सोमबारबाट फेरि वर्षा हुने

काठमाडौं । मनसुन सक्रिय भइ सोमबारबाट देशभर पुनः वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहनेछ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ । विभागले जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार सोमबार रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानमा वर्षा हुने भएकाले नदी र खोला आसपासका बासिन्दाले सजकता अपनाउन आग्रह गरिएको छ । ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजराति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *