अन्तरिक्ष–विज्ञान सम्बन्धमा केही चर्चा


— आयोदधौम्य ‘निर्मल’ Nirmala Mani Adhikary

Dr Nirmala Mani Adhikary
विश्वका प्रायः सबै पाठशालाहरुमा निकोलस कपर्निकस (सन् १४७३– १५४३) लाई सर्वप्रथम सौरमण्डलको विज्ञान–सम्मत अध्ययन गर्ने वैज्ञानिकको रुपमा मान्यता प्राप्त छ । अन्तरिक्ष विज्ञानसम्बन्धी चर्चा अधिकांशतः आरम्भ गरिन्छ उनैको नामबाट । पछि केप्लर, ग्यालिलियो, न्यूटन आदि वैज्ञानिकहरुले यिनैको सिद्धान्तको अनुशरण गरेका हुन् भनिन्छ । ग्यालिलियो ग्यालिलि (सन् १५६४– १६४२) टेलिस्कोपको आविष्कार गर्ने वैज्ञानिक हुन् र यिनले परावर्तित प्रकाशद्वारा अन्तरिक्षको विशिष्ट अध्ययन गर्न सकेका छन् । यी वैज्ञानिकहरुको योगदानलाई म आदर गर्छु र उनीहरुप्रति मेरो सम्मान छ । तर मलाई चित्त नबुझेको कुरोपनि यहीँनेर छ । प्राचीन भारतवर्षका वैज्ञानिकहरुलाई आधुनिक विश्व–समुदायले चटक्कै बिर्सेको छ र ती प्राचीन वैज्ञानिकहरुले आफूले गरेका आविष्कारको श्रेय पाइराखेका छैनन् । पख्नोस्, ‘वेद’सम्म पुग्नुअघि पहिले त केही शताब्दीअघिको कुरा गरौं ।
माथिनै उल्लेखित छकि कपर्निकसको समय थियो सन् १४७३– १५४३ र ग्यालिलियोको समय थियो सन् १५६४– १६४२ । जबकि पाँचौं शताब्दीका (अर्थात्, कपर्निकसको तुलनामा करिब एक हजार वर्ष प्राचीन) भारतवर्षीय वैज्ञानिक आर्यभट्टको पुस्तक ‘आर्यभट्टीय’मा अन्तरिक्ष विज्ञानको जति तथ्य लेखिछाडिएको छ; त्यो हेर्दाखेरिमा स्पष्ट हुन्छकि आधुनिक विश्वका सबै पाठशालाहरुमा आर्यभट्टलाईनै सौरमण्डलको विज्ञान–सम्मत अध्ययन गर्ने पहिलो वैज्ञानिकको रुपमा मान्यता दिनुपर्ने हुन्छ । आर्यभट्टको वैज्ञानिक सिद्धान्तलाई आज उनीभन्दा धेरैपछिका कपर्निकसको सिद्धान्त भनेर पढाइनु अन्यायपूर्ण कार्य हो । ‘आर्यभट्टीय’ पुस्तक अहिले पनि प्राप्य छ (यसलाई पश्चिमाहरुलेचाहिँ सन् ९५० को भन्दछन्) —जसमा उनले सूर्यग्रहण र चन्द्रग्रहणको वैज्ञानिक कारण दिएका छन्; पृथ्वीले सूर्यलाई घुम्दछ र त्यसै कारणले दिन–रातको भेद हुन्छ भनेर लेखेका छन् । सोही पुस्तकमा आर्यभट्ट लेख्छन्— चन्द्रमा तथा अन्य ग्रहसँग आफ्नो प्रकाश छैन र तिनीहरु सूर्यको प्रकाशले प्रकाशित हुन्छन् । उनले ‘दूरदर्शकयन्त्र’ पनि बनाएका थिए भनिन्छ । यसरी अहिले सर्व–स्वीकृत ‘सूर्यकेन्द्रित सिद्धान्त’का जनक आर्यभट्ट हुन् र कपर्निकस, ग्यालिलियो आदिचाहिँ त्यस परम्पराका उत्तराधिकारीमात्र हुन् भन्ने छर्लङ्ग देखिन्छ । तर विद्यालय, उच्चविद्यालय तथा विश्वविद्यालयहरुमा किन पढाइँदैन त आर्यभट्टको योगदान ? कम्तीमापनि नेपाल–भारतका विद्यालय, उच्चविद्यालय तथा विश्वविद्यालयहरुमा त पढाइनै पर्छ उनको बारेमा ।
चन्द्रमामा मानव बस्ती बसाल्ने कल्पना गर्न थालेको छ आधुनिक मानवले । मिति सन् १९५७ अक्टोबर ४ मा तत्कालीन सोभियत संघद्वारा ‘स्पुतनिक–१’ मानवनिर्मित प्रथम अन्तरिक्षयान प्रक्षेपण गरेपछि आधुनिक विज्ञानको अन्तरिक्षसम्बन्धी अध्ययनको नयाँ अध्यायको आरम्भ भएको थियो । सन् १९५९ मा ‘लुना–२’ चन्द्र धरातलमा पुग्योभने सन् १९६१ अप्रिल १२ मा सोभियत रुसले युरी गागरिनलाई अन्तरिक्षमा पठायो । सं.रा. अमेरिका सन् १९५८ जनवरी ३१ मा ‘एक्सप्लोर–१’ प्रक्षेपण गरी अन्तरिक्ष विज्ञानको क्षेत्रमा प्रवेश ग¥यो । सन् १९६९ जुलाइ १६ मा केप केनेडीबाट नील आर्मस्ट्रङ्, एडविन एल्ड्रीन र माइकल कलिन्सलाई लिएर उडेको ‘अपोलो’ अन्तरिक्षयान चन्द्रमामा पुग्न सफल हुनुलाई आधुनिक विज्ञानको महान् उपलब्धि मानिएको छ । त्यसपछिका दिनमा अन्तरिक्षतर्फ धेरैओटा अन्तरिक्षयानहरु प्रक्षेपण गरिएका छन् । अन्तरिक्ष विज्ञानका क्षेत्रमा भए–गरेका उपलब्धिहरुप्रति गर्व गर्न हिच्किचाउनु पर्दैन । साथसाथै गर्वयोग्य कुरो योपनि छकि हाम्रा प्राचीन शास्त्रहरुमा अन्तरिक्ष विज्ञानको भण्डार छ ।
तर, हाम्रा प्राचीन शास्त्रहरुमा अन्तरिक्ष विज्ञानको भण्डार भएको कत्तिपनि मेसो नपाएका तथा “नील आर्मस्ट्रङ्हरु चन्द्र धरातलमा पुगे अरे ….” भन्दाखेरिमा पनि ट्वाँऽऽ परेर बस्ने व्यक्तिहरुपनि थुप्रै छन् । धर्मशास्त्र भन्नेबित्तिकै नाक चेप्राउने उल्लुहरुको संख्यापनि कम छैन । अनि, शास्त्रलाई पोको पारेर पुजामात्र गर्ने, पढ्न–गुन्नचाहिँ नखोज्ने प्रवृत्तिपनि देखिएकै छ ।
चन्द्रमामा पहिरो गएर विचित्र किसिमको शब्द भइरहने गर्छ तथा त्यहाँ सात किसिमका पत्थरहरु छन् भन्ने तथ्य ऋग्वेद र शुक्लयजुर्वेदमा उल्लिखित रहेको पाइएको छ । (यहाँ त्यो ‘पहिरो’लाई सामान्य अर्थमा बुझ्ने गल्ती नगरौं नि !) आधुनिक अन्तरिक्ष विज्ञानले पत्ता लगाएको कुरा पनि यस्तै छ । यसरी सो वैदिक तथ्यलाई आधुनिक अन्तरिक्ष वैज्ञानिकहरुले पनि पुष्टि गरेका छन् । वेदमा भनिएझैं नै धातु खानी भएको तथ्यपनि क्रमशः प्रमाणित भइरहेका छन् । विश्वको सबैभन्दा पुरानो शास्त्र ऋग्वेदको भनाइ आधुनिक वैज्ञानिकहरुको खोजीले पुष्टि हुनुको ठुलो अर्थ छ । यसले इंगित गर्ने संकेत पनि निक्कै महत्वपूर्ण छ ।

वेदमा “यां चन्द्रमसि ब्राह्मणा दधुः” भनी ब्राह्मणहरुले पृथ्वीको भाग चन्द्र धरातलमा लगेर राखेको प्रागैतिहासिक कालको ‘इतिहास’पनि भेटिइएको छ । यस तथ्यले के देखाएको छभने नील आर्मस्ट्रङ्हरुलाई चन्द्र धरातलमा पुग्ने प्रथम मानवको मान्यता अहिले मिलिरहेको छतापनि उनीभन्दा हजारौं वर्ष अघि (कुनै युगमा) ऋषि एवम् ब्राह्मणहरु चन्द्र धरातलमा पुगेको हुनुपर्छ । अझ आश्चर्यको कुरो लाग्नसक्छ तपाईंहरुलाई— वेदमा अन्तरिक्षयान निर्माण गर्ने र विभिन्न लोकमा यात्रा गर्ने प्रविधिको बयान गरिएका ऋचाहरु हामीसँग छँदैछन् र यदि त्यसकालागि खर्च हुने अरबौं रुपैयाँ उपलब्ध हुनसक्दा हामीले त्यस्ता अन्तरिक्षयानहरु निर्माण गर्न सकिन्छ । आर्य परम्पराका शास्त्रहरु वेद, उपनिषद् आदि र ‘विज्ञान’ बीचको अन्तर्सम्बन्ध बुझ्न नसक्दा हामीलाई भइरहेको घाटाको पत्तो कतिलाई होला ? अनि ख्याल रहोस्— यदि आधुनिक प्रविधिपनि लिन नसक्ने र परम्परागत प्रविधिपनि बिर्सने होभने समयको प्रवाहमा गतार्थ (आउटडेटेड) भई कालान्तरमा समाप्तै हुने नियति भोग्नुपर्छ नि ! अस्तु ।

स्पेसटाइम दैनिक, वर्ष ३ अंक ६०, वि.सं. २०५९ पुस २० शनिवार, पेज नं. ६ मा प्रकाशित


Write A Suggestion

%d bloggers like this: