नेपालीको स्वास्थ्यको ग्यारेन्टी गर्छौं, कृपया ढुक्क हुनुहोस्ः चिनियाँ दूतावास

काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरेको जनाएको छ। नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिककोे जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियताका साथ पहलकदमी गरिरहने भन्दै नआत्तिन आग्रह गरेको हो। ‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरुको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ। उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियताका साथ पहलकदमी गरिरहनेछ, कृपया ढुक्क हुनुहोस्,’ विज्ञप्तिमा उल्लेख छ। महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्रा्ष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ।’ चीनले सोे महामारी फैलिनबाट रोक्नका लागि नेपालस्थित डब्लुएचओलाई नेपाली पक्षबाट भएको सहयोगका लागि प्रशंसा गरेको छ। यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *