जरो किलो नेपाल मै भयको मौलिक रैथाने पर्व #सुर्माभवानी दार्चुला


दार्चुला सदरमुकामबाट ४ दिन वा यातायात साधन पुगेको लटिनाथबाट २ दिन पैदलयात्रापछि खण्डेश्वरी– १, घाजिर गाउँमा पुग्न सकिन्छ । यहाँ सुर्माभवानी, पाङ्रजडीलगायतका विभिन्न मन्दिर छन् । प्रत्येक हिउँदमा सुर्माभवानीको ठूलो जात्रा लाग्दछ । प्रत्येक बिजोड वर्षमा सानो जात्रा लाग्ने गर्दछ । यो जनैपूर्णिमाको पाँच दिनअगाडि सुरु हुन्छ । घाजिरबाट सुरु हुने यो जात्रा क्षेत्ती हुँदै बझाङ जिल्लाको सुर्मा सरोवर स्नान गरेर पुन: सुर्माभवानी मन्दिर आईपट्खेलोमा पुगेर सकिन्छ ।

सुर्मा_सरोवर_जात्रामा_सहभागी_महिलाहरु
जात्रामा सहभागी हुन श्रद्धालुहरू जनैपूर्णिमा पूर्वको औंसीदेखि माछा, मासु, लसुन, प्याज नखाएर उपवास बस्छन् । जात्राका क्रममा घाजिर र क्षेत्तीमा महिला, पुरुष, केटाकेटी सबैजसो सहभागी भए पनि सुर्मा सरोवरमा भने पुुरुषहरूले मात्र भाग लिने चलन छ । उनीहरूलाई वीरे भनिन्छ । पहिलोचोटि सुर्मा सरोवरसम्म जानेलाई बालो वीरे र पुरानालाई बूढो वीरे भनिन्छ ।
परापूर्वकालमा सुर्मा देवी बझाङबाट दार्चुलाको घाजिर क्षेत्ती हँ‘दै विनायक, कालागाड, दुवैकोधार, वीरेओडार, सुर्माको सेरो, नवाडाँडा हुँदै सुर्मा सरोवर गएको जनविश्वास छ । त्यही भएर त्यहाँ जाने वीरेहरू पनि महिलाको भेषमा गादो पारेर मुख छोपेर जाने चलन छ । वीरेहरूले हातमा निंगालोको लठ्ठी बोक्छन्, जसलाई वीरे लौरी भनिन्छ । जात्रामा सबै खाली खुट्टै सहभागी हुनुपर्ने रीति छ ।
घाजिरबाट सुरु जात्राको नेतृत्व गर्ने व्यक्तिलाई स्थानीय भाषामा मुला भन्ने गरिन्छ । वीरेहरूको लठ्ठीको आकार पनि फरक–फरक हुन्छ । मुलाको वीरे लौरीको लम्बाइ सात हात, कनिष्ट मुलाको लौरी ६ हात र वीरेहरूको लौरी ५ हातको हुन्छ । वीरेहरू क्षेत्ती पुगेपछि महिलाको समूहसँग एकछिन रमाइलो वातावरणमा चाह खेल्ने गर्दछन् । जात्रा सुरु हुँदा देवीको स्तुति चाह तथा अन्य देउडा गाउँछन् । चाह खेलेपछि वीरेहरू अगाडि बढ्छन् । पहिलो दिनको बसाइ क्षेत्तीमा हुन्छ । दोस्रो दिन उनीहरू धौलापुर, डाँडाबाघ देवताहरू काँपेर आशीर्वाद दिँदै ढकेहरूले ढाको बजाउँदै कापु खोलाको किनारै किनार उकालो लाग्दछन् । वीरेहरूले विभिन्न ठाउँका देवीका मूर्तिहरूमा कसार चढाउँछन् । त्यस दिन उनीहरू वीरे ओडार पुगेर बास बस्छन् ।
त्यसराति खाना खाँदैनन् । तेस्रो दिन बिहान सुर्मा सेरो हँ‘दै यात्रा अगाडि बढ्छ । वीरेहरूको समूह नवाडाँडा पुगेपछि बालो वीरेहरूले यताउता कहीं पनि नहेरी हिँड्नुपर्ने नियम छ । उनीहरू सुरुमा निहुरिएर, त्यसपछि घुँडा कुहिनोले टेकेर र सुर्मा सरोवार नजिक पुग्दा भुइँमा लम्पसार परी घस्रेर जाने गर्दछन् ।
सुर्मा सरोवरमा पुगेपछि नौला वीरेहरू मुख छोपेर बसिरहनुपर्छ । मुलाले सुर्मा सरोवरमा वीरे लौरोलाई ज्वार गरी देवीको नाममा भाकल गरेको सामान कुण्डमा एवं मन्दिरमा धूपबत्ती बालेर पूजाआजा गर्ने गर्दछन् ।
त्यसपछि सबै उनादेसी, उवादेसी एवं वाइदेसी सबैले सुर्मासरोवरको जल ग्रहण गरी गंगामाटी झिकी प्रसादका रूपमा लिने गर्दछन् । त्यहाँ पूजा गरेपछि वीरेहरूको फिर्ती यात्रा सुरु हुन्छ । सुर्मा सरोवरबाट हिंडेर पुन: वीरे ओडारमा बास बस्न आइपुग्छन् । त्यसराति पुरी पकवान पकाएर खाने गरिन्छ । भोलिपल्ट क्षेत्तीतर्फ आउने क्रममा कालागाडबाट अगाडि आइसकेपछि नौला वीरेहरूको दौड सुरु हुन्छ । दौडमा पहिलो र दोस्रो हुने वीरेलाई अबिर लगाएर दुवो हाल्दै सम्मान गर्ने चलन छ ।
वीरे दौड सकिएपछि तीर्थयात्रीहरू दार्चुला र बझाङको सिमाना विनायक पुग्दछन् । त्यहाँ देवीको प्रसादको रूपमा त्यस क्षेत्रमा मात्र पाइने ब्रह्मकमल फूल टिपेर अघि बढ्ने चलन छ । त्यहाँबाट माला साट्ने बगर पुगेर वीरे लौरो सजाएर ब्रह्मकमल फूलको माला टाउको र घाँटीमा लगाउँदछन् ।
क्षेत्तीमा मारखण्डे गुफा, सिद्धगुफा, रूपसेधारा, कामधेनु गाई, प्राचीनकालमा सिद्धमायाले खाना पकाएको ठाउँ ताउलो घोप्टे, भादल गोप्टेलगायतका धार्मिकस्थलको दर्शनपछि वीरेहरू घाजिरका लागि प्रस्थान गर्छन् । अनि घाजिरस्थित सुर्मादेवी मन्दिर पुगेपछि वीरे लौरो ज्वार गरी धौलापूर देवता कापेर वीरेहरूले भक्तजनलाई वर दिएपछि जात्रा समाप्त हुन्छ ।

http://kantipur.ekantipur.com/printedition/news/


Write A Suggestion

%d bloggers like this: