मकवानपुरको चित्लाङमा भारतीय पर्यटक भित्र्याउन ‘हिल स्टेशन’


हेटौंडा– प्रदेश–३ सरकारले ६ महिना अघि स्थापना गरेको पर्यटन विकास आयोजनाले मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र चित्लाङलाई हिल स्टेशनको रुपमा विकास गर्ने भएको छ ।

आयोजनाले सोमबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै मकवानपुरको अग्लो स्थानमा रहेको चित्लाङमा हिल स्टेशनको रुपमा विकास गर्ने आयोजनाले जानकारी दिएको हो । आयोजनाका अनुसार हिल स्टेशन बनाउन घोषणा र प्रवद्र्धनको काम अगाडि बढेको छ । यसैगरी मकवानपुरमा पर्ने पुरानो त्रिभुवन राजपथलाई पर्यटकीय सडकको रुपमा विकास गरिने आयोजनाले जानकारी दिएको छ ।

पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले चित्लाङमा हिल स्टेशन निर्माण गर्ने आयोजनाले योजना सार्वजनिक गरेको छ । हिल स्टेशन बन्ने चित्लाङमा सूचना केन्द्र, होमस्टे, भ्यू टावरलगायतका पर्यटकीय क्षेत्रको स्थापना हुनेछ । आयोजनाले भारतीय पर्यटकलाई लक्षित गरी हिल स्टेशनको परिकल्पना गरिएको आयोजना प्रमुख राजु क्षेत्रीले बताए । उनका अुनसार भारतमा हुने अत्याधिक गर्मीमा भारतीयहरु गर्मी छल्न चित्लाङ ल्याउने योजनाको लक्ष्य छ ।

‘भारतमा अत्याधिक गर्मी हुन्छ । त्यसबेला भारतीयहरु जाडो ठाउँमा बस्न आउने वातावरण बनाउन हिल स्टेशन बनाइन लागिएको हो ।–’ क्षेत्रीले भने । मकवानपुरको चित्लाङबाट राजधानी काठमाडौं छोटो समयमै पुग्न सकिन्छ । चित्लाङबाट फाखेल र चन्द्रागिरीको अग्लो डाँडो पार गरेपछि काठमाडौं पुगिन्छ । आयोजनाले चित्लाङ पर्यटीय सम्भावना बोकेको क्षेत्र भएकोले हिल स्टेशन बनाउन उचित ठानेको हो ।

आयोजनाले एतिहासिक मकवानपुरगढीको विकास गर्ने भएको छ । मकवानपुरगढीको संरक्षण र प्रवद्र्धनको काम अगाडि बढाएको आयोजना प्रमुख क्षेत्रीले जानकारी दिए । मकवानपुरगढीसहित प्रदेशका अन्य १३ वटा गढीको संरक्षण र प्रर्वद्धन गरिने आयोजनाले जनाएको छ ।

त्रिभुवन राजपथलाई पर्यटकीय सडक

पर्यटन विकास आयोजनाले त्रिभुवन राजपथलाई पर्यटकीय सडकको रुपमा विकास गर्ने योजना अघि सारेको छ ।

यस राजपथमा मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्ज्याङ, दामन, टिष्टुङलगायतका अन्य पर्यटकीय क्षेत्र पर्दछ । सिमभज्याङमा भारतीय पर्यटकदेखि बारा, पर्सा, रौतहट, चितवनदेखिका आन्तरिक पर्यटक आउने गर्दछन । आयोजना प्रमुख क्षेत्रीले सिमभञ्ज्याङ, दामन क्षेत्रमा भौतिक संरचना निर्माण गरिने जानकारी दिए ।


Write A Suggestion

%d bloggers like this: