काठमाडौं – सनातन परम्पराको संरक्षण र धार्मिक एकताको प्रवद्र्धन गर्ने अभिप्रायले पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्र शान्ति महायज्ञ आयोजना हुन लागेको छ। बुधबारदेखि फागुन १५ सम्म सञ्चालन हुने यस महायज्ञ सनातनी परम्पराको मजबुतीकरण गर्दै हिन्दू, बौद्ध, र किराँत समुदायलाई एकैस्थानमा जोड्ने हेतुले आयोजित गरिएको हो।
महायज्ञका संयोजक तथा महारुद्र फाउण्डेसनका अध्यक्ष पण्डित खगेन्द्र पोखरेलले वृन्दावनबाट अध्ययन पश्चात नेपाल फर्किएर सनातन धर्मको रक्षा र प्रवर्द्धनमा समर्पित रहेका छन्। उहाँको नेतृत्वमा यो धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो। महारुद्र फाउण्डेसनसँगै महारुद्र महिला समूह, शिवसेना नेपाल, र युथ फर नेशन जस्ता संस्थाहरूको समेत संलग्नता रहेको छ।
नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक पहिचान बोकेको मुलुक भएकोले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, र राष्ट्रिय एकता अत्यावश्यक रहेको पोखरेल बताउँछन्। ‘धर्मो रक्षति रक्षितः’ सिद्धान्त अनुरूप सनातन धर्मको संरक्षण नै हाम्रो मूल ध्येय हो,’ उहाँले जोड दिए।
गुरुकुल स्थापनाको महाअभियान
धार्मिक विभाजनको साटो सनातनी एकताको सन्देश दिन हिन्दू, बौद्ध, र किराँत धर्मावलम्बीलाई एकै छानामुनि अध्ययन, अभ्यास, र जीवनपद्धतिको अभ्यास गराउने उद्देश्यले पशुपति क्षेत्रमा गुरुकुल निर्माण गरिने भएको छ। साथै, भोकालाई भोजन, प्यासीलाई पानी, र बिरामीलाई उपचार उपलब्ध गराउने दीर्घकालीन अक्षयकोष स्थापनाको समेत परिकल्पना गरिएको छ।
महाशिवरात्रिको पावन अवसरमा महायज्ञ
महाशिवरात्रिलाई लक्षित गरी सञ्चालन हुने महायज्ञ फागुन ७ देखि १५ सम्म चल्नेछ। कार्यक्रमको उद्घाटन उद्यमी दुर्गा प्रसाईंले गर्ने तय भएको छ। आयोजक समितिका सदस्य खेम खरेलका अनुसार, ‘धर्म संस्कृति र आस्थासँग जोडिएको यो अभियानले निकट भविष्यमा ठूलो रुप लिनेछ।’
पोखरेलका अनुसार, विभिन्न अवरोध र चुनौतीका बाबजुद महायज्ञ सफल बनाउन तीन वर्षदेखि शिवसेना नेपालले निरन्तर साथ दिँदै आएको छ। ‘कसैलाई पैसा बाँडेर खुसी बनाउने अभियान होइन, सनातनीहरूको एकताका लागि आवाज उठाउने, भोकालाई भोजन, प्यासीलाई पानी, र रोगीलाई उपचार दिने परोपकारी उद्देश्य हामीले लिएका छौँ,’ उनले स्पष्ट पारे।
आयोजकले अधिकभन्दा अधिक सनातनी धर्मावलम्बीहरूको उपस्थिति हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागी हुन अपिल गरेका छन्। साथै, विदेशी श्रद्धालुहरूको समेत ठूलो उपस्थितिको अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।
जय सनातन! जय महारुद्र!