सिन्धुपाल्चोक पहिरोः मृतकका परिवारलाई १ लाख राहत दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् । विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले बताए । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार थप सात जनाको शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *