भगवान् श्रीकृष्ण, भगवद्गीता र नेपाल !


मुकुन्द शरण उपाध्याय—-

भगवान् श्रीकृष्ण, भगवद्गीता र नेपाल !

१. कृष्णजन्माष्टमी काे एस पवित्र अवसर मा श्रीकृष्ण भगवान् र वहाँ को शिक्षा भगवद्गीता बारे मेरा मन मा उठेका केही तर्क सुनाउन मन लाग्यो । वर्तमान विश्व लाई श्रीकृष्ण को महान् उपहार भगवद्गीता हो । यो उपहार हिन्दू का लागी मात्र नभएर समग्र मानवता लाई नै हो र यो कृति भगवान् श्रीकृष्ण को जीवनदर्शन पनि हो । एही नै वहाँ को सुदर्शन (सु राम्रो र दर्शन विचार) चक्र हो । तर एसलाई सुन्दर कविता मा आबद्ध गरेको भने महर्षि वेदव्यास ले हो ।

२. महाकवि वेदव्यास उमेर ले श्रीकृष्ण भन्दा जेठा थिए ता पनि श्रीकृष्ण का विचार बाट उनी अत्यन्त प्रभावित एवं उनका अत्यन्त प्रेमी थिए । उनको श्रीकृष्णप्रेम लाई यो प्रेमी शब्द ले समेट्न शायद सम्भव छैन । अंग्रेजी ‘फ्यान’ शब्द वा संस्कृत कै ‘भक्त’ शब्द ले पनि पुग्दैन होला, अर्थात् उनी अत्यन्तै आस्थावान् थिए श्रीकृष्ण प्रति । तिनै व्यास ले श्रीकृष्ण मा तन्मय बनेर यो कृति सम्पादित गरे ।

३. भगवद्गीता एउटा सुन्दर खण्डकाव्य पनि हो । एति प्रभावकारी र कालजयी खण्डकाव्य अहिले सम्म अर्को कतै लेखिएको छैन, अंग्रेजी मा, फ्रेञ्च मा, बंगाली मा अथवा विश्व को अन्य कुनै समृद्ध भाषा मा पनि । यो तेस्तो काव्य हो जहाँ विचार श्रीकृष्ण का तर शब्द वेदव्यास का छन् ! प्रश्नकर्ता अर्जुन छन् तर प्रश्न ले हाम्रो मन को भाव बोलिरहेको छ । कति अद्भुत छ यो कृति !

४. गीता महाभारत भीष्मपर्व कोे पच्चीसौं अध्याय मा शुरू भएर बयालीसौं अध्याय मा सकिन्छ र तेहाँ पनि यो अक्षरशः उस्तै छ जस्तो आज हाम्रा सामू छ । कतिपय विद्वान् ले यो अमर कृति पहिले स्वतन्त्र रूप मै लेखिएको हुँदो हो र पछि महाभारत मा गाभिएको हो कि पनि भनेका छन्, तर यो कृति महाभारत कै अभिन्न अंश बनेर बसेको छ ।

५. प्रश्न उठ्छ ‘‘तेसो भए महाभारत कुन देश मा लेखियो होला त ?’’ एसको उत्तर त सरल छ “यो महान् कृति हाम्रै नेपाल मा लेखिएको हो” तर हाम्रो मन भने सरल छैन, हाम्रो मन अज्ञान ले एसरी जकडिएको छ कि कसै ले सत्य कुरा सुनायो भने पनि डराउँछ र भन्न थाल्छ राम, राम ! तेति ठूलो काम पनि नेपाल मा भयो होला र ? होइन होला है ! मैले त पत्याइन ! तर यथार्थ के हो भने ‘यो लेखिएको नेपाल मै हो’ । अहिले अत्यन्त चर्चित दक्षिण भारतीय विद्वान् सद्गुरु जो प्रायः अंग्रेजी मा प्रवचन दिन्छन्, उनी पनि भनिरहेछन् ‘‘हिमालय को त्यो भाग जसलाई अचेल नेपाल भनिन्छ तहीं नै वेद, उपनिषद्, रामायण र महाभारत लेखिएका थिए’’ ।

६. मैले फेसबुक का अघिल्ला प्रस्तुतिहरु मा पनि देवदत्त पटनायके, श्रीश्री रविशंकर र श्री महर्षि महेश योगी आदि का कुरा उठाएको छू । गीताप्रेस गोरखपुर का प्रधान सम्पादक रामनारायण शास्त्री र गोखनाथ मन्दिर का स्व. महन्त तथा भारतीय लोकसभा का सदस्य महन्त दिग्विजय नाथ ले त प्रत्यक्ष मलाई नै यो कुरा भनेका छन्, मैले वहाँहरु लाई भेटेर कुरा गरेको छू । तर धेरै जसाे भ्रम फैलाउनेहरु पनि तेतै तिर का छन् ।

७. एसरी हामीले नभन्दा नभन्दै पनि विदेशीहरु महाभारत नेपाल मा लेखिएको हो भनिरहेछन् र वेदव्यास नेपाली थिए भन्ने बुझिरहेछन् । व्यास का आश्रम हिमालय क्षेत्र मा कोशीनदी देखि पूर्व को बदरीवन मा, कौशिकी को तट मा, दमौली र सरस्वती नदी को समीप मा गरी अनेक ठाउँ मा थिए । भागीरथी नदी भन्दा पश्चिम तर्फ पनि उनको आश्रम थियो । स्कन्दपुराण हिमवत्खण्ड को १५४ अध्याय मा व्यास ले वाग्मती र विष्णुमती को संगम मा नुहाएको वर्णन पनि छ ।

८. हुन त महान् विभूति र कृतिहरु लाई राष्ट्रिय सीमा ले छेक्दैन । तैपनि ती विभूति र कृतिहरु का कारण कुनै एउटा देश ले पाउने गौरव अर्को देशविशेष का नाम मा जानु पनि उचित हुँदैन । श्रीकृष्ण, बुद्ध, विश्वामित्र, पाणिनि, महावीर, जीसस, मुहम्मद, वाल्मीकि, प्लेटो र चाणक्य आदि र वेद, गीता, बाइबिल, कुरान र अष्टाध्यायी आदि कृतिहरु कुनै एउटा देशविशेष का सीमा भित्र मात्र अटाउने विषय मा पर्दैनन् र जन्मदेश को सीमा ले तिनलाई बाँधिरहन पनि सक्दैन तापनि मानवजाति ले ऐतिहासिक वस्तुतथ्य लाई जान्न पाउनै पर्छ ।

९. एक छिन लाई यो मानौं कि हिन्दी वा अंग्रेजी मा हाम्रा महाकवि देवकोटा को मुनामदन मा फिल्म बन्यो भने हामी कति आनन्दित बनौंला ? तर हाम्रै अर्का महाकवि व्यास ले लेखेको महाभारत मा अनेकौं भाषा मा अनेक किसिम का चलचित्र बनिसक्दा पनि हामी किन आनन्द पाउन बाट ठगियौं ? यो कम गम्भीर विषय हाे त ? मलाई लाग्छ अवश्य नै हाेइन ।


Write A Suggestion

%d bloggers like this: