चित्लाङ (मकवानपुर)- मकवानपुरको एउटा ऐतिहासिक गाउँ हो, चित्लाङ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले चित्लाङको चिसो सजिलै पचाउन सकिन्छ । यात्राको थकान पनि क्षणभरमै दूर हुन्छ ।
दिनभर शान्त र शीतल वातावरणमा मनोरम प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक सांस्कृतिक महत्वको गाउँ भ्रमण, होमस्टे र रिसोर्टमा क्याम्प फायरदेखि नाचगान, चुस्कीको चियर्समा रमाउनेलाई गाउँमै उत्पादित नास्पातीको रक्सी र वाइनदेखि अन्तर्राष्ट्रिय ब्रान्डसम्मको सुविधा, कुलेखानीको माछादेखि करेसामा रोपिएका साग, चनालगायत जाँतोमा पिँधेको अन्नको स्वाद चाख्न पाउँदा जोकोहीले चित्लाङ भ्रमण अविष्मरणीय नै बनाएर फर्कन्छन् ।
आफूसँग थोरै फूर्सदको समय छ र त्यसलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने सोचिरहनुभएको छ भने तपाईंको लागि चित्लाङको एक दिन एक रातको बसाइ नै काफी छ । शनिबारको एक दिनको फुर्सदलाई सदुपयोग गर्दै काठमाडौं र हेटौंडाबाट चित्लाङमा रमाउन सयौं पर्यटक यहाँ आइपुग्ने गर्छन् । शुक्रबार दिउँसो हिँडेर साँझ चित्लाङमा बास बसी भोलिपल्ट ईन्द्रसरोवरमा डुङ्गा सयर गरी बेलुका काठमाडौं फर्कन सकिन्छ । भोलिपल्ट पनि बस्न चाहे ईन्द्रसरोबर तालकै छेउ मार्खुमा मनोरम वातावरणमा बस्न सकिन्छ । तालको दृश्यावलोकनको साथ खाने बस्ने व्यवस्थाका लागि मार्खुमा थुप्रै होटल तथा रिसोर्टहरू निर्माण भएका छन् ।
पर्यटकीय हिसाबले पछिल्लो समयमा निकै चर्चामा रहेको चित्लाङको आफ्नै इतिहास र विशेषता छ । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले चैतलाङ भन्दै पछि चित्लाङको रुपमा चिनिन पुगेको इतिहासविद्हरूको भनाइ छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत शृङ्खला छ । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिका–१० मा रहेको चित्लाङ गाउँ लिच्छवीकालदेखिकै परिचित गाउँ मानिन्छ । काठमाडौंबाट तराई आउजाउ गर्नेहरू चन्द्रागिरी डाँडो पार गरी चित्लाङ हुँदै आउजाउ गर्थे । त्यसयताको मल्लकालीन राजा, राणाहरू पनि तराई आउजाउ गर्न चित्लाङकै बाटो प्रयोग गर्थे । आउजाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमा नै रात बिताउने गरेको पनि स्थानीय बुढापाका बताउँछन् ।
चित्लाङ राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ पनि भनिन्छ । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तश्री धारा पनि चित्लाङको महत्वपूर्ण सम्पदा हो । वि.सं ३ सय १६ मा सम्राट अशोकले बनाएको अशोक चैत्य चित्लाङमा पर्यटक लोभ्याउने अर्को सम्पदा हो । अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन् ।
Ramesh gamal मकवानपुर चित्लाङ क्लान्तू