काठमाडौं । एक स्रोतका अनुसार एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखमा आईफोन १४ सिरिज सार्वजनिक गर्ने भएको छ । कम्पनीका विभिन्न उत्पादनमध्ये आईफोन सबैभन्दा बढी बिक्री हुने डिभाइसमा पर्छ ।
एप्पलले सेप्टेम्बर ७ तारिख बुधबारका दिन आईफोन १४ सिरिज सार्वजनिक गर्ने तयारी गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गमा प्रविधि पत्रकार मार्क गर्मानले लेखेका छन् । उनले एप्पलका उत्पादनबारे नियमित रिपोर्टिङ गर्दै आएका छन् ।
यद्यपि कम्पनीले अझै पनि आईफोन १४ सार्वजनिक गर्ने यकिन मितिबारे जानकारी दिएको छैन ।
एप्पलले म्याक, लो-इन्ड तथा हाई-इन्ड आईप्याड र तीन ओटा एप्पल वाच मोडल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ कम्पनीले नयाँ आईफोन सिरिज सार्वजनिक गर्ने तयारी गरे पनि यो वर्ष एप्पलका लागि चुनौती भने हुनेछ । विश्वव्यापी रुपमा चलिरहेको आर्थिक मन्दीका बिचमा नयाँ उत्पादन आउँदा त्यसकाे असर बिक्रीमा पर्ने आँकलन गरिएको छ ।
सामान्यतया कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गरेको एक हप्तापछि बिक्रीका लागि स्टोरमा उपलब्ध गराउने छ । सोही खालको तयारी यसपटक पनि भइरहेको जनाइएको छ ।
कम्पनीले रिटेल स्टोरहरूलाई सेप्टेम्बर १६ मा आउने नयाँ प्रडक्टका लागि तयार रहन जानकारी गराएको पाइएको छ । कम्पनीले यो वर्षकाे कार्यक्रम पनि अघिल्लो वर्षजस्तै अनलाइनमा गर्ने चर्चा छ ।