वर्णहरु घटाउने कुरा : डरलाग्दो षडयन्त्र


Lok Mani Paudel

Lok Mani Paudel – लेखक

अहिले नेपाली भाषा मा निस्किएका कतिपय व्याकरण का पुस्तकहरु मा केही वर्णहरु घटाउनु पर्ने जिकिर गरेको देखिन्छ। व्यक्तिगत रूप मा निकालेका ती पुस्तक ले मलाई उति सारो चिन्तित तुल्याएका थिएनन् जति त्रिवि तथा प्रज्ञा ले आधिकारिक रूप मै तेसको उर्दी जारी गर्दा चिन्तित पार्यो । प्रज्ञा ले नेपाली भाषा मा ञ, ण, व, श, ष व्यञ्जन को आवश्यकता नरहेको भन्दै पुस्तक नै प्रकाशित गरेर तेसलाई आधिकारिकता दिने प्रयास गरेको छ। प्रज्ञा बाट प्रकाशित ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ तेसको पछिल्लो नमूना हो। प्रज्ञा का उपकुलपति को संयोजकत्व मा सम्पादक मोहनराज शर्मा र सदस्य द्वय महादेव अवस्थी र देवीप्रसाद गौतम सम्मिलित व्याकरण निर्माण समिति ले तयार गरेको व्याकरण ले थुप्रै प्रश्नहरु उब्जाएको छ । यहाँ तेसले उब्जाएका अन्य प्रश्न लाई थाति राखेर केवल वर्ण का सम्बन्ध मा छापिएका कुरा लाई कोट्याउने प्रयास गरेको छू ।

त्रिवि कै रेखदेख र निगरानी तथा प्रज्ञाप्रतिष्ठान को पहलकदमी मा सरकारी ढुकुटी को खोलो नै बगाएर नेपाली भाषा को हिज्जे माथी एति जघन्य अपराध भइरहेको छ कि तेसको जति निन्दा गरे पनि कमै हुन्छ । उक्त प्रज्ञा नेपाली सन्दर्भ व्याकरण को पृष्ठ ५० मा तालीका नै दिएर नेपाली मा २९ वटा मात्रै व्यञ्जन भएको उल्लेख छ । तेहाँ तलथोप्ली व को प्रतिनिधि का रुप मा नचिरेको व लाई स्थान दिइएको छ भने विकास मा प्रयोग हुने व को अस्तित्व स्वीकारिएको छैन । अर्थात् नेपाली भाषा मा ञ, ण, व, श, ष व्यञ्जन को आवश्यकता नरहेको कुरा लाई आधिकारिक रुप मा पुष्टि गर्ने दुस्साहस गरिएको छ ।

यी व्यञ्जन नेपाली भाषा मा बोलिँदैनन् भन्ने उनीहरु को तर्क छ। तल थोप्ली व वर्ण लाई त आजभन्दा ५ दशक अगाडी नै फ्याँकी सकिएको हो। यी अहिले फ्याँक्न आँटिएका वर्णहरु लाई पनि उनीहरु संस्कृत तत्सम शब्द मा भने प्रयोग गर्नुपर्ने बताउँछन् । एसबाट के सिद्ध हुन्छ भने नेपाली वर्णमाला लाई यी वर्णहरु को बोझ बाट हलुका पार्ने उद्देश्य उनीहरुको होइन रहेछ । जब तत्सम शब्दहरु का लागि यी वर्ण उपयोग गर्नुपर्ने नै हुन्छ भने नेपाली वर्णमाला बाट तिनलाई हटाएर विद्यार्थी लाई ती वर्णहरु चिन्न नसक्ने किन बनाउन खोजिएको हो ? एस भित्र निहित स्वार्थ के हो ? के नेपाली भाषा को अस्तित्व समाप्त पार्ने षडयन्त्र मा त्रिवि र प्रज्ञा का मठाधीशहरु कस्सिएरै लागेका हुन् ?

एउटा कुरा नेपाली भाषा का प्रेमीहरु ले बुझ्नु जरुरी छ— नेपाली भाषा समुच्चार्य भाषा हो । जस्तो लेख्यो तेस्तै बोलिने । तेसैले हामीले आँफूसँग भएका वर्णहरु हटाउने वा घटाउने होइन बरु जोगाउने वा ब्युँताउने चेष्टा गर्नुपर्छ ।
एउटा तोते बोल्दै गरेको बच्चा ले “बाबा हेर त” भन्न नसकेर “बाबा हेल त” भन्यो भनेर “र” फाल्ने तथा अंग्रेजी मा “त” उच्चारण छैन भनेर “त” फाल्ने कुरा लाई जसरी व्यावहारिक मान्न सकिन्न उसरी नै नेपाली वर्णमाला बाट “ञ, ण, व, श, ष” लाई हटाउने कुरा स्वीकार गर्न सकिन्न ।

ञ को उच्चारण सुन्दा यँ जस्तो सुनिन्छ। जस्तै तपाञी।
ण को उच्चारण सुन्दा ण नै सुनिन्छ। गण र गन को भिन्न उच्चार।
व को उच्चारण सुन्दा उअ सुनिन्छ। व युक्त धेरै शब्दहरु छन्।
श को उच्चारण श्याम बोलेर हेर्न सकिन्छ।
ष को उच्चारण षडानन्द बोलेर हेर्न सकिन्छ।

एसरी यी सबै वर्ण मा उच्चारण वैचित्र्य छ। भोलि कुनै शक्तिशाली स्वरमापन यन्त्र बन्यो भने तेसले इनलाई सहजै पहिचान गर्ने छ। अहिले धमाधम ससाना नानीहरु का नेपाली पाठ्यपुस्तक बाट समेत यी वर्णहरु लाई हटाउने जुन काम भइरहेको छ र तेसको पक्ष मा जसरी अनेक गुरुहरु जुटिरहेका छन् तेसकाे विरोध मा हामी समस्त नेपाली भाषा का प्रेमीहरु एकजुट हुनु परेकाे छ । एसमा एसरी नै अाँखा चिम्लने हो भने एसले भोलि भयावह दुर्घटना निम्त्याउने छ ।


Write A Suggestion

%d bloggers like this: