Wednesday, July 16, 2025
Google search engine
Homeधर्म संस्कृतिराम शाह द्वारा टीकादत्त लामिछाने लाई नेपाल राज्य भोग गर्ने मनसुवा...

राम शाह द्वारा टीकादत्त लामिछाने लाई नेपाल राज्य भोग गर्ने मनसुवा ब्यक्त दुल्लभ लामिछाने द्वारा पुरा

संसारमा बेला-बेलामा यस्ता महान् व्यक्तिहरूले जन्म लिने गर्दछन्, जसले नीजि स्वार्थलाई त्यागेर आफूलाई परमात्माको चरणमा सुम्पिन्छन् । उनीहरूले परमात्माको विचित्र लीलालाई बुझेर काम गर्छन् । यसक्रममा कैयौं अलौकिक महापुरूषहरूको पटक-पटक अविर्भाव र तिरोभाव भएका कहानीहरू सुन्न पाइन्छ । परन्तु यसको समसामयिक मुल्यांकन र उपयोग हुन नसक्नु हाम्रो दुर्भाग्य हो । हाम्रा यस्ता कैयौं इतिहासहरू मेटाउन यहाँकै भाँडहरू सक्रिय छन् । तिनीहरूकै लापर्वाहीका कारण कतिपय त्यस्ता सम्पदाहरू कहिल्यै फेला नपर्नेगरि पुरिइसके भने केहीचाहिँ खोजी गरे अझै भेटिने अवस्थामा छन् । राजनीतिका नाममा विदेशी चास्नीमा भुल्ने प्रतिपक्ष र भ्रष्टाचारको मोहजालमा फसेका सत्तापक्षको यही रवैया कायम रहेमा पुर्खाको विरासतलाई विकृत तुल्याएर धमिलो इतिहासमा आफूलाई सुरक्षित देख्नेहरू फस्टाइरहने छन् । यिनिहरूकै कारण हाम्रा भावी सन्ततीहरूले समाज र संस्कृति नै नचिन्ने अवस्था आउला कि भन्ने डर पैदा भइसक्यो । यहाँ यस्ता एक महापुरुषको चर्चा गर्न लागिएको छ, जसको इतिहासलाई जानेर वा नजानेर धेरैतिरबाट विकृत पारिएको छ । राजा राम शाहको अनुरोधमा पैतृकथलो अछाम बाइकोटबाट गोरखा आएका ज्योतिषी अनन्त ढकालसँगै दैलेखको भुवानथान लेकको काइनेटिक ढुंगामा दियो बालेर दैलेखकी ‘भ्वानी कालिका’लाई गोरखा ल्याइ ‘बोर्लाङ कोटकाली’को रूपमा स्थापना गर्नेक्रममा ‘ज्योतिषी पण्डित दुल्लभ लामिछाने’का जिजुहजुरबुबा ‘टीकादत्त लामिछाने’को महत्त्वपूर्ण भुमिका देखिन्छ । यस क्रममा केही समय गोरखा दरबारमा समेत बसेका टीकादत्तलाई राजा राम शाहले यतै बस्न अनुरोध गर्दा ‘म त मेरै राज्य फर्कन्छु, तर मेरो तेश्रो पुस्तादेखि’ तलका सन्तान यसै राज्यमा हुनेछन्’ भनी जवाफ दिएका थिए । अनन्त ढकाल र टीकादत्त लामिछानेबीचको शास्त्रीय चर्चा सुनेपछि राजा राम शाहले नेपाल राज्य भोग गर्ने मनसुवा ब्यक्त गरेछन् । राजाको कुरा सुनेपछि राजाले दिएको जन्मटिपोटअनुसार टीकादत्त लामिछानेले राजाको जन्मपत्रिका (चिना) बनाइदिएछन् । राजाको चिना हेरी ‘अहिले समय आइनपुगेको’ भन्दै ज्योतिषी टीकादत्त लामिछानेले अझै १५० वर्ष कुर्नुपर्ने भविष्यवाणी गरिदिएछन् भने ज्योतिषी अनन्तले त्यस कार्यका लागि आफूसमेत चार पुस्ता र राजा राम शाहसमेत आठ पुस्ताको पुण्य चाहिने भविष्यवाणी गरिदिएछन् । त्यसैसमयमा रानीको अनुरोध स्वीकार गर्दै ज्योतिषी अनन्त ढकालले रानी लीलावतीको जन्मकुण्डली बनाइदिएका थिए । गोरखा राज्यमा महिलाहरूको चिना बनाउने त्यो पहिलो कार्य थियो । गोरखा राज्यका युवराज वीरभद्र शाह भक्तपुर गएर फर्कंदै गर्दा बोर्लाङघाटनजिक असामयिक निधन भएपछि स्वस्तिशान्तिका लागि दैलेखको दुल्लु क्षेत्रबाट गोरखा ल्याइएका मार्कण्डेय लामिछाने तान्द्राङ गाउँको माझ-थुम (महि-थुम) भन्ने ठाउँमा बसे । दैलेखमै विवाह गरि आएका उनकी पत्नी गुणकेशरीको कोखबाट २ छोरी र २ छोरा (रामचन्द्र र दुल्लभ)को जन्म भएछ । दधिची ऋषिको तपस्थल भएकाले द्ददधि–लेक’ भनिएको र कालान्तरमा ‘दैलेख’ भनिएको पावन भूमिको दुल्लु गाउँमा जन्मेर सिद्ध गोरखनाथको साधनाभूमि गोरखाको तान्द्राङ गाउँमा आइ बसेका मार्कण्डेय लामिछानेका कनिष्ठ पुत्र पृथ्वीनारायण शाह जन्मेकै वर्ष (पूर्वभाद्रपद नक्षत्र) मा जन्मेकाले जन्मथलो दुल्लुको सम्झनामा ‘दुल्लभ’ नाम राखियो (आमाले नौ दिनसम्म कठोर साधना गरेपछि सहज तवरबाट जन्मेकाले ‘दुल्लभ’ नाम राखिएको भन्ने कथन पनि छ) । शिक्षित एवम् उच्चकुलमा जन्म भएकाले दुल्लभ लामिछानेको शिक्षादीक्षा पितामहको रेखदेखमा आफ्नै घरमा भयो । उनले केही वर्ष ज्योतिर्विद कुलानन्द ढकालकहाँ समेत बसेर अध्ययन गरेका थिए । दुल्लभ लामिछानेले १३ वर्षको उमेरदेखि २० वर्षको उमेर (७ वर्ष) सम्म वाराणाशी (काशी) मा अध्ययन गरि फर्केका थिए । काशीबाट फर्केपछि युवाजोशका दुल्लभलाई दाजु कुलानन्दले के-के सिकेर आयौ त भनी भनेर सोधेछन् । दुल्लभले समय आएपछि एकदिन देखाउँछु भन्ने जवाफ दिएछन् । त्यसको केही दिनमै औंशीका दिनमा चन्द्रमा उदाएर आयो, औंशीको दिनलाई अकस्मात पुर्णिमा बनाएर दुल्लभले सबै गाउँलेलाई चकित पारेको र, उनका भानिजदाजु (फूपुदिदीका छोरा) कुलानन्द ढकालले सो चन्द्रमा खसालिदिएर पुनः औंशी नै कायम गरी उनको ज्ञान, सिप र क्षमताको उच्च सराहना गरेका थिए । त्यसपछि पनि गाउँलेको विशेष अनुरोधमा दाजु कुलानन्दले औंशीलाई पुर्णिमा बनाइदिने र भाइ दुर्लभले चन्द्रमा खसालिदिएको, भाइले पुर्णिमा बनाइदिएको दाजुले खसालिदिएको कहानी अझै पनि गाउँघरमा सुन्न पाइन्छ । विद्यासँगै चामत्कारिक शक्ति देखाएमात्र पत्याउने समाजमा दुर्लभले थुप्रै चमत्कार देखाएका थिए । दुल्लभ लामिछानेका बारेमा तान्द्राङको एक चौतारामा बसेका बेला काशीमा नाउ डुबेको र त्यहाँका मानिसलाई उद्वार गरेको अनि प्रमाणस्वरूप उनले आफूले लगाएको दौराको बाहुला निचोर्दा पानी आएको रोचक किंवदन्तीसमेत सुन्न पाइन्छ । अहिले उक्त चौतारोलाई ‘काशी चौतारो’ भनिन्छ भने त्यही पानी मुल बनेर बगेको खोलालाई ‘काशीखोला’ भनिन्छ । अर्को रोचक कहानी दुल्लभ लामिछानेले तान्त्रिक शक्तिको माध्यमद्वारा पहरामा सातपत्रे ओढार र मटान तयार गरेका थिए । साधनाको निम्ति मटानलाई व्यवस्थित बनाएका थिए । उक्त ओढारबाट पारिसम्म सुरुङ्गमार्ग खोलेका थिए रे ! अझैपनि त्यहाँबाट कुखुरा छिरे पर पुग्ने कहानी सुन्न पाइन्छ । दुल्लभ लामिछानेलाई कुशल वाचक पण्डित, तान्त्रिक ज्योतिषी, असल लेखक र कुशल साधकको रूपमा लिएको इतिहास पाइन्छ । उनी आयुर्वेद र योग विद्यामा समेत निपुण थिए भनिन्छ । तर, लेखनकार्यमार्फत् कीर्ति राख्ने अभिलाषा बोकी दुल्लभ लामिछानेले लेखन कार्यलाई विशेष जोड दिएका थिए । उनले गुरुहरूको मुखारबिन्दबाट सुनेका वाणीलाई लिपिवद्ध गरि रुद्री, पुराण आदि धार्मिक ग्रन्थहरू धेरै लेखेका थिए । गोरखा राज्यभर उनले लेखेका धार्मिक ग्रन्थका कितावहरूको निकै राम्रो चर्चा थियो । प्रमाणका रूपमा दुल्लभ लामिछानेद्वारा लिखित केही दस्तावेजहरू र साधना गर्ने क्रममा उनले प्रयोग गरेका कतिपय सामानहरू यस पङ्क्तिकारसँग अझै सुरक्षित छन् । केहि समय दुल्लभ लामिछानेको साथमा रहेर अध्ययन गरेका लक्ष्मिपति पाँडेले लामो समय कुलानन्द ढकालसँग बसेर ज्ञान आर्जन गरी ‘दैवज्ञशिरोमणि’ भन्ने उपाधिसमेत पाउन सफल भएका थिए । शायद त्यसैले होला, दुल्लभ लामिछाने र कुलानन्द ढकालका धेरै कृतिहरू लक्ष्मीपति पाँडेकै जिम्मामा रहेको भन्नेसमेत श्रुतिमा आएको छ । गर्ग गोत्रीय लामिछाने ब्राह्मणकुलका कुलदीपक दुल्लभ लामिछाने सिद्ध गोरखनाथका अनन्य भक्त थिए । उनले तन्त्रबलका आधारमा थुप्रै चामत्कारिक काम गरेको किवदन्ती गाउँघरतिर सुन्न पाइन्छ । सानै उमेरमा ज्ञान आर्जन गरिसकेका दुल्लभले राजा पृथ्वीनारायण शाहसँग समेत राम्रो सम्बन्ध बनाएका थिए । विस्तारित क्षेत्रमा सामाजीक सदभाव कायम राख्ने, राज्यको पहुँचलाई बलियो बनाइराख्ने तथा नीति–थितीमा समसामयिक सुधार गर्ने कार्यमा समेत यिनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । राजा बनेलगत्तै पृथ्वीनारायण शाह कीर्तिपुर आक्रमण गरिहाल्न चाहन्थे । ज्योतिषी कुलानन्द ढकालले बेला भएको छैन भनेर साइत निकाल्न नमानेपछि पृथ्वीनारायण शाहले अरुलाई नै साइत हेराएर निस्केछन्, तर बुढीगण्डकी तर्न सकेनछन् । अब यो समस्याको हल कसरी होला भनि राजा अलमल्ल परेका बेला सल्यानटारको बाटो हुँदै दुल्लभ टुप्लुक्क त्यहीँ पुगेछन् । राजाको अनुरोधमा उमेरमा समकालिन दुल्लभ लामिछानेले सहयोग गर्ने बचन दिएछन् । उनले तान्त्रिक शक्तिद्वारा नदीको ढुङ्गामा कटारी गाडी पानी रोकिदिइ नदी तर्न सहजीकरण गरिदिएछन् र ऊनी घर फर्किएछन् । दुल्लभ लामिछाने घर आउँदा बाटोमा गोर्खाली सेनाले युद्ध जित्छन् त भनेर स्थानीयबासीलाई सोध्दा उनले ‘गोर्खाली सेनाको हार हुन्छ, नियतिको लेखा मेटेर मेटिन्न’ भनेछन् । नभन्दै गोर्खालीहरू नदी सजिलै तरेर गएपनि युद्धमा भने नराम्रो हार भएछ, कालु पाँडे मारिएछन् । यस घटनापछि ज्योतिषी कुलानन्द ढकाल रिसाइ ‘भनेको नमान्ने यस्ता मूर्ख राजाको वरपरमा बस्दिनँ’ भनेर लमजुङ गइ बसेछन् । यता पृथ्वीनारायण शाहले भने अर्कै ज्योतिषलाई पुनः अर्को साइत निकाल्न लगाइ काठमाडौंमा दोश्रो आक्रमण गरे । दुर्भाग्यवश सो आक्रमण पनि असफल भयो । यसरी लगातारको हारपछि झण्डै हरेस खाएको स्थितिमा गोरखा फर्किंदा पृथ्वीनारायण शाहले दुल्लभ लामिछानेलाई भेटि ‘कसरी नेपाल जित्न सकिएला ?’ भनी सल्लाह मागेछन् । दुल्लभले ‘हिमवत खण्डको प्रमुख र शक्तिशाली सिंजा राज्यको शक्तिको श्रोत गोप्यरूपमा यता सार्नसके मात्र गोरखा राज्यको सहज विस्तार हुने’ बताएछन् । ‘त्यसको लागि के गर्नुपऱ्यो त ?’ भनी राजाले सोध्दा दुल्लभ लामिछानेले ‘कुलानन्द ढकाललाई लमजुङबाट फिर्ता ल्याउन सके उनले यो काम फत्ते गर्नसक्ने’ बताइदिएछन् । यसपछि राजा पृथ्वीनारायण शाह आफैं चेपेघाटसम्म गइ कुलानन्द ढकालसँग माफी मागेर पुनः गोरखा फिर्ता ल्याए । कुलानन्द ढकाल गोरखा फिर्ता आएपछि दुई भाइ मिलेर काइनेटिक ढुंगामा दियो बालेर तान्त्रिक विधिद्वारा सिंजा राज्यको मुख्य शक्तिकेन्द्र ‘ज्वालातीर्थ’ भनिने पञ्चकोशी क्षेत्रको तल्लो डुंगेश्वरबाट ‘सिद्धेश्वर महादेव’ र सिद्धकालिका तथा पादुकास्थानबाट ‘विष्णु पादुका’लाई तान्द्राङ (हालको तान्द्राङ कोटकाली) क्षेत्रमा स्थानान्तरण गरेछन् । सोही समयमा दैलेखको नारायणथानका नारायणलाई बोर्लाङकै हाल नारायणपुर भनिने ठाउँमा स्थानान्तरण गराए । यसैगरी बझाङ बडिमालिकाकी प्रतिरुप थामा चौघेरा मालिकालाई बोर्लाङमा कुलानन्द ढकालकै घर भएको स्थाननजिक ‘माई थान’को रूपमा स्थानान्तरण गरे । यसरी गोरखाबाट काठमाडौं जाने मुख्य बाटोको दायाँ र बायाँ पर्नेगरि गोप्यरूपमा दैवीशक्ति स्थापना गरेपछि कुलानन्द ढकालले दिएकै साइतमा काठमाडौं विजय भयो । खुसी भएका राजाले ‘अब यस राज्यको भोग अवधि कति छ त ?’ भनेर कुलानन्द ढकाललाई सोध्दा उनले ‘१२ पुस्ता भोग छ महाराज !’ भनेछन् । ‘त्योभन्दा पर लम्ब्याउन सकिँदैन र ?’ भनी राजाले सोध्दा दुल्लभ लामिछानेले ‘गोरखनाथको भक्ति र सेवा गरेमा लम्बिन सक्छ महाराज !’ भनेका थिए । यसपश्चात् राजाले पूर्व वचनअनुरुप दुल्लभ लामिछानेलाई धागो तान्न सकेजति (हाल धावा र तान्द्राङ भनिने) सबैै क्षेत्र समेटिएको १० मौजा क्षेत्रफल (गाउँहरूको समुहलाई पहाडतिर मौजा वा थुम भन्ने चलन छ) दिए भने कुलानन्द ढकाललाई बोर्लाङ भनिने सबै क्षेत्र बिर्ता दिए । मातापिताको देहान्तपश्चात् दुल्लभ लामिछानेले ब्रह्मचार्यमा रहने निश्चय गरेकोमा दुःखी भइ उनकी फुपुदिदी देवी ढकालले आफ्ना छोरा कुलानन्दसमक्ष ‘भाइलाई सम्झाइ-बुझाइ गरेर विवाह गराउन’ आग्रह गरेपछि कुलानन्द ढकालले राजा पृथ्वीनारायण शाहसँग उमेरका कारण आफूले दरबारको नियमित काम हेर्न नसक्ने भएकाले अविवाहित बसेका भाइ दुल्लभ लामिछानेलाई राजगुरु बनाइ विवाह गराउने वातावरणसमेत तयार गराइदिन अनुरोध गरेछन् । त्यसपछि दुल्लभलाई दरबारमा बोलाई राजगुरु बनाउने निर्णय भएछ । राजाको वचनलाई शिरोधार्य गरी उनले गोरखा मान्द्रेढुंगा निवासी वाग्लेकी छोरी देवकासँग विवाह गरेछन् । विवाहपश्चात् क्रमशः नौभाइ छोरा एक छोरीको जन्म भएछ । छोरी जमुनाको विवाह भट्ट थरका ब्राह्मणसँग भएको थियो । जीवनको पछिल्लो कालखण्डमा काम क्रोध लोभ मोह सबै छाडेर दुर्लभ लामिछाने गायत्री पुरश्चरणमा लागेका थिए भनिन्छ । सिद्धेश्वर महादेवको आराधना गर्दागर्दै अलप भएका दुल्लभ लामिछानेबारे त्यसपछि कसैले सोधिखोजी गरेको भेटिँदैन । तर, दुर्लभ ब्यक्तित्वका धनी दुल्लभ लामिछाने गोरखनाथको साधनास्थल मरेङघाट क्षेत्रमा नै ७/८ वर्षजति गायत्री साधनामा लागेर समाधिमा लीन भएका भनि बोर्लाङका वयोवृद्ध हरिप्रसाद ढकाल (हाल दिवंगत) ले २०४४ सालमा भन्नुभएको प्रसङ्गलाई तान्द्रङ्गनिवासी दुर्गा लामिछानेले पङ्क्तिकारसित बताउनुभएको थियोे । अझै पनि तान्द्राङ्गमा युगद्रष्टा दुर्लभ लामिछानेको इतिहास जीवित छन् । पङ्क्तिकार स्वयंसित युगद्रष्टा दुर्लभ लामिछानेका थुप्रै दस्तावेज र साधनाको सामग्री सुरक्षित रहेको छ । यस्तो अवस्थामा समेत यस्ता महान् ब्यक्तित्वको इतिहास यसरी भद्रगोल अवस्थामा प्रस्तुत हुनु निकै दुःखद हुन आउँछ । पछिल्लो समयमा ऐतिहासिक दस्तावेज भनेर लेखिएका दस्तावेजहरू हेर्दा उनको जन्म तथा मृत्युबारे अन्यौलमात्र सिर्जना गरिएको भेटिन्छ । खोज्दै जाँदा झन् ती पात्र कतै काल्पनिक नै पो थिए कि भन्ने शंका उत्पन्न हुनेगरी इतिहासलाई भ्रमित तुल्याइएको रहेछ । यो सम्पुर्ण लामिछाने बन्धुहरूका लागिमात्र नभइ आम नेपालीकै लागि लाजमर्दो विषय हो ।

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments