देशको आवश्यकताअनुसार जनशक्ति उत्पादन भइरहेको छैन


डा. रामहरी लामिछाने, महानिर्देशक, कोलम्बो प्लान स्टाफ कलेज
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले कोलम्बो प्लान स्टाफ कलेज मनिलासँगको सहकार्यमा प्राविधिक शिक्षाको अनुसन्धानलाई चुस्त र बलियो बनाउने उद्देश्यले कार्यक्रम सुरु गरेको छ । 
 
सीटीईभीटीकै पूर्वसदस्य सचिव डा. लामिछाने कोलम्बो प्लान स्टाफ कलेजमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक छनोट भएर पहिलो नेपालीका रुपमा जिम्मेवारी ग्रहण गरेलगत्तै यो कार्यक्रम सुरु भएको हो । 
एसिया प्यासिफिक अन्तर्गत १७ देश आबद्ध कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक लामिछाने सीटीईभीटीका पूर्वसदस्य सचिव भएका नाताले पनि प्राविधिक शिक्षाको विकास र विस्तारमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ, हाल मनिलामै रहेका लामिछानेसँग गरिएको इमेल संवाद ः
 
प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण गरेकै दिन हरेक स्थानीय निकायसम्म एक प्राविधीक शिक्षालयको घोषणा गर्नुभएको छ , यसलाई कसरी हेर्नुहुन्छ ?
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू वाट घोषणा भएको एक स्थानिय निकायमा एक प्राविधिक शिक्षालय सारै राम्रो कार्यक्रम हो । त्यहाँ ३ महिना देखि १ वर्ष सम्मको सीपमूलक तालीमलाई प्राथमिकता दिनु पर्छ न कि डिप्लोमा ।  यो वढि श्वेतकलर रुपी छ । यसमा स्वरुप र तहबारे भने विस्तृत छलफल गर्न जरुरी छ ।
नेपालको समग्र शिक्षा प्रणालीको बारेमा तपाईको धारणा के छ ?
बास्तवमा भन्ने हो भने नेपालमा एकिकृत शिक्षा नितिको अभाव छ । अझै पनि विद्यालय शिक्षा, प्राविधक शिक्षा र उच्च शिक्षा वीच तादम्यता छैन ।  विद्यालय शिक्षा बाट  प्राविधिक शिक्षा तर्फ जाने र उच्च शिक्षा तर्फ सेतुको काम हुन सकेको छैन । शिक्षा नितिले देशको शिक्षाको सहि उद्देश्य स्थापित गर्नु पर्दछ जुन भएको छैन अर्थात देश विकासको निम्ती कस्ता जनशक्ति उत्पादन गर्नुपर्ने हो र उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्देश्यका साथ शिक्षा प्रणालीको विकास गरिनु पर्छ ।
उसो भए हामीले नेपालको लागि नभएर विकसित देशका लागि शैक्षिक जनशक्ति तयार गरिरहेका त छैनौ ?
हामीले शिक्षा प्रदान गर्दा मुख्य गरी दुई पक्षमा विचार गरिनुपर्ने हुन्छ । एउटा विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने विज्ञान, प्रविधि, ईन्जिनियरिङ्ग र गणीत विषयमा सवल वनाउने र अर्को नेपालको सन्दर्भमा उपलव्ध श्रोत र साधनको उपयोग गरी रोजगारी सिर्जनागर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्न जरुरी छ ।
हाम्रो शिक्षाको मुख्य कमजोरी के हो त ?
हामीले सहि निति र व्यवस्थापन गर्न नसक्दा एउटै शैक्षिक प्रणालीबाट २ किसिमका  जनशक्ति उत्पादन गरिरहेका छौ । उदाहरणको लागि हुने खाने वर्ग अर्थात धनि र गरीव विचको विभेद बोडिङ्ग स्कूलमा उजागर हुन पुग्यो ।
अर्थात बोडिङ्ग स्कूल भनेको धनीले पढ्ने र सामदायिक स्कूल भनेको गरीवले पढ्ने रुपमा देखियो । साथै बोडिङ्ग स्कलमा पढ्ने उच्च मध्यम वर्गिय र धनि बर्गका छोराछोरीहरु नेपाली परिबेशबाट टाढा छन् अर्थात नेपालबारे कम बुझेका हुन्छन र सदैव ध्यान अमेरीका , अष्ट्े«लिया र क्यानडा कसरी जाने र कसरी भौतिक सुख सयलमा रमाउने भन्ने अवसरको खोजीमा हुन्छन् ।
अर्कौ तर्फ सामुदायिक बिद्यालयमा पढेका बिद्यार्थीहरु पनि अरुको सिको गदै मध्य पूर्वका देश मलेशिया र अन्य मूलुकमा काम गर्न जाने दौडमा सरिक छन् । थोरै प्रतिशतले मात्र सरकारी सेवामा रोजगारी पाएका छन् । तसर्थ देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न नसक्नु नै प्रमुख कमजोरी हो ।
देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न के के गर्नु पर्दछ ?
पहिलो कुरा त शिक्षाको उद्देश्य स्पष्ट पार्नु जरुरी छ,  जस्तै स्वउध्यमका लागि शिक्षा, स्वदेशी रोजगारी, बैदेशिक रोजगारी कुनमा कति भार दिने हो सो अनुरुपको उद्देश्य सहित पाठ्यक्रम तर्जुमा हुन पर्दछ ।
उदाहरणका लागि नेपालमा ४२ वटा शिक्षा संकायका क्याम्पसबाट बार्षिक २० हजार वि.एड उत्पादन गर्नु जरुरी छ कि छैन ? तिनीहरुको काम केवल शिक्षक मात्र हुने हो । अगे्रजीमा वि.एड गरेको ब्यक्ति र अगे्रजी मुख्य विषय लिई वि.ए गरेका ब्यक्ति कुन अग्रेजीका लागि दक्ष शिक्षक हो किटानी हुन जरुरी छ ।
त्यस्तै गरी आगामी १० बर्षका लागि नेपालमा विषयगत जनशक्तिको आबश्यकता प्रक्षेपण गर्नु जरुरी छ । जस्तै नेपालमा जलविद्यतको प्रचुर संभावना छ तर जलविद्युतसंग सम्वन्धित आधारभूत, मध्यम र उच्च दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन ।
नेपालको पेशागत क्षेत्रको उत्पादकत्वमा कमि भई रहेको छ । यसमा प्राविधिक जनशक्ति र उत्पादकत्व विच कस्तो तादम्यता छ ? 
वास्तवमा मध्यम तथा उच्च तहका अधिकांस प्राविधिक जनशक्तिले आफ्नो पेशागत क्षेत्रको उत्पादकत्व वृद्धिमा काम नगरेको कारणले गर्दा नै उत्पादन क्षेत्र दिन प्रतिदिन गिर्दो अवस्थामा छ ।
आर्थिक विकासको बाटोमा लम्केका देश एवं अष्टे«लिया जस्ता विकसित देशमा समेत कृषक भनेको कृषिमा डिप्लोमा तथा उच्च अध्ययन गरेका मात्र हुुन्छन । जस्ले गर्दा कृषिमा ज्ञान र प्रविधिको प्रयोग भई उत्पादकत्व ज्यादै नै उच्च भएको पाईन्छ ।
तर हाम्रो देशमा त्यस्ता जनशक्ति कृषकको रुपमा देख्न दिवास्वप्न सरह छ । अतः कृषि क्षेत्र दिनानुदिन खस्कँदो अवस्थाले गर्दा ब्यापार घाटा उच्च छ । यो त उदाहरण मात्र हो । अन्य क्षेत्रमा पनि यो समस्या उस्तै छ ।
नेपालमा गुणस्तरीय शिक्षाको लागि के कस्तो प्रावधान हुन जरुरी छ ?
गुणस्तरीय शिक्षा आफैमा यस्तो विषयवस्तु हो जुन सन्दर्भ अनुसार फरक हुन्छ । मुख्य गरी त्यस्तो  शिक्षा जसले देशको लागि सुयोग्य नागरीक बनाउने, आफ्नो क्षेत्रमा ज्ञान सीप र व्यवहारमा निपूर्ण, र उद्यमशिलता सहितको रोजगारी हुन सक्ने हुनुपर्छ ।
शिक्षाले ग्लोवल बातावरणमा सोच्ने एवं प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रको हितमा काम गर्न सक्ने जनशक्ति उत्पादन गरेमा मात्र त्यो गुणस्तरीय शिक्षा हुन्छ ।
अतः नेपालको सन्दर्भमा गुणस्तरीय शिक्षाको लागि शिक्षाको स्पष्ट निति र उद्येस्य, समय सान्र्दर्भिक स्वरोजगार मुखी पाठ्यक््रम, सवै विद्यालयमा  यथेष्ट शैक्षिक सामग्रीहरु एवं पढ्ने वातावरण, विषयगत क्षेत्रमा सर्वोच्चता प्राप्त ब्यक्तिलाई शिक्षक वनाउने वातावरण, शिक्षक दक्षता परीक्षाबाट छनौट गर्ने कुुराहरु अपरिहार्य छ ।
तपाईको बढी विज्ञता भएको प्राविधिक शिक्षाको सन्दर्भमा आगामी  दिनमा प्रविधीक शिक्षालाई कुन किसिमले विकास गर्नुपर्ला ?
पहिलो कुरो त प्राविधिक तथा व्यावसायिक शिक्षा भन्ने वित्तिकै गरी खाने  शिक्षा भएकोले सीप, ज्ञान र व्यवहार सहितको सक्षमतामा आधारित शिक्षा हुनुपर्दछ ।
नेपालको सन्दर्भमा संख्यात्मक रुपमा धेरै प्राविधिक शिक्षालयहरु, प्राविधिक कलेजहरु छन् तर उत्पादित जनशक्तिहरु  आफ्नो क्षेत्रमा प्रयोगात्मक काममा निपुर्णता  भएको र सीपमूलक  काम गर्ने चाहाना भएका धेरै कम भेटिन्छन् ।
त्यसैले प्रगोगात्मक भार बढाई स्वउद्यमशिलता सम्वन्धि विषय पाठ्यक्रममा बढाउन जरुरी छ । त्यस्तै गरी  सवैको चाहाना स्वेत रोजगारी अर्थात सुपरभाइजरमुखी भएबाट पाठ्यक्रममा परिवर्तन गर्नु जरुरी छ ।  त्यस्तै आधारभूत सीप को लागि कम्तीमा १ वर्षको सीपमुलक तालिमलाई व्यापकता दिन जरुरी छ ।
संघीय नेपालको सन्दर्भमा प्राविधीक शिक्षा कस्तो ढाँचामा जानुपर्छ ?
संघीय तहमा प्राविधिक विश्व बिद्यालय, राष्ट्यि व्यावसायिक दक्षता प्राधिकरण, गुुुणस्तर निर्धारणका लागि केन्द्रिय निकाय हुन जरुरी छ भने प्रादेशिक तहमा प्रादेििशक प्राविधिक तथा व्यावसायिक  शिक्षा एवं तालिम परिषद् र बहु प्राविधिक शिक्षालय आवश्यक छ । त्यसैगरी स्थानिय तहमा  सीपमूलक व्यावसायिक तालिम केन्द्रहरु स्थापना गरिनुपर्छ ।
प्राविधिक शिक्षाको लागि श्रोत परिचालन र व्यवस्थान कसरी गर्नु पर्ला ?
राष्ट्रिय सीप विकास कोष खडा गरी एकद्धार प्रणाली मार्फत श्रोत प्रवाह  गर्नुपर्छ । प्राईभेट र सरकारी श्रोत दुवैलाई सही ढंगबाट व्यवस्थापन गर्नु जरुरी छ । १२ वटा मन्त्रालयमा सीपमलक तालिमको  बजेट प्रवाह गरी दुरुपयोग गर्ने   परिपाटी अन्त्य हुन जरुरी छ ।
विद्यालयमा कक्षा ९ बाट शुरु भएको  प्राविधिक धारका सम्वन्धमा तपाईको धारणा कस्तो छ  ?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट संचालित टिएसएलसी र डिप्लोमा कार्यक्रम त प्रयोगात्मक सीपको अभावमा  स्वेतकलरमूखी भएको अवस्थामा  कक्षा ९ देखि प्राविधिक धारको शिक्षा भनेको श्रोतको हिसावले बालुवामा पानी खन्याए सरह हो भने विद्यार्थी र अविभावकलाई गुमराहमा पारी न दक्षता दिन सकिएको छ नत  साधारण शिक्षाको  विज्ञान, गणीत, अग्रेजी र सामाजिक शिक्षामा अव्वल बनाउन सकिएको छ ।  यो त झन् उद्देश्य विहिन छ भन्नु उपर्युक्त होला ।
त्यसो हो भने प्राविधिक धारको बिद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्नुुपर्छ ?
बिद्यालय तहमा प्राविधिक एवं व्यावसायिक शिक्षाको जानकारी दिने स्वउद्यमशिलता विषय थप्ने, सफ्ट स्किल (संचार, भाषा, आतिथ्यता) जस्ता विषय थप्ने र अनुसन्धानमुलक शिक्षा प्रणाली विकास गर्नु जरुरी छ । विशेष गरी खेलकुद, संगीत, स्वउद्यमशिलता, पर्यटन, कृषि जस्ता विषयहरु मात्र राखी व्यावसायिक धार राख्नु पर्दछ ।
१२–१५ वर्षको विद्यार्थीलाई इन्जीनीयरीङ तथा कृषि विषयका हार्ड प्राक्टीकल स्किलहरु राख्दां उनीहरुको उमेर र अन्य विषयमा दिनुपर्ने समय अपुग हुदां विद्यार्थीहरु झन कमजोर निस्कन्छन् ।
त्यसैले सरल विषय तर्फ मात्र केन्द्रीत गरी व्यवसायिकताको भावनाको विकास मात्र गर्नु पर्छ । त्यस पछि उच्च माध्यमिक तहमा उनीहरु प्राविधिक शिक्षा वा साधारण शिक्षा तर्फ रुची अनुसार आफ्नो बाटो तय गर्न सकुन् ।
–बुधवार साप्ताहिकबाट

Write A Suggestion

%d bloggers like this: