म मूलवासी (Indigenous) यो देशको


Dr Nirmala Mani Adhikary—

सबैले आफ्नो “जरो कीलो” थाहा पाउनु पर्छ । मलाई मेरो पारिवारिक परम्पराबाट आफ्नो “जरो कीलो” थाहा भएको हो ।
मेरो गोत्र “कश्यप” । मेरो प्रवर “कश्यप असित देवल” । मेरो थर “अधिकारी” । विभिन्न प्रकारका अधिकारीमध्ये हामी “अलना अधिकारी” ।
(१) मेरा पुर्खा कश्यप ऋषिको मूल थलो वर्तमान नेपालको गण्डकी क्षेत्र । उनी वैदिक ऋषि हुन् । उनी वेदका मन्त्रद्रष्टा ऋषि हुन् । उनको कृति “कश्यप संहिता” (आयुर्वेद ग्रन्थ) अहिले पनि छँदैछ । उनको मूल थलोमा कश्यप ताल र कास्कीकोट अहिले पनि छँदैछन् । अहिले नेपालको सरहद भित्र नपरे तापनि ऐतिहासिक कालसम्म नेपालकै भूभाग रहेको कश्मीर (कश्यप मेरु) पनि उनकै नामलाई स्मरण गराइरहेछ । उनी वैदिक मन्त्र द्रष्टा ऋषि हुन् र वेद संहिताको समय जहिले हो, कश्यप ऋषिको समय पनि सोही बेला हो । उनका वंशमा पर्ने असित ऋषि नै कम्तीमा पनि १८ हजार वर्ष पहिलेका हुन् भन्ने तथ्य छ ।
(२) मेरा पुर्खा असित ऋषिको थलो वर्तमान नेपालको कर्णाली क्षेत्र । करिब १८ हजार वर्ष पहिले बोन धर्मका संस्थापक तिब्बतबाट स्वयम्भू (काठमाडौँ) आउँदा र तपस्या सकी तिब्बत फिर्ता हुँदा असित ऋषिकै आश्रममा बास बसेका थिए ।
(३) मेरा पुर्खा देवल ऋषिको थलो पनि वर्तमान नेपालको कर्णाली क्षेत्र । करिब २६ सय वर्ष पहिले सिद्धार्थ गौतमको जन्म भएपछि राजा शुद्धोदनको दरबारमा उपस्थित भई नवजात शिशु भविष्यमा बुद्ध बन्ने भविष्यवाणी गर्ने देवल ऋषि नै थिए ।
(४) तत्कालीन जुम्ला राज्यमा “अधिकारी” (शासकीय पद) भएको र जुम्ला राज्य अन्तर्गतको विशेष स्थान “अलनापुर” का निवासी भएको हुनाले हामीलाई “अलना अधिकारी” भनिएको हो ।
(५) कालान्तरमा कर्णाली क्षेत्रबाट गण्डकी क्षेत्रमा बसाइँसराइ भयो हाम्रो । हाम्रो वंशावलीले तत्कालीन जुम्ला राज्यबाट वर्तमान कास्की जिल्ला, वर्तमान लम्जुङ जिल्ला हुँदै वर्तमान तनहुँ जिल्लामा हाम्रा पुर्खाले गरेका बसाइँसराइलाई अभिलेखन गरिरहेको छ ।
मलाई आफ्नो “जरो कीलो” थाहा छ ।
मलाई गर्व छ म यो देशको मूलवासी रैथाने हुँ ।
म यो देशको मूलवासी रैथाने हुँ भन्दैमा अन्य भूभागबाट यो देशमा बसाइँसराइ गर्ने कुनै पनि जाति, प्रजाति, नश्ल, समुदाय, सम्प्रदायलाई घृणा गर्दिनँ र सबैसँग सहृदयताको सम्बन्ध चाहन्छु ।


Write A Suggestion

%d bloggers like this: