कोरोना भाइरस फैलिन नदिन सिमानामा ‘हेल्थ डेस्क’

काठमाडौं। कोरोना भाइरस संक्रमण फैलिन नदिन रुपन्देहीको सीमा नाका बेलहियामा स्वास्थ्य सहायता कक्ष ’हेल्थ डेस्क’ स्थापना गरिएको छ। छिमेकी मुलुक चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि संक्रमण फैलिन नदिन बेलहिया नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो। विश्वका दर्जन बढी देशमा यो भाइरस फैलिएको छ। स्वास्थ्य कार्यालय रुपन्देही लगायत अन्य सरकारी कार्यालयको समन्वय सिद्धार्थनगर नगरपालिकाले बिहीवार सीमामा ‘हेल्थ डेस्क’ स्थापना गरेको हो। डेस्कमा चिकित्सक सहितको टोली खटेको छ। स्थलमार्ग हुदै बेलहिया नाकाबाट सबैभन्दा बढी पर्यटक मुलुकमा भित्रिन्छन्। जसमा अधिकांश चीनियाँ पर्यटक पनि हुने गर्छन्। बेलहिया नाका हुँदै २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ नेपाल आएका थिए। यस वर्ष जनवरी २८ सम्म ५ सय ४७ जना चिनियाँ यस नाकाबाट भित्रिएका छन्। डेस्कमा नेपाल भित्रिने पर्यटकहरुको स्वास्थ्य परिक्षण हुने गरेको छ। रुघा, खोकी, ज्वरो लगायत लक्ष्ण देखिएका पर्यटकहरु नाकामा स्वास्थ्य परिक्षण गरिने र शंकास्पद लागेको अवस्थामा अस्पतालमा लगेर र्याल नमुना संकलन गरी परिक्षणको लागि राष्ट्रिय प्रयोगशालामा पठाउने ‘हेल्थ डेस्क’ की इन्चार्ज उमा थापाले बताइन्। परिक्षणको लागि विशेष गरी चिनियाँ पर्यटकलाई निगरानीमा राखिएको छ। बिहीबार पनि चीनबाट आएका दुई पर्यटकको नाकामा स्वास्थ्य परिक्षण गरिएको छ। जसमा उनीहरुमा भाइरसको कुनै लक्षण नदेखिएको इन्चार्ज थापाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *