विदेशबाट फर्कनेहरुको व्यवस्थापन यसरी गर्न सकिन्छ डा. रामहरि लामिछाने

१४ जेठ, काठमाडौँ । लामो समय नेपालको प्राविधिक र प्रशासन क्षेत्रको अनुभव हासिल गरी हाल कोलोम्बो प्लान स्टाफ कलेज फिलिपिन्स, मनिलामा महानिर्देशक रहेका डा. रामहरि लामिछानेले विदेशबाट फर्कने नेपालीहरुको व्यवस्थापन र उद्यमशिलता विकासमा संक्षिप्त अवधारणा बनाएका छन् । नेपाल सरकार अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) मा लामो समय काम गर्दै नेतृत्व समेत गरेका उनले मुख्यतः कृषि व्यवसायिकरणलाई आधार बनाएका छन् भने उद्यमशिलताका अन्य क्षेत्र पहिचान गरी स्वरोजगार अभियान सफल बनाउन सकिने धारणा राखेका छन् । नेपाल सरकार उद्योग मन्त्रालयमार्फत उनले पठाएको सो अवधारणा पत्रमा कोभिड-१९ को महामारीपछि विश्वले भोग्ने आर्थिक मन्दी र नेपालले व्यहोर्नुपर्ने चुनौतीलाई ध्यानमा राख्दै नेपाललाई उत्पादन र व्यवसायिक क्षेत्रमा आत्मनिर्भर बनाउन केही उपायहरुसमेत उल्लेख गरेका छन् । विदेशबाट फर्किरहेका, तत्काल फर्कने तयारीमा रहेका र फर्कने सोच बनाएका १२ लाख बढी जनशक्तिको श्रम र सीप उपयोग तथा प्रबर्धन गर्न उनले जरुरी भएको बताएका छन् । विदेशबाट फर्कने र विदेश जान तम्तयार भएर बसेका तर कोभिडले रोकेका दुवै थरीको ठूलो युवा शक्तिलाई उनले स्वरोजगारी र उद्यमशिलता विकासबाट समाहिकरण गर्न सकिने बताएका छन् । स्वरोजगार अन्तर्गत उनले कृषिका विभिन्न क्षेत्रमा व्यवसायिक फर्महरुको विस्तार, कपाल काट्ने, प्लम्बर, कार्पेन्टर, मेशन, मोटरसाइकल मर्मत, अटो मेकानिक, पेन्टर, बार वेण्डर, स्काफोल्डर, मार्बल/टायल फिटर, विद्युत प्राविधिक, हस्तकला तालिम, पर्यटक गाइड, हेभि अपरेटर, गेवियन नेट मेकर, गहनाकर्मी, मिठाइ बनाउने जस्ता विषय समेटेका छन् भने उद्यमशिलता विकासमा कृषि बजारीकरण, कृषि–वन उत्पादन, जडिबुटी, फर्निचर निर्माण, फलफूल प्रसोधन, कोशेली घर, नर्सरी, मासु प्रसोधन, दुग्ध वितरण, बेकरी जस्ता क्षेत्रहरुलाई उल्लेख गरेका छन् । यी कामहरु तत्कालै शुरु गर्न सकिने प्रस्ताव समेत उनले सरकारलाई पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *