पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने भारतमा हलचल

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने

इस्तानबुल, ८ कात्तिक :  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

खान प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो चीन भ्रमण हुने भएको छ । उहाँको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उहाँको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउनु हुने कार्यतालिका रहेको छ ।

पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा उहाँले मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्नुहुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

Write A Suggestion

%d bloggers like this: