सांसद सरिता गिरि पार्टीबाट निष्काशित 

काठमाडौं सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरि सांसद पदबाट पनि पदमुक्त भएकी छन् । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिशका आधारमा गिरिलाई कारबाही गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएको र पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेपछि यो कारवाही गरिएको हो । समाजवादी पार्टी भने नक्सालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो । पार्टी सचिव एवं कार्यदल सदस्य मोहम्मद इस्तियाक राईले गिरिलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिइने बताए । जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो । यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्यवाहीका लागि सिफारिस गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *