नेपाली लिपिको एनाटोमी


डा. लक्ष्मीप्रसाद खतिवडा(DrLaxmi Prasad Khatiwada)

1917491_1240839736024_3805531_n

हिजोआज नेपाली भाषा बिगारेको र सपारेको कुरामा विभिन्न प्रकारका बहस सुन्न, पढ्न र हेर्न पाइन्छ । एउटा पक्ष भन्छ– भाषाविद्हरूले नेपाली भाषामाथि बलात्कार गरेका छन् । परम्परागत ह्रस्व र दीर्घ हिज्जे बिगारेका छन् । संयुक्त अक्षर कुच्याएर तोडमरोड गरेका छन् । अर्को पक्षको भनाइ छ– भाषा परिवर्तनशील छ । बोलीअनुसार लेखाइमा परिवर्तन गर्दै लानु हाम्रो उद्देश्य हो । परिवर्तन हुँदा कहिले उच्चारण त कहिले हिज्जे र कहिले वर्ण परिवर्तन हुन्छ । तर, भाषिक विवादका चर्चापरिचर्चाले देवनागरी लिपिको एनाटोमीबारे स्पष्ट निर्देशन पहिल्याउन सकेको छैन ।

शीर्षकको सन्दर्भ छ– नेपाली लिपिको एनाटोमी । कुनै पनि भाषाको एनाटोमी हुन्छ । त्यो भनेको लिपिको स्थलाकृतिक संरचना विज्ञान हो । स्थलाकृतिक शरीर रचना विज्ञानले मानव शरीरका अंगहरूको स्थान र त्यसका विभिन्न भाग एवं फिजियोलोजीले त्यसका प्रकार्यलाई बुझाएजस्तै भाषा एनाटोमीले भाषामा लिपिको संरचना प्रकार वा डिजाइन भन्ने बुझाउँछ । लिपि एनाटोमीले भाषाका लिपिको अंग वा त्यसका स्थान र आकृतिको अध्ययन गर्छ । भाषाको आकृति भनेको त्यस भाषाको लिपि हो । लिपि भनेको मानव शरीरको हड्डीजस्तै हो भने भाषा वा भाषिक व्यवहार भनेको मानव जीवनको स्नायविक प्रणाली, मांसपेसी र रक्तसञ्चार आदिले गर्ने कार्यजस्तै हो ।

देवनागरी लिपिको स्थलाकृतिक संरचना विज्ञानअनुसार यस्तो (नयाँ) लेखाइ भनेको मानव अस्थिपञ्जर एनाटोमीमा गोलिगाँठाको हड्डी कुइनामा लाउनुजस्तै हो । निर्देशिकामा दिइएको नियमअनुसार ‘द’ को खुट्टो काट्ने हो भने सबैतिर काट्नुपर्यो नत्र लेखाइमा एकरूपता हुँदैन । यसरी नलेख्ने हो भने निर्देशिकाको ‘द’ को खुट्टो काट्ने नियम फिर्ता लिनुपर्ने हुन्छ ।

लिपिलाई भाषाको शरीर रचनाका रूपमा हेर्न सकिन्छ । कुनै पनि लिपिमा दिइएको वर्णाकृति (टाइपफेस) हुन्छ । लिपिमा त्यस भाषाका वर्णहरूको आकार–प्रकार निर्धारण गरिएको हुन्छ । वर्णाकृतिका अंग वा भागलाई ग्लिफ भनिन्छ र ग्लिफहरूको संयोजनबाट फन्ट वा वर्णको आकृति निर्धारण हुन्छ । नेपाली भाषाका व्ऋद्धि, याद्ऋच्छिक, बुद्धिमान, उद्हरण, पद्हति आदि देवनागरी वर्णाकृतिका कोरा अंग हुन् । यिनलाई मानक लेख्य चिह्नअनुसार लेख्दा वृद्धि, उद्धरण, यादृच्छिक, बुद्धिमान, उद्धरण, पद्धति लेखिन्छ ।
ब्राह्मी लिपिबाट जन्मिएको देवनागरी लिपि दक्षिण एसिया र दक्षिणपूर्व एसियाका विविध सांस्कृतिक धरोहरसँग जोडिएको छ । यस भौगोलिक क्षेत्रका भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र भुटानका सांस्कृतिक, ऐतिहासिक, प्रागऐतिहासिक, धार्मिक, साहित्यिक र वैज्ञानिक सामग्रीहरू देवनागरी लिपिमा संकलित छन् । देवनागरी लिपिको एनाटोमीमा परिवर्तन गर्दा यो धरोहरसमेत प्रभावित हुने निश्चित छ ।

देवनागरी लिपिका केही महŒवपूर्ण विशेषता छन् । यस लिपिमा एक वा अधिक वर्णले अक्षर वा सिलेबल बनाउँछ । स्वरको सहायताले मात्र वर्ण निर्माण हुन्छ । स्वर वर्णको सहायताले मात्र वर्ण निर्माण हुनाले व्यञ्जनमा लाग्ने स्वर र स्वतन्त्र स्वर गरी दुई किसिमका स्वर वर्ण हुन्छन् । सबै स्वर वर्णका दुई रूप छन् । एउटा स्वतन्त्र रूप, अर्थात् व्यञ्जनसँग नजोडिने रूप अर्को आश्रित रूप जुन व्यञ्जन वर्णसँग जोडिने रूप हो । यस्ता व्यञ्जन आश्रित रूपहरू व्यञ्जनको दायाँ, बायाँ, माथि, तल जता पनि जोडिएर बस्न सक्छन् । व्यञ्जन–व्यञ्जन, व्यञ्जन–स्वर आदि मिलेर संयुक्ताक्षरको निर्माण हुन्छ र यसरी संयुक्ताक्षर बन्दा व्यञ्जन वर्णको आकार परिवर्तन हुन्छ । स्वर वर्ण र व्यञ्जन वर्णको प्रवाह घाँटीको रुद्रघन्टीदेखि ओठ र नासिका द्वारसम्म क्रमैले प्रवाहित हुन्छ । प्रत्येक व्यञ्जनलाई समूहमा विभाजन गरिएको हुन्छ र एउटा समूह ५ वटा वर्णको हुन्छ । अन्तिम व्यञ्जन अनुनासिक हुन्छ । देवनागरी लिपिमा वर्ण छनोटको पनि सुविधा छ । हिन्दीमा छोटो ‘ए’ का लागि ए प्रयोग गरिन्छ भने नेपालीको ‘र’ का लागि कोंकणीमा रÞ प्रयोग गरिन्छ ।

देवनागरी लिपिमा लेखिने नेपाली भाषाको वर्णविन्यासमा एकरूपता ल्याउने भनेर विद्यालयस्तरीय पाठ्यपुस्तकमा नयाँ निर्देशिका लागु गरिएको छ । त्यसमा निर्देशित गरिएका कुराहरूमा १, नेपाली भाषाको वर्ण र लिपि (आकृति) फेर्दा भाषा सरल हुन्छ र सिकाइमा सजिलो हुन्छ भन्ने मान्यता देखिन्छ । २, संस्कृत स्रोतबाट जस्ताको तस्तै आएका शब्द नेपाली तत्सम शब्द हुन् । अरु स्रोतबाट जस्ताको तस्तै आएका शब्द आगन्तुक शब्द हुन् भनिएको छ । ३, नेपाली शब्द लेख्दा संयुक्त वर्णलाई छुट्याएर लेख्नुपर्छ । संस्कृतमा जस्तो विद्या होइन विद्या, उद्योग होइन उद्योग, पद्धति होइन पद्हति र सदृश होइन सद्ऋश वा सद्रिश लेख्नुपर्छ भन्ने नियम कायम गरिएको छ । ४, संस्कृत स्रोतबाट जस्ताको तस्तै आएका शब्द नेपाली तत्सम शब्द भनिए पनि नेपाली भाषामा श, ष, ण, ञ, ऋ आदि वर्ण नभएको हुनाले नेपाली तत्सम शब्द लेख्दा संस्कृतकै वर्णविन्यास अनुसार लेख्नुपर्छ भनिएको छ, तर पद्हति र सद्ऋश वा सद्रिश संस्कृत वा नेपाली कुनै पनि वर्णविन्यासको नियमअन्तर्गत पर्दैन ।

अर्को पक्षमा रहेकाहरूको भनाइ छ १, तथाकथित भाषाविद्हरूले भाषामाथि बलात्कार गरेका छन् । २, देवनागरी लिपि बिगारेर विदेशी भाषा र रोमन लिपि भित्राउने षड्यन्त्र भएको छ । ३, विदेशी डलर खाएर यस्तो फर्मान जारी गरिएको हो । ४, परम्परागतरूपमा ह्रस्व र दीर्घको स्वरूपलाई बिगार्न पाइँदैन । र ५, संयुक्ताक्षर कुच्याउन र बिगार्न पाइँदैन इत्यादि ।

नेपाली लेखाइमा ठूलो समस्या छ । लेखाइमा एकरूपता नभएकै कारणले यस्तो भएको कुरामा दुईमत छैन । तर, हालको विवादमा एकरूपता नहुनुको लिपि वैज्ञानिक कारण खोजिएको पाइँदैन । कि यो कि त्यो भन्ने आरोपले नेपाली भाषा भद्रगोल बनाउन खोजिँदैछ । फर्मान गरिएको निर्देशिका ठीक छैन भन्ने कुरामात्र बजारमा आएको छ । कहाँ, कसरी र किन ठीक छ वा छैन भनेर केलाइएको पाइँदैन । फूल, फुल, शहीद, सहिद शब्दको ह्रस्व दीर्घ र स, श, ष को बहसमात्र होइन निर्देशिकामा भएको के कुरा, के कति कारणले ठीक छैन, त्यसमा के हुनुपर्ने आदि निदानात्मक बहस अहिलेको आवश्यकता हो । खासगरी विद्यालाई विद्या र उद्योगलाई उद्योग लेख्ने भनेर ‘द’ को खुट्टो काट्नुपर्छ भन्ने कुरा निर्देशिका जारी भएकोले खुट्टा काट्नुपर्छ वा पर्दैन भन्ने विवाद धेरै मात्रामा देखिएको हुँदा यहाँ ‘द’ लाई मात्र केलाउने काम भएको छ । विवाद धेरै भएकाले यस छोटो लेखमा अन्य कुरा समेट्न सकिएको छैन ।

देवनागरी एनाटोमी अर्थात् देवनागरी स्थलाकृतिक संरचनामा प्रत्येक वर्णलाई एउटा ठाडो रेखामा सात ओटा तेर्सो रेखाले छुट्याएको हुन्छ । कम्प्युटरमा फन्ट डिजाइन गर्दा समेत यसलाई आधार मानिएको हुन्छ । ती रेखा हुन् १, उध्र्वरेखा २, शिरोरेखा ३, स्कन्धरेखा वा काँधको रेखा ४, नाभीरेखा वा पेटको रेखा ५, जानुरेखा वा घुँडाको रेखा ६, पदरेखा वा खुट्टाको रेखा र ७, तलरेखा वा पैतालाभन्दा मुनिको रेखा । स्वरवर्णलाई आधार मानेर यस्तो विभाजन गरिएको हो । इकार, ईकार र ऐकारका मात्रा शिरोरेखाभन्दा माथि उध्र्वरेखामा बस्छन् । डिको शिरोरेखा हो । इ, ङ, द, ट आदि वर्ण स्कन्धरेखाले छुट्याउने वर्ण हुन् । अ, आ, उ, ओ, क, व, ब, ल आदि नाभीरेखामा पर्छन् । ए, ष, य को आकार जानुरेखाले छुट्याएको हुन्छ । मात्राबेगरको वर्ण डिकोबाट सुरु हुन्छ र पदरेखामा पुगेर अन्त्य हुन्छ । तर, पदरेखामा अन्त्य भए पनि देवनागरी वर्णको पदरेखामा शिरोरेखामा जस्तो डिको दिनु पर्दैन । तलरेखाअन्तर्गत मात्रा स्वरको उकार, ऊकार र रेफ पर्छन् ।

मात्रा इकार, ईकार र पर्यायको रेफ उध्र्वरेखाअन्तर्गत पर्छन् । ईश्वर, पिरो, जीवन, दिनचर्या आदि । शिरोरेखा भनेको डिको हो जस्तै क ख आदिको डिको । सामान्यतया देवनागरी संयुक्त वर्णको निर्माण हुँदा आधार वर्ण हलन्त वर्णको बुइ चढेर बस्छ । जस्तै द्वन्द्व, शुद्ध, द्वार, अनिरुद्ध आदि । तर, स्कन्धरेखा वा काँधको रेखाले छुट्याउने वर्णहरू ङ, छ, ट, ठ, ड, ढ, द, ह हुन् र यी वर्णहरू ‘य’ सँग मिलेर संयुक्त वर्ण निर्माण हुँदा हलन्त वर्ण आधार वर्णको बुइ चढेर बस्छ, जस्तै ङ्यारङ्यार, ट्याम्को, ठ्याक, ड्याम, ढ्याउ, विद्या, उद्योग, ह्याकुलो आदि । नाभीरेखामा पर्ने च, ज, त, न, ब, ल, व, स वर्णहरू दायाँपट्टि अलग्गै बस्छन् र आधार वर्णलाई बिगार्दैनन् । पोक्याउनु, कुच्याउनु, ज्यादति, त्याग, न्याय, ब्याधा, ल्याकत, व्यवहार, स्याल आदि । जानुरेखा वा घुँडाको रेखाको स्थान पदरेखाभन्दा माथि र जानुरेखाभन्दा तल मध्यतल हो । संयुक्त वर्णमा यो रेफको स्थान हो । प्रसाद, श्रवण, केस्रा, कोक्रो आदि । पदरेखा वर्णको अन्तिम भागमा पर्छ । मात्रा उकार र ऊकार तलरेखामा बस्ने अंग हुन् । यो स्थान आश्रित मात्रा उ, ऊ, र रेफको स्थान हो । विद्युत्, अच्युत, राष्ट्र आदि ।

यस लेखाइमा ‘द’ लाई केन्द्रमा राखिएको हुँदा ‘द’ सँग संयुक्त वर्ण निर्माण हुँदा बन्ने शब्दहरूमात्र लिइएको छ । जस्तै अदृष्ट, अनिरुद्ध, अन्तद्र्वन्द्व, अल्पदृष्टि, अशुद्ध, आवद्ध, उद्धरण, उद्धव, उद्धारक, उद्यान, ऋद्धि, खाद्यान्न, पद्धति, पूर्वाद्र्ध, प्रद्युम्न, बुद्धिमान, यादृच्छिक, वाग्द्वार, विद्या, विद्युत, वृद्धि, शुद्ध, श्राद्ध, सदृश, सिद्धान्त आदि ।

अदृष्ट लेख्दा निर्देशिकामा भएको नयाँ नियम अर्थात ‘द’ को खुट्टो काट्ने नियम अनुसार अद्ऋष्ट लेख्नुपर्छ, तर नेपालीमा ऋ छैन भनिएको छ । अतः अदृष्ट लेख्दा अद्रिष्ट लेख्नुपर्छ । तर, नेपालीमा ष पनि छैन भनिएको हुँदा ‘अदृष्ट’ को मानक नेपाली लेख्य रूप अद्रिस्ट हुने भयो । यसै गरी ‘द’ को खुट्टो काट्ने नियमअनुसार अनिरुद्धलाई अनिरुद्द वा अनिरुद्ध, अन्तद्र्वन्द्वलाई अन्तर्द्वन्द्व, अल्पदृष्टिलाई अल्पद्रिष्टि वा अल्पद्रिस्टि, अशुद्धलाई अशुद्द वा अशुद्ध यसै गरी आवद्ध, उद्द्योग, उत्हरण वा उद्हरण वा उद्धरण, उद्दव वा उद्धव, उत्हारक वा उद्धारक, उद्द्यान, ऋद्धि वा रिद्धि, खाद्द्यान्न, पद्हति वा पद्धति, पूर्वार्द्ध, प्रद्द्युम्न, बुद्दिमान वा बुद्धिमान, याद्ऋच्छिक वा याद्रिच्छिक, वाग्द्वार, विद्या वा विद्द्या, विद्द्युत, वृद्धि, शुद्ध, श्राद्ध, सद्ऋश वा सद्रिश, सिद्धान्तलाई सिद्धान्त लेख्नुपर्छ नत्र अशुद्ध हुन्छ । देवनागरी लिपिको एनाटोमी अर्थात् देवनागरी लिपिको स्थलाकृतिक संरचना विज्ञानअनुसार यस्तो लेखाइ भनेको मानव अस्थिपञ्जर एनाटोमीमा गोलिगाँठाको हड्डी कुइनामा लाउनुजस्तै हो । निर्देशिकामा दिइएको नियमअनुसार ‘द’ को खुट्टो काट्ने हो भने सबैतिर काट्नुप¥यो नत्र लेखाइमा एकरूपता हुँदैन । यसरी नलेख्ने हो भने निर्देशिकाको ‘द’ को खुट्टो काट्ने नियम फिर्ता लिनुपर्ने हुन्छ । एउटा बुँदाको एउटा वर्णमा यति विवाद छ भने सबै बुँदा केलाएर निदानात्मक सुझाब खोज्नु आवश्यक देखिन्छ ।

वर्णविन्यास भनेको भाषाको व्याकरण नभएर परम्परागत चलनमात्र हो । दुई शब्द सन्धि हुँदा देखापर्ने ध्वनि परिवर्तनलाई चाहिँ भाषाको व्याकरणसँग जोड्न सकिन्छ । जस्तै पद् र हतिको सन्धि हुँदा पद्धति हुन्छ र उत् र धारकको सन्धि हुँदा उद्धारक हुन्छ । यस्ता सन्धिजनित परिवर्तनबाहेक बाँकी सबै लेखाइ चलन वा परम्परामात्र हुन् ।  हाल चलिरहेको भाषा विवाद वा वर्णविन्यास विवाद भाषाको गुदी विवाद होइन भन्नुपर्ने अवस्था छ, तर यसले पक्ष–विपक्ष गरेर राजनीतिक आड पाउँदै गयो भने निर्देशिका जारी गर्ने शासकवर्गलाई समेत अप्ठ्यारोमा पार्ने निश्चित छ । यसले राजनीतिक रूप लिँदै जाँदा विकराल स्थिति पैदा हुने देखिन्छ । बेलैमा सबै पक्ष बसेर निकास खोज्नु आजको आवश्यकता हो ।

स्रोत-http://www.nagariknews.com/news/5285/


Write A Suggestion

%d bloggers like this: