मचिन्तामणिमोक्षरत्नालंकार ग्रन्थ अहिलेसम्मकै सबैभन्दा उच्चकोटिको ग्रन्थ मानिएको छ। किनकि यसमा सूत्र र तन्त्र दुवैको व्याख्या ज्यादै सरल ढंगमा गरिएको छ । गम्पोपा महायोगी मिलारेपाका प्रमुख चेलाहरुमध्ये एक हुन् ।

यसरी हामीले अरुप्रति दयामाया र सद्भाव प्रकट गर्न सक्नु पर्दछ । यही नै धर्मको अभ्यास र सिकाइ हो । अचेल अनेकन् नयाँ आस्थाका संस्थाहरु च्याउसरी उम्रेका देख्न सकिन्छ । हुनत स्वच्छ मन र खुल्ला मनले जुन धर्म रोजे पनि व्यक्तिको आफ्नै अधिकार भएता पनि हामीले आफ्नो  बाजे बराजुदेखि मान्दै आएको सनातन हिन्दु धर्म र बौद्ध धर्मलाई बिर्सनु हुन्न । हाम्रो धर्म र परम्परामा विज्ञान समाहित छ । यो शास्वत छ, सनातन छ, अनि यो परकल्याणको निम्ति सूर्य समान तेजस्वी छ । आफ्नो  धर्म र संस्कृतिलाई त्याग्नु गलत बाटोलाई रोज्नु मात्र नभई भावी सन्ततीहरुलाई समेत अन्योलमा पार्नु हो । तसर्थ हामीले प्राचीन आदिकालदेखि मान्दै आएको धर्म र संस्कृतिलाई सधैँ आत्मसाथ गरौं । आर्थिक प्रलोभनमा फसेर आफ्नो  धर्मलाई त्याग्ने र अरुको धर्मलाई बढाइ–चढाइ त्यसमा लाग्न बाध्य गर्ने गराउने कर्म अत्यन्त निन्दनीय र दुःखद् भएकाले प्रत्येक नेपालीले त्यस्तो कृयाकलापप्रति सचेत हुन सके नेपाल आमाप्रति बफादारी र इमान्दारिता व्यक्त गरेको ठहरिनेछ ।

।। भवतु सर्वमंगलम् ।।

 


Write A Suggestion

%d bloggers like this: