यसरी बन्दै छ औषधि बोक्ने नेपाली ड्रोन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको तीनकुनेबाट दायाँतिर लागेपछि काँडेतारले घेरिएको जस्तापाताको लामो टहरो छ । कालो रंग मूलढोकामै रहेको साइनबोर्डमा लेखिएको छ, राष्ट्रिय आविष्कार केन्द्र । म्यागासेसे पुरस्कार विजेता महावीर पुनले स्थापना गरेको संस्था हो, राष्ट्रिय आविष्कार केन्द्र । १ कात्तिक, ०७६ मा उद्घाटन भएको केन्द्रले विज्ञान र प्रविधिको सम्बन्धमा नयाँ खोज तथा आविष्कार गर्ने लक्ष्य लिएको छ । टहरोको मूलढोकाभित्र पस्नासाथ बायाँतिरको कुनामा निकै व्यस्त देखिन्छन्, हुम्लाका प्रकाश सिंह । उनी ड्रोन निर्माणमा तल्लीन छन् । हुम्लामै रहँदा ‘आविष्कार केन्द्रबारे सुनेका उनी यसमा संलग्न हुन काठमाडौं आएका हुन् । आफ्नो गाउँ निकै दुर्गम र विकट रहेको बताउँदै ड्रोनबाट औषधि गाउँसम्म पुर्‍याउन सके ठूलो उपलब्ध हुने सोचेर केन्द्रमा आएको उनी बताउँछन् । ‘मेरो गाउँमा अझै गाडी पुगेको छैन, औषधि नपाएर पनि बिरामीको मृत्यु हुन्छ । औषधि पुर्‍याउने ड्रोन निर्माण सहभागी हुन पाउँदा खुसी लागेको छ,’ प्रकाश भन्छन् । ड्रोन निर्माणमा सक्रिय अर्का युवा हुन्, सोभान श्रेष्ठ । पुल्चोक इन्जिनियरिङ कलेजबाट ०७४ मा इलेक्ट्रिक कम्युनिकेसनमा इन्जिनियरिङ गरेका सोभान पढाइ सकिएपछि जागिर खाँदै गर्दा केन्द्रमा पुगेका हुन् । उनी ड्रोन ‘कन्ट्रोल’ गर्ने सफ्टवेयरको विकासमा लागिरहेका छन् । सोभानको भनाइमा ड्रोनको सफ्टवेयरसँग हार्डवेयरले काम गर्न सक्ने गरी परीक्षणको काम भइरहेको छ । ‘सफ्टवेयर तयार भइसकेको छ । हार्डवेयर परीक्षणका क्रममा ड्रोन बिग्रिन्छन्, भाँचिन्छन् । त्यसैले अहिले धेरै ड्रोन बनाएर परीक्षण गर्दैछौँ,’ उनी भन्छन्, ‘अब केही महिनामै ड्रोनलाई कार्यक्षेत्रमा पुर्‍याउने योजनासहित काम गरिरहेका छौँ ।’
औषधि बोक्ने ड्रोन निर्माणको अन्तिम चरणमा पुगेको युवा इन्जिनियरको टोली राष्ट्रिय आविष्कार केन्द्रमा व्यस्त मात्रै छैन, खुसी पनि देखिन्छ । अबका केही महिनाभित्र ड्रोनले दुर्गमका स्वास्थ्य संस्थामा औषधि पुर्‍याउनेछ ।
पुल्चोक क्याम्पसबाटै रोबटिक्स इन्जिनियरिङ गरेका हुन्, धरानका स्वाइन श्रेष्ठले । उनले पनि जागिर खोज्नुको साटो आविष्कार केन्द्रको बाटो रोजे । र, ड्रोन निर्माणमा तल्लीन छन् । ‘काम गर्दै जाँदा नयाँ कुराको अनुभव हुने र त्यससँग नयाँ कुराको आविष्कार हुने भएकाले आएको हुँ,’ उनी भन्छन् । स्वाइनका अनुसार, विदेशबाट ल्याउँदा एउटा ड्रोनको एक लाख रुपैयाँ पर्छ । केन्द्रमा भने त्यसको आधामै ड्रोन निर्माण भइरहेको छ । ‘सहज होस् भने फ्लाइट कन्ट्रोलर र मोटरलगायतका प्रविधि बाहिरबाट ल्याएका छौँ,’ उनी भन्छन्, ‘तर, ड्रोनका डिजाइन र आइडिया हाम्रै हो ।’  पुल्चोक इन्जिनियरिङ कलेजबाटै इलेक्ट्रिक इन्जिनियरिङ गरेका सुरज कार्कीले केन्द्रका अध्यक्ष पुनसँगै ड्रोन निर्माण दस्ताको नेतृत्व गरिरहेका छन् । यस्तो बन्दै छ ड्रोन   सामान्यतया ड्रोन तीन किसिमका हुन्छन् । एउटा पंखा भएको ‘सिंगल रोटर’, धेरै पंखा भएको ‘मल्टी रोटर’ र फिक्स्ड विंग । हेलिकप्टरजस्तै सोझै उडान र अवतरण गर्न सक्ने ड्रोनहरू सिंगल र मल्टी रोटर हुन् । यस्ता ड्रोनले बढी ब्याट्री अथवा इनर्जी खर्च गर्छन् । सामान्यतया यसलाई हेलिकोप्टरसँग तुलना गर्न सकिन्छ । फिक्स्ड विंग ड्रोनको काम गर्ने प्रक्रिया हवाईजहाजजस्तै हुन्छ । यसलाई उडान र अवतरण गर्न पनि हवाईजहाजजस्तै धावनमार्ग चाहिन्छ । आविष्कार केन्द्रमा निर्माण हुँदै गरेको फिक्स्ड विङ ड्रोन हो । आविष्कार केन्द्रका व्यवस्थापक सुनील बानियाँका अनुसार करिब दुई मिटर लामा पखेटा रहने ड्रोनको आकार पनि हवाईजहाजजस्तै हुनेछ । यसको पछाडिकोे भागमा औषधि राख्न मिल्ने सानो कोठा बनाइएको छ । त्यसको माथि ‘कम्प्युटराइज्ड सिस्टम’को ‘फ्लाइट कन्ट्रोलर’ राखिन्छ । ड्रोनको सबैभन्दा अगाडिको भागमा ब्याट्री रहन्छ । ब्याट्रीले इन्जिन चलाउने काम गर्छ । र, त्यसैको माध्यमबाट ब्याट्री राखिएको माथितिरको भागमा जोडिएका पखेटा घुम्दै ड्रोन उड्छ । केन्द्रमा निर्माण भइरहेका ड्रोनहरू पाँच किलोग्राम तौलका हुनेछन् । सबै ड्रोन कम्प्युटर प्रणालीबाट सञ्चालन हुनेछन् । यसका लागि आविष्कार केन्द्रभित्रै आवश्यक सफ्टवेयरको निर्माण भइरहेको छ । साथै, ड्रोनमा कम्प्युटर प्रणाली अथवा सफ्टवेयरसँगको सहकार्यका लागि ‘फ्लाइट कन्ट्रोलर’ पनि राखिएको छ । ‘निर्माण सम्पन्न भएपछि कुनै एक होम स्टेसनबाट ड्रोनलाई अर्काे ठाउँमा पठाउनुपर्‍योे भने त्यसबीचको दूरी, आवश्यक गति र दिशा कम्प्युटरमा होम स्टेसनबाटै सेट गरिन्छ । र, ड्रोन उडाइन्छ,’ बानियाँ भन्छन् । केन्द्रका अनुसार, ड्रोन हरेक ठाउँबाट एक सय मिटरको उचाइसम्म उड्नेछन् । २५ किलोमिटर टाढासम्म पुग्ने यिनको गति प्रतिसेकेन्ड १७ देखि २१ मिटर हुनेछ भने ४५ मिनेटसम्म उड्न सक्नेछन् । उडान र अवतरण औषधि पुग्ने र पठाइने दुवै ठाउँमा ड्रोनका स्टेसन हुनेछन् । जहाँबाट पठाइने हो, ‘होम स्टेसन’ हो । कुनै जिल्ला अस्पताल वा नजिकको ठाउँ होम स्टेसन बनाएर कुनै स्थानीय स्वास्थ्य चौकी वा सेवा केन्द्रमा पुर्‍याइनेछ । होम स्टेसनमा ड्रोनसम्बन्धी सबै काम गर्न सक्ने जनशक्ति बस्नेछन् । उनीहरूले पठाउनुपर्ने ठाउँ, दूरी, गति सेट गर्छन् होम स्टेसनबाट ड्रोनलाई आकाशमा छोड्छन् । ड्रोनलाई आकाशमा प्रक्षेपण गर्नका लागि विशेष किसिमको प्रविधि पनि निर्माणाधीन अवस्थामा छ । त्यसले गुलेलीबाट मट्यांग्रा हुत्याएझैँ विशेष किसिमले ड्रोन आकाशतर्फ पठाउनेछ । होम स्टेसनबाट उडेको ड्रोन जब गन्तव्यमा पुग्छ, त्यहाँ रहेको जनशक्तिले ड्रोनबाट औषधि निकाल्छन् र ड्रोन फेरि ‘होम स्टेसन’ मै फिर्ता हुन्छ । केन्द्रका अनुसार, ड्रोन १५ देखि २० मिनेटमा अर्काे स्वास्थ्य केन्द्रमा पुग्नेछ । ब्याट्रीको क्षमताअनुसार, यो एकोहोरो २५ र दोहोरो १२ किलोमिटरको दूरीसम्म मात्रै उड्न सक्छ । ब्याट्रीसहित ड्रोनको तौल पाँच किलो हुने भएकाले यसले एक किलो मात्र औषधि बोक्न सक्नेछ । यदि कुनै स्वास्थ्य चौकी १२ किलोमिटरको दूरीभन्दा टाढा छ भने त्यस्तो अवस्थाका लागि लागि दुइटा स्टेसन बनाउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा सुरूको स्टेसनबाट दोस्रोसम्म पठाउने ड्रोनले विश्राम गरी फेरि उड्ने वा त्यहाँबाट अर्काे ड्रोन तेस्रो स्टेसनसम्म पठाइनेछ । आधुनिक प्रविधि प्रयोग गरेर निर्माण भइरहेको ड्रोनका स्टेसनहरू र आकाशमा उडिरहेका ड्रोनलाई इन्टरनेटको माध्यमबाट हेर्न सकिनेछ । कुन ड्रोन कहाँ उडिरहेको छ, कहाँ पुग्यो भनेर मोबाइलमा समेत हेर्न सकिनेछ । जहाँ औषधि पुर्‍याउनुपर्ने हो, त्यहाँ ड्रोनको अवतरणका लागि हवाइजहाजका लागि जस्तै ‘रनवे’ चाहिन्छ । आविष्कार केन्द्रले यसका लागि विशेष प्रकारको जाली (नेट) को प्रयोग गरी ड्रोनलाई त्यसैमा अवतरण गराउने योजना बनाएको छ । ड्रोन अवतरण गरिने ती जालीहरू चारवटा खम्बा गाडेर तिनमा टाँगिएका हुनेछन् । यसो गर्दा रनवे गराउँदा आउन सक्ने समस्या नरहने केन्द्रको भनाइ छ । यद्यपि, ड्रोन आकाशमा उडाउन स्थानीय विमानस्थल प्रशासनको अनुमति आवश्यक पर्ने कुरामा केन्द्रका अधिकारीहरू सचेत छन् । किनकि, आकाशमा उडिरहेको जहाजसँग ठोक्किन सक्ने भएकाले दुई सय फिटसम्मको उचाइमा ड्रोन चलाउने हो भने प्रमुख जिल्ला अधिकारीको र त्यसभन्दा अझ उचाइमा उडाउन गृह मन्त्रालयको अनुमति चाहिने व्यवस्था उड्डयनसम्बन्धी निर्देशिकाले गरेको छ । ‘आकाशमा ड्रोन र जहाजको भेट भए दुर्घटना हुन सक्छ,’ बानियाँ भन्छन्, ‘ड्रोनको उडान भर्नुअघि त्यस क्षेत्रको एयर कन्ट्रोलरसँग सम्पर्क गर्नुपर्छ र त्यहाँबाट अनुमति पाएपछि मात्रै ड्रोन उडाउन मिल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *