शेयर परिसूचक नेप्से सोमबार पनि घट्यो, कारोबार रकममा सामान्य सुधार

काठमाडौं – सरकारले अवलम्बन गरेका कतिपय आर्थिक नीतिहरु लगानीकर्ताले मन नपराउँदा शेयर बाजरमा प्रभाव परेको छ । लगानीकर्ताले बजारमा लगानी बढाउन सकिरहेका छैनन् । त्यसैले लामो समय देखि घट्दै आएको नेप्सेले सोमबार पनि निरन्तरता पाएको छ ।सोमबार पनि शेयर बजारमा परिसूचक नेप्से घटेको छ । नेप्से ६ दशमलव ४९ अंकले घटेपछि १ हजार २ सय ३ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १ अंक बढीले घटेको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन् । तर कारोबार रकम आइतबार भन्दा ३ करोड रुपैयाँले वृद्धि भएको छ । १ सय ७२ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी १० करोड २१ लाख रुपैयाँको विक्री भएको छ । परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशन र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य झण्डै ५ प्रतिशतले बढेको छ । तर एनएलजी इन्स्योरेन्सका शेयरधनीले ६ दशमलव ३३ प्रतिशतले गुमाएका छन् । पछिल्लो समय शेयर कारोबारमा लाभकरको विवाद, बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा भएको ढिलाई, पैतृक सम्पत्तिमा कारलगाउने सरकारको तयारी, मौद्रिक नीतिमा काउन्टर साइकलिङ बफर १३ प्रतिशतबाट १२ प्रतिशतमा घटाइनु, तथा तरलताको अभाव देखाउँदै बैंकहरुले ब्याजदर बढाएका कारण प्रभाव परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *