महावीर पुनको नेतृत्वमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

काठमाडौँ । काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ। युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो।   जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडको लगानीमा केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष पुनले जानकारी दिएका छन्। नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष पुनको भनाई छ।   नयाँ–नयाँ सोच भएका युवाहररूलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरूको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको अध्यक्ष पुनले बताए। केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन्। ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरू गरिएको छ।   केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ। त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरू गरिएको छ। केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारेका छन्।   पुनले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *