थानकोट–चन्द्रागिरी–चित्लाङ सडकको दुरावस्थाबारे सरकारको ध्यानाकर्षण

  • 56
    Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले आफ्नै पार्टीको मन्त्रीको चर्को आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा समय लिएर बिडारीले भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठको आलोचना गरेका हुन् ।

उनले थानकोट–चन्द्रागिरी–चित्लाङ सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराएका हुन् । सो सडक अलपत्र पारेर छोडिएको छ । यसअघिको ठेकदार कम्पनी किरातेश्वर कन्स्ट्रक्सन प्रालिले काम गर्न छोडेको साढे चार महिना भयो तर सरकारले सो ठेक्का बदर गरी अर्को कम्पनीलाई दिने निर्णय गर्न सकेको छैन ।

सो बाटो निर्माणका क्रममा उत्खनन भएका सबै ढुङ्गाहरु बेचेर करोडौं कमाउने योजना बनाएको सो ठेकेदार कम्पनीले ति ढुङ्गाहरु बेच्न नपाएपछि काममा लापरवाही गरेको बताइन्छ । काम नगर्दा पनि मन्त्री, सचिव र विभागका महानिर्देशकले सो ठेकेदारकै पक्ष लिनुले थप शंका बढाएको बिडारीको आरोप छ ।

उनले ठेकेदार र मन्त्रीको रहश्मय साँठगाँठकै कारण काम अलपत्र पारेर भागेको साँढे ४ महिना हुँदा पनि मन्त्रील फाइल अड्काएर राखेको बताए । फाइल अड्काइरहँदा समयमा काम नगर्ने पुरानै ठेकेदारको पक्ष लिइरहेको स्पष्ट हुन्छ । उनले प्रदेश सरकार मार्फत केन्द्रीय योजनामा पारी छिटो भन्दा छिटो काम सम्पन्न गर्न भनी मुख्यमन्त्री डोरमणी पौडेलले लेखि पठाएको फाइल मन्त्री महासेठले साढे चार महिनादेखि च्यापेर राख्दा समस्या भएको अवगत गराए ।

उनले फाइल आफ्नो घर्रामा मन्त्रीले के कारणले अड्काएको भन्दै सदनलाई जानकारी दिन माग गरे । मन्त्री महासेठलाई राष्ट्रिय सभा अध्यक्ष मार्फत ठाडो प्रश्न राख्दै सभापति बिडारीले भने, ‘हामीले गम्भिरतापुर्व प्रश्न उठाँयौं, बारम्बार भेट्यौं, दिनहुँ जनता जुलुसको शैलिमा भाइरहेका छन्, तर जति धाएपनि फाइल रहश्यमय ढंगले मन्त्रीको घर्रामा किन अड्किएको छ ?’

त्यस्तै सभापति बिडारी हेटौंडा– दक्षिणकाली–भिमफेदी सडक निर्माणमा पनि त्यस्तै लापरवाही गरिरहेको बताए । प्रदेश सरकारले प्राथमिकतामा राखेको बाटो पुरानो ठेकेदारले सात वर्ष सम्म नबनाएकोमा उनको आक्रोश छ । उनले प्रश्न गरे, ‘मन्त्रीजीले दक्षिणतिरको प्रभाव वा मोटर कम्पनीको प्रभावमा परेर यस्तो काम गर्नुभएको हो ? ’

सभापति बिडारीले भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलाई यसअघि पत्राचार गरेर समेत सो सडकबारे चासो राखेका थिए ।

सरोकारवालाले चासो र दवावका साथ छिटो भन्दा छिटो सडक निर्माणका लागि माग गर्दै आएपनि निर्माण कार्यले गति लिन सकेको छैन । उनले सुरुङ निर्माणको समेत योजना रहेको सो बाटो उच्च प्रविधीयुक्त र छिटो बनाउनका लागि पत्राचार गरेका थिए ।

ठेकेदार कम्पनी किरातेश्वर कन्ट्रक्सनको चरम लापरबाही तथा उसलाई संरक्षण गर्न खोज्ने केही स्वार्थी समूहको सानो घेराका कारण जनताहरु तनावमा परेका छन् ।

यातायात तथा भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागले तदारुकता नदेखाउँदा निर्माण कार्यले तीव्रता पाउन नसकेको हो । अहिले सम्बन्धित मन्त्रालयले गम्भीरतापूर्वक ध्यान दिई फाइल अगाडि नबढाउँदा उक्त सडक आयोजनाका कर्मचारीहरूले तलबसमेत खान पाएका छैनन् भने ‘समयमा काम नगर्ने तर त्यहाँ उत्पन्न भएको ढुंगा निकालेर बेच्न खोज्ने’ ठेकेदारलाई पनि बहाना भएको छ ।

सरकारले चित्लाङ–थानकोट सुरुङ मार्ग निर्माण गर्ने गरी प्रारम्भिक कार्य सुरु गरेको अवस्थामा थानकोट–चित्लाङ सडक पनि केन्द्रीय स्तरले बजेट विनियोजन गरी निर्माण गर्न उपयुक्त देखिएको भन्दै प्रदेश सरकारले केन्द्रीय सरकारलाई पत्र पठाएको छ । तर, उक्त फाइल केन्द्रीय सरकारको भौतिक मन्त्रालयले अड्काएर राख्दा बेलामा काम नगर्ने ठेकेदार पनि पानीमाथिको ओभानो बन्न खोजेका छन् । सो प्रस्ताव मन्त्रपरिषदमा लगेर पास गराएपछि सो बाटो सम्बन्धमा नीतिगत उल्झन समाप्त हुनेछ ।

तर, आफूकहाँ प्रदेश सरकारबाट आएको फाइल मन्त्री महासेठले रहस्यमय ढंगले अड्काएर राख्दा समस्या भएको हो । प्रदेशका लागि निकै महत्वपूर्ण उक्त सडक केन्द्रीय स्तरबाटै निर्माण कार्य सम्पन्न गरिदिन मुख्यमन्त्री डोरमणि पौडेलको निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित आग्रह गरिसकिएको छ । तर, सो फाइलको अन्तिम टुंगो भौतिकमन्त्री रघुवीर महासेठले लगाएका छैनन् ।

त्यस क्षेत्रका जनप्रतिनिधि र स्थानीय जनताले पटकपटक ताकेता गर्दा पनि कामले गति नलिनुमा मन्त्रालयले नै समयमा काम नगर्ने ठेकेदारलाई संरक्षण गरिरहेको अनुभूति भएको स्थानीयहरू बताउँछन् । गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाडांैसँग जोड्ने सबभन्दा छोटो सडक मार्ग हो ।

करिब तीन दशकअघि निर्माण सुरु गरिएको सडकको महत्वलाई ध्यानमा राखेर सरकारले छुट्टै आयोजना गठन गरी प्राथमिकताको सूचीमा राखेको छ । थानकोट–चित्लाङ सडकमा रहेका ढुंगा, गिट्टी सबैभन्दा पहिले सो निर्माण कार्यमा उपयोग गरेर बचेको मात्र बेच्नका लागि चन्द्रागिरि नगरपालिकाले थानकोट–चित्लाङ सडक निर्माण आयोजना कार्यालयलाई पत्राचार गरेको थियो ।

तर पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म बाटो खन्दा निस्केका ढुंगा, माटो र ग्राभेललाई लुकीछिपी बेच्ने काम भइरहेको छ । किरातेश्वर कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको सो सडक समयमा सम्पन्न गर्ने्ितर उसले ध्यान दिएको छैन । म्यादभित्रै काम सम्पन्न गरेर आयोजना बुझाउनुपर्नेमा ढुंगा उत्खनन गरेर बिक्री गर्न नपाएको झोंकमा कम्पनीले काम गर्न आलटाल गरिरहेको छ ।

उक्त स्थानमा रहेका ती बस्तुको मूल्य ७३ लाख ८३ हजार १ सय ५९ रुपैयाँका दरले बिक्री गर्न लागिएको थियो । ती वस्तुको अनुमानित बजार मूल्य १४ करोड रुपैयाँसम्म हुन सक्छ ।


  • 56
    Shares

Write A Suggestion

%d bloggers like this: