बाँंदरले हाडनाताभित्र करणी गर्दैन : डा. चालिसे


विद्यावारिधि, त्यो पनि बाँदरको विषयमा । प्राणीशास्त्रका गुरु डा. मुकेशकुमार चालिसेलाई चिन्नेहरूले ‘बाँदर विज्ञ’का रूपमा चिन्छन् । उनले देशभित्र र बाहिर कमाएको ख्याति पनि यही नै हो । तर, उनले आफूलाई बाँदरको अध्ययनमा मात्र सीमित तुल्याएनन्, नेपालमा कुनाकाप्चासम्मै पुगेर नयाँ जीवजन्तुहरू पत्ता लगाउने कर्म पनि गरे । उनले करिब एक दर्जनजति नयाँ जीव फेला पारेका छन् र तिनीहरूको अध्ययनका क्रममा नयाँ प्रजातिका वनस्पतिहरू पनि चिनेका छन् ।

तीस वर्षभन्दा बढी समयदेखि नै आफ्नो ज्ञान अरुलाई बाँड्न अभ्यस्त डा. चालिसेको स्वभाव पनि अनौठो नै छ । फुर्सद भयो कि केही नयाँ कुरा पत्ता लगाउन हिँडिहाल्छन् । जापानको क्योटो विश्वविद्यालयमा चार महिनासम्म ‘डिस्टीन्गुईस भिजिटिङ प्रोफेसर’का हैसियतले जीवजन्तुबारे पढाएर तथा अनुसन्धान गरेर असारको तेस्रो साता नेपाल फर्किएका डा. चालिसे काठमाडौँ पनि त्यति रुचाउँदैनन् । कता कता कुदिरहेका हुन्छन् । भक्तपुरमा विद्यालयमा गँड्यौलाले दुःख दिँदा वा बैतडीमा चितुवाले मान्छे मार्दा होस् वा इटहरीमा गौरीगाई मारिँदा वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बाँदर छिरेर अवरोध पुर्‍याउँदा होस्, उनकै खोजी हुन्छ ।

हुन पनि उनी दुःख, कष्टको कुनै प्रवाह नगरी आफ्नो क्षेत्रमा नौलो काम गर्न सदैव रुचि र जाँगर चलाइरहेका हुन्छन् । केही वर्षअघि उनी दार्चुलाको अपिनाम्पामा हिउँ चितुवा र रेडपान्डाको अध्ययन गर्न गए । मानव वस्तीभन्दा दुई दिन टाढा हिँडेर पुगे र एउटा ओडारमा बसेर वन्यजीवहरूको अध्ययन गर्न थाले । त्यही ओडारमै केही दिनसम्म खाना पकाएर खाने र बस्ने काम भयो । भन्छन्, ‘हिउँ चितुवा र रेडपान्डाभन्दा हामीले लिडे मुसाको बारेमा भने अलि बढी खोजी गर्‍यौँ । त्यस्तो हिमाली भेगमा पनि मुसा पाइँदा छक्कै पर्‍यौँ ।’ त्यसो त, विश्वमै नेपालको गोरखा जिल्लामा मात्र पाइने मुसा प्रजातिको अपोडीमस गुर्खाज पनि उनले पत्ता लगाए ।

डा. मुकेश चालिसेले आफूलाई बाँदरको अध्ययनमा मात्र सीमित तुल्याएनन्, नेपालमा कुनाकाप्चासम्मै पुगेर नयाँ जीवजन्तुहरू पत्ताा लगाउने कर्म पनि गरे।

लाङटाङमा हिमाली फ्याउरो होस् वा शिवपुरीमा हिमाली भालु र सरेउ पाइने कुरा होस् वा कालिन्जोरको जंगलमा नीलगाई पाइने कुरा होस्, उनले नै पहिलो पटक सतहमा ल्याए । २०५६ सालमा सिन्धुलीबाट फर्किँदा त बर्दिबासमा पाटे हाइना अर्थात् हड्डी बाघलाई उनले देखे र यो कुरा बाहिर ल्याए । नयाँ–नौलो काम गर्न रुचि राख्ने डा. चालिसेले गएको वर्ष त कर्णाली नदीमा कति डल्फिन छन् ? गणना नै गरे । कर्णालीमा ५–७ वटाभन्दा बढी डल्फिन छैनन् भनिन्थ्यो । तर, उनको टोलीले ६३ वटा पत्ता लगायो । त्यसमध्ये भाले र पोथी डल्फिनसमेत छुट्याइयो ।

ललितपुरको दक्षिणी भेग गोदावरीको चालिसे डाँडामा ६१ वर्षअघि जन्मिएका डा. चालिसेको पुर्खा भने १८ पुस्ताअघि गोकर्णबाट सरेका रहेछन् । राणाकालीन समयमा ब्राह्मणहरूले सेनामा जागिर पाउनु मुस्किल थियो । तर, उनका हजुरबुवा टीकाराम चालिसेले भने काँठकालाई जागिर नदिने भएकाले ठेगाना ढाँटेर भए पनि सेनामा जागिर खाए र क्याप्टेनसम्म भए । तिनै क्याप्टेन चालिसेका जन्मिएका सात भाइ छोराछोरीमध्ये बाँचेका एक मात्र छोरा मुकुन्द चालिसेका सुपुत्र हुन्, डा. चालिसे । डा. चालिसेको बुवा पनि नेपालका नामुद कृषिविज्ञमा गनिन्छन् । भन्छन्, ‘बंगुर नाम मेरै बुवाको पालामा जुराइएको हो । बँदेलको ‘बँ’ र सुंगुरको ‘गुर’ लाई मिलाएर बंगुर राखिएको हो ।’

नेपालमा उन्नत जातको बंगुरको विकास गरेर आर्थिक स्तर कमजोर भएकाहरूको जीवनयापन सहज होस् भनी सो नयाँ जातको बंगुर विकास गरिएको उनको बुझाइ छ । त्यसो त, उनको बुबा ललितपुरको दक्षिणी भेगबाट एसएलसी उत्तीर्ण गर्ने र अधिकृत हुने पहिलो व्यक्ति पनि मानिन्छन् । यही पहिलो बन्ने नशा उनमा पनि रह्यो ।डा. चालिसेका हजुरबुवाले राणाकालीन समयमै बर्दियामा जग्गा पाएका थिए । तर, त्यत्तिकै रहेको थियो, सो जग्गा । एकदिन हजुरबुवाले बर्दियाको जग्गाबारे चिन्ता जनाएपछि कृषिमा जागिरे उनका बुवा सरुवा मिलाएर बर्दिया गए । बुवासँगै पछि लागे, ०२० सालमा उनी पनि । नेपाली रुपैयाँको अनुहार नै देख्न नपाउने बर्दियामा उनले ५ कक्षासम्म त हिन्दी भाषामा परीक्षा दिए ।

८ कक्षा पढुन्जेलसम्म विज्ञान पढ्न नपाएपछि ०२७ सालमा उनलाई काठमाडौं ल्याएर पढाउन थालियो । नेपाल आदर्श विद्यालयमा पढेका उनी ०२९ सालको उपत्यकाव्यापी टेस्ट परीक्षामा दोस्रो भए । त्यतिबेला कवि गोपालप्रसाद रिमालका छोरा मदन, नाटककार हरिप्रसाद रिमालका छोरा अरुण र पुष्करलाल श्रेष्ठ उनका मिल्दा साथी थिए । ०३२ सालमा त्रिचन्द्र कलेजबाट आईएस्सी उत्तीर्ण गरेका उनलाई परिवारले डाक्टर बनाउन चाहन्थे । त्यही मेसोमा उनले जापान सरकारद्वारा दिइने छात्रवृत्तिका लागि फर्म भरे र परीक्षा पनि दिए । परीक्षा दिएपछि उनी बर्दियातिर लागे । त्यहीबेला छात्रवृत्तिका लागि एक नम्बरमा उनको नाम निस्किएछ र बुवाले पनि आकाशवाणी गरेर ‘नाम निस्कियो, तु आउनू’ भनी खबर पठाए । तर, आकाशवाणीको कार्यालय थियो, गुलरियामा र उनी बस्ने त्यहाँबाट तीन कोश टाढाको गाउँ बैदीमा ।

ढिलो गरी आवा पाएपछि उनी हतारिँदै काठमाडौं आए । दुर्भाग्य, उनी काठमाडौं आउनुभन्दा एक दिनअगावै म्याद सकिएछ । तत्कालीन शिक्षा मन्त्रीलाई उनका बुवाले ढिलो हुनुका कारण खोल्दै सबै वृत्तान्त बताए । मन्त्रीले ‘सरी’ भन्नुबाहेक अरू विकल्प रहेन । किनकि, ढिलो भएको कारण उनको ठाउँमा वैकल्पिकमा नाम निस्किएका विद्यार्थीले त्यो अवसर पाइसकेका थिए । उनको जीवनको एउटा ठूलो सपनाको टुसा म¥यो । सो घटनापछि उनी निकै निरास भए । बर्दियाको थारू गाउँमा गएर तिनका छोराछोरीलाई पढाउन भनी बर्दिया गए ।

तर, बुवाले निकै सम्झाएपछि काठमाडौं फर्किएर बीएस्सी अध्ययन गर्न थाले । उनी बीएस्सीमा भर्ना हुँदा नेपालको राजनीतिले उथलपुथल मार्ग पक्रिरहेको थियो । अध्ययनमा मनै गएन उनको । फेरि लागे, बर्दियातिरै । भन्छन्, ‘मलाई अध्ययनमा रुचि मरेर आयो । बर्दियामा गएर पढाउने र राजनीति गर्न थालेँ ।’ करिब पाँच वर्षजति बर्दियामा एउटा बेग्लै जीवन बिताइसकेपछि पुनः काठमाडौंमै फर्किए र लगन टोलमा प्रेस राखेर व्यवसाय गर्न थाले । उनको प्रेसले छोटो समयमै वामपन्थी वृत्तमा चर्चा पायो । नाम थियो, मुना प्रेस । त्यतिबेलाका सबैजसो वामपन्थी साहित्यिक, समाचारप्रधान पत्रिकाहरू त्यही प्रेसमा छापिन्थ्यो । झिसमिसे, छलफल, शृंखला, संकल्प, अनुभूति, जनमार्ग, यथार्थ, प्रकाशजस्ता तत्कालीन समयमा चर्चित र खोजी–खोजी पढिने पत्रिकाहरू उनकै प्रेसमा छापिन्थे । त्यतिबेला पञ्चायती व्यवस्थाको जगजगी थियो ।

ramkaji

धेरै पटक उनको प्रेसमा छापा मार्ने र स्पष्टीकरणसमेत सोधियो ।त्यसो त, प्रेस सञ्चालन गरेर बसिरहेकै बेला बुवाले एकदिन अपूरो पढाइलाई जोड्न निकै कर गरे । त्यसपछि उनले ०४१ सालमा बीएस्सी पूरा गरे र एमएस्सी पनि भ्याए । त्यसलगत्तै, ०४५ सालतिर विद्यावारिधिका निम्ति प्रयास थाले । सुरुमा त उनले नेपालमा पाइने मौरीको विषयमा विद्यावारिधि गर्ने सोच बनाएका थिए र त्यसकै निम्ति ६ महिनासम्म हिमाली क्षेत्रहरूतिर घुमे पनि । तर, एकजना भारतीय प्राध्यापकले छात्रवृत्तिमा नेपालीले नपाउने कुरा गरेपछि उनले मौरीमा अध्ययन गर्ने कार्यलाई त्यत्तिकै छाडिदिए । भन्छन्, ‘भेदभाव भएपछि मैले मौरीमा पीएचडी गर्ने कुरा त्यागिदिएँ ।’

त्यहीबेला, जर्मनीको जर्ज अगस्त युनिभर्सिटीबाट नेपाल आएका प्रोफेसर फोगेलले नेपालका बाँदरका विषयमा विद्यावारिधि गर्न उनलाई उक्साए । फोगेलले भनेका थिए, ‘नेपालका बाँदरहरू अनौठा छन् । बाँदरहरूका बारेमा अध्ययन गरे हुन्छ ।’ डा. चालिसे भन्छन्, ‘मैले बाँदरको विषयमा पीएचडी गर्ने कुरा गर्दा मानिसहरू हाँस्थे । जनावरका विषयमा गर्ने नै भए गैँडा, बाघ, हात्तीको विषयमा पो पीएचडी गर्नुपर्छ भन्थे ।’ अरूका कुरा नसुनेर उनले ‘लंगुर बाँदरको खानामा लैंगिक भिन्नता’ विषयमा आफ्नो विद्यावारिधिको शोधलाई अघि बढाए । भाले बाँदर किन ठूला र पोथी बाँदर किन साना हुन्छन् भन्ने विषयमा अध्ययन गर्न उनले चितवनको रामनगरको जंगलमा डेढ वर्ष बिताए । ‘रामनगरको जंगलमा मैले एउटा बाँदर समूहलाई पछ्याएँ । त्यो समूहमा २६ बाँदर थिए, जसमा १२ वटा वयस्क (९ वटा पोथी र ३ वटा भाले) र १४ वटा अर्धवयस्क थिए । मैले तिनै बाँदरहरूको खानामा रहेको भिन्नताको अध्ययन गर्न थालेँ ’, उनले विगत सम्झे ।

शुरुका दिनहरूमा उनलाई देखेपछि बाँदरहरू भाग्थे । तर, १५ दिनपछि उनीसँग बाँदरहरू घुलमिल गर्न थाले । हुन पनि, बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मै उनी जंगलमै रहेर बाँदरको अध्ययनमा जुटे । भन्छन्, ‘विश्वव्यापी मान्यता के छ भने आठ सय घन्टा काम गरेपछि विद्यावारिधि पूरा हुन्छ तर मैले भने १८ सय घन्टा काम गरेँ ।’ सन् १९९४ मा जर्मनीमा जाँदा उनले बाँदरले खाने जंगलका दुई सय ८६ प्रकारका पात, डाँठ, फलफूल, च्याउ, कीराको गुलियो विष्टा, धमिराको माटोहरू पत्ता लगाए ।

बाँदरले कुन महिनामा कुन खानेकुरा कति समय खान्छ, कति मात्रामा खान्छ तथा भाले र पोथीको खानाको प्रकार, तौल, पौष्टिक तत्व पनि पत्ता लगाए । बाँदर–अध्ययनले उनलाई अर्को फाइदा पनि दिलायो । रामनगरकै जंगलमा उनले पाँच वटा नयाँ प्रजातिका बिरुवासमेत पत्ता लगाए । ती बिरुवाहरूमा वन सुन्तला, वन धान, फलामे, वन केरा र वन आँप थिए । आखिर, बाँदरका पोथी साना हुनु र भालेचाहिँ ठूला हुनुको रहस्य के रहेछ त ? डा. चालिसे भन्छन्, ‘वंशाणुगत हिसाबले पोथी बाँदर साना नै हुँदा रहेछन् । तर, भालेहरूले राम्रा खुराक समूहले पत्ता लगाउनासाथ अगाडि नै खाने भएको हुँदा उसले पौष्टिक तत्व भरपूर मात्रामा पाउने र पोथीले भने भालेले खाइसकेपछि वा छोडिदिएको खाने भएको हुँदा पौष्टिक तत्वको अभावमा पोथीहरू साना हुने रहेछन् । भालेले खानामा प्राथमिकता पाउँदा ऊ ठूलो भएको रहेछ ।’

अरू प्राणीभन्दा बाँदर किन पनि विशिष्ट छ भने उसले आफ्नो हाडनाताभित्र करणी गर्दैन र आफ्नो समूहमा अन्तर्घात गर्दैन। डा. मुकेशकुमार चालिसे प्राणीशास्त्र

लंगुर बाँदरहरूको समाज पनि पुरुषप्रधानता रहेको कुरा उनले त्यसपछि थाहा पाए । बाँदरहरूको स्मरण शक्तिप्रति त डा. चालिसे कायल नै छन् । रामनगरको जंगलका बाँदरबारे डेढ वर्ष बिताएपछि उनी त्यता गएनन् । पछि, दुई वर्षपछि पुगे । अचम्म, आफूले अध्ययन गरेका बाँदरहरूले उनलाई राम्ररी नै चिने । अध्ययनको क्रममा त बाँदरसँग उनको सामीप्यता यति बाक्लो भएको थियो कि, उनी जताजता जान्थे, बाँदर पनि त्यतैत्यतै जान्थे । भन्छन्, ‘बाँदरहरूले आफ्ना बच्चा छाडेर हिँड्दैनन् । तर, मलाई भने बच्चा छाडेर जान्थे ।’ अझ, बाँदरको स्वभाव कस्तो हुन्छ भने उनीहरू एउटै क्षेत्र वरिपरि नै समय गुजार्छन् । भन्छन्, ‘पशुपतिका बाँदर स्वयम्भू जाँदैनन् । उनीहरू आफ्नै क्षेत्रमा घुम्छन् । तर, भाले बाँदरहरू भने समूह छाड्ने स्वभावका भएका हुँदा तिनीहरू भने अन्यत्र पनि जान सक्छन् ।’

बाँदरकै विषयमा गहन अध्ययन र शोध गरेका डा. चालिसेलाई सन् १९९६ मा अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार दिइयो । एक हजार डलरको उक्त पुरस्कार उनलाई अमेरिकाको विस्कान्सीनमा आयोजित एउटा कार्यक्रममा दिइएको थियो । उक्त पुरस्कार पाएपछि त उनले बाँदरको अध्ययनमा अझ आफूलाई तन्मयतापूर्वक लगाए । त्यसपछि मकालु क्षेत्रमा पाइने आसामी (पहरे) बाँदरका आनीबानीबारे शोधखोज गरे । त्यसैवापत १९९८ मा ‘मार्था जे गालान्टे फेलो’ भन्ने फेलोसिप पाए, उनले । त्यसपछि त संसारका राम्रा विश्वविद्यालयमा प्रवचन गर्ने लहर नै चल्यो, उनी २०००÷०१ मा फुलब्राइट छात्रवृत्तिमा वासिगंटन विश्वविद्यालयको लागि छानिए ।

डा. चालिसे सबै महादेशका उच्च विश्वविद्यालयमा पुगेर प्रवचन दिएका छन् । बाँदरको अध्ययनमा जीवनका अधिकांश समय खर्च गरे पनि बाँदरले बालीनालीमा पु¥याउने नोक्सानको पनि उनले राम्ररी हेक्का राखेका छन् र त्यसको उपचार पनि खोजी गरेका छन् । भन्छन्, ‘खुर्सानी, अदुवा र अलैंची रोप्ने हो भने त्यस्ता ठाउँमा बाँदर आउँदैनन् ।’ हुन पनि उनलाई जापानको क्योटो विश्वविद्यालयले बाँदरलगायत अरु जीवहरूबारे आफ्नो ज्ञान बाँड्न पटक–पटक बोलाउँछन् र दश पटकभन्दा बढी समय नै पुगी पनि सके । यस्तै, चीन, भारत, पाकिस्तान, श्रीलंका, अस्टे«लिया, स्विडेन, जर्मनी, अफ्रिका आदि देशका प्रसिद्ध विद्यालयका भिजिटिङ प्रोफेसर, कोलावोरेटिङ साइन्टिस्टको रूपमा कार्यरत छन् ।

बाँदरका आनीबानी, स्वभावबारे गहिराइमै पुगेर अध्ययन गरेका डा. चालिसेलाई पशुपति र स्वयम्भूमा बाँदरको कति समूह छ भन्ने पनि थाहा छ । ती दुई ठाउँमा सात–सात समूहका बाँदर छन् । सुरक्षित नभए पनि प्रायः आफ्नो बासस्थान नछाड्ने स्वभावका बाँदरबारे डा. चालिसे एउटा रोचक कुरा सुनाउन चाहन्छन्, ‘अरू प्राणीभन्दा बाँदर किन पनि विशिष्ट छ भने उसले आफ्नो हाडनाताभित्र करणी गर्दैन र आफ्नो समूहमा अन्तर्घात गर्दैन ।’

स्रोत- http://today.annapurnapost.com/patra/617


Write A Suggestion

%d bloggers like this: