Sunday, September 15, 2024
Google search engine
Homeमुख्य समाचारभीमफेदी–कुलेखानी सुरुङमार्ग: जनताको करोडौँ लगानी बालुवामा पानी

भीमफेदी–कुलेखानी सुरुङमार्ग: जनताको करोडौँ लगानी बालुवामा पानी

मकवानपुर । भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको कार्य अघि बढ्न नसक्दा बर्षौँअघि पूर्वाधार विकास कम्पनी लिमिटेडले सर्वसाधारण जनतासंग उठाएको करोडौँ रुपैयाँ बालुवामा पानी भएको छ । कम्पनीका संचालक कुशकुमार जोशी, सिद्धिलाल श्रेष्ठ र एमाले नेता सुवासचन्द्र ठकुरीसमेतले सुरुङ्मार्गलाई देखाएर बर्षौँअघि स्थानीय जनताबाट करिब ३१ करोड रुपैयाँ संकलन गरेका थिए ।

पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको काममा हालसम्म एउटा ढिस्कोसमेत फोर्न सकेको छैन । उसले सो आयोजनाको लागि संकलन गरिएको लगानीबारे पनि हिसाबकिताब सार्वजनिक नगर्दा सर्वसाधारण जनता लगानी डुब्ने चिन्तामा छन् । पूर्वाधार विकास कम्पनी लिमिटेडले संघ सरकारसँग गरेको सम्झौताअनुसार सो सुरुङ्मार्गमा जनवरी २०१७ देखि नै सवारीसाधन सञ्चालन भइसक्नुथ्र्यो । तर, कम्पनीले निर्माणको काममा सिन्कोसमेत भाँच्न सकेन । भीमफेदी कुलेखानी सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेन सडकसहितको डिजाइन तयार पारिएको छ ।

उक्त सुरुङमार्गबाट हेटौंडादेखि काठमाडौँ पुग्न एक घण्टा मात्रै लाग्ने अनुमान थियो । २०६९ सालमा शिलान्यास भएको सुरुङ निर्माण गर्न सुरुमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो । तर, अब यो लागत ६० अर्ब नाघ्नसक्ने अनुमान गरिएको छ । बागमती प्रदेश सरकारले पनि बर्षेनी यो आयोजनाको लागि बजेट विनियोजन गर्दै आएको भएपनि निर्माणको कामले गति लिन नसक्दा सो बजेट फ्रिज भइरहेको छ । आर्थिक बर्ष २०७५/७६ देखि नै प्रदेश सरकारले उक्त सुरुङमार्ग निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेर बर्षेनी बजेट विनियोजन गर्दै आइरहेको भएपनि निर्माणको काम भने अघि बढ्न नसकेको हो । अघिल्ला आर्थिक बर्षहरुमा झैँ ०७७/७८ मा पनि प्रदेश सरकारले विनियोजन गरेको एक करोड रुपैयाँ फ्रिज हुन पुग्यो । प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले चालु आव ०७८/७९ मा पनि सो आयोजनाको लागि ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । एक दशकअघि शिलान्यास गरिएको सो आयोजना अहिले अलपत्र परेको छ ।

 ४ बर्षसम्म आश्वासन

बागमती प्रदेश सरकार गठन भएपछि सुरुङमार्ग निर्माणको लागि अग्रसर देखिएको थियो । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि आफ्नै नेतृत्वमा प्रदेश सरकारले सुरुङमार्ग बनाउन चाहेको बताएका थिए । उनले माओवादी नेताको सम्झनामा सुरुङ्को नाम ‘पोष्टबहादुर बोगटी भीमफेदी –कुलेखानी सुरुङ्मार्ग’ परिवर्तन गरी प्रदेश सरकारले नै सो आयोजना निर्माण गर्ने आश्वासन बाँडे ।

निजी क्षेत्रले जनतासंग करोडौँ रुपैयाँ उठाएको थियो, तर प्रदेश सरकारले नै सो आयोजना निर्माणको काम पुरा गर्ने निर्णय गरेपछि जनताको लगानी के हुन्छ भन्नेमा झनै अन्यौलता थपिएको छ । उनको करिब ४ बर्षे कार्यकालमा निर्माणको काममा एउटा इट्टा समेत थपिएन । सपथ ग्रहणका बेला सो सुरुङ्मार्ग निर्माणको कामलाई उच्च प्राथमिकता दिने बताएका पौडेलले सत्ताबाट बर्हिगमन हुन्जेल आश्वासन मात्रै बाँडिरहे ।बर्षौँ अगाडि सुरुङमार्ग निर्माण गर्ने नाममा सर्वसाधारणले लगानी गरेको पैसासमेत नीजि कम्पनीले डुबाइदिएको छ । यस विषयमासमेत पौडेललाई कुनै चिन्ता देखिएन । न सुरुङमार्ग निर्माणको कार्य सुरु भयो, न त सर्वसाधारणले दुःख जेलो गरेर लगानी गरेको पैसा नै फिर्ता पाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सहसचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशका सचिव, नेपाली सेनाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको पूर्वाधारविज्ञ सदस्य रहने गरी कार्यदल गठन भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय शाखाले २०७७ भदौ ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशलाई जानकारी दिएको थियो ।

 

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments