स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने गतिविधि नगरौं: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटनाले दुःख लागेको बताएका छन् । कोरोना विरुद्धको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको भन्दै आफू र परिवारकै जोखिम बोकेर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने कुनै पनि काम गर्न नहुने देउवाको भनाइ छ । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्नु सबैको जिम्मेवारी भएको पनि देउवाले बताएका छन् । राजधानीकै बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत आइसोलेसनमा बसेका चिकित्सकहरूलाई होस्टेलबाट हटाउन टोल सुधार समिति अध्यक्षसहितका आपसासका मानिसहरूले प्रदर्शन गरेको भोलिपल्ट सभापति देउवाले यस्तो अपिल गरेका हुन् । देउवाले प्रतिकूल वातावरण र सामग्री अभावकाबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ कार्य गरिरहेको भन्दै प्रशंसा गरेका छन् । देउवाले अपिलमार्फत स्वास्थ्योपचारका लागि अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । यसका साथै स्वास्थ्यकर्मीले काम गर्न पाउनुपर्ने सहज मनोवैज्ञानिक वातावरणमा खलल पुग्न नदिन पनि देउवाले सरकारको ध्यानाकृष्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *